महिला हिंसा भारत: जीन्स लगाएको निहुँमा उत्तर प्रदेशमा १७ वर्षे किशोरीको 'हत्या'

नेहा पासवान

तस्बिर स्रोत, Rajesh arya

तस्बिरको क्याप्शन, नेहा पासवानलाई आधुनिक कपडा लगाउन मन पर्थ्यो
    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका साथ समाचारमा आएका छन्। ती घटनाले बालिका र महिला आफ्नै घरभित्र पनि कति असुरक्षित छन् भन्ने उजागर गरेका छन्।

गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ।

ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ।

उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएअनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेका थिए।

उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो। त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्रमध्ये पर्छ।

शकुन्तलादेवी

तस्बिर स्रोत, Rajesh arya

तस्बिरको क्याप्शन, आमा शकुन्तलादेवीसँग नेहा

उनकी आमा शकुन्तलादेवीले भनिन्, "ऊ दिनभरि व्रत बसेकी थिई। साँझमा उसले जीन्स र टप लगाएर पूजा गरी। उसका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाए। नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताई।"

उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको उनले बताइन्।

शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए।

उनले भनिन्, "उनीहरूले मलाई सँगै जान दिएनन्। त्यसैले मैले मेरा आफन्तलाई त्यसबारे जानकारी गराएँ। उनीहरू जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई भेटेनन्।"

Presentational grey line

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन्।

त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको थाहा भयो।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ।

आरोपितले हालसम्म सार्वजनिक बयान दिएका छैनन्।

भारत

तस्बिर स्रोत, Getty Images

वरिष्ठ प्रहरी अधिकृत श्रीयश त्रिपाठीले बीबीसी हिन्दीसँग कुरा गर्दै हजुरबा-हजुआमा, एकजना काका र अटो ड्राइभरसहित हालसम्म चार जना पक्राउ परेको र उनीहरूसँग बयान लिइएको बताएका छन्।

प्रहरीले बाँकी आरोपितको पनि खोजतलास गरिरहेको उनले बताए।

पञ्जावको सहर लुधिआनामा निर्माण मजदुरको काम गर्ने नेहाका पिता अमरनाथ पासवान पनि उक्त घटनापछि घर फर्किएका छन्।

उनले नेहा र अरू छोराछोरीलाई विद्यालय पठाउन आफूले कडा मेहनत गर्ने गरेको बताए।

शकुन्तलादेवीका भनाइमा उनकी छोरी प्रहरी अधिकृत बन्न चाहन्थिन् तर अब त्यो कहिल्यै पूरा नहुने भएको छ।

उनी आफ्ना सासू-ससुराले नेहालाई स्थानीय विद्यालयबाट पढाइ छाड्न र परम्परागत पहिरनबाहेक अन्य पहिरन नलगाउन दबाव दिने गरेको बताउँछिन्।

नेहाको परिवारले बीबीसीलाई उपलब्ध गराएका उनका दुई तस्बिरमा उनले आधुनिक कपडा लगाएको देखिन्छ।

अभियानकर्मीहरू पितृसत्तात्मक सोचका कारण घरभित्रै महिलामाथि हुने हिंसा गहिरोसँग जरा गाडेको र त्यस्ता हिंसालाई घरका वरिष्ठ सदस्यद्वारा अनुमति दिइने गरेको बताउँछन्।

भारतमा महिला र बालिकाहरूले गम्भीर खतराको सामना गर्नुपर्छ।

Presentational grey line

कतिपय अवस्थामा छोराको चाहना राख्ने अभिभावकहरुले भ्रूण पहिचान गरेर छोरीको गर्भमै हत्या समेत गराइदिन्छन्।

भारतमा घरेलु हिंसा निकै हुने गर्छ भने पर्याप्त दाइजो नल्याएको निहुँमा प्रत्येक दिन २० महिलाको हत्या हुने गर्छ।

विशेषगरी साना सहर र गाउँमा बस्ने महिलाले कस्तो लुगा लागाउने, कहाँ र कोसँग जाने लगायतका विषयमा गाउँका मुखिया वा घरका पुरुष सदस्यबाट अवरोध खेप्नुपर्छ।

त्यसलाई अवज्ञा गरेको ठानिए उनीहरू सजायको भागी हुनुपर्ने अवस्था छ।

गत महिना सार्वजनिक भएको एउटा भिडिओमा छिमेकी राज्य मध्यप्रदेशको अलिपुर जिल्लामा एक २० वर्षीया महिलालाई उनका पिता र तीन दाजुभाइले निर्घात कुटपिट गरेको देखिएको थियो।

सामाजिक आक्रोशपछि प्रहरीले उक्त घटनामा ती पुरुष सदस्यविरुद्ध जाहेरी दर्ता गराएको थियो।

लैङ्गिक अधिकारवादी रोली शिवहरे भन्छिन्, "एक्काइसौँ शताब्दीमा पनि हामी केटीहरूले जीन्स लगाएको वा मोबाइल फोनमा बोलेको भन्दै दुर्व्यवहार गर्छौँ, यो उदेकलाग्दो छ।"

देवरियाबाट बीबीसी हिन्दीका लागि राजेशकुमार आर्यले गरेको रिपोर्टमा आधारित।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, घरेलु हिंसाबाट बचाउन गोप्य सङ्केत