संयुक्त राष्ट्रसङ्घ: यौन दुर्व्यवहारजस्ता उजुरीहरू 'राम्ररी नसुनी खारेज गरिन्छ'

- Author, सीमा कटेचा र सेराह बेल
- Role, बीबीसी न्यूज
संयुक्त राष्ट्रसङ्घबारे गोप्य सूचनादाताका आरोपका जाँच बाह्य संयन्त्रले गर्नुपर्ने यौन दुर्व्यवहारसम्बन्धी राष्ट्रसङ्घकी एक पूर्वप्रवक्ताले बताएकी छन्।
आफूमाथि राष्ट्रसङ्घमा गलत व्यवहार भएको आरोप लगाउने एक कर्मचारीलाई पदबाट बर्खास्त गरिएको बीबीसीको एउटा अनुसन्धानले देखाएपछि पूर्णा सेनको प्रतिक्रिया आएको हो।
राष्ट्रसङ्घले त्यस्तो 'कदम चालेर' बाह्य संयन्त्रले दिने सुझाव कार्यान्वयन गर्नुपर्ने बताइन्।
राष्ट्रसङ्घले भने 'गोप्य रूपमा वास्तविक सूचना दिने' व्यक्तिका संरक्षण गर्न र आफ्ना कर्मचारीहरूलाई जबाफदेही बनाउन प्रतिबद्ध रहेको दाबी गरेको छ।
बीबीसीको वृत्तचित्रको खुलासा
बीबीसीको वृत्तचित्र 'द विस्अलब्लोअर्स: इन्साइड द यूएन'मा यौन दुर्व्यवहार र ठगीजस्ता आरोप लगाउने कर्मचारीहरूको धारणाहरू समेटिएको छ।
उनीहरू सबैले त्यस्ता आरोपका बारेमा बोलेको आफूलाई दण्ड दिइएको बताएका छन् भने केहीले पदबाट बर्खास्त गरिएको उल्लेख गरेका छन्।
सन् २०१८ मा दुर्व्यवहार, आक्रमण र विभेदबारे प्रवक्ता नियुक्त गरिएकी सेनले उक्त वृत्तचित्रमा राष्ट्रसङ्घमा कार्यरत महिलाहरूसमक्ष 'पुगिएको, जम्काभेट भएको र बलात्कार गरिएको' बताइन्।
उनले भनिन्, "जति त्यसका लागि पुरुषहरूलाई उन्मुक्ति दिइन्छ, त्यत्ति नै उनीहरूले यसो गरिरहन्छन्।"
उनले बीबीसीको न्यूजनाइटसँग कुरा गर्दै 'एकदमै निराश' तुल्याउने खालका बयानहरू सुनेर आफू आश्चर्यचकित नभएको बताइन्।
सेनले आफूले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले कर्मचारीका अनुभवबारे ध्यान दिन र चाल्ने कदमबारे सुझाव दिन एउटा बाह्य संयन्त्र गठन गरून् भन्ने आफूले चाहेको बताइन्।
राष्ट्रसङ्घका महासचिव गुटेरसको कार्यालयले 'कुनै पनि प्रकारको दुर्व्यवहार'विरुद्ध जुध्ने आफ्नो प्रयासको बाह्य पुनरावलोकन लागि आफू तयार रहेको जनाएको छ।
कूटनीतिक उन्मुक्ति
राष्ट्रसङ्घको कानुनी हैसियत संरक्षित रहेको छ र कतिपय वरिष्ठ कर्मचारीहरूले सबै राष्ट्रिय कानुनबाट कूटनीतिक उन्मुक्ति पाउने गरेका छन्।
आफूले काम गरिरहेको समयमा हस्तक्षेप नहोस् भनेर सो निकायलाई संरक्षण गर्नका लागि यस्तो व्यवस्था गरिएको हो।
तर राष्ट्रसङ्घले कर्मचारीहरूको व्यक्तिगत लाभका लागि त्यस्तो व्यवस्था नगरिएको र त्यसले यौन दुर्व्यवहार जस्ता अपराध गर्नेहरूलाई संरक्षण नगर्ने बताएको छ।

