म्यानमार कूः म्यानमारलाई गृहयुद्धतर्फ धकेलेका घातक संघर्ष

तस्बिर स्रोत, Getty Images
- Author, सो विन, को को आङ् र नासोस स्टाइलियानउ
- Role, बीबीसी बर्मिज र बीबीसी डेटा जर्नालिजम्
म्यानमारमा देशको सेना र सशस्त्र नागरिकहरूको सङ्गठित समूहहरू बीच घातक भिडन्तहरूका घटना बढिरहेको नयाँ तथ्याङ्कहरूले देखाएका छन्।
सेनाविरुद्ध लड्नेहरूमध्ये प्रायः युवा छन् जसले एक वर्ष अघि सेनाले सत्ता हत्ताए यता आफ्नो नियमित दैनिकीलाई रोकेका छन्।
तीव्र रूपमा विस्तार भइरहेको हिंसा र विपक्षीहरूको नियोजित आक्रमणहरूले त्यहाँको विद्रोह गृहयुद्धमा परिणत भएको सङ्केत गर्छ।
त्यहाँ द्वन्द्व अनुगमन गर्ने समूह- सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजना (एकलेड)को तथ्याङ्क अनुसार अहिले हिंसा देशभर फैलिएको छ।
घटनास्थलबाटै दिइएको विवरणहरूले पनि योजनाबद्ध लडाइँका घटनाहरू बढेको र ती सहरी केन्द्रहरूमा बिस्तार भएको देखाउँछ जहाँ यसअघि सेनाविरुद्ध सशस्त्र प्रतिरोध भएका थिएनन्।
यद्यपि हिंसामा परेर मृत्यु हुनेको यकिन तथ्याङ्क प्रमाणित गर्न गाह्रो छ।
एकलेडका तथ्याङ्क स्थानीय सञ्चार माध्यम र अन्य विवरणहरूमा आधारित छन्- जसले सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेदेखि सुरु भएको राजनीतिक हिंसामा परी बाह्र हजार मानिसले ज्यान गुमाएको देखाउँछ। त्यहाँ जारी झडपहरू गत अगस्टदेखि झनै घातक बन्दै गएका छन्।
सैनिक कू लगत्तै भएका राष्ट्रव्यापी प्रदर्शनहरूमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा थुप्रै सर्वसाधारणको मृत्यु भयो।
तथापि, अहिले बढ्दो मृत्युदर नागरिकले हतियार उठाएपछि चर्केको लडाइँको परिणाम भएको एकलेडका तथ्याङ्कहरूले देखाउँछन्।
Nepali_Myanmar Feb 1 2022
संयुक्त राष्ट्र सङ्घकी मानव अधिकार प्रमुख मिशेल बाचलेटले बीबीसीसँगको अन्तर्वार्तामा म्यानमारमा जारी द्वन्द्वलाई अब गृहयुद्ध भन्न सकिने स्विकारिन्।
त्यस्तै उनले त्यहाँको सेनालाई प्रजातन्त्र पुनर्स्थापनाका लागि दबाब दिन "कडा कारबाही"को निम्ति संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई आह्वान गरेको समेत बताइन्।
उनले सङ्कटको समयमा अन्तर्राष्ट्रिय स्तरबाट तत्काल प्रतिक्रिया जनाउन नसकेको बताइन्। द्वन्द्वले क्षेत्रीय स्थिरतालाई खतरामा पारेको चेतावनी दिँदै अवस्थालाई "विनाशकारी" भएको बताइन्।
सरकारी सेनासँग लड्ने समूहहरूलाई सङ्गठित रूपमा पिपल्स डिफेन्स फोर्स (पीडीएफ) को रूपमा चिनिन्छ। यो युवाहरू मिलेर बनेको ठूलो नागरिक मिलिशिया समूहहरूको खुल्ला सञ्जाल हो।

