फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि पुन: काम गर्दै

तस्बिर स्रोत, Getty Images
विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ।
यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन।
फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ।
उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।
समस्या
साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्।
बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले '१०० प्रतिशत' काम गर्न भने केही समय लाग्ने बताएका छन्।
बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन।
केही मानिसहरूले फेसबुकको भर्चुअल रियालिटी हेडसेट प्लेटफर्म अक्युलुस र फेसबुक लगइन चाहिने पोकेमोन गो सहितका एपहरूमा समेत सेवा प्रभावित भएको भनेर उजुरी गरेका थिए।
'अहिलेसम्मकै ठूलो'
यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो त्यसले देखेको अहिलेसम्मकै ठूलो अवरोध हो।
जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए।
यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो।
फेसबुकबारेका दस्तावेजहरू चुहाएकी उक्त कम्पनीकी एक पूर्वकर्मचारीको एक अन्तर्वार्ता आएको एकदिनपछि यस्तो अवरोध देखिएको हो।
फ्रान्सिस हाउगनले आइतवार सीबीएस न्यूजसँग उक्त कम्पनीले 'सुरक्षाभन्दा उन्नतिलाई' महत्त्व दिएको बताएकी थिइन्।
पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ।









