सडकमा हुने यौन र अन्य उत्पीडनबारे सूचना दिने प्रविधि विकास गर्ने महिलाहरू

सडकमा महिला सुरक्षा

तस्बिर स्रोत, Getty Images

    • Author, हेरिएट ओरल
    • Role, बीबीसी विश्व सेवा

स्कटल्यान्डको ग्लास्गो सहरमा महिलाहरूले सडकमा हुने हिंसा र उत्पीडनको अनुभवको तथ्याङ्क सङ्कलन गरिरहेका छन्।

महिलाहरूका लागि बनाइएको अनलाइन नक्सामा पिछा गर्ने, धम्की र यौन दुर्व्यवहारजस्ता उत्पीडनका घटनाहरूबारे जानकारी भर्न सकिन्छ।

"उ मबाट तीन-चार पाइला पछाडि थियो। जब मैले मेरो साँचो निकालेँ, ऊ अगाडिको ढोकाबाट छिर्न खोज्यो," एक प्रयोगकर्ताले आफ्नो अनुभव लेखेकी छन्।

"तर मैले 'यो के गरेको? मेरो प्रेमी भित्र छन्' भनेँ, ऊ भाग्यो।"

वाइज विमिन नामक सामुदायिक सुरक्षा सञ्जालले नेतृत्व गरेको यो परियोजनाले महिलाहरूमाथि उत्पीडनका घटनाहरू भइरहने स्थानहरू पहिचान गर्ने लक्ष्य राखेको छ।

वाइज विमिनकी रणनीतिक विकास कार्यकर्ता डन फाइफ यो अभियानले सहर महिलाका लागि सुरक्षित स्थान बनाउन निर्णयकर्ता र सहरी योजनाकारहरूलाई प्रभावित पार्ने आशा गर्छिन्।

"हामीलाई थाहै छ सार्वजनिक स्थानहरूमा महिलामाथि उत्पीडन र दुर्व्यवहार भइरहेको छ" उनले बीबीसीसँग भनिन्।

"महिला विरुद्धको हिंसासम्बन्धी रणनीति निर्माण र हुन लागेका कुनै पनि परिवर्तनहरूलाई प्रभावित गर्ने उचित सुझाव दिन हामी यसको प्रयोग गर्न सक्छौँ।"

ग्लास्गोमा आगामी मार्च १ सम्म तीन महिना सङ्कलन गरिने तथ्याङ्कहरूबाट प्राप्त प्रारम्भिक निष्कर्ष मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसमा सार्वजनिक गरिनेछ।

यो परियोजनामा काम गरिरहेका महिलाहरू यो अभियान अझै व्यापक हुनसक्ने र भविष्यमा युके भरि सुरु गरिसक्ने बताउँछन्।

महिला

तस्बिर स्रोत, HarassMap

दुर्व्यवहारबारे जानकारी सङ्कलन

महिलाहरूले सडकमा हुने दुर्व्यवहारविरुद्ध लड्न यसअघि पनि क्याउडम्यापिङ प्रयोगमा ल्याएका छन्।

सन् २०१० मा इजिप्टका स्वयंसेवकहरूको एउटा समूहले महिलाहरूलाई दुर्व्यवहारका घटनाबारे बेनामे जानकारी दिन मिल्ने हरासम्याप विकास गर्‍यो।

इजिप्टको सेन्टर फर विमिन राइट्सले गरेको एउटा सर्वेक्षण अनुसार उक्त समयमा ८० प्रतिशत महिला नागरिक र ९८ प्रतिशत विदेशी महिलाले सार्वजनिक स्थलमा कुनै न कुनै प्रकारको उत्पीडन अनुभव गरेका थिए।

“हामीभन्दा पहिले समुदायमा आधारित परम्परागत कामहरूलाई प्रविधिसँग जोड्ने कोही पनि थिएनन्। यस्तो काम गर्ने हामी नै पहिलो हौँ भन्ने मलाई लाग्छ,” हरासम्यापकी संस्थापक मध्येकी रेबिका सिआओ भन्छिन्।

यो अभियान सन् २०११ को अरब स्प्रिङ भनिने सरकार विरोधी प्रदर्शनहरूको ठिक अगाडी सुरु भएको थियो। यस्ता विरोध प्रदर्शनहरूसँगै अरबमा सामाजिक सञ्जालको प्रयोग व्यापक भएपछि यो अभियानमा पनि सहयोग पुग्यो।

“बेनामे उजुरीहरू हेरेर मानिसहरूले जनाउने प्रतिक्रिया अचम्मका हुन्थे,” उनी स्मरण गर्छिन्।

