थाइल्यान्डका प्रजातन्त्रवादीका पीडा: 'भाइ बेपत्ता भएपछि मेरो जीवन बदलियो'

तस्बिर स्रोत, Wasawat Lukharang/BBC Thai
- Author, कुल्तिदा समबुद्धि
- Role, बीबीसी न्यूज थाई
"म सास फेर्न सक्दिन, म सास फेर्न सक्दिन।" यी शब्दहरू सीतानान सात्साक्सेले आफ्नो भाइको मुखबाट सुनेका अन्तिम शब्द हुन्।
जुन ४ तारिख साँझ उनी भाइसँग फोनमा कुराकानी गर्दै थिइन्। भाइले एकैछिन होल्डमा बस्न भने।
त्यसपछि सीतानानले एउटा ठूलो आवास सुनिन्।
"सुरुमा मैले सोचेँ उसको कार दुर्घटना भयो," उनले बीबीसीलाई भनिन्। त्यसपछि उनले भाइको चित्कार र मानिसहरू खमेर भाषामा चिच्याइरहेका सुनिन्।
उनका भाइ वान्चलुम, जसलाई टार पनि भनिन्थ्यो, कम्बोडियाको राजधानी नोम पेनस्थित आफ्नै घर अगाडिको एउटा खानेकुराको ठेलामा खाँदै थिए।
आफ्नो गिरफ्तारी हुने थाहा पाएपछि उनी थाइल्यान्डबाट भागेर त्यहाँ पुगेका थिए।
सन् २०१४ को सत्तामा आएका सैन्य समूहले उनको व्यङ्ग्यप्रति आपत्ति जनाएपछि यस्तो अवस्था सिर्जना भएको थियो।
तर वान्चलुम दुर्घटनामा परेका थिएनन्, उनको अपहरण भएको थियो।
बेपत्ता

तस्बिर स्रोत, Facebook/Wanchalearm Satsaksit
प्रत्यक्षदर्शीहरूले ह्युमन राइट्स वाचलाई बताए अनुसार एउटा हतियारधारी समूहले वान्चलुमलाई एउटा कालो गाडीमा कोचेका थिए।
उनले सहयोगको याचना गरे तर अपहरणकर्ताले चेतावनी दिँदै गाडीलाई तीव्र गतिमा दौडाए।
भ्रमित र भयभीत सीतानानले अर्को ३० मिनेटसम्म आफ्नो भाइको दु:खी आवाज सुन्न सक्थिन्। त्यसपछि फोनको लाइन काटियो।
वान्चलुमका एकजना साथीले सोधखोज गरे।
सीतानान भन्छिन्, "बीस मिनेटपछि भाइको साथीले मलाई फोन गर्यो र भन्यो 'कृपया शान्त रहनुहोला, वान्चलुम अपहरणमा पर्यो'।"
वान्चलुम सात्साक्से त्यसपछि देखा परेका छैनन्।
उनी थाइल्यान्डको सेनाको आलोचना गर्ने नवौँ निर्वासित आलोचक हुन् जो पछिल्ला वर्षहरूमा रहस्यमय अवस्थामा बेपत्ता भएका छन्।
उनी अपहरणमा परेको दिनदेखि उनकी दिदी ४८ वर्षीया व्यापारीको दिनचर्या परिवर्तन भएको छ।
निकटता
सीतानान आफ्नो सौतेलो भाइ वान्चलुमसँग एकदमै निकट थिइन्।
दुईवटा विवाहबाट जन्मिएका सन्तान भएकी ६३ वर्षीया उनकी सौतेनी आमासहित उनको मध्यम वर्गीय परिवारमा पाँच जना छन्।
सबैभन्दा जेठी दिदी र उनको भाइ बाल्यकालदेखि नै छुट्टिएर बस्नै नसक्ने गरी नजिक छन्, किनकि धेरै काम गर्ने उनकी आमा काममा व्यस्त भएकाले सीतानानले भाइबहिनीलाई आमा जस्तै गरेर हुर्काइन्।
वर्षौँपछि वान्चलुमसँग बोल्न पाउँदा सीतानानलाई विशेष लागेको थियो।
नोम पेनमा देखा परेर परिवारको सम्पर्कमा आउनुअघि उनी दुई वर्ष भूमिगत भएर बसेका थिए।