तस्बिर स्रोत, Getty Images
१८ वर्षीया हेरा (परिवर्तित नाम) ले सैन्य कूपछि सरकार विरोधी प्रदर्शनमा होमिँदा भर्खरै मात्र उच्च माध्यमिक तहको पढाई पूरा गरेकी थिइन्।
उनले मध्य म्यानमारमा पीडीएफ 'प्लाटुन कमान्डर' बन्नकै लागि विश्वविद्यालय भर्ना हुने योजनालाई थाँती राखेकी छन्।
उनी फेब्रुअरी २०२१ को विरोध प्रदर्शनमा गोली हानिएकी विद्यार्थी म्या थ्वे थ्वे खाइङको मृत्युपछि पीडीएफमा सहभागी हुन उत्प्रेरित भएको बताउँछिन्।
उनका आमाबाबु सुरुमा आफ्नी छोरीले लडाइँको प्रशिक्षण सुरु गर्दा चिन्तित थिए। तर उनीहरूले छोरी यस विषयमा गम्भीर भएको महसुस गरेपछि चिन्ता त्यागिदिए।
"उहाँहरूले मलाई भन्नुभयो- 'यदि तिमी साँच्चै लड्न चाहन्छौ भने अन्त्यसम्म गर। आधा बाटोमा नछोड्नु।' त्यसैले मैले मेरो प्रशिक्षकसँग सल्लाह गरेँ र तालिमको पाँच दिनपछि पूर्ण रूपमा क्रान्तिमा होमिएँ।"
सेनाले सत्ता कब्जा गर्नुअघि हेराजस्ता मानिसहरू प्रजातन्त्रको उपभोग गरेर हुर्किएका थिए।
उनीहरूले सैन्य कब्जाको घटनाप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् र दशकौँदेखि सेनासँग लड्दै आएका सीमा क्षेत्रहरूमा जातीय भावनाले प्रेरित मिलिसियाहरूको समर्थन र प्रशिक्षण पाइरहेका छन्।

म्यानमारमा गृहयुद्ध - कसरी सङ्कलन गरिएको थियो तथ्याङ्क?
बीबीसीले विश्वभरि राजनीतिक हिंसा र विरोधको तथ्याङ्क सङ्कलन गर्ने संस्था एकलेडमार्फत उपलब्ध तथ्याङ्कहरू प्रयोग गरेको छ। यसले समाचार संस्था, नागरिक समाज र मानवअधिकार संगठनहरूद्वारा प्रकाशित विवरणहरू र स्थानीय र अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट प्राप्त सुरक्षा जानकारीहरूलाई आधार बनाएको छ।

एकलेडले प्रत्येक समाचार विवरणलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्दैन। संस्थाले घटना र मृत्यु आकलनबारे नयाँ जानकारी उपलब्ध हुनासाथ मृत्युको तथ्याङ्कलाई अद्यावधिक गर्छ।
द्वन्द्व क्षेत्रका सबै सान्दर्भिक घटनाहरूबारे थाहा पाउन कठिन हुने भएकाले त्यहाँबाट प्राप्त हुने विवरणहरू प्रायः एक पक्षीय वा अपूर्ण हुन सक्छन्।
साथै एकलेडले मृत्यु सम्बन्धी अनुमानित सबैभन्दा कम तथ्याङ्कलाई दस्तावेजिकरण गर्ने नीति लिएको छ।
यद्यपि, द्वन्द्वको दुवै पक्षले मिथ्या जानकारीहरू फैलाइरहेकाले घटनाको विस्तृत चित्र पाउन असम्भव छ। पत्रकारहरूलाई विवरण सङ्कलनका लागि समेत कडा प्रतिबन्ध लगाइएको छ।

बीबीसीले बर्मेली सेना र सशस्त्र नागरिकबीच सन् २०२१ को मेदेखि जुनसम्म भएको झडपमा परी मृत्यु हुनेहरूको जानकारी सङ्कलन गरेको थियो। उक्त तथ्याङ्क एकलेडको तथ्याङ्कसँग मिल्दो छ।

पीडीएफमा कृषक, गृहिणी, चिकित्सक र इन्जिनियरजस्ता आम मानिस संलग्न छन्। उनीहरू सेनालाई सत्ताबाट हटाउने दृढताका कारण एक सुत्रमा बाँधिएका छन्।
उनीहरूको देशभर विभिन्न विभागहरू छन् तर महत्त्वपूर्ण विषय के हो भने बमर केन्द्रीय मैदान र सहरहरूमा बहुसङ्ख्यक बमर जातीका युवाहरूले नेतृत्व लिइरहेका छन्- अन्य जातीय युवाहरूसँग सेनामा सहभागी भइरहेका छन्।
"धेरै नागरिकहरू मिलिसियाहरूमा गएका छन् वा भनौँ कथित जनताको सुरक्षा बलहरू खडा गरेका छन्," बाचलेटले बीबीसीसँग भनिन्।
"त्यसैले मैले लामो समयदेखि भन्दै आएको छु, यदि हामीले यसबारे कडा पहल गर्न सकेनौँ भने त्यहाँको अवस्था धेरै हदमा सिरियाको जस्तै हुनेछ।"

