मेटाभर्स: इन्टरनेटभित्र एउटा छुट्टै संसार - 'सेकेन्ड लाइफ' जस्तै मार्क जकरबर्गको योजना

सेकेन्ड लाइफका पात्रहरूको चित्र।

तस्बिर स्रोत, Linden Lab

    • Author, जो टाइडी
    • Role, साइबर संवाददाता

यो साता म भविष्यमा यात्रा गर्न विगतमा फर्किएँ!

झन्डै १० वर्ष भयो म अनलाइन गेम 'सेकेन्ड लाइफ'को भर्चूअल संसारमा प्रवेश गरेको। त्यस्तो संसार अर्थात् कथित 'मेटाभर्स' जसको निर्माणमा अहिले सबै ठूला प्रविधि कम्पनीहरू लागिपरेका छन्।

मेटाभर्स शब्द १९९० को दशकमा विज्ञान-कथामा आधारित उपन्यास 'स्नो क्र्याश'मा प्रयोग गरिएको थियो। जहाँ उक्त शब्दले इन्टरनेटको भर्चूअल-वास्तविकता जनाएको थियो, जहाँ मानिसहरू आफ्नो जीवनको लामो समय भर्चूअल वातावरणमा बाँच्छन्।

'सेकेन्ड लाइफ' सन् २००० को दशकको अन्त्यतिर चर्चामा आयो। त्यहाँ डिजिटल रूपमा बाँच्नका लागि लाखौँ प्रयोगकर्ताहरूले दैनिक घण्टौँ समय इन्टरनेटमा बिताएको विषय समाचारको शीर्षक समेत बन्यो।

त्यतिबेला मेरो अनुमान थियो - त्यो संसारको बिस्तारै अन्त्य हुँदैछ। तर म गलत थिएँ।

उक्त डिजिटल प्ल्याटफर्ममा आफैँलाई 'बासिन्दा' भन्नेहरूको सानो, इमानदार र सम्भावित रूपमा बढ्दो समुदाय छ। उनीहरू आफ्नो मेटाभर्स भविष्य कस्तो देखिन्छ भन्ने अनुभव सँगाल्न लगइन गर्छन्।

त्यसैले म फेरि त्यस संसारमा फर्किएको हुँ।

दृश्यको सन्दर्भमा, यो नयाँ र सिर्जनात्मक छैन।

यो भव्य भर्चूअल वातावरणभन्दा बढी पिक्सेलयुक्त अनलाइन गेम 'रोब्लोक्स'सँग मिल्दोजुल्दो देखिन्छ।

तर यी दुईबीच भिन्नता के हो भने मार्क जकरबर्गको मेटाभर्ससम्बन्धी योजनाजस्तै 'सेकेन्ड लाइफ' कुनै खेल होइन। यहाँ कुनै खेल प्रतिस्पर्धा हुँदैन। न कुनै खोज हुन्छ न त कथा नै। यो त केवल समय बिताउनका लागि बनाइएको ठाउँ हो।

भर्चूअल भेटघाट

मैले 'सेकेन्ड लाइफ'मा भेटेको एक बासिन्दा हुन् रेई।

सन् १९६० दशकको स्कटल्यान्डस्थित माछा मार्ने एक गाउँको अनौठो नमुना बनाइएको समुद्री किनारमा टेलिपोर्ट गरेपछि हामीले एकअर्काका 'अवतार' देख्यौँ। 'मेटाभर्स'बारे उत्सुकता बढेपछि चार महिनादेखि आफूले सेकेन्ड लाइफमा समय व्यतीत गरिरहेको उनले मलाई बताएका थिए।

सेकेन्ड लाइफको काल्पनिक चित्र।

तस्बिर स्रोत, Linden Lab

उनी जकरबर्गको मेटाभर्ससम्बन्धी अवधारणा वा योजनाको प्रशंसक होइनन्।

"उनीहरू सबै कुरामा आफ्नो नियन्त्रण चाहन्छन्। तर मलाई लाग्छ यो त प्रयोगकर्ताका लागि पूर्ण रूपमा खुला हुनुपर्छ," रेईले मलाई भने।

फेसबुकमा प्रमुख कार्यकारी मार्क जकरबर्गले भर्खरै आफ्नो कम्पनीको नाम मेटा राखे। उनले आफ्नो ठूला योजनाहरू सार्वजनिक गर्दा रेईले इङ्गित गरेका चिन्ताका विषयलाई पनि सम्बोधन गरेका थिए।

"मेटा एउटा कम्पनीभन्दा बढी भविष्य हो। त्यो हामी सबै मिलेर निर्माण गर्छौँ," उनले आफ्नो वक्तव्यमा भनेका थिए।

माइक्रोसफ्ट, इपिक गेम्स, रोब्लोक्स, नाइकीजस्ता ठूला कम्पनीले पनि मेटाभर्समा प्रवेश गर्ने आफ्नो योजना सार्वजनिक गरिसकेका छन्।

मेटाभर्सको एकाधिकारबारे चिन्ता व्यक्त गर्ने रेई एक्लो व्यक्ति होइनन्। सेकेन्ड लाइफ चलाउने कम्पनी लिन्डेन ल्याबको उत्पादन व्यवस्थापनको उपाध्यक्ष आन्या केनेभ्स्कीले पनि यस विषयमा आफ्नो मत अघि सारेकी छन्।

