अमेरिकी डलर अहिलेसम्मकै महँगो, भारु कमजोर हुँदा नेपाललाई पनि घाटा

तस्बिर स्रोत, Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल राष्ट्र ब्याङ्कले शुक्रवार प्रकाशित गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १४४ रुपैयाँ र बिक्री मूल्य १४४.९० रुपैयाँ तोकिएको छ।
अहिले अमेरिकी डलरको मूल्य उच्चतम बिन्दुमा पुगेको हो। नेपाली मुद्रा भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दरमा कायम गरिएकाले अमेरिकी डलर भारतीय मुद्राभन्दा बलियो हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा अमेरिकी डलरको मूल्यमा पनि पर्छ।
अर्थतन्त्रका जानकारहरूका अनुसार अमेरिकी डलरको मूल्य बढ्नुको सम्बन्ध अमेरिकाले भारतलाई लगाएको ट्यारिफसम्म रहेको बताएका छन्। सन् २००० को ज्यानुअरी १ मा ७० रुपैयाँभन्दा कम रहेको अमेरिकी डलरको सटही दर २५ वर्षमा दोबर भएको छ।
डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि उनले कैयौँ देशका सामग्रीमा ट्यारिफ अर्थात् आयात शुल्क बढाएका थिए। यसअघि नै २५ प्रतिशत आयात शुल्क सामना गरिरहेका भारतीय उत्पादन अमेरिका आयातका लागि ट्रम्पले थप २५ प्रतिशत आयात शुल्क रुसबाट तेल किनेबापत लगाएका थिए।
त्यसका कारण अमेरिकामा हुने भारतीय निर्यात ठूलो मात्रामा घटेको र त्यसको असर भारतीय रुपैयाँमा परेको भारतीय अर्थविद्हरूले बताएका छन्।
अहिले अमेरिकाको कडा नीतिका कारण डलरका तुलनामा भारतीय रुपैयाँ कमजोर भएको नेपाल राष्ट्र ब्याङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि बताउँछन्।
"भारतको मुद्रा कमजोर हुनुमा एउटा ट्यारिफ पनि हो। त्यसमा अरू नीति पनि जोडिएका छन्," क्षेत्री भन्छन्। भारतले सन् १९९० को दशकदेखि आफ्नो विनिमय दर बजारमा आधारित गरेको नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व डेप्यूटी गभर्नर नरबहादुर थापा बताउँछन्।
"अमेरिकाले लगाएको ट्यारिफको प्रभाव, जसको फलस्वरूप निर्यात घटेको अवस्था र प्रत्यक्ष वैदेशिक लगानी कम भएका कारण भारतीय रुपैयाँको बजार मूल्य तलमाथि भएको छ," थापा भन्छन्।
"नेपालले भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेका कारणले नेपाली रुपैयाँको डलरसँगको मूल्य तलमाथि भइरहन्छ।"
भारुको निरन्तर गिरावट

तस्बिर स्रोत, Reuters
डलरको तुलनामा निरन्तर घटिरहेको भारतीय रुपैयाँ पछिल्लो एक महिनायता मात्रै १.३५ प्रतिशतले घटेको छ र अहिले भारतमा एक अमेरिकी डलरको सटही दर ९० भारु नाघेको छ।
गत आर्थिक वर्षमा डलरको तुलनामा भारतीय रुपैयाँ ८४.२२ को बिन्दुमा पुगेको थियो। पाँच वर्षअघि सन् २०२१को ज्यानुअरीमा डलरको तुलनामा भारु ७२ को न्यून बिन्दुमा थियो।
"कसैले स्थानीय मुद्राबापत विदेशी मुद्रा माग्यो भने दिन सक्ने क्षमता हुनुपर्छ भन्ने मान्यता छ। तर हामीसँग त्यो क्षमता छैन र भारतले पनि त्यसको विकास गरिसकेको छैन," निर्यात घट्दा भारु कमजोर हुनुको कारणबारे पूर्वगभर्नर क्षेत्री भन्छन्।
नेपालको व्यापार ६२ प्रतिशत भन्दा धेरै भारतसँग हुने भएका कारण पनि नेपाली रुपैयाँको सटही दर भारुमा निर्भर रहने जानकारहरू बताउँछन्। नेपालमा भारतीय रुपैयाँ पनि पर्याप्त नभएका कारण भारतसँग समेत डलरमा व्यापार गर्नुपर्ने अवस्था रहेको क्षेत्रीको बुझाइ छ।
विगत पाँच वर्षदेखि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ लगातार घटिरहँदा भारतसँग स्थिर विनिमय प्रणाली कायम गरेको नेपाली रुपैयाँ पनि कमजोर बनिरहेको छ। स्थिर विनिमय दरका कारण भारु बढे नेपाली रुपैयाँ पनि बढ्छ, घटे घट्छ।
"सटही दर बजारले नतोकी सरकार वा राष्ट्र ब्याङ्कले तोक्ने पूर्व निर्धारित विनिमय दरलाई स्थिर विनिमय दर भनिन्छ," थापा भन्छन्।
नेपाली रुपैयाँले भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणाली अवलम्बन गरेको २०१७ साल वैशाख १ गतेदेखि हो। त्यतिखेर १०० भारु बराबर १६० नेपाली रुपैयाँकै दर कायम गरियो।
पछि विभिन्न समयमा त्यो दर १०१, १३५, १४२, १७०, १६८ रुपैयाँ बनाइयो तर फेरि अहिले निकै लामो समयदेखि उक्त दर १६० रुपैयाँमै कायम छ।
अहिले उक्त विनिमय दर हेरफेर गरे नेपाललाई नै घाटा हुने अर्थतन्त्रका जानकारहरू बताउँछन्। पूर्वगभर्नर क्षेत्रीका अनुसार अहिले भारुसँग विनिमय दर हेरफेर भए १०० भारुको २२० नेपाली रुपैयाँ जस्तो हुन सक्ने आकलन गरिएको छ।
स्थिर विनिमय दर नराखेको भए फाइदा हुन्थ्यो कि घाटा?

