इलोन मस्कः ट्विटर कम्पनी किन्ने सहमतिपछि टेस्ला कम्पनीको झन्डै चार अर्ब डलरको शेअर विक्री

इलोन मस्क

तस्बिर स्रोत, Reuters

टेस्ला कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले उक्त कम्पनीको झन्डै चार अर्ब डलर बराबरको शेअर बेचेका छन्।

चवालीस अर्ब डलरमा ट्विटर किन्ने सहमति गरेको दुई दिनपछि मस्कले आफ्नो विद्युतीय कार उत्पादक कम्पनीको शेअर ठूलो सङख्यामा बेचेका हुन्।

प्राप्त रकम उनले ट्विटर किन्न प्रयोग गर्ने अनुमान गरिएको छ।

सोमवार ट्विटरको सञ्चालक समितिले मस्कले गरेको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको थियो।

मस्कले बेच्ने अनुमानका कारण यो साता टेस्लाको शेअरको मूल्य घटेको थियो।

यद्यपि उनले अरू शेअर बेच्ने योजना नभएको भन्दै ट्वीट गरेका छन्।

अमेरिकी सरकारी निकायको अभिलेखअनुसार मस्कले मङ्गलवार र बुधवार टेस्ला कम्पनीका कुल ४४ लाखवटा शेअर बेचेका छन्।

शेअर बजार बन्द भएपछिको किनबेचमा टेस्लाको शेअरको मूल्य २.६ प्रतिशतले घटेको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

गत वर्ष नोभेम्बरमा मस्कले १६.४ अर्ब डलरको शेअर बेचेका थिए। त्यसपछि अहिले उनले पहिलो पटक टेस्लाको शेअर विक्री गरेका हुन्।

गत वर्ष उनले आफ्ना फलोअरलाई ट्विटरमा के आफूले टेस्ला कम्पनीको १० प्रतिशत हिस्सा बेच्दा हुन्छ भनेर प्रश्न सोधेका थिए।

मस्कले ट्विटरमा ९.२% लगानी गरेको सार्वजनिक भएपछि यो महिनाको सुरुतिर टेस्लाको शेअर मूल्य झन्डै २०% ले घटेको थियो।

ट्विटरको सञ्चालक समितिले मस्कको प्रस्ताव स्वीकार गरेपछि मङ्लवार मात्र टेस्लाको शेअरको बजार मूल्य १२५ अर्ब डलरभन्दा बढीले घटेको थियो।

चवालीस अर्ब डलर तिर्नुपर्ने किनबेचमा मस्कले आफ्नो सम्पत्तिबाट २१ अर्ब डलर दिने वाचा गरेका छन्।

ट्विटर किन्न मस्कले टेस्लाको शेअर बेच्नुपर्ने हुन्छ भन्ने आकलन लगानीकर्ताहरूको थियो।

मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति हुन्।

उनीसँग झन्डै २५० अर्ब डलरजतिको सम्पत्ति छ। अधिकांश सम्पत्ति उनले टेस्लामा भएको हिस्साबाट आर्जन गरेका हुन्।

रकेट कम्पनी स्पेसएक्समा उनको ४० प्रतिशत हिस्सा छ। त्यो झन्डै १०० अर्ब डलरजतिको भएको अनुमान गरिएको छ।

ट्विटर

तस्बिर स्रोत, Reuters

'अभिव्यक्ति स्वतन्त्रताका लागि'

टि्वटर किन्ने सहमति भएको घोषणा गर्दै मस्कले भनेका थिए, "अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।"

"नयाँ सुविधा थप्दै, विश्वास बढाउन एल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु।"

"ट्विटरमा व्यापक सम्भावना छ - त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु।"