अमेरिका निर्वाचन २०२०: के सामाजिक सञ्जाल राजनीतिक रूपमा पक्षपाती छन्?

तस्बिर स्रोत, Getty Images
अमेरिकी निर्वाचनको तातोले त्यहाँका नेताहरूलाई मात्रै होइन, प्रविधि क्षेत्रका ठूलो कम्पनीहरूलाई पनि पोलेको छ।
सोशल मिडिया अर्थात् सामाजिक सञ्जाल सञ्चालन गर्ने ठूला कम्पनीहरूले आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप खेपिरहेका छन्।
ट्विटरले न्यूयोर्क पोस्टद्वारा प्रकाशित राष्ट्रपतीय उम्मेदवार जो बाइडनसम्बन्धी खोज समाचारको लिङ्क हाल्न नमिल्ने बनाएपछि त्यस्तो आरोपको क्रम सुरु भएको हो।
बाइडनका छोराका भनिएका अप्रमाणित इमेलका तस्बिरहरू भएको सो समाचारले ह्याक गरिएको सामग्रीसम्बन्धी ट्विटरको नीतिलाई उल्लङ्घन गरेको बताइएको छ।
विवाद भएपछि ट्विटरले यस विषयमा स्पष्टीकरण नदिएकोमा माफी माग्दै सो नीति खारेज गरेको छ।
रिपब्लिकन पार्टीका धेरै समर्थकका लागि यो सोशल मिडिया परम्परावादीहरूको विपक्षमा भएको विषयको दह्रो प्रमाण हो।
सिलिकन भ्याली भनिने अमेरिकी प्रविधि कम्पनीहरूमाथि उदारवादको पक्षपाती भएको र त्यहाँ के स्वीकार्य हुन्छ भन्ने कुराको खराब निर्णयकर्ता भएको आरोप छ।
यो घटनाको सम्बन्धमा टेठ क्रुजजस्ता वरिष्ठ रिपब्लिकन नेताहरू यदि त्यो समाचार डोनल्ड ट्रम्पका बारेमा भएको भए ट्विटरले फरक व्यवहार गर्ने बताइरहेका छन्।
आरोप
परम्परावादीहरूले पक्षपातको आरोप लगाइरहेको कुरा भन्दा उनीहरू सोशल मिडियाले सामग्रीबारे निष्पक्ष निर्णय नगर्ने बताइरहेका हुन्।
उनीहरू आफ्ना पक्षका सामग्रीहरूलाई अनावश्यक सेन्सर गरिएको वा लुकाइएको बताउँछन्।
तर सोशल मिडिया पक्षपाती भएको कुरा प्रमाणित गर्न सहज छैन।
फेसबुक र ट्विटरले आफ्ना तथ्याङ्क वा आफ्नो सामग्री देखाउने प्रणालीले कसरी काम गर्न भन्ने कुरा गोप्य राख्छन्।
त्यसैले आरोपहरू तथ्याङ्कमा होइन, उदाहरणमा आधारित हुन्छन्।
प्रविधि कम्पनीहरू आफूले पक्षपात गरेको अस्वीकार गर्छन् तर सत्य के हो भने धेरै सोशल मिडियाले सामग्रीको सम्बन्धमा अलि धेरै पकड देखाउन थालेका छन्।
यस्तो गर्दा उनीहरूले पत्रपत्रिकाका सम्पादकहरूले दैनिक सामना गर्ने प्रश्नको सामना गर्छन्: के छाप्ने र के नछाप्ने?