निर्वासनका खतराहरू

तस्बिर स्रोत, Getty Images
छिमेकी मुलुकहरूमा सुरक्षित महसुस गरेर सैन्य सरकारविरुद्ध बोल्ने कैयौँ निर्वासित व्यक्तिमध्ये वान्चलुम एक थिए।
तर यस्तो गर्नु खतरनाक बन्दै गएको छ।
सन् २०१४ को सैन्य कूपछि कम्तीमा अन्य आठ जना प्रजातन्त्र पक्षधर अभियानकर्मीहरू बेपत्ता पारिएका छन्।
दुई जना निर्वासित आलोचकहरू चात्चरण बुप्पावान र क्राइदेज लुइलेर्टका शवहरू गत वर्ष लाओसको बोर्डरस्थित मेङ्कोङ नदीमा अङ्गहरू निकालिएको र विरुप पारिएको अवस्थामा पाइएको थियो।
थाइल्यान्डको सेनाले उनीहरूलाई के भएको भन्ने आफ्नो जानकारीमा नभएको बताएको छ।
सन् २००९ देखि निर्वासनमा रहेका थाक्सिन सिनवात्राको सरकारमा सरकारी प्रवक्ताको काम गरेका जाक्रापोब पेन्काएर आफूलाई वान्चलुमलाई मारिनेछ भन्ने सूचना प्राप्त भएको बताउँछन्।
उनले वर्षौँदेखि वान्चलुमलाई चिनेका छन्।
अज्ञातस्थानबाट बीबीसीसँग कुराकानी गर्दै जाक्रापोबले आफ्नो साथी बेपत्ता हुँदा आफू हैरान भएको बताएका छन्।
जीवित हुने सम्भावना न्यून


तस्बिर स्रोत, Narin Sun/BBC Thai
उनी हालसम्म वान्चलुम जीवित हुने सम्भावना नरहेको ठान्छन्।
उनी भन्छन्, "मलाई लाग्छ यो सन्देश हो - 'यिनीहरूलाई मारौँ। यिनीहरू बाहिरिया हुन्। यी मानिसहरू हामीभन्दा भिन्न हुन् र थाइल्यान्डलाई सामान्य बनाउन उनीहरूलाई मार्नैपर्छ'।"
सीतानानले जुलाईमा पहिलो पटक बीबीसीसँग कुराकानी गर्दै आफ्नो भाइसँग सन् २०१८ मा दक्षिण अफ्रिकामा भेट भएको र त्यसपछि सामाजिक सञ्जालमार्फत् नियमित सम्पर्कमा रहेको बताएकी थिइन्।
उनले धेरै शुभचिन्तकहरूको सुझाव अनुसार भाइले फ्रान्समा शरण खोज्नु ठीक होला कि भनेर छलफल गरेकी थिइन्।
तर उनीहरू दुवै जनाले भविष्यमा केही व्यापार गर्न अनुमति दिनसक्ने कम्बोडियामा नै वान्चुलम बस्नु ठीक हुने निर्णय गरे।
"उसलाई युरोपमा एउटा बेकार जीवन जिउन मन थिएन," उनले भनिन्।
कम्बोडियामा भने आफ्नो सम्बन्धका आधारमा केही व्यापार गर्न सकिन्छ भन्ने उनको उद्देश्य थियो।
उनले भनिन्, "मेरो सल्लाहमा उ प्रजातन्त्रवादी अभियानकर्मीको जीवन समाप्त पार्न गइरहेको थियो र व्यापारमा आफ्नो भविष्य बनाउन चाहन्थ्यो। त्यसले मलाई राहत महसुस भएको थियो।"

