अमेरिका निर्वाचन २०२०: किन मलाई मतदान गर्न बाध्य पार्न सकिँदैन

सारासोटास्थित एमा इ बुकर इलिमेन्टरी स्कूलमा राष्ट्रपति जर्ज डब्लु बुश

तस्बिर स्रोत, Eric Draper/ US National Archives

हुन त यो वर्ष भएका सामाजिक आन्दोलनका अग्रपङ्क्तिमा युवा देखिए, तर इतिहास भन्छ अमेरिकामा भएका निर्वाचनहरूमा ३० वर्षभन्दा कम उमेरका युवा अत्यन्त कम सहभागी भएका छन्। छब्बीस वर्षीया नाटाली जोन्स-पिङ्की ९/११ को घटना र ब्ल्याक लाइभ्स म्याटर आन्दोलन दुवैकी साक्षी हुन्। यो उनको कहानी हो।

त्यो मङ्गलवारको बिहान फ्लोरिडाको सारासोटामा नाटालीलाई उनकी धर्ममाता स्टेफनीले अरू बेलाभन्दा चाँडै उठाइदिइन्। त्यो दिन उनको जीवनकै अविस्मरणीय रहनेछ भनेर परिवारले उनलाई बताउँदै आएको थियो।

कपाल कोरिदिँदै अनि विद्यालयको पोसाक मिलाएर लगाइदिँदै आमाले उनलाई त्यो दिन राम्रो व्यवहार प्रदर्शन गर्न सुझाव दिइन्।

उनले पनि सहमतिमा टाउको हल्लाइन्। उनलाई सानैदेखि भविष्यमा प्रख्यात हुने रहर थियो। धेरै पैसा कमाएर परिवारलाई सघाउने इच्छा थियो।

त्यो दिन जब उनी उनको स्कूल एमा बी बुकर इलिमेन्टरीनजिक पुगिन्, अगाडिको दृश्यले अचम्ममा परिन्।

"जताततै लिमोजिन गाडीहरू थिए। घोडसवार प्रहरीहरू थिए। सूट र काला चस्मा लगाएका सिक्रेट सर्भिसका कर्मचारी देख्दा 'मेन इन ब्ल्याक' चलचित्रको याद आयो," उनले भनिन्।

विद्यालय उनको निम्ति दोस्रो घर थियो। उनकी काकी जोसेफाइन त्यहीँको चमेनागृहमा काम गर्थिन्। तर त्यो दिन उनले स्कूलभरि धेरै अपरिचित मानिसहरू देखिन्।

मेटल डिटेक्टरको सुरक्षा जाँचपश्चात् उनलाई कक्षाकोठामा लगियो। त्यहाँ उनी र १५ जना अन्य विद्यार्थीका निम्ति कुर्सीहरू राखिएका थिए। उनले छेउको कुर्सी रोजिन्।

अनि शिक्षिका श्रीमती ड्यानियल्स आइन्। "ओहो त्यो दिन उनी निकै सुन्दर देखिएकी थिइन्।"

के ड्यानियल्स सुरुदेखि नै नाटालीको शिक्षिका थिइन् र उनलाई मन पराउँथिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी चुनावको मत सर्वक्षण कति यथार्थपरक

बल्ल परिचितहरू देखेपछि नाटाली अलिकति ढुक्क भइन्।

बिहान ९ बज्न लागेको बेला कोठा शान्त भयो। बालबालिकालाई विशेष अतिथिको स्वागतका निम्ति उभिन भनियो।

राष्ट्रपति जर्ज डब्ल्यू बुशको कक्षाकोठामा प्रवेश भयो। क्यामेरा सक्रिय भए अनि राष्ट्रपति नाटालीको अगाडि रोकिएर हात मिलाए।

बालबालिकासँग मुस्कुराउँदै राष्ट्रपति कोठाको अगाडि बस्न गए। के ड्यानियल्सले पाठ पढाउन थालिन् जसअन्तर्गत बालपुस्तकबाट उनले वाचन गरिन्।

