सामाजिक सञ्जाल: हिंसा पीडित बोल्ने माध्यम बन्दै फेसबुक, ट्विटर र टिकटक

बलात्कार र यौन हिंसाको मुद्दामा हदम्यादसम्बन्धी प्रावधान संशोधन गर्न माग गर्दै प्रदर्शन

तस्बिर स्रोत, EPA

एक युवतीले सात वर्षअघि आफूमाथि बलात्कार भएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन्। उनको आरोपपछि अधिकारकर्मी, कानुनकर्मी र सर्वसाधारणहरूले छानबिनको माग गर्दै आवाज उठाए र सडकमा प्रदर्शन पनि गरे।

उक्त घटनापछि अर्की एक युवतीले आफू कक्षा ९ मा पढ्दा तत्कालीन प्रधानाध्यापकबाट पटकपटक बलात्कृत भएको घटना फेसबुकमार्फत सार्वजनिक गरिन्। लगत्तै आरोपितलाई पक्राउ गर्ने मागसहित प्रदर्शनहरू भए।

यी दुवै घटना सामाजिक सञ्जालमा पीडितले सार्वजनिक गरेको केही दिनपछि आरोपितलाई पक्राउ गरी प्रहरीले छानबिन गरिरहेको छ।

यी प्रसङ्गले सामाजिक सञ्जाल आफूमाथि भएको यौन दुर्व्यवहार वा हिंसाबारे बोल्ने माध्यमको रूपमा स्थापित भइरहेको देखाउने जानकारहरू बताउँछन्। यद्यपि केही अधिकारकर्मीले भने यसको सबल पाटो मात्र नभएको बताएका छन्।

पीडितलाई सुन्ने र पक्षमा बोल्ने जमात

इटहरीकी युवतीले लेखेकी छन्: "मैले मेरा साथीहरूलाई हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन्।"

"म बाल्यकालदेखि नै बोल्ने खालको थिएँ त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन्।"

घटनापछि उजुरी दिए पनि प्रहरीले आरोपित फरार रहेको बताउँदै आएको उनको आरोप छ।

महिला पुनर्स्थापना केन्द्र ओरेककी परियोजना प्रमुख सुलोचना खनाल पनि फेसबुक, ट्विटरलगायत सञ्जालमार्फत आफूभित्र दबिएको कुरा साझा गर्न महिलाहरूलाई सहज बनेको बताउँछिन्।

"सञ्जालमा उठेको विषय सडकसम्म पुग्नु र न्यायिक प्रक्रिया अघि बढ्नु भनेको सकारात्मक सङ्केत हो। यस्ता माध्यमबाट घटनाबारे जानकारी छिटो फैलन्छ र पीडितलाई सुन्ने, बुझ्ने र उनीहरूको लागि बोल्ने जमात तयार हुन्छ," उनले भनिन्।

"यसले गर्दा पीडितहरूलाई आफू एक्लो छैन भन्ने महसुस हुन्छ र उस्तै प्रकृतिको हिंसा भोगेकाहरू पनि बोल्न प्रेरित हुन्छन्।"

सञ्जालको दबाव

गत बिहीवार बिहान अभिनेत्री मिरुना मगरले सामाजिक सञ्जालमा आफ्नो मृत्युको खबर देखिन्।

भिडिओ साझा गर्ने सञ्जाल टिकटकमा देखिएको एक भिडिओमा उनको तस्बिरसहित लेखिएको थियो: "एक लामामाथि हातपात गरेपछि आम दर्शकको गाली खाएकी अभिनेत्रीले खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा आत्महत्या गरिन्।"

उक्त भिडिओ देख्दा सुरुमा खित्का छुटे पनि केही बेरमा आफू झस्किएको उनले बीबीसीसँग सुनाइन्।

मिरुना मगर

तस्बिर स्रोत, Miruna Magar

"आफ्नै आत्महत्याको खबर पढ्दा हाँसो उठेको थियो तर त्यही खबर परिवार वा आफन्तहरूले देखे उहाँहरूलाई के होला भन्ने डर लाग्यो। मृत्युजस्तो खबरलाई कहाँ सबैले सहजै लिन सक्छन् र?" मगरले भनिन्।

जेठ १५ गते फिल्म कबड्डी ४ बारे दर्शक प्रतिक्रिया लिने क्रममा एक युवकले आफूमाथि दुर्व्यवहार गरेको भन्दै मगरले तत्काल प्रतिकार गरेकी थिइन्।

उनले आरोपितविरुद्ध कानुनी प्रक्रिया पनि अघि बढाएकी थिइन्। तर आरोपितले आफ्नो गल्ती स्वीकार गरेर माफी मागेपछि आफूहरूबीच मिलापत्र भएको उनको दाबी छ।

आरोपित युवा बौद्ध भिक्षु थिए। उनीविरुद्ध मगरले आवाज उठाउनु सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।

कतिले मगरको कदमलाई साहसिक र आवश्यक भएको बताए भने कतिले त्यसको विरोध गरे।

त्यो विरोध सामाजिक सञ्जालमा सीमित रहेन। मगरले बौद्ध धर्म र निश्चित समुदायको अपमान गरेको भन्दै नाराबाजी, तोडफोड र आगलागीका घटना समेत भए।

