रिभेन्ज पोर्न: इन्डोनेशियामा पीडितहरू पनि किन जेल सजाय पाउने त्रासमा छन्

तस्बिर स्रोत, Davies Surya/BBC Indonesia
- Author, लारा ओवेन
- Role, महिला मामिला पूर्वी एशिया, बीबीसी विश्व सेवा
चौबीस वर्षीया सितीले पाँच वर्षदेखि आफ्ना अभिभावक तथा साथीहरूलाई थाहा नदिईकनै एक पुरुषसँग सम्बन्ध गाँसेकी थिइन्। तर उनी 'रिभेन्ज पोर्न' को सिकार भइन्।
उक्त सम्बन्धमा हिंसा हुन थालेपछि सिती (परिवर्तित नाम) ले गत वर्ष सम्बन्ध तोड्न खोजिन्। तर ती पुरुषले बदला लिन उनका गोप्य तस्बिरहरू सामाजिक सञ्जालमा राखिदिए।
त्यसरी सहमतिबेगर यौनक्रियासम्बन्धी तस्बिर वा भिडिओ राखिदिनुलाई 'रिभेन्ज पोर्न' भनिन्छ।
यसलाई कैयौँ देशमा अपराध मानिन्छ र पीडितले प्रशासनको सहयोग लिन सक्छन्।
तर इन्डोनेशियामा सितीजस्ता पीडितहरू अधिकारीहरूसमक्ष जान हिच्किचाउँछन् किनभने त्यहाँको अश्लीलतासम्बन्धी कानुनले पीडित तथा अपराध गर्नेलाई छुट्ट्याउँदैन।
सन् २०१९ मा एकजना त्यस्तै महिलालाई तीन वर्ष जेल सजाय भएको थियो। सजायविरुद्धको आवेदन पनि अस्वीकृत भयो।
रिभेन्ज पोर्नका पीडितहरू आफू एक्लो महसुस गर्छन्।
"यो घटनाले म एकदमै फसेको अनुभव गर्छु। कैयौँ पटक मलाई बाँच्न पनि मन लाग्न छाड्यो। म रुन खोज्छु तर आँसु आउँदैन," सितीले भनिन्।
इन्डोनेशिया एक मुस्लिमबहुल देश हो र त्यहाँ यौनिकता एवं विवाहअगाडिको यौनबारे परम्परागत धारणा धेरै छ।
इन्डोनेशियन विमिन्स असोसीएशनको लीगल एड इन्स्टिट्यूटकी हुस्ना अमिनका अनुसार उनले सितीजस्तै हालतमा रहेका थुप्रै पीडितहरू देशभरि रहेको पाएकी छन्।
इन्डोनेशियाको महिलाविरुद्ध हिंसासम्बन्धी राष्ट्रिय आयोगले सन् २०२० मा अनलाइन लैङ्गिक हिंसाका १,४२५ घटना दर्ता भएको जनाएको छ। विज्ञहरू वास्तविक सङ्ख्या अझ धेरै हुने ठान्छन्।
"पीडितहरू आफैँ दण्डित हुन सक्ने भएकाले अगाडि आउँदैनन्," अमिनले भनिन्।

तस्बिर स्रोत, Davies Surya/BBC Indonesia
इन्डोनेशियाको अश्लीलतासम्बन्धी कानुनले मानिसलाई "जानाजान, वा सहमति सहित, अश्लील सामग्रीको वस्तु वा मोडल हुन" वर्जित गर्छ।
निजी प्रयोगका निम्ति बनाइएका भए पनि यौनसम्बन्धी भिडिओहरूमा देखिने व्यक्तिहरू यो कानुनअनुसार सजायको भागीदार हुन सक्छन्।
तर यो त्रासका कारण पीडितहरू बोल्न नसक्ने हुँदा हिंसक वा बदलाको भावना भएकाहरूले तिनका अपराधबाट उम्कने बाटो पाएका छन्।
सितीको सम्बन्ध कसरी बन्यो, कसरी बिग्रियो?
सितीको सम्बन्ध पनि सामान्य सम्बन्ध जसरी नै सुरु भयो। माध्यमिक विद्यालयमा हुँदा उनले ती केटासाथी भेटिन्। उनीहरूको साझा साथीहरू थिए ती पुरुष दयालु, बफादार तथा ध्यान राख्ने खालका देखिन्थे।
"सुरुका दिनमा उनलाई मेरो भावी पतिको रूपमा हेर्दै मैले मूर्खतापूर्ण कामहरू गरेँ। मेरा भिडिओ तथा फोटो खिँच्न दिएँ," उनले भनिन्।
तर चार वर्षको सम्बन्धपछि उनको व्यवहार बदलियो।
"उनी मलाई साथीसँग भेट्न दिँदैनथे। दिनमा ५० पटकसम्म फोन गरेर मेरोबारे जानकारी लिइरहन्थे," सितीले भनिन्।
"म त पिँजडामा थुनिएको चराजस्तो अनुभव गर्न थालेँ। पिँजडाभित्रै बस्दा ऊ ठिकै हुन्थ्यो तर म स्वतन्त्र हुन खोजेँ कि ऊ बहुलाउँथ्यो।"
एक दिन अचानक उनी सितीको विश्वविद्यालय हातामा पुगेर चिच्याउन थाले अनि उनको गोप्य तस्बिर सार्बजनिक गरिदिने धम्की दिए।
"'कुकुर्नी' र 'वेश्या' जस्ता शब्द ममाथि प्रयोग गर्यो," सितीले बताइन्।
"अर्को एक पटक गाडीमा सँगै भएको बेला मैले अब छुट्टिन चाहेको बताउँदा उनले मेरो घाँटी न्याके।"
'म पीडित हुँ '
आफ्ना भूतपूर्व प्रेमीविरुद्ध प्रहरीमा उजुरी गर्न सिती डराएकी छन् किनभने त्यसपछि उनले गोप्य भिडिओ तथा तस्बिरका प्रमाण एवं प्रत्यक्षदर्शीहरू जुटाउनुपर्छ।
"यी तस्बिर सार्वजनिक गर्ने मेरो नियत होइन। म त परिस्थितिवश पीडित हुँ," सितीले भनिन्।