केही मिनेट नबित्दै ह्वाइ टहाउसका प्रमुख सचिव एन्ड्रू कार्ड राष्ट्रपतिको नजिक गए र उनको कानमा केही फुसफुसाए।

"त्यो क्षणपश्चात् राष्ट्रपतिको ध्यान भङ्ग भयो। मानसिक रूपमा उनी त्यो कोठाबाट बाहिरिएको जस्तो देखिन्थ्यो। उनको अनुहार रातो भयो। हामीलाई लाग्यो सायद उनलाई बेस्सरी पिसाबले च्याप्यो होला," नाटालीले स्मरण गर्दै भनिन्।

उनले के देखिनन् भने उनको ठिक पछाडि ह्वाइट हाउसका प्रेस सचिव एरि फ्लिसर आएर बसेका थिए र उनले एउटा कार्डमा 'अहिले केही नबोल्नू' भनेर राष्ट्रपतिलाई देखाइरहेका थिए।

करिब सात मिनेटसम्म राष्ट्रपति कक्षाकोठामा बसिरहे। त्यसपछि उनले बालबालिकाको पढ्ने क्षमताको प्रशंसा गर्दै निर्धारित समयभन्दा अगावै बाहिरिए।

किन त्यस्तो भयो भनेर कक्षाले केही समयपछि थाहा पायो। त्यसको कैयौँ वर्षपछि पनि नाटाली समाचार तथा वृत्तचित्रहरूमा देखापरिरहिन्। सल्लाहकारले राष्ट्रपति बुशको कानमा "दोस्रो विमान दोस्रो टावरमा बजारियो। अमेरिकामाथि हमला भएको छ" भनेर भनिरहँदाको दृश्यमा नाटाली छेउमा देखिन्छिन्।

राष्ट्रपति बुश र सल्लाहकारहरू

तस्बिर स्रोत, US National Archives

तस्बिरको क्याप्शन, सारासोटास्थित एमा इ बुकर इलिमेन्टरी स्कूलमा राष्ट्रपति जर्ज डब्लु बुश आफ्ना सल्लाहकारसँग कुराकानी गर्दै

नाटाली जन्मिएको न्यूटाउन क्षेत्र यात्रासम्बन्धी ब्रोशरहरूमा पर्यटकीय स्थलको रूपमा अङ्कित छैन। सन् २०१९ मा त्यहाँ सेतो बालुवाको तटमा रमाउन करिब २७ लाख पर्यटक आएको भिजिट सारासोटा वेबसाइटमा उल्लेख छ। त्यो तटीय क्षेत्रबाट दुई माइल जति उत्तरतिर लाग्यो भने न्यूटाउन पुगिन्छ।

"यो अश्वेतहरूको क्षेत्र हो। बाँकी सारासोटा जुन सम्पन्न छ र जहाँ गल्फ क्लब छन् तीभन्दा यो क्षेत्र पूरै भिन्न छ। त्यो चाहिँ श्वेतहरूको क्षेत्र हो।"

नाटालीको जन्म एउटा ठूलो र प्रेमपूर्ण परिवारमा भएको थियो। उनलाई जन्मदिने आमाले आफ्नो बहिनी स्टेफनीको कुनै बच्चा नभएका कारण नाटाली जिम्मा दिएकी थिइन्।

नाटाली फ्लोरिडाको सारासोटामै जन्मिएर हुर्किएकी हुन्

तस्बिर स्रोत, 911 Kids

तस्बिरको क्याप्शन, नाटाली फ्लोरिडाको सारासोटामै जन्मिएर हुर्किएकी हुन्

"मेरा दुई आमा थिए। थुप्रै काकाकाकी, दुई दिदीबहिनी र एक भाइ अनि थुप्रै कजनहरू थिए। हामी एकअर्काको घर गइरहन्थ्यौँ। रमाइलो बाल्यकाल थियो।"

"अनि शिक्षकहरू पनि हाम्रा काकाकाकीजस्तै थिए।"

