सानिया खान: सम्बन्ध विच्छेदबारे टिकटक बनाएपछि पूर्वपतिद्वारा हत्या

बिहेको दिन सानिया

तस्बिर स्रोत, Sania Kahn

तस्बिरको क्याप्शन, सानियाले जुन २०२१ मा बिहे गरेकी थिइन्
    • Author, साम क्याबरल
    • Role, बीबीसी न्यूज, वाशिङ्टन

समस्याग्रस्त वैवाहिक जीवनको अन्त्य गर्दा केही दक्षिण एसियाली मुस्लिम समुदायले आफूलाई “जीवन कै अन्त्य भएको” महसुस गराएको सानिया खान बताउँथिन्। टिकटकमार्फत् उनले अपरिचितहरूबाट सहायता पाइरहेकी थिइन् र उनीहरूसँग सहज महसुस गर्दै थिइन्। अचानक उनका पूर्व पति फर्किए र सानियाको हत्या गरे।

यस सामग्रीमा उल्लेखित केही विवरणहरूले विचलित तुल्याउन सक्छ।

उनका झोलाहरू सामानले भरिभराउ भइसकेका थिए। उनी स्वतन्त्र हुन तयार थिइन्।

जुलाई महिनाको २१ तारिखमा २९ वर्षीय सानिया खानले शिकागो, इलिनोय छोड्न लागेकी थिइन्। उनी त्यहाँबाट आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न चट्नूगा आउने योजनामा थिइन्। तर सम्बन्धको आघातले उनको बाटो मोडिदियो।

बदलामा उनी काठको बाकसमा टेनेसीस्थित घर फर्किइन्।

सानिया साथीहरूसँग समय बिताउन मन पराउँथिन्

तस्बिर स्रोत, Sania Khan

तस्बिरको क्याप्शन, सानिया साथीहरूसँग समय बिताउन मन पराउँथिन्

त्यसको तीन दिन अघि अधिकारीहरूले खानलाई प्रतिक्रियाविहीन अवस्थामा शिकागोस्थित एक भवनको मुख्यद्वार नजिक फेला पारेका थिए। त्यहाँ उनी केही समयअघिसम्म ३६ वर्षीय रहील अहमदसँग बस्थिन्। उनको शिरको पछिल्लो भागमा गोली प्रहारको चोट थियो र उनलाई घटनास्थलमै मृत घोषणा गरियो।

प्रहरीहरू आइपुग्दा अहमदले हतियार आफूतर्फ सोझ्याएका थिए र उनले आफ्नो ज्यान लिए।

शिकागो सन टाइम्स नामक सञ्चारमाध्यमलाई दिइएको प्रहरी विवरणका अनुसार उक्त दम्पती “सम्बन्धविच्छेदको तयारी गरिरहेको थियो।”

अडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस प्रकोपबीच मानसिक स्वास्थ्यको ख्याल यसरी गर्न सकिन्छ

अहमद सानियासँग छुट्टिएर फरक राज्यमा बसेका थिए। उनले “विवाह जोगाउनका निम्ति” ७०० माइल लामो यात्रा तय गरे आफूहरू बस्ने गरेको घरमा पुगेका थिए।

यस जघन्य हत्या र त्यसपछि आत्महत्याले खानको जीवनको दु:खद् अन्त्य गर्‍यो। उनी एक पाकिस्तानी-अमेरिकी फोटोग्राफर हुन् जसले हालै सामाजिक सञ्जाल टिकटकमा ख्याति कमाएकी थिइन्। उनी सम्बन्धविच्छेदबारे दक्षिण एसियाली समुदायमा रहेको रूढिवाद र वैवाहिक आघातसँग जुझिरहेका महिलाहरूको आवाज बनेकी थिइन्।

उनको मृत्युले उनका साथीहरूलाई दुःखी बनाएको छ। साथै सामाजिक दबावका कारण अस्वस्थ सम्बन्धमा रहन बाध्य महिलाहरू उनका अनलाइन फलोअरहरूलाई समेत विचलित बनायो।

Sania holding a camera

तस्बिर स्रोत, Sania Khan

तस्बिरको क्याप्शन, सानियाले फोटोग्राफी गर्थिन्

“उनले २९ औँ वर्ष आफ्नो वर्ष हुने र त्यही उमेरबाट नयाँ सुरुवात हुने बताएकी थिइन्,” उनकी विश्वविद्यालयकी सहपाठीले भनिन्। “ उनी निकै उत्साही थिइन्।”

उनका साथीहरूका निम्ति खान एक रमाइली, विश्वसनीय, सकारात्मक र स्वार्थरहित थिइन्।

“उनी साथीहरूका लागि जे पनि गर्थिन्,” खानलाई आफ्नो सबैभन्दा मिल्ने साथी बताउने, ३१ वर्षीय मेहरु शेखले भनिन्।

“जीवनको निकै कठिन परिस्थितिमा समेत उनले नै अरूलाई सम्झन्थिन् र हालखबर सोध्थिन्।”

