फेसबुकका चार एप गएको दशकमा 'सबैभन्दा धेरै पटक डाउनलोड'

फेसबुक

तस्बिर स्रोत, PA Media

विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका भएको एप एनीले बताएको छ।

ती चार एपहरू फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन्।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो।

तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो।

ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन्।

"यो राम्रो होइन," अक्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी भन्छन्।

फोन

तस्बिर स्रोत, Getty Images

"सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप एउटै कम्पनीको हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार हो।"

यासेरी भन्छन्, "ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्दा कुनैपनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ। त्यो शक्तिको स्तर नियमन हुनुपर्छ।"

सबैभन्दा बढी डाउनलोड गरिएका एप. गुगल प्ले र एपलको एप स्टोरको तथ्याङ्क. सन् २०१० देखि सन् २०१९ सम्मको तथ्याङ्क.

पाँचौ र छैटौँ स्थानमा स्न्यापच्याट र स्काइप छन् भने त्यसपछि चिनियाँ कम्पनीका स्वामित्वमा भएका टिकटक र यूसी ब्राउजर छन्।

युट्युब र ट्विटर पनि शीर्ष १० मा परेका छन्।

शीर्ष १० मध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन्।

यो दशकमै सबैभन्दा बढी डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्मार्कको किलूले बनाउँछ।

क्यान्डी क्रश सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा छन्।