इलोन मस्कः महिला कर्मचारीसँग विमानमा यौन दुर्व्यवहार गरेको आरोप, के भन्छन् स्पेसएक्सका यी संस्थापक

इलोन मस्क

तस्बिर स्रोत, Getty Images

विश्वका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले आफ्नो स्पेसएक्स रकेट कम्पनीमा छ वर्षअघि कार्यरत एक महिला कर्मचारीको शरीर उनको इच्छाविपरीत छोएको र उनलाई आफ्नो गुप्ताङ्ग देखाएको आरोप लागेपछि त्यसको खण्डन गरेका छन्।

बिज्नस इन्साइडरमा बिहीवार प्रकाशित एउटा समाचारमा मस्कले छ वर्षअघिको उक्त घटनालाई सामसुम पार्न ती महिलालाई साढे दुई लाख डलर दिएको दाबी गरिएको थियो। ती महिला त्यतिबेला उक्त कम्पनीमा फ्लाइट अटेन्डन्टका रूपमा कार्यरत भएको बताइएको छ।

"ती असभ्य आरोपहरू पूर्णतः असत्य हुन्," उनले ट्विटरमा लेखेका छन्।

मस्कले बिज्नस इन्साडरलाई उक्त सामग्री राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। मस्क स्पेसएक्स कम्पनीका संस्थापक हुन्।

चवालीस अर्ब डलरमा ट्विटर किन्ने योजना प्रभावित गर्न तथा आफ्नो राजनीतिक विचारधारामा आएको नयाँ परिवर्तनलाई दुष्प्रभाव पार्न उक्त सामग्री प्रकाशित भएको उनको दाबी छ।

ट्विटर किन्ने उनको प्रस्ताव तत्कालका लागि रोकिएको छ।

बुधवार मस्कले सामाजिक सञ्जालबाट डेमक्र्याटिक पार्टीलाई "आइन्दा समर्थन गर्न नसक्ने" अनि आगामी निर्वाचनहरूमा रिपब्लिकनहरूलाई मत दिने घोषणा गरेका थिए। उनको विद्युतीय कार कम्पनी टेस्लाको शेअरको मूल्य शुक्रवार घट्यो।

बिज्नस इन्साइडरमा के छापियो?

बिज्नस इन्साइडरका अनुसार स्पेसएक्स कम्पनीले नाम उल्लेख नगरिएकी ती महिलासँग एउटा सम्झौता गर्दै अदालत नगई कुरा मिलाएको थियो। त्यतिबेला पैसा पाएबापत उनले कम्पनीलाई मुद्दा हाल्न नपाउने अनि उनीसँग भएको भनिएको दुर्व्यवहारको घटनाबारे चर्चा पनि गर्न नपाउने सहमति गरिएको थियो।

उक्त म्यागजीनले ती महिलाका नाम उल्लेख नगरिएका एक साथीलाई उद्धृत गरेको थियो। त्यसरी कुरा मिलाउन हस्ताक्षर गरिएको एउटा सहमतिपत्र ती व्यक्तिबाट उपलब्ध भएको म्यागजीनले जनाएको छ।

ती व्यक्तिका अनुसार सन् २०१६ मा ती महिलाले मस्कको निजी विमानमा उनलाई मसाज गरिदिएका बेला मस्कले गुप्ताङ्ग देखाएका थिए। ती महिला विमानको चालकदलकी सदस्य थिइन्।

मस्कले ती महिलालाई आफ्नो गुप्ताङ्ग देखाएको, उनको अनुमतिबिना उनको खुट्टा छोएको र यौन गतिविधितिर सङ्केत गर्दै "अझ बढी" गरिदिए उपहार किनिदिने प्रस्ताव गरेको आरोप लगाइएको छ।

के भन्छन् इलोन मस्क?

बीबीसी आफैँले ती विवरणहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

बिहीवार राति शृङ्खलाबद्ध ट्वीट गर्दै मस्कले बिज्नस इन्साइडरले उद्धृत गरेकी व्यक्ति "राजनीतिक स्वार्थ भएकी [लस एन्जलिसस्थित] एक कट्टर वामपन्थी अभियानकर्मी/अभिनेत्री" भएको आरोप लगाउँदै उनलाई उनले गरेको दाबी पुष्टि गर्न आफ्नो गुप्ताङ्गको वर्णन गर्न चुनौती तिएका छन्।

म्यागजीनका प्रमुख सम्पादक निकोलस कार्ल्सनले आफूले प्रकाशित गरेको सामग्रीको प्रतिरक्षा गर्दै प्रमाण र अन्तर्वार्ताका आधारमा त्यो तयार पारिएको दाबी गरेका छन्।