"त्यो आक्रोश र सामाजिक दबाव थेग्न नसकेर मैले मिलापत्र गरेकी हुँ। आफ्नो मनको शान्तिको लागि पनि मैले माफी दिनु उचित ठानेँ। बाहिर देखिएको आक्रोशले कसैको हानि नगरोस् भन्ने मेरो विचार हो," उनले भनिन्।

सामाजिक सञ्जालमा सम्पादित भिडिओ सार्वजनिक हुनु र मानिसहरूले त्यसैको आधारमा घटनाबारे धारणा बनाउनुले आफूमाथि भएको 'अनुचित छुवाइ'को घटनाले फरक स्वरूप लिएको उनको ठहर छ।

"मानिसहरूले जति देख्नु भयो सोही अनुरूप घटनाबारे अनुमान लगाउनु भयो। केहीले त मलाई मार्ने धम्की समेत दिनु भयो।"

हदम्यादविरुद्ध प्रदर्शन।

तस्बिर स्रोत, Prabin Ranabhat

पीडितलाई थप पीडा

छोटो समयमा विकास भएको घटनाक्रमले आफूलाई सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक दुवै पाटोबारे परिचित गराएको उनले बताइन्।

मगरले भनिन्, "धेरैले मलाई साथ र सहयोग पुर्‍याउनु भयो। मैले बोलेकै कारण अन्य केही साथीहरूले आफूमाथि भएको हिंसाबारे सुनाउन प्रोत्साहित हुनु भएको छ।

"त्यसैले सामाजिक सञ्जाल आफूमाथि भएको हिंसाबारे बोल्ने सशक्त माध्यम हो भन्ने महसुस भयो।"

"तर गलत सूचनाको आधारमा आफूमाथि अपशब्द, गाली र धम्कीहरू आएको देख्दा चाहिँ फेरि आफू नै हिंसामा परेँ भन्ने लागेको छ।"

पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिला पीडितमाथि नै प्रश्न उठाउने प्रवृत्ति पनि यथावत् रहेको पीडित महिलाको पुनर्स्थापनामा काम गरिरहेकी खनालले बताइन्।

जसले गर्दा पीडितमाथि मानसिक दबाव बढ्ने खनालको बुझाइ छ।

"महिलाको कमजोरीमा टेकेर दोष लगाउने, औँला ठड्याउनेहरू सामाजिक सञ्जालमा देखिन्छन्। उनीहरूले गर्दा पीडित पुनः अर्को किसिमको आघातमा पर्न सक्ने सम्भावना रहन्छ," उनले भनिन्।

असर कस्ता?

मनोविद् गङ्गा पाठक दबाएर राखेको घटनाबारे बोल्दा पीडितको आघात र घटनाबाट मनोविज्ञानमा परेको असर केही कम हुने बताउँछिन्।

"आम मानिस सचेत हुने र हिंसाबारे बोल्न प्रोत्साहित हुने बाहेक त्यसको अन्य पाटोहरू र तिनले मनोविज्ञानमा पार्ने असरहरूबारे ध्यान दिनु पर्छ," उनले भनिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीन: एक महिलावादी पत्रकार जसलाई राज्यले गायब बनायो

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मानिसहरूले जनाउने प्रतिक्रिया, पीडित र आरोपितको पक्ष वा विपक्षमा मानिसहरूले राख्ने धारणा, घटनाबारे मिथ्या जानकारी र गलत छलफलले पीडितसँगै आम प्रयोगकर्तामा अत्यधिक डर, शङ्का र तनाव बढाउने उनी बताउँछिन्।

"मानिसहरूमा तनाव, डर, अविश्वास र दीर्घकालीन आघातको समस्या देखिन सक्ने सम्भावना रहन्छ।"

पीडितसम्मै प्रहरी

जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक दिनेशराज मैनाली सामाजिक सञ्जालले प्रहरीलाई यौनजन्य दुर्व्यवहार र हिंसाका पीडितहरूसम्म पुग्न मद्दत पुर्‍याएको बताउँछन्।

समुदायसँग प्रहरीको साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक सञ्जालमार्फत आफूमाथि भएको हिंसाबारे बोल्नेहरूसँग कुराकानी गर्ने क्रममा पीडित र आरोपितसम्म पुग्न र आवश्यक छानबिन प्रक्रिया अघि बढाउन सहज भएको उनले बताए।

"सञ्जालहरू हिंसा पीडितको लागि भावना अभिव्यक्त गर्ने सुरक्षित माध्यम बनेको पाएका छौँ। यस्ता सञ्जाल प्रहरीको निम्ति पनि सहयोगी बनेको छ," उनले भने।

"पहिला लुकाइने, दबाइने वा मिलाइने घटनाहरू अब बाहिर आउन थालेका छन्। प्रहरीसम्म आउने दुर्व्यवहारसम्बन्धी निवेदनहरूको पनि सङ्ख्या पनि बढेको छ।"

पीडितलाई न्याय र दोषीलाई सजाय दिलाउन लागिपर्ने समूहहरू पनि सञ्जालमार्फत सक्रिय रहनुले हिंसा निरुत्साहित गर्न मद्दत पुगेको उनको तर्क छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल बजेट: स्यानिटरी प्याडमा कर छुट तर अभियानकर्मीका 'माग अधूरै'