महिला सहचालक: गुडिरहेको गाडीको ढोकामा उभिएर जिन्दगीलाई रफ्तार दिनेहरू

गोमा श्रेष्ठ

तस्बिर स्रोत, Goma Shrestha

तस्बिरको क्याप्शन, गोमा श्रेष्ठ
    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

गोमा श्रेष्ठले झ्यालबाट टाउको निकालिन् र कराउन थालिन्, "आउनुस् कालोपुल, नागपोखरी, दरबारमार्ग, रत्नपार्क।"

एक दशकअघि सहचालक बनेर माइक्रो चढ्दा आफू धेरैका लागि चासोको विषय बनेको गोमा सम्झन्छिन्। त्यति बेला सार्वजनिक सवारीसाधनको ढोकाबाट एउटी महिला चिच्याउनु नौलो दृश्य बन्थ्यो।

मानिसहरू फर्कीफर्की हेर्थे। गाडीको अघिपछि दौडँदा कतिले फोटो र भिडिओ समेत खिचे। केही यात्रुले निकै बेर नियालेपछि सोध्थे, "दिदी किन अनि कसरी यो काम गर्न थाल्नुभयो?"

"केटाले गरिरहेको काममा एक्कासि छोरी मान्छेलाई देखेर होला उनीहरू छक्क पर्थे। कतिले त व्यक्तिगत प्रश्न पनि सोध्नु हुन्थ्यो। म हाँसेर टार्थेँ," उनी भन्छिन्।

अभावले देखाएको बाटो

गोमा श्रेष्ठ

तस्बिर स्रोत, Goma Shrestha

तस्बिरको क्याप्शन, गोमा श्रेष्ठ

गोमा २७ वर्षकी थिइन्, जब उनका श्रीमान् पैसा कमाउन भन्दै भारत लागे। छोराछोरी च्यापेर श्रीमान्‌को बाटो हेरिन् तर निकै पछिसम्म पनि फर्कने छाँट देखाएनन्। गोमाको धैर्यताको बाँध तब टुट्यो जब चामलको बोरा रित्तियो। तरकारी किन्न पैसा सापट दिने साथीभाइ पनि बाँकी रहेनन्।

तीन वर्षीया छोरी र ११ महिने दुधे छोरो छाडेर ज्यामी काममा हिँडिन्। करिब चार वर्ष उनले बालुवा र गिट्टीको भारी बोकिन्।

२०६८ सालको दशैँ आयो। त्यस वर्ष गोमाको परिवारमा जुठो परेकाले पर्वको उत्साह थिएन। काम नभएकाले कोठा बाहिर घाम तापेर बसेकी थिइन्।

त्यसै बेला छिमेकीले प्रश्न गरे, "बहिनी खाली छौ भने गाडीमा काम गर्ने हो? खलासी नभएर मैले गाडी चलाउन पाइनँ।"

त्यो अप्रत्याशित प्रश्नले सुरुमा त गोमालाई झस्कायो। जब ती मानिस जिस्किएको होइनन् भन्ने प्रस्ट भयो तब जिज्ञासा राखिन्, "केही नजानेको काम कसरी गर्नु दाइ? त्यसमाथि मैले त दुई अक्षर पनि पढेको छैन। कार्ड हेर्नसमेत आउँदैन।"

दसैँको बेलामा गाडीमा भिड नहुने र विद्यार्थी छुट नदिने भएकाले परिचयपत्र हेर्न नपर्ने जानकारीले उनलाई सान्त्वना दियो। गाडीको ढोका खोल्न र बन्द गर्न सिकिन्। र चढिन् माइक्रो बस सहचालक बनेर।

"सुरुसुरुमा त मान्छे बोलाउन समेत लाज लाग्थ्यो। पैसा माग्न पनि अप्ठेरो। हिसाब बिगार्छु कि भन्ने डर हुन्थ्यो," गोमाले अनुभव सुनाइन्,"बिस्तारै थाहा भयो आफू कमजोर देखिँदा गिज्याउँछन्, हेप्छन् भन्ने।"

अनिता विश्वकर्मा

तस्बिर स्रोत, Anita Biswokarma

तस्बिरको क्याप्शन, अनिता विश्वकर्मा

माइक्रोमा काम गरे बापत गोमाले दैनिक भत्ता पाउँछिन्। मासिक तलब बेग्लै। त्यही कमाइले छोराछोरीलाई पढाउन सक्ने भइन्। खान लाउनको पिर बाँकी रहेन। थोरै नै सही, अलिअलि पैसा जम्मा हुँदा आत्मविश्वास बढेको उनी बताउँछिन्।

"काखका छोराछोरीको समेत मतलब नगरी हिँडेको श्रीमान् नफर्किए मेरो हालत के होला भन्ने पिर बाँकी रहेन। अनेक प्रश्नको सामना गर्नु पर्‍यो, मान्छेको छेडखानी सहनु पर्‍यो तर म आफ्नो बुतामा उभिएँ," उनी गर्विलो सुनिन्छिन्।

