सन्तोष सापकोटा र अमिता श्रेष्ठ: ‘टिकटक सेलिब्रिटी’ जोडी जो हाँक्दै छन् आविष्कार केन्द्र

अमिता र सन्तोष

तस्बिर स्रोत, Amita Shrestha Sapkota/Facebook

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

ब्राह्मण परिवारका डाक्टर सन्तोष सापकोटा र नेवार परिवारकी नर्स अमिता श्रेष्ठबीच प्रेम पलाउँछ।

तर घरमा के भन्लान् र लोकले के भन्ला भन्ने पिरलोमा पर्छन्।

'स्वप्नदेश' अमेरिका समाधानको मार्ग बन्ला कि भन्ने लाग्छ।

छुट्टाछुट्टै आवेदन गरे पनि संयोगवस दुवैले भिसा पाउँछन्, अमेरिका पुग्छन्।

यो झण्डै दुई दशक अघिको कुरा हो।

उनीहरू उतै बिहे गर्छन्। उतै सन्तान जन्माउँछन्।

स्वास्थ्यकर्मीको तुलनात्मक रूपमा आकर्षक कमाइ र विकसित देशको स्वतन्त्र बसाइ थियो उनीहरूको।

र पनि स्वदेश र बाबुआमाको मायाको रन्कोले छोडेन।

गण्डकी आविष्कार केन्द्र

तस्बिर स्रोत, Santosh Sapkota

नेपाल हुँदा अमेरिका जाने उत्कट चाहना, अमेरिकामा भने सँधैभरि नेपालकै झझल्को र कहिले आफ्नै ठाउँ फर्की जाउँ भन्ने हुटहुटी चलिरहन्छ।

संसारभर कोभिड महामारी फैलँदा यी स्वास्थ्यकर्मी जोडीले निधो गरे, "अब आफ्नै गाउँ फर्की जाने हो।"

१८ वर्ष लामो कर्मदेशको बसाइ टुङ्ग्याउँदै केही समय अघि अमेरिका छोडेर जन्मदेश फर्केका छन् उनीहरू।

दुई साता नबित्दै उनीहरूका छोराछोरी स्कुल भर्ना भए। उनीहरूलाई भाषिक, सांस्कृतिक र सामाजिक रूपमा घुलमिल गराउने जिम्मेवारी अमिताले आफ्नो काँधमा थापेकी छन्।

सन्तोष गण्डकी विश्वविद्यालयका कुलपतिको सल्लाहकार नियुक्त भएका छन्। साथै उनले गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्र सम्हाल्ने भएका छन्।

यस जिम्मेवारीलाई आफूमाथिको विश्वास ठान्छन् सन्तोष।

उनीबारे आविष्कार केन्द्रका प्रमुख महावीर पुन भन्छन्: "एउटा प्रस्ट उद्देश्य र दृष्टिकोण भएका मानिस केन्द्रसँग जोडिएका छन् जसले अमेरिकाबाटै केन्द्रका लागि लाखौँको सहयोग जुटाएका थिए। अब ती मानिसले गण्डकीमा स्थापित आविष्कार केन्द्र हाँक्नेछन्।"

हजारौँ नेपालीहरू हरेक दिन काम र सहज जीवनको खोजीमा विदेशिँदै गर्दा आफ्नै देशको माटोले तानेर फर्की आउनेको सङ्ख्या पनि सयौँ भइसकेको छ।

तीनैमध्येका प्रतिनिधि पात्र हुन् सन्तोष र अमिता। खासमा किन सन्तोष र अमिताले सपरिवार नेपाल फर्कने निर्णय गरे?

महामारीले मोडेको बाटो

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा बस्ने यी दम्पतीले सङ्क्रमित बिरामी गम्भीर बिरामी बनेको र ज्यानै गुमाएको अवस्थालाई नजिकबाट नियालिरहेका थिए।

सुविधासम्पन्न विकसित देशमा पनि सङ्क्रमणले निम्त्याएको भयावह परिस्थितिबाट उनीहरू निकै आत्तिए। नेपालमा अवस्था कस्तो होला? यस्तै भइरहे परिवारसँग भेटै नहुने पो हो कि? चिन्ताले उनीहरूलाई गाँज्न थाल्यो।

