मेटाभर्समा पनि भयो यौन हिंसा

तस्बिर स्रोत, Getty Images
मेटाको भर्चूअल रीयालिटी सेवा होराइजन वर्ल्ड्समा एक २१ वर्षीया अध्ययनकर्ताको अवतारमाथि यौन हिंसा भएको अभियानकर्मीहरूले बताएका छन्।
कम्पनीहरूको उत्तरदायित्व विषयमा काम गर्ने समअफअस समूहले आफ्नो एक अध्ययनकर्तामाथि यौन हिंसा भएको भन्दै फेसबुकको कम्पनीले मेटाभर्समा नकारात्मक कुरा कम गर्न योजना बनाउनुपर्ने बताएको छ।
मेटाले बीबीसीलाई होराइजन वर्ल्ड्समा प्रयोगकर्ताका लागि 'सकारात्मक अनुभवका लागि' सुरक्षाका उपायहरू भएको बताएको छ।
एक प्रवक्ताले समअफअसको पूर्ण प्रतिवेदन हेर्न नपाएको बताउँदै प्रयोगकर्ताहरूले ती सुरक्षा उपायहरू अपनाऊन् भन्ने कम्पनीको इच्छा रहेको र आफूलाई यस्ता घटनाहरू अनुसन्धान गर्न र कारबाही गर्न सहयोग गर्न आग्रह गरेका छन्।
अहिले अमेरिका र क्यानडामा मात्रै उपलब्ध होराइजन वर्ल्ड्समा प्रयोगकर्ताहरू आफ्नो कार्टूनजस्तो अवतार बनाएर भर्चूअल रीयालिटीमा सहभागी हुन सक्छन्।
समअफअसले भर्चूअल संसारमा हुने उत्पीडन पनि पीडादायक हुने बताएको छ।
"प्रयोगकर्तामा यसको साँच्चै प्रभाव पर्छ," समूहकी अभियान निर्देशक भिक्की वायटले भनिन्।
उनले पीडित अध्ययनकर्ता "यो साँच्चिकै शरीर होइन, त्यही भएर केही हुन्न भन्ने सोच्दासोच्दै पनि स्तब्ध भएको" र अध्ययनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसको भिडिओ रेकर्ड गरेको बताइन्।
बीबीसीले त्यो भिडिओ हेरेको छ। त्यसमा अध्ययनकर्ताको दृष्टिबाट हेरिएको सामग्री भएर उनको अवतार देखिँदैन, तर कोठामा दुई पुरुष अवतारहरू देखिन्छन्। तीमध्ये एक जना उनको निकै नजिक र अर्कोले हेरिरहेको देखिन्छ। पुरुषहरूले महिलाबारे अश्लील शब्द बोल्दै भर्चूअल मद्यपान गरेको देखिन्छ।

तस्बिर स्रोत, Getty Images
मेटाभर्सको संसार
मेटाभर्सको सर्वमान्य परिभाषा छैन किनभने यसलाई अहिले पूर्ण नभएको र विकसित भइरहेको प्रविधि मानिन्छ।
यसले भर्चूअल रीयालिटी र अग्मेन्टिड रीयालिटीजस्ता पुराना प्रविधिलाई पनि प्रयोग गर्छ।
मेटाभर्सभित्र एउटा स्थान हुँदैन, त्यहाँ खेल्ने वा कुराकानी गर्ने जस्ता थुप्रै थ्रीडी भर्चूअल स्थान छन्।
अहिले भएका थुप्रै मेटाभर्समध्ये होराइजन वर्ल्ड्स मात्रै मेटाको हो। मेटाले यसमा करौडौँ डलर खर्च गरिरहेको छ।
व्यक्तिगत सीमा
यसअघि अवतारहरूमाथि भर्चूअल हिंसा भएपछि मेटाले फेब्रुअरीमा नयाँ सुरक्षा सुविधाहरू ल्याएको थियो।
व्यक्तिगत सीमा भन्ने एउटा सुविधाले आफ्नो अवतारको कति नजिक अरू मानिसका अवतार आउन सक्छ भन्ने निश्चित गर्न सकिन्छ।
मेटाका अनुसार यसले एक प्रयोगकर्ताको अवतारको व्यक्तिगत क्षेत्रमा अतिक्रमण हुन दिँदैन।
मेटाका अनुसार अहिले त्यो सीमा सामान्यतया सबै प्रयोगकर्ताका लागि साथी नभएका व्यक्तिसँग चार फिट तोकिएको छ।
मेटाले प्रयोगकर्ताहरूले अरू प्रयोगकर्ताको गलत व्यवहारबारे रिपोर्ट गर्न मिल्ने सुविधाहरू छन्।
समअफअसका अनुसार ती दुई पुरुषले अनुसन्धानकर्तालाई व्यक्तिगत सीमा नतोक्न प्रोत्साहित गरेका थिए।
समूहका अनुसार ती अध्ययनकर्तामाथि समलिङ्गी गाली र भर्चूअल बन्दुक प्रयोग भएको हिंसा पनि भएको थियो।