उनले खोलेको एक सार्वजनिक इन्स्टाग्राम खातामा आफ्नो फोटोग्राफीप्रति रुचि दर्साउँदै लेखेकी थिइन्- “म क्यामेरा अगाडि मानिसहरू आफैलाई र एकअर्कालाई प्रेम गर्न मद्दत गर्छु।“

खानले उच्च रकम तिर्ने ग्राहकसाथै उनका साथीहरूका निम्ति विवाह, मातृत्व, बेबी सावरलगायत अन्य अवसरहरूको तस्बिर खिचेकी छन्।

“क्यामेरापछाडि उनी आफूलाई अभिव्यक्त गर्न सक्थिन्,” शेखले भने। “उनीसँग भाव र उमङ्ग कैद गर्नका निम्ति मानिसलाई क्यामेरा अगाडि सहज महसुस गराउन सक्ने खुबी थियो।”

उनले क्यामेरा पछाडिको जीवन्तता वास्तविक जीवनमा समेत अपेक्षा गरिन्। अहमदसँगको पाँच वर्ष लामो प्रेम सम्बन्धलाई सन् २०२१ को जून महिनामा विवाहमा परिणत गरिन्। उनीहरू सँगै शिकागो सरेका थिए।

बिहेका दिन सानिया

तस्बिर स्रोत, Sania Khan

“उनीहरूले धूमधामका साथ पाकिस्तानी परम्परा अनुसार विवाह गरे,” एक बाल्यकालकी साथीले सम्झिइन्। “तर त्यस विवाह झुट र जालझेलको जगमा भएको थियो।”

अहमद लामो समयदेखि मानसिक अस्वस्थतासँग जुधिरहेको खानकी साथीको दाबी छ। उनीहरूको जोडी विवाहअघि एकअर्काबाट टाढा बस्थे। जसका कारण उनीहरूले एकअर्कासँग अमिल्दा कुराहरूबारे जानकार हुन नपाएको खानकी साथी बताउँछिन्।

समस्या गत डिसेम्बरमा बाहिर आयो जब खानले आफ्नी साथीसँग अहमद मानसिक स्वास्थ्य समस्याविरुद्ध लडिरहेको र आफूले असुरक्षित महसुस गरेको बताइन्। यसबारे बीबीसीले अहमदको परिवारको प्रतिक्रिया लिन गरेको प्रयास सफल भएन।

खानको परिवारले पनि यस विषयमा कुनै प्रतिक्रिया जनाउन अस्वीकार गरे।

अमेरिकामा हरेक साता करिब एक दर्जन हत्यापछि आत्महत्याको घटना घट्छन् जसमध्ये दुई तिहाइ घटनामा निकट जोडीहरू संलग्न हुने हिंसा सम्बन्धी नियामक केन्द्रले जनाएको छ।

मानसिक अस्वस्थता र सम्बन्धमा समस्याहरूलाई प्राय महिलाहरूले हिंसात्मक जोडीको सामना गर्नुपर्ने मुख्य कारणहरूको रूपमा हेरिएको छ। घरेलु हिंसा विज्ञहरूका अनुसार सम्बन्धविच्छेद गर्ने क्रममा पुरुषद्वारा महिलाहरू मारिने जोखिम उच्च रहन्छ।

डिसेम्बरमा पहिलो पटक आफ्नो श्रीमान्‌को मानसिक अस्वस्थताबारे बोल्नु अघिसम्म खानको समस्याग्रस्त वैवाहिक जीवनबारे कसैलाई थाहा थिएन। तर, त्यसपछि उनले त्यसबारे बोल्न थालेको उनका साथीहरू बताउँछन्।

उनीहरूका अनुसार खानले आफ्नो श्रीमान् ननिदाउने र अस्वाभाविक व्यवहारहरू देखाउने बताएकी थिइन्। अहमदले परामर्शदाता कहाँ जाने खानको आग्रह नकारेपछि उनको मानसिक स्वास्थ्यबारे सङ्घर्ष आफ्नो लागि भारी बनेको महसुस गरिन्।

आफूहरूले सम्बन्धविच्छेद गर्न सुझाव दिइरहँदा अरूहरूले भने खानले त्यस सम्बन्ध जोगाउन सुझाएको उनका साथीहरूको आरोप छ।

२६ वर्षीय विलियम्सले गत मे महिनामा शिकागोमा भेट्दा खान आफूसँग भक्कानिएको बताइन्।

“उनले मलाई डिभोर्स गर्नु लाजको विषय मानिने बताएकी थिइन् र उनले एक्लो महसुस गरेको बताएकी थिइन्,” उनले बीबीसीसँग भनिन्। उनी “लोकले के भन्ला” भन्ने बारे निकै चिन्तित रहेको विलियम्सले सुनाइन्।

आफै पनि सम्बन्धविच्छेद भएकी महिलाको सन्तान भएकाले खानले आफू दक्षिण एसियाली समुदायले विवाह तोडिएका महिलाहरूलाई लगाइने आक्षेपहरूबारे आफू प्रत्यक्ष रूपमा जानकार भएको बताउने गर्थिन्।

