सिरियाली शरणार्थीहरूले लाइभस्ट्रिममा मागेका सहयोगबाट टिकटकले नाफा कमाउँदै

- Author, ह्याना गेल्बार्ट, मम्दुह अक्बिक र जियद अल-कातान
- Role, बीबीसी ग्लोबल डिसइन्फर्मेशन युनिट, बीबीसी न्यूज अरेबिक र बीबीसी आइ इन्भेस्टिगेसन्स
बीबीसी न्यूजको एक अनुसन्धानले सामाजिक सञ्जालको विशाल कम्पनी टिकटकले उनीहरूको एपमार्फत् सिरियाका शिविरहरूमा बस्ने सयौँ विस्थापित परिवारलाई दिइएको चन्दा सहयोगको ७० प्रतिशतसम्म आफैँले राख्ने गरेको पाएको छ।
हरेक दिन मोना अलि अल-करिम र उनकी ६ जना छोरीहरू टिकटकमा लाइभ बस्छन्। तिनले त्यहाँ भर्चुअल उपहारहरूका निम्ति याचना गर्छन्।
उनीहरू शिविरको पालभित्र घण्टौँसम्म भूईँमा बसेर सहयोग माग्छन्। बीचबीचमा आफूले जानेका केही अङ्ग्रेजी शब्दको प्रयोग गर्दै उनीहरू भन्छन्: "कृपया लाइक गर्नुस्, कृपया शेअर गर्नुस्, कृपया उपहार दिनुस्।"
मोनाका पति हवाई हमलामा मारिएका थिए। अचेल उनी टिकटकको लाइभस्ट्रिममा बसेर आफ्नी दृष्टीविहीन छोरीको शल्यक्रियाका लागि चाहिने पैसा जोहो गर्न उपहार सहयोग माग्छिन्।

उनीहरूले त्यसरी माग्ने उपहार भनेको वास्तविक उपहार नभइ भर्चुअल उपहार हो। तर त्यस्तो भर्चुअल उपहारको खास मूल्य हुन्छ र एपबाट त्यसलाई नगदमा रुपान्तरण गरेर लिन मिल्छ।
लाइभस्ट्रिमका दर्शकहरूले डिजिटल उपहारहरू किन्छन् । उदाहरणका निम्ति गुलाफको फूलको केही सेन्ट पर्छ भने सिंह वा ब्रह्माण्डको ५०० अमेरिकी डलर जति पर्छ।
उक्त टिकटक एपमा मोनाको जस्तै सयौँ परिवारले त्यस्ता उपहार माग्ने गर्छन्।
यो वर्षको सुरुमा विश्वभरिका टिकटक प्रयोगकर्ताहरूको फिडमा त्यस्ता भिडिओ देखा पर्न थाले। कतिपयले त्यसलाई ठगी भने पनि कैयौँले त्यसको समर्थन गरे।
ब्रिटेनका टिकटकका चर्चित व्यक्ति किथ मेसनले एउटा परिवारलाई करिब ३३० डलर जति सहयोग दिए।

"बालबालिका निकै दङ्ग थिए, र ती पुरुषको हातखुट्टा गुमेको भए पनि ती निकै सकारात्मक सोचका थिए," किथले भने।
क्यामेराको पछाडि
तर केही चीज अलि अमिल्दो भने थियो।
सिरियाको गृहयुद्धका दौरान घरबार गुमाएकामध्ये त्यत्तिका धेरै मानिसहरूसँग कसरी अचानक फोन, इन्टरनेट अनि घण्टौँ टिकटकमा लाइभ बस्ने सुविधा भयो, हरेक दिन?
सिरियाली पत्रकार मोहम्मद अब्दुल्लाले हामीलाई उनले भिडिओमा देखेको एउटा शिविर पहिचान भएको बताए। उक्त शिविर उत्तरपश्चिम सिरिया को इडलिब नजिकै थियो।
हामीले उनलाई त्यहाँ गएर बुझ्न भन्यौँ। जब उनी त्यहाँ पुगे उनले मोनाको जस्तै कैयन् परिवार टिकटक लाइभमा व्यस्त भएको भेट्टाए।
उनले हमिदलाई पनि भेटे - जो "टिकटक बिचौलिया" रहेछन् जसले शिविरका १२ विभिन्न परिवारसँग त्यसरी काम गरेका रहेछन्।
उनले तिनलाई फोन, इन्टरनेट सम्पर्क, दिलाउँछन् र टिकटक एकाउन्ट सम्हाल्छन्। उनैले केही प्रतिशत कमिशनको बदलामा ती परिवारको निम्ति पैसा निकालिदिन्छन्।

तर हमिद भन्छन् त्यस्ता उपहारको मूल्यको अधिकांश हिस्सा उनको खातामा आइपुग्नु अगावै टिकटकले लिइसक्छ।
"सिंह सबभन्दा ठूलो उपहार हो। यसको मूल्य ५०० डलर हो। तर अल-दाना नगरमा आइपुग्दासम्म त्यो जम्मा १५५ डलरमा झरिसक्छ।"
हाम्रो टोलीले सिरियाका शिविरबाट लाइभ गर्ने ३ सयभन्दा धेरै खातालाई पछ्यायो।
तीमध्ये कैयनले एक घण्टामा १ हजार डलरभन्दा धेरै उपहार पाउँदा रहेछन् तर ती परिवारले त्यसको सानो हिस्सामात्र पाउने गरेका रहेछन्।
दाउकान हमदान अल-खोद्रले छोरीको मुटुको शल्यक्रियाका निम्ति पैसा जुटाउन चाहन्थे। आठ दिनसम्म टिकटकमा सहयोग माग्दा उनले केवल १४ डलर पाए।