तस्बिर स्रोत, Getty Images
मध्य म्यानमारको सागाइङ क्षेत्रमा पीडीएफको थुप्रै एकाइहरू नियन्त्रण गर्ने एकजना भूतपूर्व व्यापारी नगरले बीबीसीसँग यो समान लडाइँ नभएको बताए।
पीडीएफ गुलेलीहरूबाट सुरु भएको थियो। यद्यपि उनीहरूले अहिले आफ्नै बन्दूक र विस्फोटक सामग्री बनाएका छन्।
पीडीएफले रुस र चीन लगायतका जुन्टालाई खुलेर समर्थन गर्ने देशहरूबाट हतियार किन्न सक्छ।
म्यानमारका प्रत्यक्षदर्शीहरूले बीबीसीसँग साझा गरेको स्वतन्त्र अनुसन्धानले रुसी बख्तरबन्द वाहनहरू केही साताअघि याङ्गुनमा अवतरण गरिएको पुष्टि गर्यो।
तर पीडीएफको बल भनेको स्थानीय समुदायहरूले गर्ने समर्थन हो। भुईँ मान्छेको प्रतिरोधको रूपमा सुरु भएको यस समूह झनै सङ्गठित, साहसी र युद्धका लागि कठोर बन्दै गएको छ।
निर्वासित राष्ट्रिय एकता सरकारले पीडीएफका केही एकाइहरू स्थापना र नेतृत्व गर्न मद्दत गरेको छ - र अरूसँग अनौपचारिक रूपमा सम्पर्कमा रहन्छ।
पीडीएफ प्रहरी चौकीहरू र कर्मचारीहरू अव्यवस्थित भएका कार्यालयजस्ता सरकारी बलका केन्द्रहरूमा बसेको छ।
उनीहरूले हतियारहरू बरामद गरेका छन् र दूरसञ्चार टावर र ब्याङ्कहरूसहित सरकारको स्वामित्वमा रहेका व्यवसायहरूमा बम विस्फोट गरेका छन्।
पीडीएफसँग देशको भविष्य आफ्नो हातमा लिनुको विकल्प नभएको नगर बताउँछन्।
"मलाई लाग्छ टेबल वार्तामार्फत समस्याको समाधान खोज्ने उपायले आज काम गर्दैन। संसारले हाम्रो देशलाई बेवास्ता गरिरहेको छ। त्यसैले म आफै हतियारसहित उत्रनेछु।"

तस्बिर स्रोत, Getty Images
आफ्नी दिदीबहिनीहरूसँग पीडीएफमा सामेल भएकी हेरा उनीहरूको उद्देश्य नै "सैन्य तानाशाहीलाई जरैदेखि उखेल्ने" भएको सुनाउँछिन्।
"सेनाले निर्दोष मानिसहरूलाई मारेको छ। उनीहरूले मानिसहरूको जीविकोपार्जन गर्ने बाटो र सम्पत्ति नष्ट गरेका छन्। र मानिसहरूलाई आतङ्कित गर्छन्। म यस्तो व्यवहारलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दिनँ।"
गत जुलाईमा कम्तीमा '४० जना पुरुषको मृत्यु र डिसेम्बरमा ३५ भन्दा बढी पुरुष, महिला र बालबालिकाको हत्यासहित सेनाद्वारा सर्वसाधारणको सामूहिक हत्या' का थुप्रै घटनाहरू भएका छन्।
बीबीसीले डिसेम्बरमा सेनाले गरेको आक्रमणबाट बचेका एक जना मानिससँग कुरा गरेको छ।
मध्य म्यानमारको नागाटविनस्थित एक गाउँमा सैनिकहरू प्रवेश गर्दा भाग्न नसकेका छ जना पुरुष मारिए।
तीमध्ये तीन जना वृद्ध थिए र दुई जनाको मानसिक अवस्था स्वस्थ नरहेको गाउँलेहरूले बताएका छन्। बाँचेका व्यक्तिका अनुसार जुन्टा सेनाले प्रतिरोधी लडाकुहरूको खोजी गरिरहेका थिए।
मृतकमध्ये एककी विधवाले आफ्नो श्रीमानको शरीरमा यातनाका कारण बसेको दाग देखिएको बताइन्।
उनले बीबीसीसँग भनिन्, "उनीहरूले राम्रोसँग बोल्न समेत नसक्ने एक वृद्धको हत्या गरे। म यस घटनालाई कहिल्यै भुल्ने छैन। जब म त्यसबारे सोच्छु तब रुन मन लाग्छ।"
बर्मेली सेनाले विरलै अन्तर्वार्ता दिन्छ। सन् २०२१ को अन्त्यमा बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा जुन्टाका प्रवक्ता जाव मिन टुनले पीडीएफलाई आतङ्कवादीका रूपमा व्याख्या गर्दै उनीहरूविरुद्धको कदमको औचित्य पुष्टि गरे।
"उनीहरूले हामीमाथि आक्रमण गरेको अवस्थामा हाम्रो तर्फबाट जवाफ फर्काउन हाम्रा सेनाहरूलाई आदेश दिएका छौँ। हामीले उपयुक्त बलको प्रयोग गरेर देश र यहाँका क्षेत्रहरूलाई सुरक्षित गर्ने प्रयास गरिरहेका छौँ," उनले भने।