“सम्बन्धित परिवार र बाहिरी दुनियाँले उनीहरूलाई हेर्ने दृष्टिकोणमाथि निकै ठूलो सांस्कृतिक दबाव छ,” अपना घरकी कार्यकारी निर्देशक नेहा गिलले भनिन्। शिकागोस्थित यस संस्थाले आफ्नो श्रीमान्‌बाट हिंसामा परेका महिलाहरूलाई सांस्कृतिक रूपमा संवेदनशील सेवाहरू दिन्छ।

कैयौँ दक्षिण एसियाली समुदायहरूले अझै पनि महिलालाई तल्लो वर्गको र नियन्त्रणमा राखिनुपर्ने ठान्ने गरेको औँल्याउँदै गिलले भनिन्: “संस्कारहरू सामुदायिक छन्, व्यक्तिको सुरक्षा र स्वास्थ्यभन्दा पनि परिवार वा समुदायलाई प्राथमिकतामा पर्ने गर्छ। ”

यद्यपि, साथीहरूको सहयोगमा खानले सम्बन्धविच्छेदका लागि उजुरी दिइन् र छुट्टिने निर्णय टुङ्ग्याउन अगस्ट महिना सुनुवाइका निम्ति तय भयो।

उनले श्रीमान्‌लाई आफूकहाँ आउनबाट रोक्न अवज्ञाकारी आदेशका लागि पनि निवेदन दिइन्।

र उनले आफ्नो कथा टिकटकमार्फत् साझा गर्न थालिन्। त्यहाँ उनले आफूलाई आफ्नो समुदायबाट “बहिष्कृत” चित्रण गर्थिन्।

एक पोस्टमा खानले भनेकी छन्: “दक्षिण एसियाली महिला भएर सम्बन्धविच्छेदबाट गुज्रनु कहिलेकाहीँ जिन्दगीसँगै हारे सरह हुन्छ।

अर्को पोस्टमा भनिएको छ, “म श्रीमान्‌सँग छुट्टिएको खण्डमा सैतानको जीत हुने मेरो परिवारको चेतावनी थियो। साथै मैले वेश्याको जस्तो लुगा लगाएको वा आफ्नो जन्मघर फर्किएको खण्डमा उनीहरूले आफ्नो ज्यान लिने धम्की दिए।”

विश्वविद्यालयकी अर्की साथी न्याटीले खान पहिलो पटक भाइरल भएको प्रसङ्ग सम्झन्छिन्।

“उनले मलाई सम्पर्क गरेकी थिइन् र आफूले आफ्नो सम्बन्धबारे बोल्न र विषाक्त वैवाहिक सम्बन्धमा रहेका महिलाहरूको नेतृत्व गर्न चाहेको बताएकी छिन्।”

न्याटीका अनुसार सम्बन्ध टुटेका कारण टिकटक भिडिओहरूमा “खराब प्रतिक्रियाहरूको” सामना गर्नु परे पनि हरेक सामग्रीसँगै खानले सान्त्वना र तागत बटुलेकी थिइन्।

उनको मृत्यु हुने बेलासम्म टिकटकमा खानलाई बीस हजारभन्दा बढी प्रयोगकर्ताले पछ्याएका थिए।

पाकिस्तानी-अमेरिकन मुस्लिम महिला, ३५ वर्षीय बिस्मा प्रवेश तीमध्ये एक हुन्।

“मैले उनको पहिलो भिडिओ देखेपछिको समय सम्झन्छु। म उनको लागि प्रार्थना गर्ने गर्थेँ,” उनले भनिन्।

“यस्तो परिस्थितिमा रहेका महिलाहरूलाई धैर्य गर्न भनिन्छ। तर हिंसात्मक सम्बन्धमा धैर्यले काम गर्न सक्दैन।”

उनले एक टिकटक भिडिओमार्फत् खानको मृत्युप्रति शोक व्यक्त गरेकी छन्। उक्त भिडिओ सर्वाधिक शेअर भएको छ।

त्यतिबेला देखि यस विषयमा बहस चुलिएको छ।

शिकागोस्थित घरेलु हिंसाबारे काम गर्ने अपना घरले खान दिवङ्गत भएको एक महिनामा भर्चुअल छलफल गर्ने योजना बनाएको छ।

सामाजिक सञ्जालमा उनका साथी तथा शुभचिन्तकहरूबाट माया र समवेदना बर्सिँदै गर्दा उनका पूर्व सहपाठीहरूले उनको सम्झनामा चट्नूगास्थित कला तथा विज्ञान सम्बन्धी विद्यालयमा उनको नाममा छात्रवृत्ति घोषणा गरेका छन्।

“सबैजना मौन छन् तर सामाजिक सञ्जालले तपाईँलाई यो विश्वव्यापी समस्या हो भन्ने कुरा महसुस गराउँछ,” पर्वेजले भने।

“हामीले सधैँ महिलाहरूलाई आफ्नो रक्षा गर्न बताउँदै आएका छौँ। तर महिलाहरूलाई सम्मान गर्ने छोराहरू हुर्काउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। उक्त अभ्यास घरबाट सुरु हुन्छ र प्रत्येक परिवारले यो परिवर्तन गर्नुपर्छ।”