भारतमा हीरा व्यापारीकी ८ वर्षकी छोरी किन भिक्षुणी बनिन्?

तस्बिर स्रोत, Rupesh Sonawane
- Author, गीता पाण्डे
- Role, बीबीसी न्यूज
- Reporting from, दिल्ली
आठ वर्षकी देवांशी संघवीले भविष्यमा अर्बौँको हीरा व्यवसाय सम्हाल्न सक्थिन्।
तर एक धनाढ्य हिरा व्यवसायीकी छोरी उनले हाल कठिन जीवन व्यतीत गरिरहेकी छिन्।
खस्रो सेतो फरिया लगाएर उनी खाली खुट्टा अरूको घर घरमा पुगेर भिक्षा मागिरहेकी छन्।
गत साता धनेश र अमी संघवीका दुईमध्ये ती जेठी छोरीले भिक्षुणी बन्ने निर्णय गरेकी हुन्।
संघवीहरूको जनसङ्ख्या झन्डै ४५ लाख छ र उनीहरू विशेषगरी जैन धर्म मान्छन्। यो भारतमा २,५०० वर्षभन्दा पहिलेदेखि नै स्थापित एक धर्म हो।
धर्मबारे अध्ययन गरेकाहरूका अनुसार सांसारिक मोहको त्याग गर्ने जैन धर्मावलम्बीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ। तर देवांशीले जस्तो बाल्यकालमै त्यस्तो पथ रोज्नु भने असामान्य हो।
गत बुधवार उनले गुजरातको सुरत सहरमा जैन भिक्षुभिक्षुणी र अन्य हजारौँ उपस्थित एक समारोहकाबीच दिक्षा लिएर त्यागको प्रण गरेकी थिइन्।
आफ्ना अभिभावकसँग उनी रत्नको आभूषण र रेशमले बनेको पोसाक लगाएर समारोहस्थलमा आइपुगेकी थिइन्। उनको टाउकोमा हीरा जडित ताज थियो।
धार्मिक कार्यक्रम पश्चात् उनी अन्य भिक्षु भिक्षुणीसँगै उभिइन्। सेतो फरियाको सप्कोले मुन्डन गरिएको उनको टाउको पनि छोपेको थियो।
तस्बिरहरूमा उनले कुचो समातेको देख्न सकिन्छ जुन उनले आफू हिँड्दा किरा कमिला झुक्किएर कुल्चिनु नपरोस् भनेर बढारेर पन्छाउनका निम्ति बोक्ने छिन्।

तस्बिर स्रोत, Rupesh Sonawane
‘उनका अभिभावक अभिभावक रहेनन्’
त्यसयता देवांशी अन्य जैन भिक्षुभिक्षुणीहरू बस्दै आएको उपाश्रय भनिने एउटा आश्रममा बस्दै आएकी छन्।
“उनी अब आफ्नो घरमा बस्न पाउँदिनन्, उनका अभिभावक अब उनका अभिभावक रहेनन्। अब उनी एक साध्वी हुन,” देवांशीको परिवारसँग मित्रवत् सम्बन्ध रहेका सुरतस्थित एक हीरा व्यापारी कीर्ति शाहले भने।
उनी भारतीय जनता पार्टीकी स्थानीय नेता पनि हुन्।
"एउटी जैन भिक्षुणीको जीवन साँच्चै कठिन हुन्छ। उनले अब जहाँ जाँदा पनि हिँड्नुपर्नेछ, कुनै पनि प्रकारको यातायातका साधन चढ्न पाउँदिनन्। उनी भुईँमा सेतो तन्ना विछ्याएर सुत्नेछिन् र सूर्यास्तपछि उनले खाना खान पाँउदिनन्," उनले थपे।
संघवीहरू जैन धर्मको त्यस्तो सम्प्रदायका सदस्य हुन् जस्ले बालबालिकालाई पनि भिक्षुका रूपमा स्वीकार्ने गर्छन्।
देवांशीका अभिभावक “अत्यन्त धार्मिक” भनेर चिनिन्छन्।
भारतीय सञ्चारमाध्यमहरूले उक्त परिवारका साथीभाइलाई उद्धृत गर्दै ती बालिकाको “सानो छँदा देखिनै आध्यात्मिक जीवनतर्फ झुकाव रहेको” उल्लेख गरेका छन्।
“देवांशीले कहिल्यै टेलिभिजन वा चलचित्र हेरेकी छैनन्। उनी मल वा रेस्टुरेन्ट गएकी छैनन्,” द टाइम्स अफ इन्डियाले लेखेको छ।
“सानैदेखि देवांशीले दिनमा तीन पटक प्रार्थना गर्दै आएकी छिन् र दुई वर्षको हुँदा नै उनी व्रत बसेकी थिइन्,’’ उक्त पत्रिकाले उल्लेख गरेको छ।
सन्यास ग्रहण समारोहको अघिल्लो दिन उनको परिवारले सुरतमा रङ्गीचङ्गी झाँकीसहितको एक विशाल यात्राको आयोजना गरेको थियो।
ऊँट, घोडा, गोरुगाडा अनि बाजागाजा सहभागी त्यो यात्रा हजारौँले हेरेका थिए।
देवांशी र उनको परिवार हात्तीले तानेको रथमा बसेका थिए भने भीडले उनीहरूमाथि गुलाबको फूल वर्षाँउदै स्वागत गरेका थिए।

