म्यान्मारः सैन्य सरकारद्वारा 'बौद्धमार्गी बिन लादेन' थुनामुक्त

सन् २०१८ मा बौद्धभिक्षु वशिन विर्यादू

तस्बिर स्रोत, Getty Images

म्यान्मारको सैन्य सरकारले विवादास्पद बौद्धभिक्षु वशिन विराडुलाई जेलमुक्त गरेको छ। उनी अतिराष्ट्रवादी र मुस्लिमविरोधी उग्र भाषणका कारण विवादित छन्।

उनलाई निर्वाचित सरकारविरुद्ध द्रोह गरेको अभियोग लागेको थियो। गत वर्ष सैन्य कूबाट उक्त सरकार विस्थापित भइसकेको छ।

चर्को कुरा गर्ने यी भिक्षु सेनाको समर्थन गर्छन्।

मुस्लिम तथा विशेषगरी रोहिन्ज्या समुदायलाई लक्ष्य गरेर उग्र भाषण गर्ने भएकाले उनलाई "बौद्धमार्गी बिन लादेन" को सङ्ज्ञा दिइएको छ।

उनी सेनाको समर्थनमा आयोजित र्‍यालीहरूमा राष्ट्रवादी भाषण तथा नेत्री आङ सान सू ची तथा उनको दल न्याश्नल लीग फर डिमोक्रेसीले नेतृत्व गरेको सरकारको आलोचना गर्दै सहभागी हुने गर्थे।

आत्मसमर्पण

सन् २०१९ मा उनलाई नागरिक सरकारविरुद्ध "घृणा र द्वेष" फैलाएको अभियोग लगाइयो।

त्यसपछि भागेका विराडुले गत वर्ष नोभेम्बरमा उनले आत्मसमर्पण गरेका हुन्।

उनी आफूविरुद्ध हालिएको मुद्दाको सुनुवाइ पर्खिरहेका थिए।

सैन्य सरकारले उनीविरुद्धका सबै अभियोग फिर्ता लिइएको सोमवार बताएको छ। तर त्यसबारे कुनै कारण उल्लेख गरिएको छैन।

सैन्य सरकारका अनुसार ती भिक्षुको एउटा सैनिक अस्पतालमा उपचार हुँदैछ। उनलाई के भएको हो भन्ने थाहा हुन सकेको छैन।

'आतङ्कको प्रतीक?'

विराडुलाई म्यान्मारमा मुस्लिम र रोहिन्ज्या समुदायविरुद्ध हिंसा फैलाएको आरोप लागेको छ।

बौद्धमार्गीहरूलाई आफ्नै समुदायले चलाएको पसलमा किनमेल गर्न, समुदायभित्रै सम्पत्ति बेचबिखन गर्न र बिहेवारी गर्न आह्वान गर्दै सञ्चालित राष्ट्रवादी "९६९ अभियान" का उनी एक प्रमुख व्यक्तित्व थिए।

चर्चाको शिखरमा हुँदा दशौँ हजार मानिसले उनको धार्मिक प्रवचन सामाजिक सञ्जालमा सुन्थे। उनी सहभागी र्‍यालीमा पनि ठूलो सङ्ख्यामा मानिसहरू जान्थे।

रखाइन प्रान्तमा मुस्लिम र बौद्ध समुदायबीच हिंसा फैलिएको बेला उनले सन् २०१२ मा गरेको भाषणले विराडु चर्चित हुन पुगे।

त्यसको अर्को वर्ष टाइम म्यागजीनले आफ्नो मुखपृष्ठमा उनको तस्बिर "द फेस अफ बुद्धिस्ट टेरर?" भन्ने शीर्षकसहित प्रकाशित गर्‍यो। अर्थात् के उनी आतङ्कको प्रतीक हुन् भनेर प्रश्न गर्‍यो।

बौद्धमार्गीहरूको सर्वोच्च निकायले सन् २०१७ मा उनलाई एक वर्षका लागि प्रवचन गर्न प्रतिबन्ध लगायो।

सन् २०१८ मा फेसबुकले अभद्र र घृणामूलक भाषाका लागि उनको पेज मेटिदियो।

झन्डै पाँच करोड ४० लाख जनसङ्ख्या भएको म्यान्मारमा बौद्धमार्गीहरूको बाहुल्य छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मार सैन्य शासनः बौद्ध भिक्षुहरू विभाजित