तस्बिर स्रोत, Getty Images
दुवै पक्षका लडाकुहरूको सही सङ्ख्या अनुमान गर्न गाह्रो छ। आधिकारिक रूपमा, म्यानमारको सैन्य सङ्ख्या करिब ३७०,००० रहेको छ। तर, वास्तविकतामा उक्त सङ्ख्या अझै थोरै हुनसक्छ। पछिल्ला वर्षहरूमा, विशेष गरी सैन्य कूपछि निकै कम मानिसहरू सेनामा भर्ती भएका छन्। त्यसै गरी पीडिएफमा संलग्नहरूको सङ्ख्याको पनि यकिन अनुमान गर्न गाह्रो छ।
राष्ट्रिय एकता सरकार (एनयूजी)ले खडा गरेको एकाइहरूका अलावा पीडीएफका केही सदस्यहरूलाई सीमामा सक्रिय जातीय सशस्त्र समूहहरूले तालिम, बास तथा हतियारहरू प्रदान गरेका छन्।
केही समूहहरूले अघिल्लो सरकारहरूसँग शान्तिवार्ता गरेका थिए जुन अहिले भङ्ग भएका छन्।
पीडीएफले अहिले सार्वजनिक रूपमा जातीय विद्रोहीहरू समक्ष माफी मागेको छ। पहिले पीडिएफले यी विद्रोही समूहहरूले मिथ्या प्रचार गरेर देश विखण्डन पार्न खोजेको विश्वास गर्थ्यो। पीडिएफले अहिले निर्विरोध गणतान्त्रिक राज्यको माग गरिरहेको छ जहाँ सबैको समान अधिकार हुन्छ।
एक धार्मिक महिला जसले गत मार्चमा भएको सैन्य कूमा प्रदर्शनकारीहरूलाई बचाउन प्रहरी समक्ष घुँडा टेकेकी थिइन् उनले बीबीसीसँग भनिन् - कू पश्चातको राजनीतिक उथलपुथलले जनमानसमा भूकम्पीय असरहरू पारेको छ।

तस्बिर स्रोत, Myitkyinar News Journal via Reuters
"बालबालिकाहरू विद्यालय जान पाएका छैनन्। शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक जीविकोपार्जन- सबै कुराहरू पछाडि धकेलिएका छन्," सिस्टर एन रोज लु ट्वाङले भनिन्।
"केहीले आफ्नो गर्भपतन गराए किनकि कमजोर आर्थिक अवस्थाका कारण उनीहरूले बच्चा हुर्काउन सक्दैन थिए। जीविकोपार्जनमा कठिनाइका कारण केही अभिभावकहरूले आफ्ना सन्तानलाई उचित स्याहार दिन सक्दैनन्।"
तर, उनले युवाहरू यस विद्रोहमा सामेल भएको अवस्थाको प्रशंसा गरिन्।
"उनीहरू बहादुर छन्। प्रजातन्त्र प्राप्तिका लागि, देशको भलाइ र सैन्य शासनबाट शान्ति र मुक्तिका खातिर उनीहरू आफ्नो जीवन बलिदान दिन समेत पछि पर्दैनन्। म उनीहरूलाई देखेर निकै गर्व महसुस गर्छु। र उनीहरूको तारिफ र सम्मान गर्छु।"











