आर्टिफिशल इन्टेलिजन्स : के दाँत माझ्ने ब्रशले क्यान्सर भएको पत्ता लगाउन सक्छ?

फूलको सुगन्ध लिँदै एक महिला।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गन्धको एक सङ्केतले हाम्रा भावना र सम्झनाहरूको तरङ्ग पैदा गर्न सक्छ।
    • Author, पिटर बल
    • Role, बीबीसी वर्ल्ड सर्भिस

सार्वजनिक स्थानमा आफूलाई सुगन्धित राख्न हामी अत्तर वा डीओडरन्ट प्रयोग गर्छौँ। आर्टिफिशल इन्टेलिजन्स (एआई) को प्रयोगबाट गन्ध वा घ्राणशक्तिमा ठूलो परिवर्तन आएर त्यो हाम्रो जीवनको नयाँ अङ्ग बन्न सक्छ।

गन्धको नयाँ प्रवृत्ति पत्ता लगाउन र पहिलेको भन्दा चाँडो सामान उत्पादन गर्न लागि ठूलो डेटा र द्रुत गतिका कम्प्युटरहरू प्रयोग भइरहेका छन्।

एआई गन्ध क्रान्तिको अर्को पाटोमा प्रविधिको विकास भइरहेको छ जसका कारण रोगहरू प्रारम्भिक चरणमै पत्ता निदान हुने र हामीलाई स्वस्थ रहन वा लामो समय बाँच्न सहयोग पुर्‍याउने सम्भावना छ।

यहाँ एआईले कसरी हामीले शरीरमा प्रयोग गर्ने सुगन्धदेखि रोगको निदानमा प्रभाव पार्छ भन्ने उल्लेख गरिएको छ।

सुँघेर समस्याको पहिचान

मानिसहरूको भिड।

तस्बिर स्रोत, Getty Images

नयाँ प्रविधि कम्पनी एरीबेलले गन्धले हामीलाई कसरी असर गर्छ र त्यसबाट स्वास्थ्यबारे के पत्ता लगाउन सकिन्छ भन्ने विश्लेषण गरिरहेको छ।

गन्ध थाहा पाउनु कठिन काम हो : प्रकाश या ध्वनिमा निश्चित तरङ्ग हुन्छ तर गन्ध मापन गर्ने सरल तरिका छैन।

यसको सट्टामा उक्त फ्रान्सेली कम्पनीले अणुहरू पत्ता लगाउनका लागि सिलिकन चिप्समा लागेको प्रोटीनको टुक्रा उपयोग गर्छ। यसले हामीले बेवास्ता गरेका अक्सिजन, नाइट्रोजन र कार्बन मोनोक्साइडजस्ता ग्यासहरू महसुस गर्न समेत मद्दत पुर्‍याउँछ।

"तपाईँ गन्धको वैज्ञानिक व्याख्या गर्न सक्नुहुन्न, त्यसैले आर्टिफिशल इन्टेलिजन्स आवश्यक हुन्छ," प्रमुख कार्यकारी साम गिलौम भन्छन्।

प्रविधिले ती क्षेत्रको निगरानीमा भूमिका निर्वाह गर्न सक्छन् जहाँ हामी समय व्यतीत गर्छौँ। यसले चहलपहल भएको वातावरणमा समय बिताउनु सुखद भए नभएको सुनिश्चित गर्छ, यो कोरोनाभाइरसको महामारी सुरु भएपछि मानिस जागरुक बनेको विषय हो।

सुगन्ध पत्ता लगाउनका लागि घरनजिकको कुनै क्षेत्रले पनि भूमिका खेल्न सक्छ। गन्धद्वारा रोग पहिचान हुन सक्ने कुरा धेरै वर्षदेखि ज्ञात छ। हेल्सिन्की विमानस्थलमा त यात्रुहरूमा कोरोनाभाइरसको सङ्क्रमण पत्ता लगाउन कुकुरहरूको प्रयोग गरी एक परीक्षण नै गरिएको थियो।

यस अवधारणाले ती सामग्री उत्पादन गर्न सक्छ जसले हाम्रो स्वास्थ्यलाई दैनिक निगरानी गर्छ र रोगको प्रारम्भिक लक्षण पहिचान गर्छ।

"दाँत माझ्दातब मेरो ब्रशमा एउटा गन्ध पत्ता लगाउने सेन्सर हुन्छ र त्यसले मेरो स्वास्थ्यस्थिति आकलन गर्न सक्छ," गिलौमले भने।

सेन्सरले "यो मधुमेहको लक्षण हो वा यो क्यान्सरको लक्षण हो" भन्न सक्ने बताइएको छ।

कुनै रोगको गम्भीर समस्या देखिनुअघि समस्या पहिचान र उपचार हुनुले स्वास्थ्यमा सुधारको सम्भावना पनि उत्तिकै हुन्छ।

गिलौमका अनुसार एआईद्वारा सञ्चालित डायग्नस्टिक टूथब्रशजस्ता स्मार्ट सामग्री उत्पादन गर्ने योजना छ।

