स्तन क्यान्सर: ‘जोकसैलाई जुनसुकै उमेरमा हुनसक्छ भन्ने जीवित प्रमाण म हुँ’

तस्बिर स्रोत, Lucy Lepe
- Author, क्रिस्टी ग्रयान्ट
- Role, बीबीसी न्यूजबीट
लुसीले आफ्नो स्तनमा गिर्खा फेला पार्दा उनको सोचमा क्यान्सर आएन।
स्तन परीक्षण गर्ने बानी नभएकी उनले "संयोगवश" गिर्खा फेला पारेकी थिइन्।
"मैले ५० वर्ष नजिक पुगेपछि मात्रै स्तर परीक्षण गर्न सुरु गर्नेछु भन्ने ठानेकी थिएँ,'' उनले भनिन्।
गिर्खा परीक्षण गरेपछि लुसीले नराम्रो खबर पाइन्। २६ वर्षको उमेरमा उनलाई स्तन क्यान्सर भएको रहेछ।

यसै महिना ब्रिटिश पप समूह गर्ल्स अलाउडकी गाइका सेरा हार्डीङ्को स्तन क्यान्सरका कारण मृत्यु भयो।
उनको मृत्युसँगै यूके च्यारीटी कपफीलले आफ्नो वेबसाइट हेर्नेहरुको सङ्ख्यामा वृद्धि भएको जनाएको छ।
हार्डीङ्को मृत्युको समाचार आएको १२ घण्टाभित्र २००,००० भन्दा मानिसहरूले युवतीलाई स्तर परीक्षण गर्न प्रोत्साहन गर्ने साइट खोलेका थिए जुन सामान्य अवस्थाभन्दा आठ गुणा बढी हो।
उसका अनुसार २५ देखि ४९ वर्षका महिलाहरूमा स्तन क्यान्सर देखिने भए पनि एक चौथाइ युवतीहरूलाई उनीहरूलाई पार्न सक्ने प्रभावबारे थाहा छैन।
युवा उमेरका महिलाहरूले क्यान्सरका लक्षणका कारण छिटो चिकित्सक भेट्ने चलन पनि कम रहेको उसले बताउँछ।
'चिकित्सक नि:शब्द भए'
लुसीले संयोगवश स्तनको परीक्षण गरेकी थिइन्। कामबाट एक दिन छुट्टी भएकाले उनी फुर्सदमा थिइन्।
"म यसबारे हरेक पल सोच्छु," उनले भनिन्। "एक दिन बिदा भएकोमा म निकै खुसी थिएँ।"
"म आज जीवित हुनुको कारण यही नै हो।"
चिकित्सकले लुसीलाई स्तन परीक्षण गर्ने क्लिनिकमा जान भन्दा समेत स्तन क्यान्सर हुनसक्ने कुरा लुसीको दिमागमा परेको थिएन।

तस्बिर स्रोत, Lucy Lepe
तर जब उनकी दिदीले अल्ट्रासाउन्ड गराउनका लागि कर गरिन्ऽ लुसीले केही नराम्रो हुनसक्ने महसुस गरिन्।
"चिकित्सक निःशब्द भए," उनले भनिन्।
एक हप्तापछि उनलाई क्यान्सर भएको बताइयो। छिट्टै त्यो गिर्खा स्तनमा फैलियो।
लुसीलाई किमोथेरापी, रेडियोथेरापी र सर्जरी गर्नुपर्ने बताइयो।
सर्जरी र रेडियोथेरापीपछि अन्तत: लुसीले सुखद समाचार पाइन्।
क्यान्सरका कोषहरू उनको शरीरमा बाँकी रहेनन्।

तस्बिर स्रोत, Lucy Lepe
लुसीले अझै हर्मोन थेरापी लिइरहेकी छन् र उनी स्तन क्यान्सरले युवतीहरूलाई समेत प्रभाव पार्न सक्ने सूचना फैलाउन कपफीलसँग कार्यरत छिन्।
"मलाई यो हुन सक्दैन भनेर नसोच्नुहोस्। त्रसित हुने होइन, तर जागरूक हुनुपर्छ।"
फ्रानलाई पनि उनलाई क्यान्सर हुन सक्छ भन्ने लागेको थिएन।
तर जब उनी २४ वर्षकी थिइन, उनले आफ्नो स्तनमा गिर्खा रहेको मेसो पाइन्।

तस्बिर स्रोत, Fran Whitfield
सुरुमा चिकित्सकहरूले यो 'हर्मोनल' गिर्खा रहेको भन्दै फिर्ता पठाए।
तर १८ महिनापछि अरू लक्षणहरू देखिए र उनी फेरि परीक्षणका लागि गइन्।
यसअघि फिर्ता पठाइएका कारण एनएचएसको समय खेर जान सक्ने विषयबारे उनी चिन्तित थिइन्।
तर कैयौँ परीक्षणपश्चात् फ्रानलाई चौथो चरणको स्तन क्यान्सर भइसकेको र मस्तिष्कमा ट्युमर रहेको बताइयो।
उनी दुई वर्ष मात्रै बाँच्ने बताइयो।
''म २५ वर्षको थिए। म पर्सनल ट्रेनर थिएँ। म मेरो जीवनमै सबैभन्दा धेरै स्वस्थ्य थिएँ।''
"क्यान्सर जोकसैलाई पनि कुनै पनि उमेरमा हुनसक्ने कुराको म जीवित उदाहरण थिए।"

तस्बिर स्रोत, Fran Whitfield
फ्रानले "पर्याप्त किमोथेरापी" लिइन् र हाल उनले क्यान्सरबाट छुटकारा पाएकी छन्।
युवतीहरूलाई पनि स्तन क्यान्सर हुन सक्छ भन्ने विषय अनलाइनबाट धेरैभन्दा धेरैले थाहा पाउन भनेर उनले आफ्नो जीवनको कथा अरूलाई सुनाइरहेकी छन्।
"मेरो अनुभूतिबारे सामाजिक सञ्जालमा म निकै खुला रूपमा प्रस्तुत भएकी छु। म कस्तो अवस्थाबाट अघि बढे भन्ने सबै कुरा मैले विवरण राखेकी छु।"
"यो पाका महिलाहरूको मात्रै समस्याका जस्तो लाग्थ्यो।"
"यसअघि मेरो उमेरमा क्यान्सरबारे मैले चिन्ता लिनुपर्छ भन्ने मलाई लागेकै थिएन।"










