छाउपडी प्रथाः धेरैतिर गोठ भत्काइए, तर छाउप्रथा कायमै रहनुमा 'मनोवैज्ञानिक' कारण

छाउपडी

तस्बिर स्रोत, Courtesy of Amar Karki

    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

गतवर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेपछि अहिलेसम्म ९,२१० वटा छाउगोठहरू भत्काइएको गृह मन्त्रालयले जनाएको छ।

महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो।

अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए।

पुनः छाउगोठमै

स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए तापनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेको बताउँछन्।

घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन नसकेको उनीहरूको गुनासो पाइन्छ।

पुनः छाउगोठमै बस्न थालेकी पश्चिम सुर्खेतकी एकजना महिला भन्छिन्, "घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु-ससुरा)ले बस्नै दिँदैनन्। त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै बस्ने गर्छु।"

उनले घरभित्र बस्न नपाउँदा धेरै पीडा हुने गरेको पनि बताइन्।

प्रहरी-प्रशासनको डरले नयाँ छाउगोठ बनाउन भने छाडेका छन्।

तर अहिले गाउँका धेरै महिला दिदीबहिनी गाईभैँसीको गोठ, बाख्राखोर, स्नानघर र ओडारमा बस्ने गरेको समेत ती महिला बताउँछिन् ।

'तोड्न र छोड्न सकिएन'

कर्णाली र सुदुरपश्चिममा देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा महिलाहरू महिनावारी हुँदा घरबाहिर (छाउगोठ) बस्न बाध्य हुँदै आएको बताइने गरेको छ।

छाउपडी

तस्बिर स्रोत, Courtesy of Prem Sunar

पञ्चपुरी नगरपालिका डाबकी रत्न विकले देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा आफूहरूले बर्षौँदेखि हैरानी खेप्नु परेको बताउँछिन्।

उनी भन्छिन्, "छाउबार्न मन छैन तर देवी-देवताको डरले कुसंस्कारलाई तोड्न र छोड्न सकिएको छैन।"

छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको धेरैको अनुभव छ।

मनोवैज्ञानिक भय

देउता रिसाउने भएकै कारण महिनावारी भएका महिलाहरु स्वयंसमेत पानी पधेँरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुन्छन्।

महिनावारी भएका महिलाले भुलबस फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने गरिएको गाउँलेहरूको अनुभव छ।

गृह मन्त्रालयको तथ्याङ्कमा ९,२१० मध्ये ६,१४६ वटा छाउगोठ सुदुरपश्चिमको अछाम जिल्लामा मात्र भत्काइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कायमै छ छाउपडी

तर गतवर्ष सम्पूर्ण छाउगोठहरू भत्काइए पनि अहिले झण्डै २० प्रतिशत छाउगोठहरू फेरि बनाइएको अछामको कमलबजार नगरपालिकाकी उपप्रमुख भूमिशरण ढकाल बजगाईले बताइन्।

उनी भन्छिन्, "घरबाहिर नबसे आफैलाई नै देवी-देउता लाग्ने हो कि भन्ने मनोवैज्ञानिक भयले गर्दा महिनावारी हुँदा महिलाहरू छाउगोठमा बस्न बाध्य छन्।"

'न देउता रिसाए, न अनिष्ट भयो'

महिनावारी हुँदा घरभित्रै छुट्टै कोठमा बस्दै आएका महिलाहरू भने छाउगोठमा नबस्न र अन्धविश्वास तोडेर अघि बढन सुझाव दिन्छन्।

महिनावारी हुँदा घरमै बस्ने गरेकी बिश्ना विष्टले सुनाइन्, "घरभित्रै बस्दा मलाई केही पनि समस्या भाको छैन, अहिलेसम्म न देउता नै रिसाएका छन्, न कुनै अनिष्ट नै भएको छ।"

विगतमा छाउगोठ न्यानो राख्न बालिएको आगोले निस्सासिएर, पहिरो खसेर, अत्यधिक जाडो, सर्पको टोकाइजस्ता कारणले महिनावारी हुँदा घरबाहिर बसेका कतिपय महिला र किशोरीले ज्यान गुमाएका घटना छन् ।

महिनावारी भएको समयमा घरबाहिर एक्लै बस्नु पर्दा असुरक्षा समेत महसुस हुने गरेको महिलाहरू बताउँछन् ।

छाउपडी

तस्बिर स्रोत, Courtesy of Prem Sunar

उनीहरूमध्ये कतिपय बलात्कृत पनि भएको घटना छ।

छाउगोठ भत्काउने अभियानपछि भने महिनावारीको समयमा छाउगोठमा बस्दा कुनैपनि महिलाको मृत्यु नभएको गृह मन्त्रालयले जनाएको छ।

छाउगोठ भत्काएपनि परिवर्तन नभएपछि अब कसरी अघि बढ्ने भनेर रणनीति बनाउन लागिएको जनप्रतिनिधिहरू बताउँछन्।

बराहताल गाउँपालिका सुर्खेतका अध्यक्ष तेजबहादुर बस्नेत भन्छन्, "छाउगोठहरू भत्काएपछि कतिपय घरको दैलोभित्र बस्न थालेका छन्, बाँकीलाई पनि घरभित्र बसाल्नको लागि विभिन्न विकल्प छन् । तीमध्ये कुनै विकल्प अघि सार्छौँ।"

महिनावारी हुँदा घरबाहिर र छाउगोठमा बस्नेहरूलाई सरकारी सेवा सुविधा रोक्नेदेखि धामीलाई आश्वस्त गर्ने विकल्पहरू आफूसँग रहेको स्थानीय सरकारका अधिकारीहरूले बताएका छन्।

महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न, कुनै किसिमको भेदभाव, छुवाछुत, अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।