उनको समुदायको केन्द्रमा एमा बुकर स्कूल थियो। यसको नाम सारासोटाकी एक प्रथम अफ्रिकी अमेरिकी शिक्षिकाको नामबाट राखिएको थियो जसले गरिब समुदायका अश्वेत बालबालिकाको शिक्षाका निम्ति काम गरेकी थिइन्। सन् २००१ मा उक्त स्कूलका बालबालिकाले राम्रो प्रदर्शन गरेका थिए जसकारण वाशिङ्टनस्थित राजनीतिज्ञहरूको समेत ध्यानाकर्षित गरेको थियो।

आफ्नो प्रशासनले अमेरिकाका विविध समुदायलाई समान शिक्षाको अवसर दिने भनी गरेको वाचा प्रवर्धन गर्ने सिलसिलामा राष्ट्रपति बुशले बुकर भ्रमण तय गरेका थिए।

वाचन क्षमताका कारण उनलाई भेट्न नाटाली र १५ अन्य विद्यार्थी छानिएका थिए।

अपहरणकारीहरूले अमेरिकन एअरलाइन्स फ्लाइट ११ लाई वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा ठोकिदिएको जानकारी पाएको केही मिनेटमा राष्ट्रपति बुश कक्षाकोठामा पसेका थिए। नौ बजेर तीन मिनेट जाँदा दोस्रो विमान दक्षिणी टावरमा ठोकिएको जानकारी दुई मिनेटपश्चात् राष्ट्रपति बुशलाई दिइँदा उनी शिक्षिका ड्यानियल्सका सामु थिए।

नौ बजेर बीस मिनेट नवित्दै उनले बालबालिकाको वाचनको प्रशंसा गर्दै बाहिरिए।

"मलाई लाग्यो कतै मैले कुनै गल्ती त गरिनँ? के भयो?," के ड्यानियल्सले त्यो क्षण सम्झँदै भनिन्।

आफ्नो भ्रमण छोट्ट्याएर जानु परेकोमा क्षमा माग्दै राष्ट्रपति बुशले बुकर स्कूललाई लेखेको पत्र

तस्बिर स्रोत, US National Archives

तस्बिरको क्याप्शन, आफ्नो भ्रमण छोट्ट्याएर जानु परेकोमा क्षमा माग्दै राष्ट्रपति बुशले बुकर स्कूललाई लेखेको पत्र

"त्यसपछि अचम्म हुन थाल्यो," नाटाली भन्छिन्।

"कसैले कोठा टेलिभिजन ल्यायो र समाचारको च्यानल लगायो। अनि हामीले थाहा पायौँ। भवनहरूमा भएका आगजनी र मानिसहरूको भागदौड देखेर हामीमध्ये धेरै रुन थाल्यौँ।"

शिक्षिका ड्यानियल्सले टेलिभिजन बन्द गरेर प्रार्थना सुनाउन थालिन्।

स्कूलको चमेनागृहबाट राष्ट्रपतिले गरेको टिप्पणी विश्वभरि प्रसारण हुन थाल्यो।

उनी गए र उनीसँगै सुरक्षाकर्मी र क्यामराधारीहरू पनि गए।

बालबालिकालाई लिन अभिभावक आउन थाल्यो। दिउँसोसम्ममा विद्यालय खाली भयो।

त्यसपछिका साताहरूमा त्यहाँ क्यामरा बोकेर मानिसहरू आए अनि स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनीहरूको अनुभवबारे कुरा गर्न चाहे। त्यो कोठामा उपस्थित नाटाली र अन्य बालबालिकाहरू समाचार स्टेशनमा पुगे अनि पत्रकारहरूलाई भेटे।

नाटाली (पहिलो पङ्तिमा, बायाँबाट तेस्रो) र उनकी सहपाठीहरू ९/११ बालबालिका नामक वृत्तचित्रका निम्ति सन् २०१९ मा भेला भएका थिए