“कतिपय उजुरीहरू धेरै भावनात्मक र घटनाको विस्तृतमा उल्लेख गरिएका हुन्थे। यसले आफूमाथि परेका उत्पीडनबारे परिवारसँग र सार्वजनिक रूपमा बताउन नसक्ने महिलाहरूलाई खुलेर कुरा गर्ने ठाउँ दियो।“

एक जना प्रयोगकर्ताले लेखेकी छन्, “म एक्लै हिँडिरहेका बेला एक जना कामदारले मलाई बोलाइरहे, घुरेर हेरे र मेरो ध्यान खिच्न प्रयत्न गरे। उनका साथीहरूले पनि मलाई यसै गरी हेरिरहे।”

अर्की प्रयोगकर्ताले घटना र धम्कीको उजुरी गरेकी छन्।

“म राति घर जाँदै गर्दा एक जना ट्याक्सी चालकले मेरै अगाडि गाडी रोके, बाहिर निस्किए र आफ्नो पेन्टको फस्नर खोलेर आफैँलाई अस्वाभाविक रूपमा छुन थाले। म एउटा कुनातर्फ मोडिएर एउटा घरभित्र छिरेजस्तो गरेपछि म भित्र गएको ठानेर ती मान्छे गए,” उनले लेखेकी छन्।

रेबेका चिआवोले विश्वका अन्य देशमा पनि महिलाहरूलाई हिंसाबारे उजुरी गर्न सुझाव दिएकी छन्

तस्बिर स्रोत, Rebecca Chiao

तस्बिरको क्याप्शन, रेबेका चिआवोले विश्वका अन्य देशमा पनि महिलाहरूलाई हिंसाबारे उजुरी गर्न सुझाव दिएकी छन्

नेपालमा पनि

इजिप्टमा तथ्याङ्क सङ्कलनसम्बन्धी कानुनमा परिवर्तन भएपछि यो अभियानले अहिले यस्ता बेनामे उजुरीहरू सङ्कलन गर्न छोडेको छ।

यद्यपि उनीहरूको अन्तर्राष्ट्रिय विभागले सार्वजनिक र निजी स्थानहरूमा महिलामाथि शून्य उत्पीडनको वातावरण निर्माण गर्न नवीन अभियानहरूलाई अन्य देशहरूमा सहयोग गर्दै आएको छ।

सिआओका अनुसार ‘हर्यासम्याप’ले भारतमा सुरु भएर अन्य देशहरूमा पनि फैलिएको ‘सेफ सिटी’ अभियानलाई सहयोग गर्दै आएको छ।

यो अभियान नेपाल सहित केन्या र नाइजेरियामा विस्तार भएको थियो।

'विश्वव्यापी समस्या'

सन् २०१२ मा भारतको राजधानी दिल्लीमा विद्यार्थी ज्योति सिंहको सामूहिक बलात्कार र हत्या भएपछि एल्सामेरी डिसिल्भा र उनका साथीहरूले सेफ सिटी स्थापना गरे।

“हामीले तत्कालै केही गर्न चाह्यौँ। यो विश्वव्यापी समस्या हो र सबै घटनाहरूबारे उजुरी पनि हुँदैन,” डिसिल्भा भन्छिन्।

“सेफ सिटीजस्ता सामग्रीको सहयोगले तपाईँको समस्याबारे नाम उल्लेख नगरी उजुरी गर्न सक्नुहुन्छ। यस्ता घटनाहरूको दस्ताबेज तयार पार्नु न्याय प्राप्तिको पहिलो खुड्किला हो।”

यो नक्साले तस्बिर लिने, जिस्क्याउने, अश्लील प्रदर्शन गर्ने र सार्वजनिक स्थानमा हस्तमैथुन गर्ने जस्ता गतिविधिको सूचना सङ्कलन गर्छ।

महिलाहरू

तस्बिर स्रोत, ElsaMarie D'Silva

“महिलाहरूलाई आफूमाथि गरिएको के गलत हो भन्ने थाहा हुन्छ तर त्यो कुराको उजुरी गर्नुपर्छ र यो अधिकार हो भन्ने थाहा हुँदैन," डिसिल्भा भन्छिन्।

"सेफ सिटीले प्राप्त भएका अनुभव भएकाहरूको दस्ताबेज निर्माण गर्दछ। यो उपचार दिलाउने कागजात हो र दीर्घकालीन जागरूकताको लागि क्षमता निर्माण गर्छ।"

