महिनावारी भारतः आफ्नो मासिक धर्मको तालिका घरमा टाँसेर महिलाहरू यसरी ल्याउँदै छन् परिवर्तन

तस्बिर स्रोत, Shahbaz Anwar
"केही समयअघि मैले आफू महिनावारी हुने समयतालिका घरको ढोकामा टाँसेँ। त्यो देख्दा त सुरुमा त उहाँहरूले केही अप्ठ्यारो मान्नुभयो। तर अब त उहाँहरूलाई बानी परिसक्यो," अल्फिशानले भनिन्।
भारतमा त्यसो गर्ने उनी एक्ली महिला होइनन्। उनको सहरका दर्जनौँ महिलाले त्यसैगरी आफ्नो तालिका घरका सबैले देख्नेगरी राखिरहेका छन्।
अल्फिशान दिल्लीबाट १०० किलोमिटर पश्चिममा पर्ने उत्तर भारतीय सहर मेरठमा बस्छिन्।
थुप्रै दक्षिण एशियाली देशमा अझै पनि महिनावारीबारे खुलेर कुरा गरिँदैन।
केही विकट र जातीय समुदायहरूमा रजस्वला भएका महिलाहरूलाई निर्धारित ठाउँमा अलग्गै बस्न लगाइन्छ र उनीहरूले छुट्टै भाँडाकुँडा प्रयोग गर्नुपर्छ।
समयतालिका
समयक्रमसँगै यस्ता चलनहरू केही घटेका छन्। अहिले अभियानकर्मीहरूले महिलाहरूलाई आफ्नो महिनावारीको समयतालिका देखाउन र यसबारे उदार बन्न प्रोत्साहित गरिरहेका छन्।
यस कार्यले आफ्नो अधिकारमा परिवर्तन महसुस गराएको अल्फिशानको अनुभव छ।
"महिलाले महिनावारीको समयमा धेरै समस्या भोग्नुपर्छ। उनीहरूलाई झर्को लाग्ने, कमजोरी हुने लगायत अन्य धेरै किसिमका समस्याहरू हुन सक्छन्। तर मैले समयतालिका घरभित्र राखेपछि सबैलाई मेरो महिनावारीको मितिबारे थाहा हुन थालेको छ।"
यस खुलापनले अन्य मानिस, विशेषगरी पुरुषहरूलाई महिलाको आवश्यकताबारे थप समानुभूति दिने उनको आशा छ।

तस्बिर स्रोत, Getty Images
भावनात्मक साथ
अलिमा यस अभियानकी अर्की सहभागी हुन्।
शिक्षण पेसामा आबद्ध उनले घरका सबै सदस्यहरूलाई आफ्नो महिनावारीको मितिबारे जानकारी दिन थालेदेखि उनीहरूबाट पहिलेभन्दा बढी भावनात्मक साथ पाएको बताइन्।
"एउटा कामकाजी महिलाले महिनावारीको बेलामा कस्तो समस्या खेप्नुपर्छ भन्ने मलाई थाहा छ। यसबारे केही उदार भएपछि हामीले परिवारबाट बढी सहयोग प्राप्त गरेका छौँ। यो निकै सुखद अनुभूति हो," अलिमाले बीबीसीसँग भनिन्।
उनी पनि झन्डै २० लाख जनघनत्व भएको मेरठमा बस्छिन्। त्यहाँका करिब ७० जना विवाहित तथा अविवाहित महिलाहरू यस अभियानमा संलग्न छन्।
'सेल्फी विथ डटर' अभियान
यो नयाँ खुलापन कसरी आयो त?
गैरसरकारी संस्था सेल्फी विथ डटर फाउन्डेशनका निर्देशक सुनिल जगलानले रजस्वला हुने मितिबारे परिवारलाई जानकारी दिने अभियानलाई प्रोत्साहित गरेका हुन्।
सन् २०२१ को डिसेम्बरमा सहरमा पोस्टरहरू टाँसेर उनले उक्त अभियान सुरु गरेका हुन्। सन् २०१५ मा उनले रजस्वला भएका किशोरीका पितालाई छोरीसँग खिचेको तस्बिर पठाउन आग्रह गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको "मनकी बात" रेडिओ कार्यक्रममा पनि त्यसको चर्चा भएको थियो।
जगलानले सोही अभियानको नाम प्रयोग संस्था खोलेका हुन्।
"म प्रायः महिनावारीको समयमा महिलाहरूले सामना गर्ने समस्याबारे सोच्ने गर्थेँ। मैले मेरो घरका धेरै महिलालाई यस अवधिमा समस्या भएको देखेको थिएँ," सुनिल जगलान भन्छन्।
"यसबारे केही गर्नुपर्छ भन्ने लाग्यो। चिकित्सकहरूसँग छलफल गरेर मैले यो अभियान सुरु गरेको हुँ।"