तस्बिर स्रोत, ROD MILLINGTON/ 911 Kids

तस्बिरको क्याप्शन, नाटाली (पहिलो पङ्तिमा, बायाँबाट तेस्रो) र उनकी सहपाठीहरू ९/११ बालबालिका नामक वृत्तचित्रका निम्ति सन् २०१९ मा भेला भएका थिए

"त्यसपछि हामीले धेरै अन्तर्वार्ता दियौँ। सबैजनाले एकै प्रकारको प्रश्न सोध्थे। राष्ट्रपतिले के भने र कस्तो प्रतिक्रिया जनाए भनेर। हामी साना थियौँ। हामीले धेरै बताएनौँ," उनले भनिन्।

वर्षौँ वितेपछि उनले कतिपय समाचारहरू गलत भएको पत्ता लगाइन्। उनी भन्छिन् राष्ट्रपतिले शान्तपूर्वक किताब वाचन गरेको भन्ने समाचार आयो जुन सही थिएन।

ती १५ बालबालिका नजिक भए। प्राथमिक तथा माध्यमिक तहमा सँगै पढे। ड्यानियल्सले फेरि उनीहरूलाई पढाइन्। माध्यमिक तहपछि सबै आ-आफ्ना बाटो लागे। ९/११ किड्स नामक वृत्तचित्र बनाउनेहरूका कारण उनीहरूको वर्षौँपश्चात् फेरि भेट भयो।

"त्यो कक्षाकोठामा रहेका बालबालिकाले सम्पूर्ण अमेरिकाको प्रतिनिधित्व गर्छन्," निर्देशक एलिजाबेथ सेन्ट फिलिपले भनिन्।

"उनीहरूको एकैनासको कथा छैन। एक जना त्यो दिनको घटनाको प्रभावमा परेर सैन्य सेवामा लागे। एक जना व्यापार परामर्शदाता बनेर लाखौँ कमाइरहेका छन् भने एक जना जेल परेका छन्।"

"यो विशिष्ट पुस्ता रह्यो। उनीहरूले प्राथमिक विद्यालयमा हुँदा टीभीमा मानिसहरू मरेको देखे। सामाजिक सञ्जाल तथा सन् २००८ को वित्तीय सङ्कटका साथसाथ हुर्किए। अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति निर्वाचित भएको देखे अनि पछिल्ला वर्षहरूमा भएका विभाजन देखेका छन् - ब्ल्याक लाइभ्स म्याटरसहित। र उनीहरू ३० वर्ष पनि पुगेका छैनन्!"

भिडिओ क्याप्शन सुरु हुँदैछ, आप्रवासी मतदाता जसले अमेरिकी निर्वाचनको छिनोफानो गर्न सक्छन्

सो वृत्तचित्रको मुख्य कथा समुदाय र प्रहरीबीचको तनावमा केन्द्रित छ। यसबारे नाटालीले प्रत्यक्ष अनुभव गरेकी छन्। हुर्किँदै गर्दा उनले आफ्ना नातेदारहरूलाई परिचयपत्र नबोकेको कारणमा प्रहरीले कुटेको देखेकी छन्।

प्रहरीले उनी र उनको क्षेत्रका अरू साथीहरूलाई रोक्ने र उनीहरूको बोल्ने शैलीबारे ठट्टा गर्ने गरेको उनले अनुभव बेहोरेकी छन्।

"उनीहरूको निम्ति हामी हास्यपात्र थियौँ। हाम्रो संस्कृति उनीहरूको लागि ठट्टाको विषय थियो।"

फ्लोरिडा राज्यमै न्यूटाउनमा धेरै अपराधका घटना हुने गरेको आँकडा छ। यसको निम्ति प्रहरीको अधिक सक्रियता जिम्मेवार रहेको नाटाली र उनका समुदायका अगुवाहरू ठान्छन्।

"यदि हामीले मद्दत माग्यौँ भने प्रहरीलाई आइपुग्न एक घण्टा लाग्थ्यो। तर कतै पार्टी भए पाँच मिनेटभित्रै प्रहरी आएर थोरै लागुऔषधका निम्ति मानिसहरूलाई पक्राउ गरिहाल्थ्यो," नाटालीले भनिन्।