प्रविधिको क्षेत्रका दिग्गजहरूले अनलाइन जीवनबारे नयाँ विचारहरूमाथि विमर्श थालेपछि आन्याको चासो बढेको हो।

सेकेन्ड लाइफ सन् २००३ देखि चलिरहेको छ।

सेकेन्ड लाइफमा एक पुरुष र दुई महिला।

तस्बिर स्रोत, Linden Lab

"म काल्पनिक समुदायबारे हाल भइरहेको छलफलकाबारे अलि चिन्तित छु," उनले भनिन्।

"केही ठूला खेलाडीको प्रवेशले सर्वसाधारण मानिसलाई सङ्केत यस्तो गरेको देखिन्छ - तिमीहरू यस संसारका मालिक होइनौ। अरू कसैले नियम बनाउनेछन्, कार्यक्रम चलाउनेछन् र बासिन्दा केवल उपभोक्ता हुनेछन्।"

रोब्लोक्सजस्तै सेकेन्ड लाइफ एउटा ठाउँ हो जहाँ प्रयोगकर्ताहरूले वातावरण निर्माण गर्छन् र अन्य मानिसलाई खेल्न निम्तो दिन्छन्। यद्यपि यसमा निकै कम सहभागी छन्।

सेकेन्ड लाइफको वर्तमान प्रयोगकर्ता ९० हजारजति छन् भने रोब्लोक्सको करिब ५५ लाख रहेको अनुमान छ।

मार्क जकरबर्गले आफूले पनि प्रयोगकर्ताहरूको एउटा समुदायलाई मेटाभर्सको संसारमा लैजान चाहेको बताए। तर,तत्कालका लागि उनीसँग 'बासिन्दा' छैनन्।

उनले आफ्नो मेटा संसार स्थापना गर्न युरोपभरि १० हजार कर्मचारी नियुक्त गर्ने बताएका छन्।

केहीले प्रयोगकर्तालाई मेटाभर्स नियन्त्रणमा अनुमति दिनुभन्दा पनि समुदायले नै पूर्ण रूपमा मेटाभर्स निर्माण गर्नुपर्ने तर्क अघि सारेका छन्।

मेटाभर्स सुरुदेखि बनाउन खोज्नु मेटाभर्ससँग नजिक हुने उपयुक्त तरिका नभएको मेटाको भर्चूअल-वास्तविकता विभाग ओकुलसका प्रविधि परामर्शका प्रमुख अधिकृत जोन कार्म्याकको विश्वास छ।

आर्स टेक्निकाले उनलाई उद्धृत गर्दै भनेको छ: "एउटै एप्लिकेशनले सबै कुरा नियन्त्रणमा लिन्छ भन्ने कुरामा मलाई शङ्का लाग्छ। एक खेलाडी, एउटा कम्पनीले मात्र मेटाभर्ससम्बन्धी सही निर्णय गर्न सक्छ भन्ने मलाई लाग्दैन।"

सेकेन्ड लाइफको अन्तर्कथा जुकरबर्ग र अन्यका लागि आवश्यक पाठ बन्न सक्छ।

चर्चा उत्कर्षमा पुगेको बेला उक्त साइटले उच्च व्यक्तित्वहरूबीच भर्चूअल दङ्गा मच्चाएको, खेलभित्रकै मुद्रामा आधारित लगानीकर्तालाई धोका भएको र बालबालिकाको हेरचाह प्रभावित भएको जस्ता आरोप लागेको थियो।

यो साता मेरो छोटो अन्वेषणमा पनि मैले सेकेन्ड लाइफले सामना गर्नुपर्ने चुनौतीहरूको झलक पाएँ। मेटाभर्स मूलधारमा गएको अवस्थामा ती चुनौतीहरू विस्तारित हुनेछन्।

प्ल्याटफर्ममा "पोर्न" र "ड्रग" जस्ता शब्द भएका घटना वा ठाउँहरूको खोजी गर्न रोक लगाइएको छ।

तर मैले "सेक्स" शब्दको खोजी गर्दा मलाई भर्चूअल 'स्ट्रिप क्लबहरू'मा लगियो जहाँ मलाई त्यहीँ संसारको रकम तिररेमा मेरो काखमा बसेर गरिने डिजिटल नृत्य को प्रस्ताव आयो।

"भर्चूअल संसारमा शासनको योजना जटिल छ," केनेभ्स्की भन्छिन्,"यसमध्ये केहीलाई हटाउन सकिन्छ तर धेरैलाई मानवीय कोणबाट हेर्न आवश्यक छ। ती सबै पलायनवादी व्यवहार, सुन्दर वस्त्र वा भव्य अवतारहरू मात्र होइनन्।"

सेकेन्ड लाइफबाट बाहिरिनुअघि मैले रेईलाई प्रश्न गरेको थिएँः उनी किन उक्त प्ल्याटफर्ममा आइरहन्छन्?

उनले उत्तर दिएः "म आफ्नो आँखाले नै पना देख्न चाहन्छु।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, आर्टिफिशल इन्टेलिजन्स भनेको के हो?