चीनको सिन्जियाङमा 'एपमार्फत् लाखौँ नागरिकमाथि निगरानी'

तस्बिर स्रोत, Reuters
चिनियाँ प्रहरीले सिन्जियाङ प्रान्तमा लाखौँ उइगुर मुस्लिम आदिवासीका गतिविधिबारे विवरण राख्न एउटा मोबाइल एपको प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।
बिहीवार सार्वजनिक एउटा प्रतिवेदनका अनुसार ठूलो सङ्ख्यामा मानिसहरूमाथि निगरानी राख्नका लागि सो एपको निर्माण गरिएको हो।
उइगुर मुस्लिम आदिवासीले गर्ने सामाजिक गतिविधि, धेरै मात्रामा बिजुली प्रयोग गर्ने कुरा अथवा देशबाहिर राख्ने सम्बन्ध लगायतका गतिविधि नजिकबाट नियाल्न सो एपको प्रयोग भइरहेको छ।
ह्युमन राइट्स वाचका अनुसार उइगुर मुस्लिमहरूप्रति चीनमा एकदम नराम्रो व्यवहार गरिँदैछ।
नियन्त्रण
संयुक्त राष्ट्रसङ्घले सिन्जियाङमा लाखौँ उइगुरहरूलाई नियन्त्रणमा राखिएकोबारे आफूसँग विश्वसनीय विवरणहरू रहेको जनाएको छ।
चीनले त्यसलाई पुनर्शिक्षा केन्द्र भन्ने गरेको छ।
ह्युमन राइट्स वाचको प्रतिवेदनका अनुसार उइगुर मुस्लिमका गतिविधि रेकर्ड गर्न र विवरणहरू अन्यत्र पठाउनका निम्ति एपको प्रयोग गर्ने गरिएको छ।

तस्बिर स्रोत, AFP
कसले कहिलेकाहीँ मात्रै अगाडिको ढोका प्रयोग गर्छ, अस्वाभाविक मात्रामा बिजुली खपत गर्छन् र राज्यको अनुमति विना हज गर्छ लगायतका गतिविधि एपमार्फत् हेर्ने गरिएको छ।
कस्तो एप?
एपमार्फत् सङ्कलित सूचनाहरूलाई इन्टिग्रेरेड ज्वाइन्ट अपरेसन्स प्लेटफर्म आइजेओपी नामक केन्द्रीय प्रणालीमा पठाउने गरिएको ह्युमन राइट्स वाचले जनाएको छ।
सो संस्थाकी चीनसम्बन्धी एक वरिष्ठ अनुसन्धानकर्ता माया वाङका अनुसार आइजेओपी विश्वका अति हस्तक्षेपकारीमध्येको एउटा निगरानी प्रणाली हो।

तस्बिर स्रोत, Getty Images
बर्लिनस्थित क्योरफिफ्टीथ्री नामक एउटा सुरक्षा फर्मसँगको साझेदारीमा ह्युमन राइट्स वाचले चिनियाँ याप फेला पारेको र त्यसबारे अध्ययन गरेको जनाएको छ।
राष्ट्रसङ्घको एउटा समितिले सिन्जियाङमा दश लाख जति उइगुर मुस्लिमहरूलाई थुनुवा केन्द्रहरूमा राखिएको विवरण गत वर्ष थाहा पाएको जनाएको थियो।