अब त गोमाको लक्ष्य चालक बन्नु हो। त्यही हुटहुटीले स्टेरिङ, क्लच र ब्रेकको तालमेल मिलाउन सिकायो।

"लाइसेन्स निकाल्न सके मान्छे डाक्ने होइन, गाडी हाँक्ने काम थाल्छु।"

स्टेरिङ छोडेर ढोका ढकढकाउन थालेकी अनिता

अनिता विश्वकर्मा

तस्बिर स्रोत, Anita Biswokarma

तस्बिरको क्याप्शन, अनिता विश्वकर्मा

सिन्धुपाल्चोककी ३३ वर्षीया अनिता विश्वकर्मा चाहिँ चालक थिइन्। अहिले सहचालक भएकी छिन्।

अभावसँग लड्न ज्यामीदेखि मिस्त्रीसम्मको अनुभव बटुलिन्। शारीरिक दुःखको तुलनामा कमाइ कम भएपछि २०७२ सालमा गाडी सिकेर चालक अनुमतिपत्र निकालेकी हुन्। सुरुवाती दिनमा आफूले जहाँ गाडी सिकिन् त्यहीँ अरूलाई सिकाउने काम पाइन्। केही वर्ष निजी विद्यालयको गाडी चलाइन्।

अनुभव र केही रकम जम्मा भएपछि किस्ताबन्दीमा माइक्रो किनिन्। हाल २७ नम्बर रुटमा चल्छ उनको गाडी।

"गाडी किन्नु र लकडाउन हुनु एकैचोटी भयो। कोरोनाभाइरसले गर्दा गाडी चढ्ने मान्छे नै नहुने स्थिति आयो। त्यस्तोमा किस्ता तिर्नु कि स्टाफलाई भत्ता दिनु? त्यसैले ढोकामा आफै बस्न थालेँ," अनिताले सुनाइन्।

सहचालक हुनु गाह्रो काम रहेछ भन्ने तब थाहा पाइन् जब अनेकथरी मानसिकताको सामना गर्नुपर्‍यो।

"चालक सिटमा बस्दा कसैको मतलब हुँदैन थियो तर सहचालक भएपछि थाहा भयो महिलालाई हेर्ने तरिका नै फरक हुँदो रहेछ," उनले तीतो पोखिन्, "कोही त निकै हेपेर बोल्छन्।"

कहिलेकाहीँ ट्राफिक प्रहरीले समेत हेपाहा प्रवृत्ति देखाउने गुनासो उनले पोखिन्।

"चर्को घाम, बर्खा, जाडो केही नभनी १२ घण्टा उभिनु पर्छ। कराउनु पर्छ। रिस हामीलाई पनि उठ्छ। त्यसैले कहिलेकाहीँ नचाहँदा नचाहँदै झगडा पर्छ," अनिताले सुनाइन्।

महिनावारी हुँदा भने शारीरिक रूपमा धेरै गाह्रो हुने उनी बताउँछिन्। त्यस्तो अवस्थामा गाडी भित्रको भिड र सडकको ट्राफिक जाम सहन कठिन हुने उनको अनुभव छ।

दैनिक भोग्न पर्ने अर्को तीतो पक्ष माइक्रो स्टेसनदेखि खाना खाने ठाउँमा भोग्न पर्ने हेपाइ भएको बताउँछिन्। आफ्नो अगाडि अपाच्य शब्द बोल्नेदेखि मुखै अगाडि आएर चुरोटको धुवाँ फाल्नेहरूलाई गाली गरेको घटना उनले हाँस्दै सुनाइन्।

गाडीको कमाइले दुई छोरा र एक छोरीलाई पढाइ रहेकी छिन्। दैनिकी चलाइरहेकी छिन्। गाडीको किस्ता रकम मिनाहा भएपछि मात्र सहचालकको जिम्मेवारी अरूलाई दिएर आफू चालक सिटमा बस्ने योजना बनाएकी छिन्।

"श्रीमान्‌को भर परेको भए पनि जिन्दगी त चल्थ्यो। तर आफै कमाउनुको खुसी र सन्तुष्टि अनुभव गर्न पाउने थिइनँ," उनले भनिन्।

बिस्तारै सार्वजनिक सवारीसाधनमा फाट्टफुट्ट महिला सहचालकहरू देखिन थालेका छन्। महानगर यातायात र साझा यातायात लगायतले आफ्ना बसहरूमा महिला सहचालकलाई प्राथमिकताका साथ राखेका छन्।

'महिलालाई आत्मनिर्भर बनाउने पेसा'

रेजिना घिमिरे

तस्बिर स्रोत, Rejina Ghimire

तस्बिरको क्याप्शन, रेजिना घिमिरे

रेजिना घिमिरे साझा बसकी सहचालक हुन्। चार वर्ष भयो उनले यात्रुहरूका लागि टिकट काट्न थालेको। आफ्नो पेसालाई लिएर सन्तुष्ट रहेको उनी सुनाउँछिन्।

उनको अनुभव गङ्गा र अनिताको भन्दा केही फरक छ। काठमाडौँको सडकका खाल्डाखुल्डी र धुवाँधुलो बाहेक यस पेसामा अन्य चुनौती नभएको उनको ठहर छ।

