टिकटक: लाइभ गर्न पाउने प्रयोगकर्ताको उमेर हद १६ बाट १८ वर्ष पुर्‍याइयो

सहयोग माग्दै आमा र छोरीहरू
तस्बिरको क्याप्शन, मोना र उनका छ छोरीहरूले टिकटक लाइभमा आएर सहयोग माग्ने गरेका छन्
    • Author, हाना गेल्बर्ट
    • Role, ग्लोबल डिस्इन्फर्मेशन रिपोर्टर

टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्।

बीबीसीले गरेको एउटा अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पत्ता लागेको थियो।

तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर त्यसलाई नगदमा रूपान्तरण गरेर उनीहरूले पैसा निकाल्दा टिकटकले ७० प्रतिशतसम्म लिने गरेको पाइएको थियो।

निकट भविष्यमा वयस्कहरूले मात्रै "अभौतिक उपहार लिन मिल्ने र टिकटकको मनिटाइजेशन फीचरमा पहुँच पाउने" टिकटकले जनाएको छ।

"आगामी साताहरूबाटै" उसले प्रयोगकर्ताहरूलाई वयस्कले मात्रै लाइभ गर्न दिने पनि जनाएको छ।

यद्यपि टिकटकले कसरी उमेरका आधारमा रोक लगाउने कदम कार्यान्वयन गर्छ भन्ने अझै स्पष्ट छैन।

फेसबुक र इन्स्टाग्रामको स्वामित्व लिएको मेटा र यूट्यूबको स्वामित्व भएको गुगलले लाइभस्ट्रीमिङका लागि न्यूनतम उमेर १३ वर्ष तोकेका छन्।

उनीहरूले प्रयोगकर्ताहरूलाई पनि आफूले अप्लोड गर्ने सामग्री निश्चित उमेर पूरा भएकाले मात्रै हेर्न मिल्ने बनाउन सकिने सुविधा दिएका छन्।

सहयोग माग्दै बालबालिका
तस्बिरको क्याप्शन, टिकटकमा उपहार माग्न बालबालिकाहरू घण्टौँसम्म लाइभ बस्छन्

डिजिटल उपहार

बीबीसी ग्लोबल डिस्इन्फर्मेशन यूनिट, बीबीसी न्यूज अरेबिक र बीबीसी आई इन्भेस्टिगेशन्सले उत्तरपश्चिमी सिरियाबाट लाइभमा आउने ३०० भन्दा बढी टिकटक प्रयोगकर्तालाई पाँच महिनासम्म पछ्याएको थियो।

टिकटकको नियमले कसैलाई पनि उपहारको लागि याचना गर्न रोक लगाएको छ भने नाबालकहरूलाई शोषण गर्न, हानिि पुर्‍याउन र खतरा पुर्‍याउन नहुने उल्लेख गरेको छ।

टिकटकले बालबालिकाको सुरक्षासम्बन्धी उसका नीति कत्तिको कडाइका साथ लागु गराउँछ भनेर परीक्षण गर्न बीबीसीले उसकै एपका फीचरको प्रयोग गरेर बालबालिकालाई माग्न राखिएका ३० वटा खाताविरुद्ध रिपोर्ट गर्‍यो। त्यतिखेर टिकटकले ती खाताले कुनै नियम उल्लङ्घन नगरेको जनायो।

टिकटकमा सहयोग मागिँदै
तस्बिरको क्याप्शन, बीबीसीको एक अनुसन्धानका अनुसार सहयोगस्वरूप दिइएको रकमको ७० प्रतिशत टिकटकले नै राख्ने गरेको छ

टिकटकले यस्तो प्रकृतिका सामग्रीहरूलाई आफ्नो एपमा अनुमति नदिइएको र डिजिटल उपहारबाट उसले लिने कमिशन ७० प्रतिशतभन्दा निकै कम रहेको दाबी गरेको छ।

तर उसले लिने कमिशन कति प्रतिशत हो भन्नेबारे टिकटकले खुलाएको छैन।

विश्वमै सर्वाधिक चाँडो विस्तार भएको सामाजिक सञ्जालको एप टिकटक ३.९ अर्ब पटक डाउनलोड गरिएको छ।

सन् २०१७ मा सुरु भएयता एपभित्र गरिने खर्चबाट उसले ६.२ अर्ब डलरभन्दा धेरै कमाएको विश्लेषण गर्ने कम्पनी सेन्सर टावरले जनाएको छ।

टिकटकले आगामी महिनाबाट लाइभस्ट्रीमिङ गर्ने न्यूनतम उमेर हद १६ वर्षबाट बढाएर १८ वर्ष बनाउने भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ र कसरी सुरक्षित हुन सकिन्छ?