स्तन क्यान्सर पत्ता लगाउन चिकित्सकभन्दा एआई 'बढी प्रभावकारी'

तस्बिर स्रोत, Getty Images
म्यामग्राम हेरेर स्तन क्यान्सर भएको पत्ता लगाउन चिकित्सकहरूभन्दा आर्टफिशल इन्टेलिजन्स (एआई) बढी प्रभावकारी हुने एउटा अनुसन्धानले देखाएको छ।
गुगल हेल्थ र इम्पीरीअल कलेज लन्डनका अनुसन्धानकर्तासहित विभिन्न देशका वैज्ञानिकहरू सम्मिलित एउटा समूहले एउटा विशेष खालको कम्प्युटर विकसित गरी त्यसलाई झन्डै २९,००० महिलाको म्यामग्राम अर्थात् स्तनको एक्स-रे विश्लेषण गर्न प्रशिक्षित गर्यो।
म्यामग्राम विश्लेषण गर्ने काममा कम्प्युटर एल्गरिदमले छजना रेडिओलजिस्टलाई उछिनिदियो।
एआई सो काममा दुई चिकित्सकको क्षमताबराबर भएको पाइयो।
मानवलाई जस्तो एआईलाई थकाइ लाग्दैन। विज्ञहरूका अनुसार क्यान्सर पत्ता लगाउने एआईको क्षमतालाई अझै सुधार्न सकिन्छ।
उक्त अनुसन्धानको परिणाम नेचर जर्नलमा प्रकाशित भएको छ।
एआई कति प्रभावकारी?
यूकेको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसमा प्रत्येक महिलाको स्तनको एक्स-रे विश्लेषण गर्न दुई रेडिओलजिस्ट खटाइन्छ।
क्यान्सर भए वा नभएको विषयमा उनीहरूको मत बाझियो भने कहिलेकाहीँ तेस्रो चिकित्सक पनि सहभागी हुन्छन्।
यो अनुसन्धानात्मक अध्ययनमा एआईको एउटा मोडललाई सम्बन्धित महिलाको नाम थाहा नहुनेगरी बेनामी एक्स-रेहरू उपलब्ध गराइयो।

विज्ञहरूलाई बिरामीको रोगसम्बन्धी विवरण थाहा हुन्छ। तर एआईलाई म्यामग्राम अर्थात् स्तनको एक्स-रे मात्र उपलब्ध गराइएको थियो।
एआईले गरेको विश्लेषण दुई चिकित्सकले विश्लेषण गर्ने विद्यमान प्रणालीजति नै सही भएको पाइयो।
अझ एक चिकित्सकले स्तन क्यान्सर भएको पत्ता लगाउनुभन्दा एआईको विश्लेषण बढी प्रभावकारी भएको पाइयो।
एआईले स्तन क्यान्सर निदान गर्दा फल्स पजिटिभ र फल्स नेगटिभको सङ्ख्या पनि उल्लेख्य रूपमा कम भयो।
अब के होला?
गुगल हेल्थका डोमिनिक किङले अध्ययनले पत्ता लगाएको कुराप्रति आफ्नो समूह गौरवान्वित भएको बताएका छन्।
यसबाट चिकित्सकहरूलाई अझै प्रभावकारी ढङ्गमा स्तन क्यान्सर पत्ता लगाउन सहयोग पुर्याउने विधि विकसित गर्न सकिने उनको अपेक्षा छ।

तस्बिर स्रोत, Science Photo Library
अध्ययनका लागि प्रयोग गरिएका अधिकांश म्यामग्रामहरू क्यान्सर रिसर्च यूकेको अप्टिम्याम डेटासेटबाट लिइएको थियो।
म्यामग्रामको विश्लेषण गर्ने दक्षता भएको चिकित्सक र रेडिओलजिस्ट तयार पार्न १० वर्षको अध्ययन र तालिम चाहिन्छ।
स्तन क्यान्सरको निदान गर्न एक्स-रे हेर्नु महत्त्वपूर्ण हुन्छ। तर त्यो कामका लागि धेरै समय लाग्छ।

यो पनि हेर्नुहोस्