तस्बिर स्रोत, Getty Images
राष्ट्रसङ्घका सबै कर्मचारीहरूका उजुरी संस्थाभित्रै सम्बोधन गरिन्छ।
त्यहाँको अफिस अफ इन्टरनल ओभरसाइट सर्भिसेज ओआईओएसले गम्भीर आरोपहरूलाई हेर्ने तर फौजदारी कसुरको दाबी गरिएका उजुरी हेर्ने भए पनि उक्त निकायसँग कुनै कानुनी अधिकार भने छैन।
बीबीसीलाई उपलब्ध गराइएको एउटा गोप्य टेपले ओआईओएस सधैँ प्रभावकारी नभएको देखाउँछ। टेपमा अनुसन्धान विभागका निर्देशक बेन स्वानसनले कर्मचारीको बैठकलाई सम्बोधन गरिरहेको सुन्न सकिन्छ।
उनले एक वरिष्ठ राष्ट्रसङ्घीय महिला कर्मचारीले आफूसामु आँसु झार्दै एक सहायक महासचिवले आफूलाई गलत नियतले छोएको बताएको उल्लेख गरेका छन्।
राष्ट्रसङ्घमा कैयौँ सहायक महासचिव रहेका छन्।
उक्त टेपमा स्वानसनले आफूले महासचिव र अरू वरिष्ठ अधिकारीहरूलाई यौन दुर्व्यवहारको उक्त आरोपबारे जानकारी गराएको तर तत्कालै आफ्नो मुख बन्द गराइएको बताइएका छन्।
उनले ती महिलालाई आफूमाथि भएको दुर्व्यवहारको आरोपबारे उजुरी दिन निरुत्साहित गरिएको जानकारी दिए।
त्यसरी प्रश्न उठाइएका पुरुष 'प्रभावशाली' रहेकाले उनीविरुद्ध बोल्न उपयुक्त नहुने कुरा सुनाइएको उनले बताएकी थिइन।
उक्त अडियो रेकर्डिङ सार्वजनिक गरेका पिटर गेलोले वृत्तचित्रमा भनेका छन्, "मैले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा अनुसन्धानकर्ताको रूपमा चार वर्ष बिताए। मेरो अनुभवको आधारमा म के विश्वास गर्छु भने संस्थामा तलदेखि माथिसम्म भ्रष्टाचार व्याप्त रहेको छ।"
उनको विवरण सुनेपछि सेनले भनिन्, "महासचिवले किन यो लाजमर्दो भयो र हामीले अब यसबारे के गर्ने भनेर भनिरहनुभएको छैन। शून्य सहनशीलताको नीति भनेको अब हामीले कदम चाल्नुपर्छ भनेर भन्नुपर्थ्यो।"
"तर त्यसको सट्टामा हामीले होइन भन्ने खालको जबाफ पायौँ।"

गम्भीर आरोपका अनुसन्धान
राष्ट्रसङ्घका महासचिवको कार्यालयले 'यौन दुर्व्यवहारमा दोषी पाइएका कुनै पनि वरिष्ठ वा कनिष्ठ कर्मचारीलाई कारबाही गर्न' आफू प्रतिबद्ध रहेको जनाएको छ।
यूएनएड्सकी एक पूर्व वरिष्ठ सल्लाहकार मार्टिना बोस्ट्रमले बीबीसीसँग कुरा गर्दै कार्यस्थलमा हुने यौन दुर्व्यवहारबाट आफू पीडित भएको बताइन्।
उनले भनिन्, "राष्ट्रसङ्घभित्र मुख्यालयमा यौन शोषण, दमन र दुर्व्यवहार सोमवारदेखि शुक्रवारसम्म हुन्छ। दैनिक कामको समयदेखि जुनसुकै ठाउँमा पनि यो हुन्छ।"
उनले आफूलाई यूएनएड्सका पूर्व उप-कार्यकारी निर्देशक एवं सहायक महासचिव लुइज लोरेजले निसाना बनाएको भन्दै ती व्यक्ति 'अनैतिक' भएको र आफ्नो दुर्व्यवहारका लागि परिचित भएको जनाइन्।
कामसँग सम्बन्धित बैङ्ककको एउटा कार्यक्रममा सन् २०१५ मा आफूलाई जबरजस्ती चुम्बन गरिएको र मिटिङ सकिएपछि लिफ्टमा आफ्नो शरीरलाई छोइएको र पछि कोठामा लैजान खोजिएको बताइन्।
उनले भनिन्, "मैले उनलाई त्यसो नगर्न र मलाई जान दिन अनुरोध गरिरहेँ। मैले लिफ्टभित्रै आफूलाई बन्द गरेँ किनभने मलाई त्यो लामो करिडोर देखेर डर लाग्यो।"
मार्टिनाले औपचारिक उजुरी दर्ता गराइन र उनले राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूसँग पनि कुरा गरिन्। राष्ट्रसङ्घ र यूएनएड्सले एकदमै 'तुच्छ र पीडा दिने हिसाबले प्रतिकार' गरेको उनले बताइन्।
"त्यो एकदमै पीडादायी थियो किनभने मलाई आफूमाथि फेरि दुर्व्यवहार भइरहेको जस्तो लाग्यो। मलाई यस्तो लाग्यो कि उनीहरूले मलाई सास फेर्न पनि दिएका थिएनन्।"

