भारत: महिनावारीका कारण किन पुरुषहरू पनि चिच्याइरहेका छन्

पुरुषलाई महिनावारीमा हुने खालको पीडा महसुस गराउने यन्त्र एर्नाकुलमका शपिङ मल र कलेजहरूमा राखिएको छ

तस्बिर स्रोत, CUP OF LIFE

तस्बिरको क्याप्शन, पुरुषलाई महिनावारीमा हुने खालको पीडा महसुस गराउने यन्त्र एर्नाकुलमका शपिङ मल र कलेजहरूमा राखिएको छ

महिनावारी र त्यससँगै निम्तिने असहजता भारतका धेरै भागमा एउटा कुरा गर्न वर्जित विषयका रूपमा छ।

तर दक्षिणी राज्य केरलाको एउटा अभियानले त्यसलाई परिवर्तन गर्ने लक्ष्य लिएको छ।

उक्त अभियानका आयोजकहरूले महिनावारीको समयमा हुने पीडा पुरुषहरूलाई पनि महसुस गराउने यन्त्र एर्नाकुलम जिल्लाका व्यापारिक स्थल र विद्यालयमा राखेका छन्।

सो विषयबारे हुने कुराकानीलाई सामान्य बनाउने उद्देश्य अभियानको थियो।

के हो यो अभियान?

हालै अभियानले राखेको एउटा भिडिओमा पुरुषहरू पीडाले छटपटाइरहेका र चिच्याइरहेका अनि महिलाहरू छक्क पर्दै त्यो दृश्य हेरिरहेको देखिन्छ।

"त्यो निक्कै पीडादायक थियो। म कहिल्यै पनि त्यस्तो महसुस गर्न चाहन्नँ," एउटा मलमा उक्त यन्त्रको प्रयोगबारे आफ्नो अनुभव सुनाउँदै सामाजिक सञ्जालमा लोकप्रिय मानिने शरण नायरले भने।

उक्त यन्त्र 'कप अफ लाइफ' नामक अभियानको हिस्सा हो। त्यसको उद्देश्य महिनावारीको समयमा महिलाहरूले प्रयोग गर्ने कप निःशुल्क वितरण गर्नु र रजस्वलाबारे विद्यमान गलत धारणाबारे स्पष्ट पार्नु हो।

कङ्ग्रेस पार्टीका स्थानीय जनप्रतिनिधि हिबि इडनले इन्डियन मेडिकल असोसिएशनसँग मिलेर उक्त अभियान सञ्चालन गरेका हुन्।

भारतमा महिला स्वास्थ्य त्यसमा पनि महिनावारीको विषय अहिले पनि कम छलफल गरिने विषय हो।

महिनावारी

तस्बिर स्रोत, CUP OF LIFE

तस्बिरको क्याप्शन, महिनावारीमा हुने खालको पीडा महसुस गराउने यन्त्रबाट पीडाको तह १ देखि १० सम्म पार्न मिल्छ

धेरै भागमा महिनावारी भएको समयमा महिलाहरू अपवित्र हुने धारणा छ र उनीहरूलाई उक्त समयमा सामाजिक, धार्मिक कृत्यबाट अलग गरिनुका साथै भान्साबाट समेत पर राख्ने गरिन्छ।

सहरी क्षेत्रमा उक्त धारणामा केही परिवर्तन आएको भए पनि अधिकांश महिलाहरूले अझै पनि आफ्नो महिनावारी वा त्योसँगै हुने पीडा आफ्ना रोजगारदाता वा परिवारका पुरुष सदस्यसँग सहजै छलफल गर्न तयार छैनन्।

विश्वका कतिपय कम्पनी र भारतमा पनि केही कम्पनीले महिनावारीको समयमा बिदा दिन थालेको भए पनि त्यसले फरक मत निम्त्याउने गरेको छ।

तर अभियानका आयोजकहरूले उनीहरूको कामले भारतको सबैभन्दा प्रगतिशील राज्यमध्ये एक मानिने केरलामा परिवर्तन निम्त्याउने ठानेका छन्।

#feelthepain (पीडा महसुस गर) नामक सो कार्यक्रमको खाका बनाउने वकिल सान्ड्रा सन्नीका अनुसार उक्त अभियान अर्थपूर्ण संवाद प्रोत्साहन गर्न र व्यवहार परिवर्तन गर्न 'सहज बाटो' हुने बताउँछिन्।

"यदि तपाईँले कलेजका विद्यार्थीलाई तपाईँहरूलाई रजस्वलाका पीडाबारे थाहा छ भनेर सोध्नुभयो भने उनीहरू कुरा गर्न अनिच्छुक हुन्छन्। तर यदि तपाईँले यन्त्र प्रयोग गरिसकेपछि तपाईँहरूले रजस्वलाबारे कसैसँग कुरा गर्नुभएको छ, यो विषयमा कुरा गर्न तपाईँलाई किन अप्ठ्यारो लाग्छ भन्यौँ भन्ने उनीहरू खुल्न थाल्छन्।"

Presentational grey line

विद्यार्थीहरू के भन्छन्?