तस्बिर स्रोत, Reuters
गहन प्रश्न
गत बुधवार ट्विटर, फेसबुक र गुगलका वरिष्ठ अधिकृतहरूले अमेरिकी सदन सिनेटको एक समितिमा यी आरोपसम्बन्धी प्रश्नहरू सामना गर्नुपर्यो।
ट्विटरका ज्याक डोर्सीले मिथ्या सूचनाको नाममा हटाइने सामग्रीसम्बन्धी नीतिका विषयमा आक्रामक प्रश्नहरू सामना गर्नुपर्यो।
उनले ट्विटरले डोनल्ड ट्रम्पको हुलाक मतदानको सुरक्षासम्बन्धी ट्वीट हटाएको तर इरानी राष्ट्रपतिले इजरेलमाथि आक्रमण गर्ने भनी गरेको ट्वीट नहटाएको भन्ने प्रश्न खेपे।
न्यूयोर्क पोस्टको समाचारबारे रिपब्लिकन सिनेटर क्रुजले उनलाई सोधे: "डोर्सी महोदय, अमेरिकी मिडियाले के लेख्न पाउने र अमेरिकी नागरिकले के सुन्न पाउने भन्ने विषयमा निर्णय गर्न तपाईँलाई कसले जनमत दियो? अनि किन तपाईँ डेमोक्र्याटिक अभियान समूहले जस्तो आफ्नो मतविरोधी आवाजहरू दबाउनुहुन्छ?"
तर रिपब्लिकनहरू मात्रै सोशल मिडियासँग असन्तुष्ट थिएनन्।
समितिका डेमोक्र्याटहरूले सोशल मिडियालाई घृणा फैलाउने समुदायलाई फैलिने मौका दिएको आरोप लगाए। सिनेटर गेरी पिटर्स र एमी क्लोब्लुचरले फेसबुकलाई मानिसहरूलाई अतिवादी बनाउने भूमिका खेलेकोमा आलोचना गरे।
"हालैका अध्ययनहरूले फेसबुकको प्रणालीले मानिसलाई अतिवादी सामग्रीहरूतिर डोर्याउने देखाएको छ," क्लोब्लुचरले भनिन्। "के त्यसले तपाईँलाई चिन्ता लगाउँछ, हाम्रो राजनीतिलाई यसले के गरेको छ?"
"हाम्रो प्रणालीले कसरी काम गर्छ भन्ने विषयको यस्तो व्याख्यालाई म सविनय अस्वीकार गर्छु," फेसबुकका मार्क जुकरबर्गले भने।

तस्बिर स्रोत, Drew Angerer
अमेरिकी नागरिक के भन्छन्?
हालै पीउ रिसर्च सेन्टरको सर्वेक्षणले ९० प्रतिशत रिपब्लिक र ५९ प्रतिशत डेमोक्र्याट अमेरिकी नागरिकहरूले सोशल मिडियाले राजनीतिक विचारलाई सेन्सर गर्ने बताएका छन्।
के यो सत्य हो?
रिपब्लिकनहरूको एउटा आरोप फेसबुकले परम्परावादीको विचारलाई पछाडि पार्छ भन्ने छ तर तथ्याङ्कले त्यस्तो देखाउँदैन।
फेसबुककै क्राउडट्याङ्गलले प्रत्येक दिनका सबैभन्दा चर्चित पोस्टहरू देखाउँछ र हालैका दिनहरूका जुनसुकै दिनपनि १० चर्चित पोस्टमा परम्परावादी लेखकहरू लगायत फक्स न्यूज र ट्रम्पकै बाहुल्य देखिन्छ।
ट्रम्पको फेसबुक पेजमा तीन करोड २० लाख फलोअर्स छन् जुन बाइडनको भन्दा झन्डै दशगुना बढी हो।
ट्विटरमा थोरै प्रयोगकर्तामात्रै नियमित रूपमा आफ्नो विचार राख्छन्।
हालैको अध्ययनमा ट्विटरका चर्चित र नियमित प्रयोगकर्तामध्ये ७० प्रतिशत डेमोक्र्याट रहेको पाइएको छ।
यसले ट्विटरलाई बढी उदारवादीजस्तो देखाउँछ।

तस्बिर स्रोत, Getty Images
सोशल मिडियाको दुविधा
यस्तै कारणले सोशल मिडियाहरू सामग्री छान्न चाहँदैनथे। किनभने के छाप्ने र के नछाप्ने भन्ने निर्णयको राजनीतिक अर्थ हुन्छ।
केही रिपब्लिकनहरूले सोशल मिडियाले छान्ने प्रक्रियालाई नै अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार ठान्छन्।
मार्चमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरिएको आदेशमा लेखिएको छ: "हामी केही निश्चित अनलाइनलाई अमेरिकीहरूले इन्टरनेटमा पाउने वा व्यक्त गर्ने अभिव्यक्ति छनोट गर्न दिन सक्दैनौँ।"
ट्रम्पले कम्यूनिकेशन्स डिसेन्सी कानुनको भाग २३० हटाउने बताएका छन्। उक्त भागले सोशल मिडिया कम्पनीलाई प्रयोगकर्ताले लेखेका कुराहरूप्रति उत्तरदायी बनाउँदैन।
त्यो हट्नु सोशल मिडियाका लागि घातक हुनसक्छ।
तर अहिलेका लागि अवस्था असहज छ। सोशल मिडिया कम्पनीले पक्षपातको आरोप अस्वीकार गर्न सक्छन् तर धेरे अमेरिकीले त्यो कुराको विश्वास गर्दैनन्।











