सामाजिक सञ्जाल चाहन्छ तपाईँ कम इन्टरनेट चलाउनुहोस्

महिला र फोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, के तपाईँ आफ्नो फोनमा धेरै नै आश्रित हुनुहुन्छ?

के तपाईँ कुनै निश्चित उद्देश्यबिना आफ्नो मोबाइल फोन हेरिरहनु हुन्छ? अथवा छिनछिनमा सामाजिक सञ्जाल खोलेर माथिदेखि तलसम्म हेरिरहनुहुन्छ?

यदि त्यस्तो गर्नुहुन्छ भने त्यो बानीका लागि सामाजिक सञ्जाल कम्पनीहरूलाई दोष दिनुपर्छ भन्ने राय प्रविधि विज्ञहरूको छ।

मानिसहरूले जति इन्टरनेट चलायो उति नाफा हुने सम्भावना भएकोले कम्पनीहरूले जानीजानी आफ्नो सामाजिक सञ्जालको सेवालाई लत नै लाग्ने खालको गरी बनाउँछन्।

तर अहिले फेसबुक र गुगलजस्ता कम्पनीहरूले तपाईँलाई सामाजिक सञ्जाल कम समय चलाउन लगाएर प्रविधिको लतबाट छुटकारा दिने उपायहरू अपनाउन थालेका छन्।

किन? त्यस्तो के भयो जसले गर्दा यी कम्पनीहरू पुर्नर्विचार गर्न थाले?

"खासै केही परिवर्तन भएको छैन," प्रविधि सल्लाहकार तथा स्ट्यानफर्ड विश्वविद्यालयका एकजना अध्यापक निर इयल भन्छन्।

उनी भन्छन् यी कम्पनीहरू आफ्नो प्रयोगकर्ताहरू यो बानीमा नराम्री फस्नुभन्दा अगाडि नै प्रयोग समय घटाउन सके भने फाइदामा हुनेछन्।

प्रविधि कम्पनीहरूले हाम्रो मनोविज्ञानमा खेलेर आफ्नो सामाजिक सञ्जाल प्रयोग गर्ने बानी बसाउँछन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रविधि कम्पनीहरूले हाम्रो मनोविज्ञानमा खेलेर आफ्नो सामाजिक सञ्जाल प्रयोग गर्ने बानी बसाउँछन्

दीर्घकालिक रणनीति

"यो अमेरिकामा कार निर्माता कम्पनीहरूले प्रयोगकर्ताहरू के चाहान्छन् भन्ने सोचेर कानुन बन्नुभन्दा १९ वर्ष अगाडि नै सिटपेटी राखेजस्तै हो।"

"दीर्घकालिन हिसाबले जुन कार निर्माताले सुरक्षित कार बनायो उसैले धेरै कार बेच्न सक्यो।"

गएको वर्ष प्रविधिका ठूला कम्पनीहरूले लगभग एकै समयमा आफ्नो 'सुरक्षा जालो' निकाले।

गुगलले नयाँ भर्सनको एन्ड्रोइडमा प्रयोगकर्ताले कुन कुन एपमा कति समय बिताएको हेर्न मिल्ने र निश्चित समयमात्रै चलाउन मिल्ने बनाउन सकिने सुविधा थप्यो।

आलोचकहरू भन्छन् प्रविधिले अहिले हाम्रो सोच र समाजलाई अपहरण गरिरहेछ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आलोचकहरू भन्छन् प्रविधिले अहिले हाम्रो सोच र समाजलाई अपहरण गरिरहेछ

एपलले पनि आइ‍ओएस १२ मा त्यस्तै सुविधा थप्यो।

फेसबुक र इन्स्टाग्रामले समय र सूचना व्यवस्थित गर्न त्यस्तै सुविधा ल्यायो।

यी सुविधाहरूले हामीलाई अत्यधिक समय स्क्रिनमा हेर्नबाट बचाउँछन्। तर त्यस्तो गर्न सघाउने एपहरू बजारमा वर्षौँ अघिदेखि नै थिए। किन ठुला कम्पनीहरू ढिलासम्म चुप लागेर बसे त?

किन ढिला?

