फेसबुक: किन आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर मेटा बनायो?

मार्क जुकर्बर्ग

तस्बिर स्रोत, AFP via Getty Images

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ।

यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन। माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो।

एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो।

ती पूर्व कर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले "सुरक्षाभन्दा माथि नाफा" राखेको आरोप लगाएकी छन्।

सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो।

मेटा लोगो

तस्बिर स्रोत, Getty Images

फेसबुकका प्रमुख मार्क जकरबर्गले "मेटाभर्स" बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन्।

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन्।

उनले अहिलेको नामले "सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने" भएकाले नाम परिवर्तन गर्नुपरेको बताए।

"समयसँगै, मलाई आशा छ कि हामीलाई मेटाभर्स कम्पनीका रुपमा हेरिन्छ। आगामी दिनमा हामी के बनाउँदै छौं भन्ने हाम्रो काम र पहिचानबारे म भन्न चाहन्छु," एउटा भर्चुअल सम्मेलनमा उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनमा घरबाटै सामाजिक सञ्जालमा गीत सङ्गीत

कम्पनीले बिहीवार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ।

जकरबर्गले भने, "हामी अहिले हाम्रो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेका छौं। एउटा हाम्रो एपहरूको लागि र अर्को भावी प्लेटफर्ममा हामीले काम गर्न खोजिरहेका छौं।"

र, यसका लागि हामीले के गर्ने आशा गरेका छौं र अहिले के गरिरहेका छौं भन्ने सबै कामलाई समेट्ने कम्पनीको नयाँ नाम राख्ने समय भएको छ।"

यसअघि बुढी औँला माथितिर फर्किएको "लाइक" लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ।

मेटाभर्समा मानिसहरू

तस्बिर स्रोत, Meta

जकरबर्गले नयाँ नामले समयसँगै प्रयोगकर्ताले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु नपर्ने बताएका छन्।

बाहिरका मानिसका लागि मेटाभर्स भीआरकै एउटा संस्करण जस्तो लाग्न सक्छ तर केही मानिसहरू भने यसलाई इन्टरनेटको भविष्य हुनसक्ने विश्वास गर्छन्।

कम्प्युटरमा हुनुको सट्टा मेटाभर्समा हुने मानिसहरूले हेडसेटको प्रयोग गरेर भर्चुअल दुनियाँमा प्रवेश गर्ने र त्यसले डिजिटल वातावरणसँग जोड्न सक्नेछ।

भर्चुअल दुनियाँले व्यवहारिक रूपमा काम, खेल र कन्सर्टदेखि परिवार साथीभाइसँग जोड्नेलगायत सबै गर्न सक्ने आशा गरिएको छ।