सन् २०१८ मा लुइज लोरेजले राष्ट्रसङ्घबाट अवकाश पाए र उनलाई २२ वर्षसम्म निरन्तर समर्पित भएकोमा धन्यवाद दिइयो।
उनले बीबीसीसँग भने, "मैले कसैमाथि दुर्व्यवहार वा आक्रमण गरेको छैन। ती आरोपहरू आधारहीन छन्।"
राष्ट्रसङ्घले "डा. लुइजमाथि लगाइएका दुर्व्यवहारका आरोपहरूबारे अनुसन्धान गरिएको" बताएको छ तर अहिलेको समयमा "ती दाबीहरूको बारेमा प्रतिक्रिया जनाउनसक्ने अवस्थामा" नरहेको बताए।
सन् २०२१ अगस्टमा मार्टिनालाई राष्ट्रसङ्घले एउटा पत्र दियो जसमा उनीमाथि 'लामो अवधिसम्म यौन दुर्व्यवहार' गरिएको स्वीकार गरिएको थियो।
तर सन् २०१५ को यौन आरोपका बारेमा उनीहरूले निकालेको निष्कर्ष यस्तो थियो: "तपाईँले उक्त अवस्थाबारे सुनाएको कुरासँग मिल्दो केही पीडादायी चीज भएको थियो" तर "त्यसले प्रमाणको मापदण्ड पुरा गर्दैन।"
शून्य सहनशीलता
सेनले मार्टिनासँग सम्बन्धित घटनाले राष्ट्रसङ्घभित्र व्याप्त वृहत् समस्या उजागर गरेको बताइन्।
उनले राष्ट्रसङ्घभित्रका एक तिहाइ कर्मचारीहरूले काममा यौन दुर्व्यवहार सामना गरेको उल्लेख गर्दै धेरै घटनाहरूमा उजुरी नै नपर्ने बताइन्।
"हामीलाई के थाहा छ भने यी यस्ता खालका घटनाको एउटा सानो अंश मात्रै हुन् र यो एकदमै महत्त्वपूर्ण विषय हो। त्यहाँ भित्र रहेका मानिसहरू उजुरी दिए नराम्रो परिणाम भोग्नुपर्ने र प्रतिकार गरिने महसुस गर्छन्।"
"यदि ममाथि आक्रमण भएको थियो वा यौन दुर्व्यवहार गरिएको थियो भने सम्भवतः मैले उजुरी गर्ने थिइन्। म त्यो प्रक्रियामा आफूलाई राख्ने नै थिइन्।"

तस्बिर स्रोत, Reuters
एउटा विज्ञप्तिमा राष्ट्रसङ्घका महासचिवको कार्यालयले 'यौन दुर्व्यवहारको समस्याबाट कुनै पनि संस्था अछुतो नभएको भन्दै त्यसविरुद्धको लडाइँमा महत्त्वपूर्ण सुधार गरिएको' जनाएको छ।
आरोपहरूको जाँचका लागि महिला अनुसन्धानकर्ताहरूलाई नियुक्त गर्ने, उजुरी दिनका लागि हटलाइनको व्यवस्था गर्ने र वरिष्ठ व्यवस्थापकलाई तालिम दिने जस्ता कदम चालिएको उसको भनाइ छ।
तर बीबीसीसँग कुरा गर्दै सेनले उक्त वृत्तचित्रमा समेटिएका विवरणले शून्य सहनशीलताको आफ्नो प्रतिबद्धता राष्ट्रसङ्घले पुरा नगरेको र अझ धेरै कदम चाल्नुपर्ने देखाएको जनाएकी छन्।