उनीहरूले त्यो परिस्थिति आइहाले "छोराछोरी कसरी हुर्काउने" भन्नेसम्म योजना बनाएको सुनाउँछन्।

सन्तोष त्यतिबेला स्वास्थ्यकर्मीले सेवाग्राहीको जानकारी राख्ने प्रविधि हेल्थ इन्फरमेसन टेक्नोलोजी 'एचआईटी' अध्यापन गराउँथे, घरबाटै। नर्स अमिता दैनिक रूपमा बिरामीको रेखदेखमा खटिन्थिन्।

विगतमा भूकम्पले झण्डै ९ हजार मानिसको ज्यान लिँदा सामाजिक कार्यमा सक्रिय बनेका उनीहरूलाई फेरि त्यही संयन्त्रमार्फत् काम गर्न सकिन्छ भन्ने लाग्यो।

यसरी उनीहरूले अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान एएनएमएफमार्फत नेपालका लागि सहयोगी हातहरू जुटाउन थाले। त्यतिबेला सन्तोष प्रतिष्ठानका अध्यक्ष थिए।

महामारी र आविष्कार

सङ्क्रमितको उपचार गर्दा लगाउनु पर्ने पर्सनल प्रोटेक्शन इक्विपमेन्ट (पीपीई)को नेपालमा चरम अभाव रहेका खबरले उनीहरू पिरोलिएका थिए।

नेपालमा नै पीपीई उत्पादन गर्न महावीर पुनको आविष्कार केन्द्र उपयुक्त थलो हुनसक्ने ठानेर कुराकानी सुरु गरे।

सन् २०२० को मार्च महिनामा राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पीपीई बनाएको विवरणहरू प्रकाशित भए।

सन्तोष र अमिता

तस्बिर स्रोत, Santosh Sapkota

टिकटक सेलिब्रिटी?

सामाजिक कार्यमा संलग्न उनीहरूको सामाजिक सञ्जाल टिकटकमा भने फरक परिचय छ। उनीहरू त्यहाँ कहिले जातीय समूहको पोसाक लगाएर त कहिले नेपाली परिकार पकाएर टिकटक प्रयोगकर्ताहरूमाझ चर्चामा आएका छन्।

महामारीकै बीच उनीहरूलाई पछ्याउनेको सङ्ख्या झन्डै डेढ लाख पुग्यो। टिकटकमा उनीहरूले आफ्नो पेसा वा समाजसेवाका विषयलाई टिकटकको विषय बनाएका छैनन्।

"त्यहाँ हामीलाई मन पराउनेहरू मनोरञ्जन र रोमाञ्चकता रुचाउँछन्। त्यसैले हाम्रा काम वा समाजसेवाबारे चर्चा गर्न आवश्यक ठानेनौँ," उनले भने।

हालसम्म उनीहरूको भिडिओमा कुल एक करोड ५७ लाख पटक लाइक भएका छन्। तीमध्ये एकलाई त ३४ लाख प्रयोगकर्ताले मन पराएका छन्। टिकटकमात्रै नभई उनी यसअघि फेसबुकमा पनि सक्रिय थिए, जसले उनलाई भूकम्पपश्चात पुन: देशसँग जोडेको थियो।

भूकम्प र देश

२०७२ सालको वैशाख १२ गते। सुत्ने तरखरमा रहेका सन्तोषको फोनमा सन्देश आएको थियो: "नेपालमा ठूलो भूकम्प गएछ। हामीले यहाँबाट के गर्न सक्छौँ?"

व्यस्त दैनिकीबाट आरामको लागि छुट्ट्याएको समय, उनले उक्त सन्देश बेवास्ता गर्दै सुत्ने तरखर गरे।

केहीबेरमै अर्को सन्देश आयो- "तिम्रो परिवार सुरक्षित छ?"

