चीनः घाँटीमा साङ्लो बाँधिएकी महिलाको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आक्रोशित

भिडिओबाट लिइएको दृश्य।

तस्बिर स्रोत, DOUYIN

चीनमा आठ सन्तान जन्माएकी एक महिलालाई एउटा गाउँमा झुपडीमा घाँटीमा साङ्लोले बाँधेर राखिएको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चर्को आक्रोश व्यक्त गरेका छन्।

डउयिन नामक सञ्जालमा प्रेषित उक्त भिडिओ ती महिलालाई भेट्न गएका एक व्यक्तिले खिचेका हुन्। डउयिन टिकटकको स्वामित्व भएको कम्पनीले नै सञ्चालन गर्छ।

साङ्लोमा बाँधिएकी महिलाको अवस्था देख्दा ती व्यक्ति छक्क परेको भिडिओमा देखिन्छ। ती महिलालाई न्यानो लुगा दिएपछि उनले केही प्रश्न सोधेका थिए। तर ती महिलाले उत्तर दिन सकेकी थिइनन्।

अहिले उक्त भिडिओ चिनियाँ इन्टरनेट प्रयोगकर्तामाझ भाइरल भएको छ। मानिसहरूले सरकारी अधिकारीहरूले ती महिलालाई सहयोग उपलब्ध गराउनुपर्ने बताइरहेका छन्।

धेरैले चीनको ग्रामीण भेगमा महिलामाथि हुने दुर्व्यवहार र उनीहरूका सीमित अधिकारबारे चर्चा गरेका छन्। साथै पूर्वी जाङ्सु प्रान्तको शुजोकी ती महिलाले कस्तो परिस्थितिमा आठ सन्तानलाई जन्म दिइन् होला भन्नेबारे चर्चा भएको छ।

मानिसहरूले चीनको परिवार नियोजनसम्बन्धी कडा प्रतिबन्धका बाबजुद ती महिला स्थानीय अधिकारीहरूको दृष्टिमा कसरी परिनन् भन्ने प्रश्न गरिरहेका छन्।

भिडिओमा ती महिलालाई आश्चर्यमा परेको देखिन्छ। भिडिओ खिच्ने मानिसले सोधेका प्रश्नहरू बुझ्न उनी असमर्थ देखिन्छिन्। ती व्यक्तिले उनलाई बारम्बार जाडो भएको छ कि छैन छैन भनेर सोधेका थिए। ठिहिराउने जाडोमा पनि उनले निकै पातलो लुगा लगाएको प्रष्ट देखिन्छ।

शुक्रवार सार्वजनिक भएदेखि उक्त भिडिओले चीनको गरिब ग्रामीण भेगमा हुने मानव बेचबिखनका विषयबारे बहस सिर्जना गरेको छ। यद्यपि यस विषयमा निकै कम विवरणहरू उपलब्ध छन्।

भिडिओमा देखिएको दृश्यलाई धेरैले सन् २००७ मा बनेको चिनियाँ चलचित्र 'ब्लाइन्ड माउन्टेन'सँग तुलना गरेका छन्। चलचित्रले अपहरणमा परेपछि दासी बन्न बेचिएकी एक युवतीको कथा देखाउँछ।

भिडिओबाट लिइएको दृश्य।

को हुन् ती महिला?

चिनियाँ अधिकारीहरूले ती महिलाको अपहरणको अनुमानको खण्डन गर्दै शुक्रवार एउटा विज्ञप्ति जारी गरे। उनीहरूले फेङ काउन्टीको हुआन्कोउ आवासीय क्षेत्रकी ती महिलालाई उनको अन्तिम नाम याङबाट पहिचान गरे।

अधिकारीहरूका अनुसार याङको सन् १९९८ मा डोङ नामक पुरुषसँग विवाह भएको थियो र उनी मानसिक रूपमा अस्वस्थ छिन्। उनको परिवारले अधिकारीहरूसँग याङले कहिलेकाहीँ हिंसात्मक व्यवहार देखाउने बताए।

तर अधिकारीहरूको प्रतिक्रियाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई झनै आक्रोशित तुल्यायो। उनीहरूले उनलाई बाँधेर राख्नु, साङ्लोको प्रयोग गर्नु र समग्रमा उनको कल्याणको विषय सम्बोधन नहुनुको आलोचना गरे।

आलोचना र दबावका कारण अधिकारीहरूले आइतवार पुनः नयाँ विज्ञप्ति सार्वजनिक गर्दै पीडित महिलाको पारिवारिक अवस्थाबारे विस्तृत जानकारी दिएका छन्।

अधिकारीहरूले अहिले महिलाको पतिमाथि अनुसन्धान भइरहेको बताए।

"डोङले कानुन उल्लङ्घन गरेको आशङ्का छ। सार्वजनिक सुरक्षा अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेका छन्," स्थानीय सञ्चारमाध्यमका अनुसार विज्ञप्तिमा भनिएको छ।

याङ अहिले अस्पतालमा उपचाररत छिन् र उनका सन्तानहरूको हेरचाह सरकारी केन्द्रमा भइरहेको छ। त्यस्तै महिलालाई भर्खरै 'स्किट्सफ्रेनिया' नामक मानसिक रोग लागेको पत्ता लागेको थियो।

आक्रोशित मानिस के भन्छन्?

यद्यपि नेटिजनहरूले आक्रोश कम भइसकेको छैन।

उनीहरूले स्थानीय निकायहरूले थप जिम्मेवारी लिनुपर्ने माग गरिरहेका छन्।

"उनी एक मानिस हुन्, वस्तु होइनन्। बीस वर्षको अवधिमा आठ जनालाई जन्म दिएकी उनी यस विषयमा चर्चा सुरु भएपछि मात्र कसरी फेला परिन्? यस्तो हुनुमा सरकारी र न्यायिक निकायको दोष छ," एक प्रयोगकर्ताले लेखेका छन्।

भिडिओमा देखिएकी महिला।

तस्बिर स्रोत, DOUYIN

धेरै चर्चा भएपछि इन्टरनेटमा सेन्सरशिप

शुक्रवारदेखि यसै विषयमाथि अनलाइन छलफल चर्किएपछि केहीलाई सरकारी अधिकारीहरूले सेन्सरशिप गरेका छन्।

मानव बेचबिखनबारे छलफल भएका थुप्रै सामग्री हटाइएका छन् भने "सिजोका आठ बच्चाहरू" भन्ने वाक्यांश सेन्सरमा परेको छ।

तर सो विषयमा चर्चा रोकिएको छैन। सोमवार मात्र "अधिकारीहरूले सिजोस्थित फेङ्की ८ सन्तानसहित महिलाबारे जारी गरेको विज्ञप्ति" १९ करोड पटक हेरियो र त्यसमा ५६ हजार प्रतिक्रिया आए।

धेरैले स्थानीय अधिकारीहरूको प्रतिक्रियाको आलोचना गरेका छन्।