तस्बिर स्रोत, Sunil Jaglan
त्यस्ता तालिकाहरू सबैभन्दा पहिला हरियाणाका दुई जिल्लाका केही गाउँमा देखा परेका थिए।
अहिले यो अभियान भारतका सातवटा राज्यमा विस्तार भएको छ र झन्डै १,००० महिला यसमा सहभागी छन्।
'अभद्र टिप्पणी'
स्वयंसेवकहरूले फोन, सामाजिक सञ्जालमार्फत् र घरघरमा गएर महिलाहरूलाई उनीहरूको महिनावारीबारे जानकारी दिन प्रोत्साहित गरे।
कहिले सफलता हात पर्यो भने कहिले उनीहरूले कडा प्रतिरोध पनि समेत सामना गर्नुपर्यो।
"मानिसहरूले महिलाबारे अभद्र टिप्पणी गरे, आफ्नै छोरीको बारेमा समेत। कतिपय ठाउँमा रजस्वलाको समयतालिका च्यातियो वा युवतीहरूलाई त्यस्तै तालिका राख्दै दिइएन," जगलानले भने।
उत्तरी भारतका अधिकांश ठाउँजस्तै मेरठको समाज रूढिवादी छ। त्यहाँ महिलाहरूलाई आफ्नै घरमा पनि खुलेर बोल्न कठिन छ।
यस अभियानका समूहले विरोधी केही कम गर्न धार्मिक नेताहरूको समर्थन खोज्यो र पायो पनि।
ठूलो परिवारमा दबाव

तस्बिर स्रोत, Shahbaz Anwar
सामाजिक संरचनाका कारण पनि यो अभियान केही सुस्त भएको हो।
आलिया ठूलो परिवारमा बस्ने गृहिणी हुन्। धेरै परिवारका सदस्यहरूसँग रहनुका कारण उनले थप चुनौतीहरूको सामना गर्नुपर्छ।
"पतिबाहेक मेरा देवर, जेठाजु, ससुरा र अन्य धेरै पुरुष आफन्तहरू मेरो घरमा आइरहन्छन्। त्यसैले समयतालिकाबारे थाहा पाउँदा पहिला मलाई घरमा त्यो राख्नु सम्भव छैन भन्ने लागेको थियो।"
उनका पति र सासूले उक्त योजनामा समर्थन जनाए। अहिले आलियाले महिनावारीको समयमा घरका अरू सदस्यहरूबाट समेत सहायता प्राप्त गरिरहेकी छन्।
महिनावारीमा अभाव
यस समयतालिका योजनाकी अर्की सहभागी हुन् मनीषा। यस अभियानका कारण आफ्नो रजस्वलाका बारेमा परिवारका पुरुष सदस्यहरूसँग पनि खुलेर बोल्न सम्भव भएको उनी महसुस गर्छिन्।
"यो हाम्रो स्वास्थ्यसँग जोडिएको विषय हो। हाम्रो परिवारले हामीले महिनावारीको समयमा भोग्नुपर्ने समस्याहरूबारे थाहा पाउनुपर्छ।"
"महिलाहरू प्रायः महिनावारीको बेलामा झर्को मान्ने र झगडा गर्ने स्वभावका हुन्छन्। त्यस्ता अन्तर्निहित स्वास्थ्य अवस्थाहरूबारे थाहा पाए मानिसहरूले सहानुभूति देखाउँछन्।"

तस्बिर स्रोत, Getty Images
सन् २०१९ मा प्रकाशित एउा सरकारी सर्वेक्षणका अनुसार अधिकांश भारतीय युवती र महिलाहरूले अझै पनि आफ्नो महिनावारीको समयमा पुराना कपडाजस्ता अस्वच्छ विधि प्रयोग गरिरहेका छन्।
उनीहरूमध्ये धेरै जना स्यानिटरी प्याड किन्न आर्थिक हिसाबले सक्षम छैनन्।
हालैका वर्षहरूमा स्थानीय रूपमा सस्तो खालका प्याड उत्पादन भएपछि आर्थिक अभाव भएका महिलाले केही राहत पाएका छन्।
तर महिनावारीसँग सम्बन्धित रूढिवादका कारण महिलाहरूलाई पसलमा गएर महिनावारी स्वच्छतासम्बन्धी सामग्री किन्न समेत अप्ठ्यारो स्थिति छ।
'यो लज्जाको विषय होइन'
अल्फिशानकी आमाले वर्षौँसम्म छोरीका लागि महिनावारीमा आवश्यक सामग्रीहरू ल्याइदिन्थिन् र कालो प्लास्टिकको झोलामा लुकाउँथिन्।
"पहिले पसलमा गएर प्याड किन्न लाज लाग्थ्यो तर अहिले आफैँ गएर किन्न सक्छु। लाज भन्ने कुरा बाँकी छैन," उनी भन्छिन्।
सामाजिक परिवर्तन सङ्केत गर्नका निम्ति यस अभियानका सहभागीहरूको सङ्ख्या कम छ। जगलानलाई आशा दिने कुरा भनेको जुबैर अहमदजस्ता पुरुषहरूमा देखिएको परिवर्तन हो।
अहमद नाईँ हुन्। उनले आफ्नी पत्नीलाई महिनावारीको तालिका राख्न प्रोत्साहन गरिरहेका छन्। उनले आफ्नो श्रीमतीलाई आफ्नो घरको जुनसुकै ढोकामा तालिका झुन्ड्याउन सक्ने बताएका हुन्।
जुबैरले पुरुष र महिलालाई समान समर्थनको सन्देश दिएका छन्।
"महिलाहरू आफ्नो महिनावारीको समयमा तनावमा रहनु हुँदैन। महिलाहरूले कसैको महिनावारीको बारेमा के सोच्छ भनेर चिन्ता लिनु वा त्यो पीडा चुपचाप सहनुपर्दैन।"
यो पनि हेर्नुहोस्















