अमेरिकी डलरको भाउ अकासिँदा नेपाललाई हुने तीन फाइदा

अमेरिकी डलर

तस्बिर स्रोत, Getty Images

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

केही सातायता नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ ऐतिहासिक उच्चबिन्दुको छेउछाउ स्थिर हुन थालेको छ।

गत महिना १४५ रुपैयाँ कटेको एक अमेरिकी डलरको बिक्री दर मङ्गलवार १४४.७५ मा कायम रह्यो।

सन् २०२५ भरि विश्वका मुख्य मुद्राहरूको तुलनामा अमेरिकी डलर कमजोर भएको देखिए पनि भारतीय रुपैयाँको तुलनामा भने डलर अझ शक्तिशाली बनेको थियो।

भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणालीमा गाँसिएको नेपाली मुद्रा सोही कारण वर्षैभरि अवमूल्यन भइरह्यो।

यसले नेपाललाई धेरै क्षेत्रमा बेफाइदा पुगिरहेको भए पनि केही यस्ता क्षेत्र पनि छन् जसलाई डलरको भाउ बढ्दा फाइदा पुग्छ। ती क्षेत्रबारे यहाँ चर्चा गरिएको छ।

निकासी

सन् २०२२ देखि २०२४ को अन्त्यसम्म १३०-१३५ को हाराहारीमा रहेको डलरको भाउ अहिले १४५ को वरपर आइपुगेको छ। यसले नेपालबाट हुने निर्यात सस्तो हुन जान्छ।

नेपाल राष्ट्र ब्याङ्कले प्रकाशन गरेको यो आर्थिक वर्षको पहिलो चार महिनाको प्रतिवेदनमा निर्यात ७७ प्रतिशतले बढेको देखिन्छ। यो अवधिमा ९३ अर्ब रुपैयाँको निर्यात भएको देखिन्छ।

"डलरको भाउ बढ्दा निर्यातकर्ताहरूलाई पक्कै फाइदा भइरहेको छ। हामीले डलरमा सामान पठाए पनि राष्ट्र ब्याङ्कले हामीलाई नेपाली रुपैयाँ नै दिने हो। पहिले एक डलरको १२० पाउने गर्थ्यो भने अब १४५ रुपैयाँ पाउँदा त फाइदा पक्कै भइहाल्छ," नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात प्रवर्धन समितिका प्रमुख नरेशलाल श्रेष्ठले बताए।

नेपालको झण्डा, पृष्ठभूमिमा घट्दो दर देखाइएको ग्राफ

तस्बिर स्रोत, Getty Images

डलरको भाउ बढ्दा विदेशीहरूका निम्ति नेपाली सामान सस्तो हुन जाने हुँदा नेपाली निर्यातका वस्तु उनीहरूका लागि थप आकर्षक हुने ठानिन्छ।

तर नेपालले निर्यात वस्तुमा विविधता अपनाउन नसक्दा सकिने जति फाइदा उठाउन नसकेको बताइन्छ।

अहिले पनि नेपालको मुख्य निर्यात भटमासको तेल, पाम तेल जस्ता प्रशोधनमुखी वस्तुहरू रहेको देखिन्छ।

सिक्काको अर्को पाटो: निकासी वा निर्यातमा फाइदा भन्नुको अर्थ आयातमा चाहिँ बेफाइदा पक्कै हो।

डलरको भाउ बढ्दा आयातमा अत्यधिक निर्भर नेपाललाई दशौँ अर्ब रुपैयाँको हानि पनि भइरहेको छ।

राष्ट्र ब्याङ्कको पछिल्लो प्रतिवेदनअनुसार ९३ अर्ब रुपैयाँ बराबर निर्यात गरेको उक्त अवधिमा नेपालले ६०९ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो। अर्थात् व्यापार घाटा झन्डै ५१६ अर्ब रुपैयाँ पुगेको थियो।

डलरको भाउ जति बढ्छ नेपालको आयात खर्च उति नै बढ्ने हुँदा व्यापार घाटामा यसले थप चाप पार्छ।

"तयारी पोसाकजस्ता सम्भावना भएका निर्यातजन्य उद्योग थप विस्तार हुन सके डलरको भाउ बढ्दा थप फाइदा पुग्न सक्थ्यो तर अहिले त्यस्तो स्थिति आइसकेको छैन," श्रेष्ठले भने।