तस्बिर स्रोत, Davies Surya/BBC Indonesia
बीबीसी इन्डोनेशियाले प्रहरी प्रमुख पोल राडेन प्रबोयो आर्गो युवोनोसँग अनलाइन दुर्व्यहार खेपेका महिलाहरूमाझ प्रहरीकहाँ जान भइरहेको संशयबारे सोधेको थियो। उनले पीडित महिलाहरूले उजुरी गरेका मामिला हेर्ने विशेष प्रक्रिया रहेको र तिनलाई महिला प्रहरी अधिकृतले हेर्न सक्ने बताए।
तर लीगल एड इन्स्टिट्यूटका अनुसार अनलाइनमार्फत् हुने लैङ्गिक हिंसाका घटनामध्ये केवल १० प्रतिशतमात्र सुरक्षा फौजसमक्ष उजुरी हुने गरेको छ।
महामारीका बेला रिभेन्ज पोर्नका पीडितहरूले सोझै उनीहरूसँग सम्पर्क गरेको घटनामा निकै वृद्धि देखिएको उसले जनाएको छ।
'बेडरूममा राज्यको निगरानी'
सन् २०१९ मा चर्चित भएको एउटा घटनामा एक महिलालाई अश्लीलतासम्बन्धी कानुनअन्तर्गत तीन वर्षको जेल सजाय सुनाइयो। सो कानुनले अधिकतम १५ वर्ष जेल सजायसम्म तोक्न सक्छ।
भी भनेर चिनिने एक महिलाको निजी भिडिओ अनलाइनमा फैलियो जसमा उनले कैयौँ पुरुषहरूसँग यौनसम्बन्ध राखेको देखिन्छ।
ती महिलालाई निःशुल्क कानुनी सेवा दिएकी वकिल आसरी विद्या भन्छिन् उक्त कानुन अत्यधिक बलशाली छ र त्यसले प्रत्येक नागरिकको निजत्वको हक हनन गर्न सक्छ।
ती महिला घरेलु हिंसाको पीडित भएको उनकै पतिले उनलाई यौनका निम्ति बेचबिखन गरेको आसरीले बताइन्।
गत वर्ष उनले उक्त कानुनविरुद्ध इन्डोनेशियाको संवैधानिक अदालतमा मुद्दा हालिन्।

तस्बिर स्रोत, Davies Surya/BBC Indonesia
"राज्य उसका नागरिकहरूको बेडरूममा पसेर के गरिरहेका छन् भनेर निगरानी गर्दैछ," आसरी विद्याले भनिन्।
सन् २०२० मा संवैधानिक अदालतले उनले अश्लीलतासम्बन्धी कानुनविरुद्ध प्रस्तुत गरेको चुनौती अस्वीकार गरिदिएपछि आसरीले हिंसापीडित महिलालाई जोगाउने आशा लगभग मरेको टिप्पणी गरिन्।
सितीले जुटाइन् साहस
साथीको सहयोगमा सितीले गत वर्ष साहस जुटाएर अघि बढ्ने निर्णय गरिन्।
सन् २०२० को अप्रिलमा उनले हुस्ना अमिनको सहयोगमा भूतपूर्व प्रेमीलाई आइन्दा सम्पर्क नगर्न सचेत गराउँदै पत्र लेखिन्।
ती व्यक्तिले उनको नाममा उनकै फोटो राखेर फर्जी अकाउन्ट खोलेको उनले हालै पत्ता लगाइन्। उनको नाममा ती पुरुषले जथाभावी सामग्री पोस्ट गरिरहेकोमा उनी चिन्तित छिन्।
"अहिले त मलाई सबैप्रति शङ्का लाग्छ," सितीले भनिन्।

तस्बिर स्रोत, Davies Surya/BBC Indonesia
इन्डोनेशियाको महिला हिंसाविरुद्ध राष्ट्रिय आयोगले यौन हिंसा अन्त्यसम्बन्धी एक विधेयक मस्यौदा गरेको र त्यसले पीडितहरू अपराधी नबनाइनेतर्फ एक समाधान दिन सक्ने बतायो।
सो विधेयकले प्रमाण जुटाउने जिम्मा पीडितलाई नदिने अनि पीडितको बयानलाई प्रमाणका रूपमा स्वीकार्य बनाउने छ।
तर त्यो विधेयक अहिले अड्किएको छ। परम्परावादी इस्लामिक समुदायले यसको विरोध गरेको छ। यसले विवाहेतर हुने यौन सम्बन्ध तथा उदार महिलावादी सोचाइलाई प्रोत्साहन गर्ने उनीहरूको तर्क छ।
तर सिती अनि रिभेन्ज पोर्नका अन्य पीडितहरू भने असमञ्जसमा परेका छन्ः मौन बसौँ या विभेद तथा कारबाहीको जोखिम मोलेर बोलौँ?
थप रिपोर्टिङः राजा एबन लुम्बनराऊ र एन्डाङ नुर्दिन
चित्रः डेभीस सूर्या