साझा यातायातमा ढोकामा झुन्डिएर यात्रु बोलाउनु पर्दैन। टिकट सुविधाले गर्दा भाडाको लागि यात्रुसँग झगडा गर्नु पर्दैन। ढोका लगाउने, खोल्ने जिम्मेवारी चालककै भएकाले हातखुट्टा च्याप्ने समस्या भोग्नु परेको छैन।

दैनिक एक हजार रुपैयाँ ज्याला पाउँछिन्। २७ वर्षीया रेजिनाले छोरीलाई आफ्नै कमाइले पढाइ रहेकी छिन्। बिदाको सुविधा र बिरामी हुँदा सहकर्मीको साथ र सहयोगले यस पेसालाई आकर्षित बनाएको उनको कथन छ। लकडाउनको समयमा गाडी नचल्दा समेत उनीहरूले ५० प्रतिशत तलब पाएका थिए।

"संस्थाको गाडीमा काम गर्ने भएकाले होला बाहिरको गाडीमा जस्तो धेरै खटन हुँदैन। हरेक दिन सय थरी मानिस भेटिन्छन्। उनीहरूको स्वभाव फरक हुन्छ। कोही मीठो बोल्छन् कोही झर्कन्छन्। भोलि नभेटिने मानिससँग किन झर्कोफर्को गर्नुजस्तो लाग्छ त्यसैले संयमित भएर सामना गर्छु," उनले भनिन्।

सङ्खुवासभाबाट पहिलो चोटि धरान झर्दा उनले थाहा पाएकी थिइन् - महिला पनि चुलोचौकाबाट बाहिर निस्कन्छन्, काम गर्छन् र कमाउँछन् भन्ने।

आम महिला काममा गएको, तलब थापेको सुन्दा काममा धाउनु आफ्नो रहर बनेको बताउँछिन्।

कक्षा १२ सम्म पढेकी उनी काठमाडौँ आइन्। महिला सहचालक माग भएको थाहा पाएपछि साझा यातायातको कार्यालय पुगिन् र जागिर सुरु गरिन्।

"आत्मसम्मान पाएँ। गाडी सिक्ने र चलाउने आत्मविश्वास पनि बढेको छ। कसैको भर पर्नु परेको छैन। हरेक मानिसले खोज्ने यस्तै सरल र सहज जीवन होइन र?," उनी प्रश्न गर्छिन्।

"अब महिला सहचालक देख्दा छक्क पर्नु पर्दैन। यो घरभित्र सीमित महिलालाई बाहिर निस्कन र आत्मनिर्भर बन्न प्रेरित गर्ने पेसा बनेको छ।"

रेजिनासँगै काम सुरु गरेका केही महिला भने हाल यस क्षेत्रमा छैनन्। केहीले विवाह गरे, कसैले सन्तान जन्माए र कोही भने वैदेशिक रोजगारीका कारण यस पेसाबाट अलग्गिएको बताउँछन् साझा यातायातका व्यवस्थापक हरिराम मिश्र।

उनका अनुसार साझा यातायात पुनः सञ्चालनमा आउँदा १० जना महिला सहचालक थिए। हाल रेजिनासहित चार महिला सहचालक छन्।

"दिदीबहिनीहरू जागिर खोज्दै आउनुहुन्छ तर राख्न सकेका छैनौँ किनकि महामारीका कारण हामीले गाडी नै पूर्ण रूपमा चलाउन सकेका छैनौँ," मिश्रले भने।

हाल साझाका ७१ मध्ये ४० वटा मात्र गाडी सञ्चालित छन्। तीमध्ये ३६ वटा काठमाडौँ उपत्यकामा गुड्छन् भने बाँकी चार काठमाडौँ बाहिर।

महानगर यातायातले पनि २०७२ सालको फागुन महिनामा एकसाथ २७ जना महिलालाई सहचालकको जिम्मेवारी सुम्पेको थियो। हाल उक्त सङ्ख्या घटेर दुई पुगेको व्यवस्थापक केशव नेपालले जानकारी दिए।

नेपालले भने,"धेरैले पारिवारिका कारण देखाउँदै छोड्नु भयो। सङ्ख्यात्मक हिसाबमा महिला सहचालक घट्नु सुखद पक्कै होइन।"

"तर एक जनालाई देखेर अन्य दुई तीन जनाले रोजगार खोज्दै आउनुहुन्छ। त्यो राम्रो पक्ष हो।"

परिवारको साथ र व्यक्तिको आँटले यस पेसामा टिक्न सकिने यी प्रतिनिधि पात्रहरूको ठहर छ।

"समयले जहाँ पुर्‍याउँछ त्यहाँ पुगेर रोकिनै पर्छ। ठिक ठाउँमा नरोके गाडी ठोक्किन्छ या त ट्राफिकले चिट काट्छ," अनिता विश्वकर्मा भन्छिन्।

"यही नियम जिन्दगीमा पनि लागु हुन्छ। जहाँसम्म सकिन्छ त्यहाँसम्म पुगेर यस पेसामा ब्रेक लगाउने हो।"