सुदूरपश्चिम: यी महिला जसका लागि भारी ठूलो भर बनेको छ तर यसको कानुनी पाटो कस्तो?

- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली, महेन्द्रनगर
नेपाल-भारतको सिमाना गड्डाचौकीमा एक हुल महिलाहरू साइकलको ह्यान्डल समातेर उभिएका थिए। साइकलको बस्ने भागभन्दा अगाडिदेखि क्यारीअरसम्मै ठूल्ठूला भारी बाँधिएको थियो।
त्यो भारी नढलोस् भन्ने हेतुले हुनसक्छ उनीहरूले त्यसलाई आफ्नै शरीरमा अड्याएका थिए।
भारी केही सानो हुनेहरू भने साइकल छोडेर छहारीमा बसेका थिए। किनकि दिउँसो करिब साढे दुई बजेको गर्मी निकै चर्को थियो।
बिहानको १० बजेदेखि आफूहरू त्यसरी एकै ठाउँमा सीमा खुल्ने समय पर्खिएर बसेको बताइन् लामको अग्र भागमा उभिएकी पार्वती पालीले।
उनी भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग आफूहरूलाई नेपालतर्फ जान दिन आग्रह गरिरहेकी थिइन्।
उनको पहाड घर डडेलधुराको शीर्ष गाउँ हो। उनका श्रीमान् अर्जुन पाली सेवा निवृत्त प्रहरी हुन्। उनीहरूका दुई छोरा छन्। यो परिवार तराई झरेको २१ वर्ष भयो।
माओवादी द्वन्द्व उत्कर्षमा रहँदा आफूहरू भागेर महेन्द्रनगर आएको उनी बताउँछिन्। भन्छिन्,"ज्यानको मायाले गाउँ, घरबारी सबै छोड्या हौँ।"
"केही मान्छे सधैँ आउँथे। दुःख दिन्थे। एकदिन आए- सुरुमा पसल लुटे। त्यसपछि घरमा आगो हालेर जलाई दिए," पार्वतीले सुनाइन्।
त्यतिबेला उनका श्रीमान् घरमा थिएनन्।
जाँदाजाँदै उनीहरूले सात दिनको म्याद दिँदै "बुढा झिकाउन" चेतावनी दिएको उनको कथन छ।
तर, आफूले बाँच्नका निम्ति उमेर घर्केका सासू ससुरा, बालक देवर, नन्द र काखे छोरो च्यापेर गाउँ छोडेको पार्वती बताउँछिन्।

"हामी सडकमा आयौँ। त्यति बेला श्रीमानको तलब ३,००० रुपैयाँ थियो। त्यसैले सात जनाको परिवार धान्नु पर्थ्यो। छोराहरूलाई पढाउनु पर्थ्यो," उनले भनिन्।
साइकल हाँक्न सिकेपछि आम्दानी
अभावको चरम रूप भोगिरहँदा पार्वतीले मधेसका महिलाहरू देख्थिन्। जो आफैँ साइकल हाँक्थे। घाँस, दाउरा अनि भारीहरू ओसार्थे। जसका कारण उनमा पनि साइकल चलाउन सिक्ने चाह पलायो।
तर, उनको घरमा न साइकल थियो न त साइकल किन्ने पैसा नै।
आफूले छिमेकीहरूको साइकल मागेर चलाउन सिकेको उनी सुनाउँछिन्।
"सुरुमै खुट्टा तोडियो तर सिकेर छोडेँ," उनले भनिन्,"चलाउन सिकेपछि अलिअलि पैसा जम्मा गरेर पुरानो साइकल किनेँ।"
सुरुवाती दिनहरूमा उनी साइकलमा अरू महिलालेजस्तै घाँस दाउरा ओसार्ने, छोरालाई विद्यालयसम्म पुर्याउने काम गर्थिन्।
तर, त्यही साधन पुरुषहरूले सीमापारी भारतबाट सामान ल्याउन प्रयोग गरेको थाहा पाइन्। त्यसरी सामान ल्याउँदा आम्दानी हुन्छ भन्ने चाल पाइन्।
आफूले पनि आम्दानी गर्न सके श्रीमानमा निर्भर परिवारलाई केही राहत हुन्छ भन्ने आशा पलायो।
बनबासा जाने, "साहु"हरूले ल्याइदिनु भनेको सामानहरूको भारी बनाउने, साइकलमा बाँध्ने र लिएर महेन्द्रनगर बजारका पसलमा पुर्याउनका लागि सामान ओसार्ने काम रहेछ।
२०६३/६४ सालमा सामानको तौल अनुसार दैनिक २०० देखि ३०० रुपैयाँ हातमा पर्ने गरेको पार्वतीले पत्ता लगाइन्।
भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा पर्ने बनबासामा विशेषगरी खाद्यान्न खरिद् बिक्री हुने बताइन्छ।
त्यहाँबाट महेन्द्रनगरसम्मको दूरी करिब ११ किलोमिटर छ। नेपाल-भारत सीमामा रहेका यी दुई सहर साइकलमार्फत् आउजाउ गर्न करिब ४० मिनेट लाग्छ।
आधा, एक घण्टाको बाटोमा त साइकल "चलाउन सक्छु" भनेर आँटिन्।
पहिलो चोटि जाँदा कमै सामान बोकिन्। समयसँगै भारी बढ्दै गयो। कमाइ बढ्दै गयो।

