पङ्ग स्वाअए: चिनियाँ टेनिस खेलाडीले ओलिम्पिक अधिकारीहरूलाई आफू सुरक्षित रहेको बताइन्

तस्बिर स्रोत, IOC / Greg Martin
अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी) ले चिनियाँ टेनिस खेलाडी पेङ्ग स्वाअएले आइतवार एउटा भिडिओ कलमार्फत आफू सुरक्षित रहेको बताएको जनाएको छ।
एउटा विज्ञप्तिमा आइओसीले अध्यक्ष टमस बाखले पेङ्गसँग तीन मिनेट भिडिओ कल गरेको जनाएको छ।
"उनी सुरक्षित छिन्, त्यो नै हाम्रो मुख्य चासो थियो," विज्ञप्तिमा भनिएको छ।
आफूविरुद्ध एक वरिष्ठ मन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि ३५ वर्षीय पेङ्ग करिब तीन साताअघिदेखि सार्वजनिक वृत्तबाट टाढा छिन्।
उनको अनुपस्थितिले व्यापक रुपमा चासोहरू उत्पन्न गराएको थियो।
अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडी र सरकारहरूले उनी सुरक्षित छिन् भन्ने प्रमाण उपलब्ध गराउन चीनलाई आह्वान गरेका थिए।
"३० मिनेट लामो भिडिओ कलको सुरुमा पेङ्ग स्वाअएले आइओसीको चासोका लागि धन्यवाद दिइन्," उक्त विज्ञप्तिमा उल्लेख छ।
"उनले बेइजिङस्थित आफ्नो घरमा सुरक्षित र ठिक रहेको व्याख्या गरिन्, तर अहिलेको अवस्थामा गोपनीयताको सम्मान होस् भन्ने चाहेको पनि बताइन्," विज्ञप्तिमा थप भनिएको छ।
"उनले अहिलेको आफ्नो समय परिवार र साथीहरूसँग बिताउन चाहेको बताएकी छन्," विज्ञप्तिमा उल्लेख छ। "जे भए पनि, उनी टेनिसमा निरन्तर रहने छिन्।"

तस्बिर स्रोत, IOC / Greg Martin
आइओसीको विज्ञप्तिमा भिडिओ कल गर्दै गर्दाको तस्बिर पनि राखिएको छ जसमा उनी क्यामरामा हाँसिरहेको देखिन्छ।
टेनिसकी चर्चित खेलाडी सार्वजनिक वृत्तबाट हराएपछि सुरु भएको आर्तनादपछि चिनियाँ सरकारी सञ्चारमाध्यम उनी ठिक छिन् भन्ने देखिने उनको तस्बिर र भिडिओहरू शृङ्खलावद्ध रुपमा देखाउन बाध्य भएको थियो।
आइतवार, सरकारी सञ्चारमाध्यमका पत्रकारले ट्वीटरमा एउटा भिडिओ क्लिप राखेका थिए जसमा पेङ बेइजिङस्थित एउटा टेनिस प्रतियोगितामा अधिकारीहरूसँग हाँसिरहेको देखिन्थ्यो।
रोयटर्स समाचार संस्थाले खेल आयोजकले पनि आफ्नो वीच्याटको पेजमा पेङ्गको तस्बिरहरू प्रकाशति गरेको उल्लेख गर्दै समाचार छापेको थियो।
तर वीमेन्स टेनिस एशोसियसनका प्रवक्ताले भने रोयटर्ससँग उक्त भिडिओ पेङ्ग सुरक्षित छिन् भन्नका लागि "पर्याप्त" प्रमाण नभएको बताएका थिए।
टेनिस डलब तर्फकी पहिलो बरियताकी पूर्व खेलाडी पेङ्गले नोभेम्बरको सुरुमा चीनको सामाजिक सञ्जाल वेबोमा आफूमाथि चीनका पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको भन्दै एउटा पोष्ट राखेकी थिइन्।
उक्त पोष्टलाई केहीबेरमै वेबोबाट हटाइएको थियो। चीनका वरिष्ठ नेताामथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलोपटक हो।