"यो 'यदि'को प्रश्न होइन। यो त 'कहिले'को प्रश्न हो," उनले भने।

सुगन्धको विज्ञान

सुगन्ध जाँच गर्दै एक मानिस।

तस्बिर स्रोत, Getty Images

एआई नयाँ सुगन्ध विकासमा पनि प्रयोग भइरहेको छ।

"म चार वर्षको हुँदादेखि नै अत्तरको सौखिन भएँ," मारिया नुरिस्लामोभाले भनिन्,"म आमाको अत्तर चोरेर चलाउँथेँ। उहाँ हरेक पटक मलाई पक्रनुहुन्थ्यो।"

सानै उमेरदेखिको सुगन्धको प्रेमले उनलाई अमेरिकी अत्तर स्टार्टअप 'सेन्टबर्ड'को सहसंस्थापक बनायो। प्रविधि उनको दोस्रो सोख हो।

कम्पनीले महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने अत्तर बनाउने निर्णय गर्दा तीन लाख प्रयोगकर्ताको समीक्षा विश्लेषणका लागि एआईको प्रयोग गरिएको थियो।

नुरिस्लामोभाका अनुसार हल गर्न आवश्यक समस्या यो थियो कि उक्त श्रेणीका अधिकांश अत्तर कुनै एक लैङ्गिक समूहले मन पराए। बाँकीले त्यो गन्ध सहनुपर्‍यो।

Presentational grey line

तपाईँलाई यो पनि मन पर्न सक्छ

Presentational grey line

"लैङ्गिक रूपले तटस्थ रहनु गाह्रो हुन्छ," उनले सुनाइन्।

तर उनीहरूको अनुसन्धानमा १२ फरक किसिमका सुगन्धहरू समान ढङ्गमा हरेक लैङ्गिक समूहकाले रुचाएको देखियो। तिनलाई 'कन्फेसन्स अफ अ रेबल' अत्तर बनाउन प्रयोग गरियो जुन हाल तीन प्रतिशत सर्वाधिक बेचिएका अत्तरहरूको सूचीमा अटाउँछ।

"यो नै मेरा लागि जित हो। किनकि यो चर्चित ब्र्यान्ड होइन तर पनि रुचाइयो।"

नुरिस्लामोभाले यस सफलतामा एआईले विश्लेषण गरेको डेटाको भूमिका रहेको विश्वास गरेकी छन्।

सेन्टबर्डले थप सुगन्धहरू विकास गर्नका लागि अनुसन्धान अघि बढाएको छ। यसै वर्ष थप दुई वटा गन्ध थपिएका छन्।

तर एआईको प्रयोग गरेर हामीले बास्ना लिने तरिका फेर्ने एक मात्र व्यवसाय होइन।

भावनात्मक असर कति

फूलहरूको सुगन्ध लिँदै एक महिला।

तस्बिर स्रोत, Getty Images

इन्टरन्याश्नल फ्लेभर्स एन्ड फ्र्याग्नेन्सेस (आईएफएफ)ले पनि सुगन्ध विकासका लागि एआईको प्रयोग गर्छ तर आईएफएफले ती सुगन्धले मानिसमा पर्ने प्रभावबारे पनि गहिरो खोज गरेको छ।

तपाईँले पसलहरूमा बहुराष्ट्रिय कम्पनीहरूको नाम देख्नुहुन्न जसले पर्दा पछाडि अर्मानी, केल्विन क्लेन र गिभेन्सीजस्ता जस्तै प्रमुख ब्र्यान्डसँग सुगन्ध विकास गर्नका लागि काम गर्छ।

आईएफएफसँग अत्तर बनाउने करिब एक शताब्दी लामो अनुभव छ तर एउटा सुगन्धका लागि ६० देखि ८० अवयवहरूको प्रयोग गरेर। त्यसका लागि करिब २००० प्यालेट प्रयोग हुन्छन्। एआईले वास्तवमा रचनात्मक प्रक्रिया मुक्त बनाउँछ।

Presentational grey line
Presentational grey line

"एआई एउटा उपकरण हो। यो गुगल म्यापजस्तै हो जसले अत्तर बनाउने कठिन प्रक्रियाका लागि सहज बाटो देखाउँछ ताकि बनाउने मानिसले शिल्पमा ध्यान केन्द्रित गर्न सकोस् - सिर्जनामा वा भावनामा," कम्पनीको सेन्ट डिभिजनका भालेरी क्लाउडले भने।

आईएफएफले लुगा धुने पाउडर, फ्याब्रिक, छाला कोमल बनाउने पदार्थ, श्याम्पू आदिका लागि पनि सुगन्ध विकास गर्छ। कोभिड-१९ को महामारीयता सुगन्ध सँगै मानिसले सुरक्षा पनि खोजेको क्लाउडले बताए।

त्यसैले सुगन्धले मानिसको मनस्थिति र धारणामा पार्ने प्रभावका बारेमा कम्पनी एकदम सचेत छ।

कल्याणकारी योजनाअन्तर्गत मानिसको खुसी, आनन्द, विश्राम र आत्मसम्मानमा सुगन्धको प्रभाव पार्न समेत एआइको उपयोग गरिएको छ। उनीहरूको अनुसन्धानले कसरी मानिसलाई स्नायुसम्बन्धी समस्याहरूसँग जुध्न सहयोग गर्न सकिन्छ भन्नेबारे समेत हेरिरहेको छ।

"स्नायुको समस्या ठिक पार्न होइन तर समस्याको असर कम परोस् भन्नेमा ध्यान दिएका छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्छ