"त्यसपछि मैले त्यो कम गर्नै छाडिदिएँ," उनी भन्छन्।
त्यसोभए ती पैसा कहाँ पुग्यो त?
टिकटकको कमिशन
जुन महिनामा हामीले टिकटक कम्पनीलाई पत्र लेखेर उनीहरूले एपमा दिइने उपहारको मूल्यको कति प्रतिशत कमिशन लिन्छन् भनेर सोध्यौँ। उनीहरूले जबाफ दिएनन्।
त्यसपछि हामी आफैँले जाँच गर्यौँ।
सिरियामा स्थापित एउटा टिकटक खाताबाट हामीले पनि लाइभ गर्यौँ। त्यसमा हामीले लण्डनस्थित अर्को टिकटक खाताबाट १०६ डलर मूल्यका उपहार पठायौँ।

लाइभस्ट्रिम सकिएपछि हामीले सिरियाली टिकटक खातामा कति रकम पुगेछ भनेर हेर्योँ। त्यहाँ केवल ३३ डलर पुगेको पाइयो। अर्थात् उपहारको मूल्यको ६९% हिस्सा टिकटकले राख्दो रहेछ।
उक्त प्रयोगपश्चात् हामी ३३ डलर झिक्न स्थानीय मनि ट्रान्सफर पसलमा गयौँ। त्यसले थप १०% कमिशन काट्यो। बाँकी बचेको रकमको पनि ३५% जति हमिदजस्ता बिचौलियाले लिन्छन्।
अर्थात् हामीले पठाएको १०६ डलरमध्ये उक्त 'परिवार'ले केवल १९ डलरमात्र प्राप्त गर्ने रहेछ।
कतिपय परिवारहरूले त अझ त्योभन्दा पनि कम पाउने गरेको बताए।
लाइभस्ट्रिम घण्टौँ सम्म चल्छ। त्यसो गर्नु भनेको त नाबालिगहरूको "हानि, जोखिम वा शोषण" रोक्ने टिकटककै नीतिहरूको विपरीत अभ्यास भएको डिजिटल अधिकारसम्बन्धी सङ्गठन एक्सेस नाउकी मर्वा फताफ्ताले बताइन्।
'शोषणयुक्त सहयोग याचना'
टिकटकले बालबालिकाको सुरक्षासम्बन्धी उसका नीति कत्तिको कडाइका साथ लागु गराउँछ भनेर परीक्षण गर्न हामीले उसकै एपका फिचरको प्रयोग गरेर बालबालिकालाई माग्न राखिएका ३० वटा खाताको रिपोर्ट गर्यौँ। त्यतिखेर टिकटकले ती खाताले कुनै नियम उल्लङ्घन नगरेको जनायो।

टिकटकलाई बीबीसीले प्रत्यक्ष सम्पर्क गरेपछि चाहिँ उसले ती सबै खाता बन्द गरिदयो। कम्पनीले कुरा गर्न चाहेन तर एक विज्ञप्तीमार्फत् यसो भन्यो:
"बीबीसीले हाम्रो नजरमा ल्याइदिएका जानकारी तथा आरोपहरूले हामी चिन्तित भएका छौँ र हामीले तत्काल अनि कडाइपूर्वक कारबाही गरेका छौँ। हाम्रो मञ्चमा यसप्रकारका सामग्री राख्न अनुमति दिँदैनौँ। यस्ता शोषणयुक्त माग्ने कामलाई नियन्त्रण गर्नका निम्ति हाम्रा विश्वव्यापी नीति थप सबल बनाउँदैछौँ।"
टिकटक संसारकै सर्वाधिक चाँडो विस्तार भएको सामाजिक सञ्जालको एप हो जुन ३.९ अर्ब पटक डाउनलोड गरिएको छ। एपभित्र गरिने खर्चबाट उसले ६.२ अर्ब डलरभन्दा धेरै कमाएको छ।
परिवारलाई सहयोग
हामीले सिरियाका ती परिवारका निम्ति वैकल्पिक आय आर्जनका बारे कैयौँ परोपकारी संस्थाहरूसँग सम्पर्क गर्यौँ। ताकाफुल अल्साम नामक स्थानीय संस्थाले ती परिवारलाई आगामी तीन महिनासम्मका निम्ति आधारभूत आवश्यकताका सामान दिने बताएको छ।
यसबीच सयौँ परिवार अझै पनि हरेक दिन टिकटक लाइभ गरिरहेका छन् जसमा प्राप्त हुने पैसाको अधिकांश हिस्सा टिकटकले लिइरहेको छ।
थप अनुसन्धान तथा रिपोर्टिङ: रुनाको सेलिना, साइरस चान, नेड डेभिज र केटी लिङ ।