पर्यटन आय

बन्दीपुरमा विदेशी पर्यटक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, जेन जी आन्दोलनपश्चात् विदेशी पर्यटकहरूको आगमनलाई व्यवसायीहरूले उत्साहप्रद मानेका छन्

निर्यातमा जस्तै फाइदा पर्यटनबाट हुने आयमा पनि पर्ने जानकारहरू बताउँछन्। डलर बलियो हुँदा विदेशी पर्यटकहरूका निम्ति नेपाल पैसाको हिसाबले थप आकर्षक गन्तव्य बन्न पुग्छ।

सन् २०२५ को सेप्टेम्बरमा भएको जेन जी आन्दोलनका बेला देशमा व्यापक तहसनहस भयो भने कैयौँ तारे होटल पनि विध्वंसको सिकार भए। त्यसले नेपालको पर्यटन क्षेत्र लामै समय थलिने चिन्ता व्यक्त भएका थिए। तर वर्षको अन्त्यसम्म आइपुग्दा त्यो चिन्ता निकै हदसम्म सम्बोधन हुन सकेको पर्यटन व्यवसायीहरू नै बताउँछन्।

"जेन जी आन्दोलनपछि यो क्षेत्र सोचेभन्दा चाँडै नै तङ्ग्रियो," नेपाल असोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्सकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले भनिन्।

डलरको भाउले पनि यसमा केही योगदान गरेको हुन सक्ने जानकारहरू ठान्छन्।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए जुन अघिल्लो वर्षभन्दा थोरै बढी हो।

सन् २०२० मा कोभिड महामारीका कारण थलिनु अगाडिको पर्यटन आगमनको तुलनामा यो ९७% पुगेको उसले जनाएको छ।

यो आर्थिक वर्षको चार महिनामा पर्यटन आय २७ अर्ब रुपैयाँ नाघेको अनि लगभग सोही अवधिमा पर्यटनसँग सम्बन्धित ४७६ परियोजनाहरूमा ३० अर्बभन्दा धेरैको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको बोर्डले जनाएको छ।

"यो वर्ष भारतीय अनि बाङ्ग्लादेशी पर्यटकहरू धेरै आएको हामीले पाएका छौँ," जिस्वाँ तुलाधर श्रेष्ठले भनिन्।

सिक्काको अर्को पाटो: पर्यटन आयलाई फाइदा पुग्दै गर्दा नेपालीहरूले विदेश भ्रमण गर्दा वा नेपाली विद्यार्थीहरूले विदेशमा पढ्न जाँदा हुने खर्चमा चाहिँ डलरको भाउ बढ्दा नेपालीहरूलाई नोक्सानी परिरहेको हुन्छ।

राष्ट्र ब्याङ्कका अनुसार यो चार महिनामा मात्र शिक्षाका लागि ४८ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने नेपालीहरूले विदेश भ्रमण गर्दा २६ अर्बभन्दा धेरै खर्च भइसकेको छ।

रेमिट्यान्स

हातमा स्मार्टफोन, फोनमाथि विभिन्न देशका मुद्राका सङ्केतचिह्न

तस्बिर स्रोत, Getty Images

देशको अर्थतन्त्रको मुख्य खम्बा रहँदै आएको रेमिट्यान्स आम्दानीमा डलरको भाउ बढ्दा सकारात्मक प्रभाव पर्ने जानकारहरूले औँल्याउने गर्छन्। उति नै पैसा पठाए पनि डलर बलियो हुँदा नेपालमा धेरै पैसा आउने अवस्था हुन्छ।

केन्द्रीय ब्याङ्कको पछिल्ला विवरणहरूमा विदेशमा काम गर्ने नेपालीहरूले पठाउने विप्रेषण लगातार वृद्धि भइरहेको देखिन्छ।

पछिल्लो प्रतिवेदनअनुसार साउनदेखि यताको चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशत बढेर कुल ६८७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

सिक्काको अर्को पाटो: एकातिर रेमिट्यान्स आय वृद्धि भइरहँदा अर्कोतिर डलरमा नेपालले लिएका ऋणको भार चाहिँ उच्च अनुपातमा बढिरहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो मंसिरसम्ममा नेपालको बाह्य ऋण १४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। ती ऋणको अधिकांश हिस्सा अमेरिकी डलरमा भुक्तान गर्नुपर्ने प्रकृतिको छ।

उक्त कार्यालयका अनुसार डलरको निरन्तर अवमूल्यनकै कारण उसलाई ४४ अर्ब रुपैयाँभन्दा धेरैको अतिरिक्त भार परिसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।