तस्बिर स्रोत, Rupesh Sonawane
भारत र युरोपमा समेत उत्सव
त्यस्तै समारोह मुम्बइ र बेल्जियमको एन्टवर्प सहरमा पनि आयोजना गरिएको थियो जहाँ संघवीहरूको व्यापार व्यवसाय छ।
यस अभ्यासको लागि जैन समुदाय भित्रबाट समर्थन भए पनि देवांशीको त्यागले भने एउटा बहस सुरु गरिदिएको छ।
उनको तर्फबाट यस्तो महत्त्वपूर्ण निर्णय गर्नुअघि परिवारले उनी वयस्क हुँदासम्म किन पर्खन सकेन भनेर धेरैले प्रश्न गरेका छन्।
दीक्षा समारोहमा सहभागी हुनका लागि निम्ता गरिएका शाह बालबालिकाले परिवार त्याग गर्ने विचारले आफूलाई असहज बनाएको बताँउदै कार्यक्रमबाट टाढै रहे। उनको विचारमा “कुनै पनि धर्मले बालबालिकालाई भिक्षु बन्न दिनु हुँदैन।”
“ उनी बच्ची नै छिन्। उनले यो सब कुराबारे के बुझेकी हुन्छिन् र?” उनले प्रश्न गरे।
“१६ वर्ष नपुग्दासम्म कलेजमा कुन सङ्कायमा पढ्ने भन्ने निर्णय समेत हाम्रा बच्चाहरूले गर्न सक्दैनन्। आफ्नो सम्पूर्ण जीवनलाई प्रभावित पार्ने विषयबारे निर्णय उनीहरूले कसरी गर्न सक्छन्?”
"संसारिक सम्बन्धहरू त्याग गर्ने बच्चालाई देवतातुल्य बनाएर समुदायले उत्सव मनाउँदा त्यो बच्चाले यो सब एउटा ठूलो रमाइलो समारोह मात्र हो भन्ने ठान्न सक्छ।"
मुम्बईस्थित एकजना बाल संरक्षण परामर्शदाता प्राध्यापक नीलिमा मेहता भन्छिन्, "बच्चाले भोग्नुपर्ने कठिनाइ र अभाव व्यापक हुन्छ। जैन भिक्षुणीको रूपमा जीवन निकै कठिन हुन्छ।"
बाल अधिकार
सानो उमेरकी बालिकालाई परिवारबाट बिछोड गराइएकामा अन्य धेरै समुदायका सदस्यहरूले पनि असहज महसुस गरेको बताएका छन्।
यो विषयबारे समाचारहरू प्रकाशित भएसँगै कैयौँले सामाजिक सञ्जालमा बाल अधिकारको उल्लङ्घन भएको आरोप लगाउँदै परिवारको आलोचना गरेका छन्।
शाह बालबालिकालाई सन्यास ग्रहण गर्न लगाइने प्रथा रोक्न सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँछन्।
तर त्यस्तो हुने सम्भावना धेरै छैन।
घटनाबारे सरकारले के गर्ने विचार गर्दैछ भन्ने बारेमा थप जानकारी लिन मैले न्याशनल कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका प्रमुख प्रियाङ्क कानुन्गोको कार्यालयमा सम्पर्क गरेकी थिएँ।
तर यो “संवेदनशील विषय” रहेको बताँउदै उनले यसबारे टिप्पणी गर्न नचाहेको जानकारी उनको कार्यालयले गरायो।