सन् २०१८ मा प्रहरीसँगको तनाव झनै बढ्यो जब नाटालीका १९ वर्षीय भाइ जेरेमीलाई प्रहरीले पाँच गोली प्रहार गर्‍यो। राज्यस्तरका फुटबल खेलाडी जेरेमी आफ्नो मित्रका साथ कारभित्र निःशस्त्र थिए। उनलाई तीनवटा गोली लाग्यो।

जेरेमी को ज्यान त जोगियो तर पछि लागुऔषधसम्बन्धी मामिलामा उनी जेल परे। अमेरिकामा प्रहरीले कुनै अश्वेत युवालाई निसानामा पारे भने यस्तै हुने नाटाली ठान्छिन्। उनको पक्राउपछि न्यूटाउनमा ब्ल्याक लाइभ्स म्याटर प्रदर्शनहरू गरिए।

सन् २०१९ मा भेट हुँदा नाटालीले श्रीमती ड्यानियल्ससँग अँगालो मारिन्

तस्बिर स्रोत, ROD MILLINGTON/911 Kids

तस्बिरको क्याप्शन, सन् २०१९ मा भेट हुँदा नाटालीले श्रीमती ड्यानियल्ससँग अँगालो मारिन्

नाटाली अहिले २६ वर्षकी भइन्। आफ्नो पुरुषमित्र र दुई बच्चाका साथ उनी बस्छिन्।

सेप्टेम्बर ११ को घटना होस् वा उनको भाइको पक्राउसम्बन्धी विषय होस्, उनी निकै सावधान हुने गर्छिन्। त्यतिखेर कतिपय गलत समाचारहरू प्रसारण भएको देखेकाले कुनै विषय पत्याउनुअघि उनी आफैँ सोधखोज गर्छिन्।

"म हतारमा निर्णय लिन्नँ। सबै कुरा बुझ्छु।"

त्यसैले उनले राजनीतिज्ञहरूलाई तत्कालै आलोचना नगर्ने मनस्थिति विकास गरेकी छन्। त्यसमा राष्ट्रपति ट्रम्प पनि पर्छन्।

"मलाई लाग्छ उनले व्यापार सुरु गर्न चाहनेहरूलाई सजिलो बनाइदिए। अर्थतन्त्र राम्रो भएको थियो। तर उनले कैयौँ खराब काम पनि गरेका छन्।"

आगामी निर्वाचनमा उनी भोट हाल्ने कि नहाल्ने अनि हालेमा कसलाई हाल्ने भन्ने बारे अनिर्णित छिन्। विगतमा उनले मतदान गरेकी छन् तर यसपालि फरक अनुभव भइरहेको छ।

"हरेक चार वर्षमा राजनीतिज्ञ तथा पत्रकारहरू हाम्रा समुदाय समक्ष आइपुग्छन् र हाम्रो बारे चिन्तित रहेको देखाउँछन्। तर केही परिवर्तन हुँदैन। हाम्रो भोट चाहनेहरू हाम्रा समुदायका होइनन् र हाम्रो समुदायका तर्फबाट बोल्न सक्दैनन्।"

नाटालीको गृहराज्य फ्लोरिडा राष्ट्रपतीय निर्वाचनमा निकै प्रभावशाली मानिन्छ। फ्लोरिडाले जसलाई जिताउँछ उसैले ह्वाइहाउसको जिम्मा पाउने सम्भावना बढ्छ। पछिल्ला निरन्तर छवटा चुनावमा फ्लोरिडाले विजेता राष्ट्रपतिलाई छानेको छ। त्यसैले नाटालीको भोट महत्त्वपूर्ण छ।

"म भन्दिनँ कि भोट महत्त्वपूर्ण छैन। त्यो महत्त्वपूर्ण छ, तर आखिरमा त्यसले हामीले हाम्रो समुदायमा खोजेको परिवर्तन ल्याउँछ त? वा त्यसका लागि हामी आफैँ अग्रसर हुनुपर्छ?"