वेडबुस सेक्युरिटिजका प्रबन्ध संचालक डानियल इभ्सका अनुसार यसको कारण स्क्रिन कुलतको बारेमा हाल बढ्दो रूपमा भैरहेको बहस हुनसक्छ।

"गएको १२ देखि १८ महिनामा बहसमा रहेको विषय भनेको स्क्रिन समयले हामीलाई पार्ने नकारात्मक असर रहेको छ र सो बहसले ठूला कम्पनीहरूलाई दबाब पारेको छ।"

मानिसले सबैभन्दा धेरै इन्टरनेट चलाउने उपकरण स्मार्टफोन भएकोले यसका निर्माता कम्पनीहरू पनि दबाबमा छन्।

उदाहरणका लागि एपलका शेअरधनीहरूले बालबालिकालाई स्मार्टफोनको कुलतबाट बचाउने उपाय खोज्न कम्पनीलाई दबाब दिइरहेका छन्।

आइफोन निर्माता कम्पनी भन्छ, "सन् २००८ मा आइफोनमा अभिभावकीय नियन्त्रणको सुविधा थपेका थियौँ र त्यसयता लगातार अभिभावकले आफ्ना बालबालिकाले प्राप्त गर्ने सामग्री व्यवस्थापन गर्ने सुविधाहरू थपेका छौँ।"

तर हालैका तथ्याङ्कका अनुसार अमेरिकी किशोरकिशोरीहरू आफुलाई मोबाइल फोनको लत लागेको भन्छन् र कुनै सन्देश आउने बित्तिकै उत्तर दिन वा हेर्न आतुर हुने बताउँछन्।

र एपलका शेअरधनीहरू चिन्तित रहेका छन्।

उनीहरू भन्छन् स्मार्टफोनको अत्यधिक प्रयोग गर्दा केही असर हुँदैन भन्नु सामान्य ज्ञान विरोधी कुरा हो।

कार्टुन

तस्बिर स्रोत, Getty Images

अर्कोतिर सामाजिक सञ्जाल कम्पनीहरू भने गोपनियता र तथ्याङ्क प्रकरणले ग्रसित छन्।

"अन्त्यमा नियमन दबाबकाबीच प्रविधि कम्पनीहरुले आफूलाई राम्रो देखाउनुपर्छ," निर भन्छन्।

यस विषयमा ट्विटरले प्रतिक्रिया दिन मानेन तर फेसबुकले भन्यो, "हाम्रो एउटा उत्तरदायित्व भनेको मानिसहरूलाई आफ्नो अनुभवलाई व्यवस्थित गर्न कति समय फेसबुकमा बित्छ भनेर बुझ्न सघाउने हो।"

दुर्व्यसन उपचार परिकल्पना

के तपाईँलाई कहिले आफ्नो प्रविधि प्रयोगको समय घटाउनु पर्ने आवश्यकता महसुस भएको छ?

तपाईँ एक्लो हुनुहुन्न। 'डिजिटल डिटक्स' गर्ने मानिसहरूको सङ्ख्या बढ्दो छ।

प्रविधि कम्पनीहरूले 'डिजिटल डिटक्स' आफ्नोलागि कति नराम्रो हुनसक्छ भनेर बुझ्न थालेका छन् र उनीहरू आफ्ना प्रयोगकर्तालाई भगाउन चाहँदैनन्।

"यी कम्पनीहरू तपाईँहरू तिनको उत्पादनको दुर्व्यसनमा परेको हेर्न चाहँदैनन्," निर भन्छन्।

"उनीहरू आफ्नो उत्पादन तपाईँले जीवनभर दुर्व्यसनका रुपमा नलिइ प्रयोग गरेको हेर्न चाहन्छन्," निरको भनाइ छ।

बालिका र फोन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बालबालिकाहरू कम उमेरमै स्मार्टफोन प्रयोग गर्न थालेको अध्ययनकर्ताहरू बताउँछन्

नयाँ तथ्याङ्क अनुसार धेरैजसो मानिसहरू सामाजिक सञ्जालको प्रयोग गर्दै दिनको दुई घण्टा स्मार्टफोनमा बिताउँछन्। कोही त इन्टरनेट दिनको छ यो भदा बढी घण्टासम्म प्रयोग गर्छन्।

मोबाइल फोन वा इन्टरनेट अत्यधिक प्रयोग गर्दा विशेषगरी किशोर अवस्थामा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने अध्ययनहरूले देखाएका छन्।

यन्त्र तथा उपकरणहरूसँग मानिसो सम्बन्धका विषयमा अध्ययन गरिरहेका कम्प्युटर विज्ञान प्राध्यापक म्याट जोन्स भन्छन्, "यदि मानिसहरूले आफूले किनेको कुराले आफूलाई नराम्रो गर्छ भनेर सोच्न थाले भने त्यो खराब व्यवसाय र खराब मार्केटिंग हुन्छ।"

जति धेरै मानिसले प्रविधिले पार्ने नराम्रो असरका बारेमा बुझ्दै जान्छन्, त्यति छिटो कम्पनीहरूले समाधानको उपाय पत्ता लगाउनु पर्छ।

स्क्रिन समय नियन्त्रण गर्ने विधि त्यसतर्फ पहिलो पाइला हो।

फोनको प्रयोग

तस्बिर स्रोत, Getty Images