आफूहरूले सङ्कलन गरेका तथ्याङ्कहरू अधिकारीहरूलाई उपलब्ध गराएपछि जोखिम क्षेत्रमा महिलाहरूको सुरक्षा बढाउन सकारात्मक प्रतिक्रिया आएको उनी बताउँछिन्।

"साँझ ७ बजेपछि संसार रोकिँदैन"

यस्तै कारणहरूले गर्दा बाटो पहिल्याउन प्रयोग हुने एप सिटीम्यापरले आफ्ना प्रयोगकर्ताहरूको जिज्ञासामा सबैभन्दा छिटो हुने बाटो नभई मानिसहरूको चहलपहल हुने वा सडक बत्ती राखिएका मार्गहरू देखाउने गरेको छ।

यसको 'मुख्य सडक' सुविधाले साँझ परेपछि यात्रा गर्दा विकल्पहरू देखाइदिने गरेको छ।

"राम्रोसँग उज्यालो र चहलपहल हुने सडकहरू, याद गर्न सजिलो र बीचमा पार्क र गल्लीहरू नपर्ने सडकहरू," सिटीम्यापरको डिजाइन प्रमुख गिल्बर्ट वेडमले बीबीसीसँग भने।

“सबैभन्दा छिटो पुगिने सडक सबैभन्दा सुरक्षित हुन्छ भन्ने छैन।"

सुरक्षा

तस्बिर स्रोत, SafeCity

ब्रजिलको रेसिफेमा एक उद्यमीले महिलामाथि हुने उत्पीडन र त्यसको उजुरी बीचको खाडल भर्न समाधान खोजेका छन्।

एनआईएनए नामको उक्त प्रविधि राइड सेयरिङ र पथ प्रदर्शक एपहरूमा समावेश गरेर उत्पीडनको उजुरी गर्न सकिन्छ।

“सरकारी तथ्याङ्कमा हेर्ने हो भने यहाँ समस्या नै छैन जस्तो देखिन्छ,” उजुरीको अभावबारे प्रस्ट्याउँदै प्रमुख कार्यकारी अधिकृत साइमोनी सिसार भन्छिन्।

निर्णयमा महिलाको सहभागिता

सार्वजनिक बसमा काम गर्ने सिसारकी आमाले महिलाहरूलाई काममा बाहिर जान हुने कठिनाइबारे कथाहरू घरमा सुनाउँथिन्। आफू हुर्किएपछि सिसारले यस्ता दुर्व्यवहार देखिन् र अनुभव गरिन्।

"सार्वजनिक यातायात प्रयोग गर्नु पर्ने डरले विद्यालय वा जागिर छोड्ने धेरै महिलालाई भेटेँ," उनी भन्छिन्।

महिला सुरक्षा सञ्जालले गरेको एउटा सर्वेक्षणले ब्रजिलका सहरहरूमा ८१ प्रतिशत महिलाहरूले कुनै न कुनै प्रकारको हिंसा महसुस गरेको देखाएको छ।

सार्वजनिक सुरक्षा क्षेत्रमा काम गर्ने अर्को एउटा गैरसरकारी संस्थाले ब्रजिलको सार्वजनिक यातायातमा हरेक चार सेकेन्डमा एउटा उत्पीडनको घटना हुने आकलन गरेको छ।

भारत

तस्बिर स्रोत, SafeCity

एनआईएनएले सिसार र उनको समूहलाई उत्पीडन वा हिंसाका घटनाबारे उजुरी गर्न अन्य एपहरूमा सजिलै प्रयोग गर्न मिल्ने बटन राख्न सहयोग गर्ने गरेको छ।

आफूहरूले सङ्कलन गरेको तथ्याङ्क विश्वसनीय मान्ने गरिएको उनको दाबी छ।

"सहरहरूलाई महिलाहरूका निम्ति सुरक्षित, थप समावेशी र बस्न योग्य बनाउने नीतिहरूको विकासलाई बढवा दिन हामीले सङ्कलन गरेका सूचनाहरू नीति निर्माणकर्ता र निर्णयकर्ताहरूलाई दिन्छौँ," उनले भनिन्।

ग्सास्गोकी डन फाइफ पनि यही कुरा दोहोर्‍याउँछिन्।

"हामी महिलाहरूलाई निर्णायक तहमा समावेश गर्न चाहन्छौँ, त्यसैले उनीहरूको यो अनुभवका सहरी योजनाहरू बनाउँदा हेरिनुपर्छ," उनी भन्छिन्।

"जसले पनि देख्न सक्ने यो नराम्रोपन जरैदेखि उखेलेर फालिनुपर्छ," उनले बीबीसीलाई भनिन्।

"अब हदै भयो, हामी परिवर्तन चाहन्छौँ।"