तस्बिर स्रोत, Getty Images
अधिकारकर्मीहरू भने देवांशीको अधिकार हनन् भएको दाबी गर्दछन्।
बच्चा "आफ्नो स्वतन्त्र इच्छाबाट" तपस्वी बनेको भन्नेहरूका लागि प्राध्यापक मेहताको जवाफ छ, "बच्चा दिने सहमति कानुनी सहमति होइन।"
‘अधिकार हनन’
“कसैले स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने भन्ने ठानिएको उमेर भनेको कानुनी रूपमा १८ वर्षको हो।
त्यसअघि उनको तर्फबाट गरिने निर्णय आमाबाबु जस्तै परिवारका वयस्य सदस्यले गर्ने गर्छन् जसले त्यो निर्णय उनको हितमा छ वा छैन भनेर विचार गर्नुपर्छ।”
“र, यदि त्यो निर्णयले बच्चालाई शिक्षा र मनोरञ्जनबाट वञ्चित गर्छ भने त्यो उनको अधिकारको उल्लङ्घन हो।”
तर मुम्बई विश्वविद्यालयमा जैन दर्शन पढाउने डाक्टर विपिन दोषी भन्छन्, "तपाईँले आध्यात्मिक संसारमा कानुनी सिद्धान्तहरू लागू गर्न सक्नुहुन्न"।
"केहीले बालबालिका यस्ता निर्णय लिन पर्याप्त रूपमा परिपक्व नहुने बताइरहेका छन्। तर अधिक बौद्धिक क्षमता भएका बच्चाहरू पनि छन् जसले वयस्कहरू भन्दा धेरै कुरा प्राप्त गर्न सक्छन्। त्यसैगरी यस्ता केटाकेटीहरू पनि छन्, जसमा आध्यात्मिक झुकाव हुन्छ। यस्तो अवस्थामा उनीहरू भिक्षुभिक्षुणी भए गलत के हुन्छ?" उनले प्रश्न तेर्साए।

तस्बिर स्रोत, Rupesh Sonawane
यसबाहेक देवांशीलाई कुनै पनि किसिमले हानी नपुगेको उनको दाबी छ।
"उनी परम्परागत मनोरञ्जनबाट वञ्चित हुन सक्छिन्। तर के यो साँच्चै सबैका लागि आवश्यक छ र? म यो कुरामा सहमत छैन कि उनी प्रेम वा शिक्षाबाट वञ्चित हुनेछिन्। उनले आफ्नो गुरुको माया पाउनेछिन् र इमानदार अनि असंलग्न रहन सिक्नेछिन्। के यो झन् राम्रो होइन र?"
डा. दोषीका अनुसार देवांशीले पछि गएर आफ्नो विचार परिवर्तन गरे वा आफूले गलत निर्णय गरेको ठानेमा उनले भिक्षुणी जीवन त्यागेर पुरानै जीवनमा फर्कन सक्ने अवस्था रहन्छ।
तर प्राध्यापक मेहताले भने त्यसो भए उनी वयस्क भएपछि मात्रै निर्णय गर्न किन नदिने भनेर प्रश्न तेर्स्याएकी छिन्।
‘बालबालिका तपाईँका सम्पत्ति होइनन्’
प्राध्यापक मेहताका अनुसार केही वर्ष अघि अति त्रासका कारण आफू बस्ने केन्द्रबाट भागेकी एक जना वयस्क जैन भिक्षुणीसम्बन्धी मामिलामा उनले केही काम गरेकी थिइन्।
नौ वर्षको उमेरमा भिक्षुणी बनेकी अर्की एक बालिकाले सन् २००९ मा २१ वर्ष पुगेपछि भागेर आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी थिइन्।
विगतमा यो विषयमा अदालतमा निवेदनहरू पनि दर्ता गरिएका छन् तर प्राध्यापक मेहता कुनै पनि सामाजिक सुधारका विषयमा त्योसँग जोडिएका विभिन्न संवेदनशीलताका कारण त्यस्तो कार्य निकै चुनौतीपूर्ण भएको बताउँछिन्।