त्यसपछि उनी झस्किए।

"म स्वार्थी थिएँ। कसरी आफू बनूँ? कसरी पैसा कमाऊँ? भन्नेमा मात्रै ध्यान थियो।"

फेसबुक

तस्बिर स्रोत, Facebook

अमिताले घण्टौँसम्म नेपालमा सम्पर्कको प्रयास गरिरहिन्। त्यतिन्जेल आफू सदस्य रहेको एएनएमएफमार्फत भूकम्प पीडितका लागि सहयोग जुटाउन लागि परेको उनी सुनाउँछन्।

"विदेशमा रहेका नेपालीहरूका लागि फेसबुक नै नेपालबारे जानकारी लिने सशक्त माध्यम बन्यो। त्यही माध्यममार्फत हामीले तत्काल राहतदेखि आपत्कालीन सहयोग पुर्‍याउन लाखौँ रकम जम्मा गर्न सक्यौँ", आफू लगायतका नेपालीहरूले सहयोग सङ्कलनमा गरेको पहलकदमीबारे सन्तोषले बताए।

एएनएमएफको नेपाल शाखाले त्यतिबेला जारी गरेको विज्ञप्तिका अनुसार उनीहरूले सरकारी निकाय, सेना, प्रहरी तथा अन्य सङ्घ संस्थासँग समन्वय गरेका थिए। तत्कालीन अध्यक्ष डा. ज्योति भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "भूकम्प गएको पहिलो चार सातामै एएनएमएफले विभिन्न अस्पताल तथा गाउँहरूमा दुई करोड २४ लाख बराबरको राहत सामग्रीको सहायता गर्‍यो।"

सन्तोष र अमिता

तस्बिर स्रोत, Santosh Sapkota

अन्तर्जातीय प्रेमले मोडिदिएको बाटो

अहिले कास्कीको गाउँ, सहर, बजार र गल्लीहरू डुलिरहँदा सन्तोष र अमिता पुरानो समयमा फर्किएजस्तो ठानिरहेका छन्।

अमेरिकामा अमिता अनुमति प्राप्त नर्स भइन्। तर, सन्तोषको योजना सोचे अनुरूप भएन। अमेरिकाको चिकित्सकीय अनुमति पत्र सम्बन्धी परीक्षा यूएसएमएलई पूरा नभए पछि उनले एचआईटी पढेका हुन्।

अहिले उनीहरू पढाई र पेसाभन्दा अलग रहेर सम्बन्धहरूको मजा लिइरहेका छन्। उनीहरू सक्रिय रहने टिकटकमा उनीहरूसँग धेरैले जिज्ञासा राखेका हुन्छन्:

सधैँको लागि नेपाल फर्कनु भएको?

अमेरिकाजस्तो ठाउँ किन छोडेको?

तमाम प्रश्नहरूको जवाफ सन्तोषसँग छैन।

"नेपाल फर्कनु गन्तव्यमा आइपुग्नु होइन। एउटा बिसौनीमा रोकिए सरह भएको छ। यहाँबाट हाम्रो यात्रा कतातर्फ मोडिन्छ थाहा छैन।"

फेसबुक

तस्बिर स्रोत, Facebook

देश फर्कने हरेकलाई सन्तोषलाई जस्तो अवसर नमिल्न सक्ने बताउँछन् समाजशास्त्री टीकाराम गौतम।

"यहाँ खटेबापत प्राप्त हुने नतिजा र आम्दानी दुवै उनीहरूको सीप र क्षमताको दाँजोमा कम हुनसक्छ। कतिपय अवस्थामा त कामको समेत सम्मान हुँदैन," उनले भने।

यस्तो परिवेशमा लामो समय विदेश बसेर फर्किएका नेपालीले नेतृत्वदायी जिम्मेवारी पाउनुलाई अवसर साथै चुनौतीको रूपमा हेर्छन् गौतम।

गौतमको विश्लेषण त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा एमफिल अध्ययनरत पद्मराज कँडेलसँग मेल खान्छ।

सन् २००८ मा कोरिया गएका कँडेल पाँच वर्षपछि देश फर्किए।

कोरियामा कमाए जति नेपालमै लगानी गरे।

कँडेल भन्छन्, "सबै पैसा कृषिमा लगानी गरेँ तर नतिजा सोच अनुसार भएन। नयाँ व्यवसाय सुरु गर्ने योजना बनाउँदा बनाउँदै महामारी सुरु भयो। त्यसैले पढाईलातिर लागेँ।"

कँडेल पनि लामो समय विदेश बसेर फर्किएका सन्तोष सापकोटाले नेतृत्वदायी जिम्मेवारी पाउनुलाई अवसर साथै चुनौतीको रूपमा हेर्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, घण्टौँ सडकमा ‘मूर्ति’ बन्ने गरेका दावा लामा