पङ्ग स्वाअए: चीनले कसरी एक टेनिस खेलाडीको आवाज दबायो

पङ्ग स्वाअए

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, पङ्ग स्वाअए
    • Author, काइ वाङ्ग र वान्युआन सङ्ग
    • Role, बीबीसी रियालिटी चेक

चिनियाँ टेनिस खेलाडी पङ्ग स्वाअए बेइजिङमा भएको एक खेल प्रतिस्पर्धामा पाहुनाको रूपमा सहभागी भएको राज्य नियन्त्रित मिडिया फुटेजमा जनाइएको छ।

राज्य समर्थित मिडियाले आइतावार ट्विटरमा पङ्ग भन्दै एक क्लिप छापेको छ।

विभिन्न मुलुकका सरकारहरू, टेनिस अधिकारीहरू र खेलाडीहरूले उनी हाल कस्तो स्थितिमा छन् भन्नेबारे चिन्ता व्यक्त गरेका छन्।

दुई हप्ता अगाडि उनले चिनियाँ पूर्व उपप्रधानमन्त्रीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। त्यसयता उनी विमिन्स टेनिस एशोसियशन (डब्लूटीए)सँग प्रत्यक्ष सम्पर्कमा छैनन्।

आइतवार सरकार समर्थित मिडिया द ग्लोबल टाइम्सले प्रकाशित गरेको क्लिपमा उनी एउटा "किशोरहरूको टेनिस प्रतिस्पर्धाको अन्तिम चरण"को खेलमा पाहुनाका रूपमा भएको भनिएको छ।

तर डब्लूटीएका प्रवक्ताले रोयटर्स समाचार संस्थालाई बताए अनुसार पछिल्ला भिडिओहरू उनको सुरक्षाप्रति व्यक्त गरिएको चासोको सम्बोधन गर्दैन।

पङ्ग स्वअए विवादबारे बीबीसी रियालीटी चेकले तयार पारेको एक रिपोर्ट:

चीनकी प्रख्यात टेनिस खेलाडी पङ्ग स्वाअएले सामाजिक सञ्जाल वेबो मार्फत एक जना पूर्व वरिष्ठ राजनीतिज्ञ विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएको केही समयमै उनको त्यो व्यक्तिगत खाता सेन्सर गरियो।

पङ्ग विरुद्ध प्रयोग गरिएको अनलाइन सेन्सरशिपको तरिका बुझ्नका लागि हामीले त्यस दिन भएको घटनाक्रमलाई नियालेका छौँ।

पङ्गको पोस्टलाई के गरियो?

नोभेम्बर २ तारिखमा उनले वेबोमा एउटा पोस्ट सार्वजनिक गरिन् जसमा चीनका पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीसँग यौन सम्बन्ध राख्न आफूलाई बाध्य पारिएको उल्लेख गरिएको थियो।

उक्त पोस्ट केही समयपछि हरायो - सम्भवतः लगभग एक घण्टामै।

वेब्याक मशिन इन्टरनेट टुलको प्रयोग गरेर हेर्दा उक्त दिनको अन्त्यसम्ममा त्यस्तो कुनै पोस्ट गरिएको सङ्केत समेत बाँकी थिएन।

त्यसपछि हामीले फेरि पङ्गको टाइमलाइन हेर्‍यौँ। उनका थप छ वटा पोस्ट हटाइएका थिए।

चीनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाओ हेइदोङ्ग पनि सेन्सरसिपका सिकार भइसकेका छन्

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, चीनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाओ हेइदोङ्ग पनि सेन्सरसिपका सिकार भइसकेका छन्

चीनमा प्रख्यात खेलाडीको आवाज दबाइएको यो पहिलो पटक होइन।

गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टी हटाइनुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि चीनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हाओ हेइदोङ्ग अनि संन्यास लिइसकेकी पूर्व ब्याडमिन्टन खेलाडी उनकी पत्नीलाई इन्टरनेटमा सेन्सर गरिएको थियो।

उनका फलोअरहरूलाई कसरी अवरोध गरिएको?