तस्बिर स्रोत, Thai News Pix
दोधारमा परिवार
उक्त घटनाले उनको परिवारलाई नराम्ररी प्रभावित गरेको छ।
उनीहरू दु:ख, एक्लोपन र चिन्ताबाट गुज्रिइरहेका छन्। सीतानानका भाइबहिनीहरू सहयोग गर्न चाहन्छन् तर उनीहरू पनि काममा व्यस्त छन्।
उनकी आमा 'अर्को सन्तान गुमाउन चाहन्छ' भन्छिन्।
सीतानान आफूहरूले भोगेको पीडा उस्तै पीडा भोग्नेले मात्र बुझ्ने बताउँछिन्।

तस्बिर स्रोत, Thai News Pix
भाई बेपत्ता हुनुअघि उनको जीवन मनमौजी निर्माण व्यवसायीको थियो।
उनका जीवनका लक्ष्यहरू साधारण र सामान्य थिए: कडा मेहनत गर्ने, पैसा बचाउने र घुमफिर गर्ने।
तर अहिले उनको सामान्य जीवन विगत बनेको छ। उनले व्यापार र करिअरलाई स्थगन गरेकी छन्।
उनी आफ्नो भाइलाई भेट्टाउन प्रतिबद्ध छन् र उनको अभियानलाई पनि निरन्तरता दिन दिइरहेकी छन्।
उनी आफ्नो भाइले असल कार्यका लागि जुन अभियान चलाएको थियो त्यसलाई निरन्तरता दिने बताउँछिन्।
उनी सार्वजनिक रूपमा नियमित बोलिरहेकी छन् र मानवअधिकार कानुनबारे आफ्नो बुझाइलाई तिखारिरहेकी छन्।
उनी हालै मात्र आफूले थाइल्यान्डमा ९० वटा बेपत्ताका घटना भएको र त्यसमध्ये सन् २०१४ पछि मात्र नौ वटा त्यस्ता घटना भएको थाहा पाएको बताउँछिन्।

तस्बिर स्रोत, Amnesty International Thailand
सङ्घर्ष
उनका अहिले साथी परिवर्तन भएका छन्।
आफूजस्तै पीडित परिवारका सदस्य र मानवअधिकारकर्मीहरू उनका नयाँ साथी बनेका छन्।
उनको परिवारले सिधैँ धम्की त पाएको छैन तर उनले आफूहरू पनि कसैको तारो बन्नसक्ने भन्दै विशेष सावधानी अपनाउने गरेकी छन्।
आफ्ना हराएका भाइ खोज्ने सीतानानको प्रयासमा कैयौँ सरकारी निकायहरू संलग्न छन् तर उनी भन्छिन्- उनले सधैँ शून्य प्रतिक्रिया र कुनै अर्थ नभएका सूचनाहरू मात्र पाउने गरेकी छन्।

तस्बिर स्रोत, Wanchalearm Satsaksit
वान्चुलम बेपत्ता भएकोबारे भएको प्रचारले उनलाई आफ्नो खोजी अभियानमा ह्युमन राइट्स वाच, आईल र एम्नेस्टी इन्टरन्याशनलसँग मिलेर अघि बढाउन सहज भएको छ।
ती संस्थाहरूले थाइल्यान्ड र कम्बोडियाकाअधिकारीहरूलाई खोजीका लागि दबाव दिइरहेका छन्।
उनले गएका दुई महिना एकजना कम्बोडियन वकिलको सेवा लिनका लागि बिताइन्।
ती वकिलले उनका भाइको बेपत्ता घटनाको अनुसन्धान गर्न र अपहरणकारी हतियारधारीहरूलाई पक्राउ गर्न एउटा याचिका दर्ता गराएका छन्।
उनी भन्छिन्, "यो एउटा लडाइँ होइन, त्यो भन्दा धेरै परको कुरा हो, मलाई थाहा छैन म कसको विरोधी हुँ। म मात्र आफ्नो भाइलाई खोज्नका लागि मैले सकेको गरिरहेकी छुँ।"
यद्यपि उनलाई थाहा छ उनको भाइ जीवितै पाइने सम्भावना छैन।
उनी भाइ मारिएको ठान्छिन् तर भाइको शव पाइने र विधिपूर्वक अन्तिम संस्कार गर्नेमा आशावादी छन्।
कम्बोडियाका स्थानीय अधिकारीहरूले अझै पनि उक्त घटनाको जाँच गरिरहेका छन्।








