अमेरिकी सेनाद्वारा कार्यालय प्रयोजनका लागि प्रयोग हुने मोबाइल फोनमा टिकटकमाथि प्रतिबन्ध

टिकटक

तस्बिर स्रोत, Getty Images

सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको उक्त एपमाथि अमेरिकासहित विभिन्न मुलुकमा कडा निगरानी छ।

अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई "साइबर खतरा"का रूपमा हेरिएको बताएकी छिन्।

विश्वभरि आधा अर्ब प्रयोगकर्ता रहेका उक्त एपले प्रायःजसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ।

कुनै गीत वा हँसाउने भिडिओमा १५ सेकेन्ड जति ओठ मिलाउँदै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने एप युवा प्रयोगकर्ताबीच निकै लोकप्रिय छ।

एपका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन्। तर त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा भने प्रयोगकर्तासँग हुन्छ।

सेना प्रवक्ता ओचोआले मिलिटरी डटकमलाई बताए अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो हप्ताबाट एप प्रयोग नगर्न सुझाइएको हो।

सेनाले निजी मोबाइल फोनमा उक्त एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्देशिका जारी गरेको छ जसमा "आफूले डाउनलोड गर्ने एपहरूबाट सावधान रहन" भनिएको छ।

'वैदेशिक प्रभाव'

टिकटक

उक्त एप अमेरिकी नागरिकहरूको डेटा जमा गर्न प्रयोग गर्न सकिने र त्यसले चीनका लागि गोप्य सूचना सङ्कलनमा सहयोग गर्न सक्ने हुँदा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

गत अक्टोबरमा डेमोक्रयाट तथा रिपब्लिकन सिनेटरहरूले टिकटकले राष्ट्रिय सुरक्षामा पार्न सक्ने खतराबारे गुप्तचर निकायहरूले अनुसन्धान गर्नुपर्ने बताएका थिए।

हालसालै टिकटकले भने आफ्नो बचाउमा अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीनभन्दा बाहिर राखिएको र त्यसमा चिनियाँ कानुनको अधीनमा नरहने बताएको थियो।

अमेरिकी प्रयोगकर्ताहरूको डेटा तेस्रो पक्षबाट सञ्चालित एपको प्रयोग गरेर चीनमा पठाइएको छैन भन्ने कुरा सुनिश्चित गर्न टिकटकले एउटा कम्पनीलाई काम लगाएको थियो।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, टिकटकले दिएको आवाज