तस्बिर स्रोत, NRB
भारु अवमूल्यन भएकै कारण स्वाभाविक रूपमा उस्तै गतिमा नेपाली रुपैयाँ ओरालो लागेको छ।
अहिले नेपाली रुपैयाँ डलरसँग कमजोर भइरहेको जानकारहरू बताउँछन्। त्यसो भए भारतसँग कायम स्थिर विनिमय दरको प्रणाली अन्त्य गर्दा नेपाललाई फाइदा हुन्छ त? पूर्वगभर्नर क्षेत्री र भूतपूर्व डेप्यूटी गभर्नर थापा दुवै जना त्यसो गर्दैमा नेपाललाई फाइदा नहुने बताउँछन्।
"अहिले नै खुला छोड्ने हो भने १०० भारुको २२० भन्दा घटी हुँदैन," उनी भन्छन्।
"जबसम्म हाम्रो अर्थतन्त्र बलियो बनाएर निर्यात र सेवाबाट द्विपक्षीय रूपमा सन्तुलन ल्याउन सक्दैनौँ। त्यस बेलासम्म दुवै पक्षले स्थिर विनिमय दर कायम राख्नु अनिवार्य जस्तो देखिन्छ।"
नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशतसम्म रहेका कारण भारतसँग स्थिर विनिमय दर कायम नभएको भए नेपाली रुपैयाँ थप कमजोर हुने सम्भावना रहेको अर्थतन्त्रका जानकारहरू बताउँछन्।
"आयात निर्यातको हिसाबले हेर्ने हो भने नेपाली रुपैयाँ बलियो हुने कुनै कारण छैन," थापा भन्छन्।
"यदि स्थिर विनिमय दर नभएको भए नेपाली जनताले धेरै दु:ख पाउँथे। पेट्रोलियम पदार्थको मूल्य अकासिन्थ्यो अनि पाकिस्तान र श्रीलङ्कामा जस्तो मूल्य बढी हुन्थ्यो। विनिमय दरको कारणले मूल्य वृद्धि भएको छैन गरिब जनतालाई यसले राहत भएको छ।"
नेपालमा विप्रेषणका कारण मात्रै विदेशी मुद्राको सञ्चिति उल्लेख्य रहेको पूर्व ब्याङ्करहरू बताउँछन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि भारतसँग स्थिर विनिमय दर कायमै राखेर जान नेपाललाई सुझाव दिने गरेको नियामक निकायका पूर्वअधिकारीहरूले बताएका छन्।
भारतमा यो वर्ष आठ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ।
खुला सीमा भएका छिमेकी राष्ट्रहरू विश्वअर्थतन्त्रका रूपमा उदाउँदा त्यसको आर्थिक फाइदा लिन नेपालले पनि आर्थिक सुशासन र संस्थागत सुधार गर्नुपर्ने अर्थविद्हरूको बुझाइ छ।
"त्यहाँका कम्पनीहरू नेपाल नआउँदासम्म भारतले जतिसुकै राम्रो गरे पनि नेपालले लाभ पाउने देखिँदैन," थापा भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








