पवित्रस्थलमा वयस्क चलचित्र खिचेको आरोपमा चर्चित नाइजेरियाली निर्माता पक्राउ

ओसुँ ओशोबु पवित्र जङ्गल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ओसुँ ओशोबु पवित्र जङ्गल

पश्चिमी नाइजेरियास्थित ओसुँ ओशोबु नामक पवित्र जङ्गलमा वयस्क चलचित्रको रेकर्डिङ गरेको आरोपमा एक चलचित्र निर्मातालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

आदिवासी योरुबा समुदायको प्रजननकी देवी ओसुँको वासस्थान भनिने उक्त पवित्र जङ्गल संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा समेत समाविष्ट छ।

प्रहरीका अनुसार जङ्गलमा वयस्क चलचित्र खिचेको आरोपमा किङ ब्लाक होक नामले परिचित तोबिलोबा जोलाओसोलाई पक्राउ गरिएको हो।

घटनाबारे अहिलेसम्म न त जोलाओसोले न त उनका वकिलले नै कुनै प्रतिक्रिया दिएका छन्।

अपमान

ओसुँ ओशोबु जङ्गल ओशोबु सहरको बाहिरी भेगमा पर्छ।

जोलाओसो नाइजेरियाका एक चर्चित वयस्क चलचित्र निर्माता हुन् जसका ठूलो सङ्ख्यामा फलोअर छन्।

धेरै तिरबाट जाने बाटो रहेको उक्त पवित्र जङ्गलमा उनी कसरी छिरेका थिए र वयस्क चलचित्रको रेकर्डिङ उनले कहिले गरेका थिए भन्नेबारे स्पष्ट हुन सकेको छैन।

आरोपित चलचित्र निर्माता

तस्बिर स्रोत, Twitter/@kingtblakafrica

तस्बिरको क्याप्शन, आरोपित चलचित्र निर्माता

प्रहरी प्रवक्ता ओपालोला येमिसीले बीबीसी योरुबा सेवालाई बताएअनुसार सार्वजनिक स्थलमा शान्ति खलबल्याएको विषयमा अनुसन्धान सकेपछि ती चलचित्र निर्मातालाई अदालतमा पेस गरिनेछ।

नाइजेरिया र अन्यत्रबाट मानिसहरू प्रार्थना गर्न तथा बलि दिन आउने गरेका उक्त पवित्रस्थलको जोलाओसोले अपमान गरेको प्रजननकी देवी ओसुँका एक भक्त येमी एलेबिउबोनले बताए।

युनेस्कोले सन् २००३ मा उक्त जङ्गललाई पवित्र भन्दै विश्व सम्पदा सूचीमा राखेको थियो।

पर्व

तस्बिर स्रोत, Adedayo Okedare/BBC

योरुबा पौराणिक कथाका अनुसार ओसुँ देवी शक्तिशाली देवता साङ्गोका धेरै पत्नीमध्ये एक थिइन्।

हरेक वर्ष हजारौँ मानिसहरू ओसुँ ओशोबु पर्वमा सहभागी हुने गर्छन् जुन पर्वको शुरूवात छ सय वर्षअघि भएको मानिन्छ।

त्यसलाई योरुबा आदिवासी समुदायको सबैभन्दा ठूलो परम्परागत धार्मिक कार्यक्रम मानिन्छ र त्यसमा नाइजेरियाका साथै अन्य देशका मानिसहरू पनि सहभागी हुन्छन्।