उक्त यन्त्रमा दुईवटा तार छन् जुन दुई जना व्यक्तिलाई एउटै समयमा जोड्न सकिन्छ। उक्त यन्त्रमा पीडाको तह १ देखि १० पुर्‍याउन सकिन्छ।

नायरले उक्त यन्त्र प्रयोग गरेका किशोरीहरूले "केही पनि महसुस नगरेको" तर आफूसहित अरू पुरुषहरू पीडाले चिच्याएको बताए।

आयोजकहरूले उक्त यन्त्रले एर्नाकुलमको कलेजमा खुल्ला छलफल निम्त्याएको बताए।

केही छात्रले आफूले पीडा सहन नसकेको बताएका थिए। "धेरैले तत्कालै यन्त्र बन्द गर्न भने" आयोजकमध्येका एक जीनथ केएसले भने।

कप अफ लाइफ अभियानका संयोजक डा. अखिल मानूएलले पीडाको तह नौ पुग्दा समेत महिलाहरूलाई प्रभाव नभएको बताए।

उक्त यन्त्रले वास्तविक पीडाको १० प्रतिशत मात्रै महसुस गराउने उनले बताए।

भारतीय पुरुषहरूलाई उक्त यन्त्रले यसरी चिच्याउन बाध्य पारेको यो पहिलो पटक होइन। अघिल्लो वर्ष दुईवटा संस्थाले उत्तरी भारतमा यस्तै कार्यशाला गरेका थिए।

महिनावारीको विषयमा वर्जित जस्तो देखिएको कुराकानीलाई प्रोत्साहित गर्न उक्त यन्त्रको प्रयोग एउटा सुरुवात मात्रै भएको डा. मानूएल बताउँछन्।

महिनावारी

तस्बिर स्रोत, CUPOFLIFE

के यसले सोच फेरिन्छ?

यो अवधारण नयाँ होइन। गत जुलाई महिनामा अमेरिकास्थित एउटा कम्पनी समडेजले महिलाहरू महिनावारीको अवस्थामा कस्तो परिस्थितिबाट गुज्रिन्छन् भन्ने बुझ्न उक्त यन्त्र प्रयोग गर्न पुरुषहरूलाई प्रोत्साहित गरेको थियो।

यी कार्यक्रमहरूका टिकटक भिडिओमा लाखौँ प्रतिक्रिया आएका छन्।

इडनका अनुसार कुम्बलाङ्गी गाउँमा महिलाहरूलाई महिनावारीको समयमा प्रयोग गर्न मिल्ने हजारौँ कप वितरण गरिरहँदा जिल्लाभरि यो अभियान चलाउने सोच पलाएको थियो।

यसै वर्षको सुरुमा केरलाका गभर्नरले कुम्बलाङ्गीलाई भारतकै पहिलो स्यानिटरी प्याडमुक्त गाउँ घोषणा गरेका थिए।

चार महिनाअघि सुरु भएको कप अफ लाइन अभियानले कैयौँ कार्यक्रमहरू आयोजना गरेको छ।

महिनावारीमा प्रयोग गरिने एक लाखवटा कप वितरण गर्दै उक्त कार्यक्रम बुधवार सम्पन्न भएको थियो।

तर इडनले यो कामको बृहत् उद्देश्यचाहिँ महिनावारीबारे खुला छलफल गर्न र यसबारे स्वस्थ र प्रगतिशील धारणा राख्ने वातावरण बनाउनु रहेको बताए।

डा. मानूएलले यो अभियानमा देशभरिका सांसद र सङ्घसंस्थाहरूले चासो देखाएको र आफ्नो समुदायमा त्यसको नक्कल गर्ने तरिकाबारे सोधेको बताए। तर उनले त्यसबारे सचेत पनि गराएका छन्।

"तपाईँले समुदायभित्र काम गर्न आवश्यक छ, यसले कसरी काम गर्छ त्यो बुझ्न आवश्यक छ र त्यो संरचनाभित्र यसबारे संवाद गर्न सहयोग गर्ने उपाय खोज्न आवश्यक छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, के महिनावारी हुँदा गुलियो, व्यायाम र यौन बार्नुपर्छ?