भारीले दिएको भर
"हरेक दिन हातमा मेहनतको पैसा पर्ने बाटो मिल्यो। मैले छोराहरूलाई बोर्डिङ स्कूलमा भर्ना गरिदिएँ।"
हाल उनका जेठो छोरा स्नातक तहमा होटल म्यानेजमेन्ट पढ्दै छन्। कान्छो छोरा चाहिँ कक्षा ११ मा पढ्छन्।
पार्वतीका श्रीमानको नियमित पेन्सन आउँछ। त्यो पैसा रासन चामल किन्न ठिक्क हुने उनले बताइन्। केही अघिसम्म श्रीमानले टुकटुक चलाउँथे।
श्रीमान् श्रीमतीले कमाएको रकमले टहरो हाल्न पुग्दो जग्गा समेत किने। केही वर्षयता श्रीमान् रोगले थलिएपछि पार्वती नै घरको आर्थिक खम्बा बनेकी छन्।
अहिले दैनिक एक हजार रुपैयाँसम्म कमाइ रहेको उनको भनाइ छ।
"इन्डियाले भारी दिन्छ र पो भरथेग भएको छ। तर यो काममा पनि सुख छैन। पुलिसहरूले बिहान १० बजे सामान लिएर फर्किए पनि दिनभर घाममा उभ्याउँछन्। कहिलेकाहीँ त राति मात्र बाटो छोड्छन्।"
उनीसँग बाटोमा आफूबाट सामान लुटिएको अनुभव समेत रहेछ। त्यति बेला आफूले महिनौँ भारी ओसारेर कमाएको सबै रकम साहुलाई बुझाउनु परेको कुरा सुनाउँदा उनी भक्कानिइन्।
के-के ल्याइन्छ?
बनबासाबाट ल्याइने सामानहरूमध्ये प्राय दाल, चिनी, गुड, नरिवल आदि हुन्।
केहीले दिनमा बढीमा दुई पटकसम्म आउजाउ गर्छन्।
रोचक त के भने सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा सीमामा त्यसरी सामान ओसार्नेहरूमा प्राय महिला भेटिन्छन्।
तीमध्ये बीबीसीसँग कुरा गरेका ६ जना महिलाहरूले आफ्नो घरको भातभान्सा आफ्नै कमाइमा निर्भर भएको बताए।
गौरीफन्टा सीमामा भेटिएकी सुस्मिता शर्मा पहिले ठेलागाडीमा मकै पोलेर वा अन्य मौसमी तरकारी बेच्थिन्।
हाल धनगढी उप-महानगरपालिकाले सडकमा ठेलागाडी राख्न नपाउने नियम लागू गरेको छ।
त्यसैले क्याम्पसरोड वरपरका उनीलगायत अन्य केही महिला भारततर्फबाट साइकलमा खाद्यान्नको भारी ल्याउन र घरघरमा बेच्न हिँड्न थालेका छन्।

"पेट त भोकै बस्न मान्दैन। बुढाले केही काम गर्दैनन्। आफैँ जानु पर्यो कमाइ गर्न," उनले भनिन्।
"यो काम गाह्रो छ। शरीर धेरै दुख्छ। पुलिसले गाली गर्छन्। तर पनि गर्नु पर्यो। नोकरी त पढेलेखेको मान्छेले पनि पाउँदैनन्। हामीलाई त पढ्न पनि आउँदैन।"
सीमापारिबाट सामान ल्याएर बेच्दा दैनिक दुईदेखि तीन सय रुपैयाँ फाइदा हुने उनले सुनाइन्।
गड्डाचौकीमा भारी बिसाई रहेकी ३४ वर्षीया बबिता जोशीले ६ महिना मात्र भयो यो काम थालेको। दैनिक ७०० रुपैयाँ कमाउन थालेपछि "घर चलाउन सजिलो भएको" बताइन्।
"नेपाल सरकारले काम पनि के दिन्छ? अस्ति विदेशको संस्था आया छ भन्यो। त्यसले तालिम दिन उल्टा पाँच पाँच हजार लगाया। पन्ध्र दिनसम्म काम गर्यो एक रुपैयाँ पनि आएन," उनले गुनासो गरिन्।
"सात दिनसम्म तालिम गर्या हो, सातै सय दिए। अब यहाँ एकै दिन सात सय रुपैयाँ आउँछ। सरकारले खाने मानो दिए यो काम रोक्दिन्छु।"
सिराहाका तिलबहादुर थापामगरले पनि ५, ६ महिनादेखि भारतबाट भारी ल्याउने काम गरेका छन्।
आफ्नो ठाउँमा बेरोजगारीले सताएकाले आफू महेन्द्रनगर आएर यस्तो काम सुरु गरेको उनी बताउँछन्।

यद्यपि, अन्तर्राष्ट्रिय सीमा नाकाबाट त्यसरी ल्याइने हरेक सामान कानुनी प्रक्रिया पूरा गरेर ल्याइएको हो या होइन भन्नेबारे बुझ्नु पर्ने बताउँछन् भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का।
"व्यवसायीले आयात निर्यातका लागि इजाजत पत्र लिएर, व्यवसाय दर्ता गरेर सामान मगाएको हो या होइन बुझ्नु पर्छ। होइन भने त्यस्तो ओसारपसार गर्नुलाई कानुनी मानिँदैन," निर्देशक खड्काले भने, "उहाँहरूले गरिखानु पर्छ तर अन्तर्राष्ट्रिय सीमाबाट प्रक्रिया पुर्याएर मात्र सामान भित्र्याउनु पर्छ।"