ट्विटरमा जस्तै वेबोका प्रयोगकर्ताहरूले सामान्यतया पोस्टमा प्रतिक्रिया जनाउन पाउँछन्।

तर पङ्गको टाइमलाइनमा प्रतिक्रिया जनाउन नमिल्ने बनाइएको छ जस कारण ५ लाखभन्दा बढी उनका फलोअरहरू उनीसँग उक्त प्लेटफर्ममा संवाद गर्नबाट वञ्चित भएका छन्।

त्यस्तै केही निश्चित शब्दहरूको खोजीमा समेत अस्थायी प्रतिबन्ध लगाइएको छ।

उदाहरणका लागि कुनै प्रयोगकर्ताले पङ्गको नाम इन्टरनेटमार्फत खोजी गर्न खोजे त्यसका नतिजामा प्रतिबन्ध लगाइएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

1px transparent line

पछिल्लो समय केही प्रतिबन्ध भने खुकुलो पारिएको छ।

त्यस्तै वेबोमा पङ्गलाई सम्बोधन गर्दै अन्य प्रयोगकर्ताहरूले गरेका पछिल्ला पोस्टहरू पनि हटाइएको छ।

नोभेम्बर तीन तारिखमा एक जना चिनियाँ टेनिस टिप्पणीकर्ताले लेखे, ''आशा छ तिमी सुरक्षित छौ'' र ''उनी कति हताश अनि असहाय भइन् होला।'' यी दुवै पोस्ट हटाइएको छ।

केही प्रयोगकर्ताहरूले सेन्सरबाट जोगिनका लागि रचनात्मक उपायहरू अपनाएका छन्।

सिधै झाङ गाओली लेख्नुको साटो वेबो प्रयोगकर्ताहरूले उनलाई उस्तै सुनिने अर्को नाम प्रयोग गर्ने गरेका छन्।

तर चिनियाँ अधिकारीहरूले यस्ता पोस्टहरूको खोजी गर्दै तत्काल हटाइ रहेका छन्।

खोजी गर्न अन्य साइटको अवस्था के छ?

सर्च इन्जिन बाइडुमा पङ्गबारे सरकारी सञ्चारमाध्यमहरूले गरेको रिपोर्टहरूमात्रै देख्न सकिन्छ।

अन्य चिनियाँ सामाजिक सञ्जालहरूमा पनि खोजीको दायरा सीमित पारिएको छ।

प्रश्नोत्तर वेबसाइट झुहुमा पङ्ग स्वअएको नाम लेख्दा कुनै उत्तर आउँदैन।

तर "झाङ गाओली" को खोजी गर्दा भने उनलाई महान् नेताका रूपमा वर्णन गरिएका पोस्टहरू फेला पर्छन्।

अनलाइन प्रतिक्रिया कस्तो देखिएको छ?

कैयौँ प्रख्यात टेनिस खेलाडीहरूले पङ्गको पछिल्लो अवस्थाबारे सोधखोज गरिरहेका छन्।

पूर्व नम्बर एक खेलाडी नाओमी ओसाकाले ट्विटरमा लेखिन्: ''सेन्सरसिपलाई कुनै पनि मूल्यमा कहिले पनि ठिक मान्न मिल्दैन। पछिल्लो अवस्थाका कारण म स्तब्ध छु र म उनको बाटोमा माया अनि प्रकाश पठाँउदैछु।''

केही दिन अघि ट्विटरमा सुरु भएको #WhereIsPengShuai? अभियान हाल ट्रेन्डिङ विषयमा पर्छ।

तर चिनियाँ निकायहरू भने यस विषयमा खुलेर बोल्न चाहिरहेका छैनन्।

थप अनुसन्धान : पल मायर्स

Reality Check branding