महिला फुटबल लीगमा विदेशी खेलाडी: कस्तो छ प्रभाव

महिला फुटबल लीग
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

विदेशी खेलाडी खेलाउन खुला गरेको पहिलो वर्ष नेपालमा दुईवटा टोलीले आठ खेलाडी भित्र्याएका छन्।

यसले महिला फुटबलको प्रतिस्पर्धामा रौनक थपिएको बताइएको छ।

क्यामरुनका चार खेलाडी र भारतका चार खेलाडीहरू गरी जम्मा आठ खेलाडी अहिले जारी महिला राष्ट्रिय लीग फुटबलमा खेलिरहेका छन्।

सङ्ख्याको हिसाबले ठूलो नभएपनि यसले महिला लीग फुटबलमा भने रौनक थपिएको खेलाडीहरूले बताएका छन्।

महिला लीगमा विगतमा विभागीय टोलीहरूको वर्चश्व रहने गर्दथ्यो र जिल्ला, क्षेत्रका टोलीहरू खेल्ने २/४ खेलमा निरिह बन्दै ठुलो अन्तरको गोलको भारी खाएर फर्किने गर्दथ्यो।

यो वर्ष धेरै विषय फरक छ। पहिलोपटक एक महिनाभन्दा लामो समय चल्ने दोहोरो लीग सञ्चालन गरिँदा टोलीहरूले प्रशस्त खेल्न पाएका छन्, क्षेत्रीय टोलीको स्थानमा नगरपालिकाको टोली समावेश गरिएका छन्, पुरस्कार राशी पनि १५ लाख रुपैयाँ छ अनि पुरुषमा जसरी महिला फुटबलमा पनि चार विदेशी खेलाडी राख्न पाउने नियम राखिएको छ।

यसले खेलको स्तरमा वृद्धि भएको र फरक नतिजाहरू निस्किन थालेको देखिएको छ।

कहाँबाट आए?

तीन विभागीय टोली (सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी)मा विदेशी खेलाडी भित्र्याउने चलन पुरुषतर्फ पनि छैन। बाँकी सहभागी चार नगरपालिकामा वालिङ र विराटनगरले मात्र विदेशी खेलाडी भित्र्याएको हो। रौतहटको चन्द्रपुर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले भने विदेशी खेलाडी भित्र्याउन चासो दिएनन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, ओलिम्पिक छनोट खेलमा कस्तो अनुभव रह्यो

"एक त बजेटको समस्या पनि हो, अर्कोतर्फ रौतहटले निरन्तर रूपमा महिला खेलाडीहरू उत्पादन गरिरहेको बेला विदेशी खेलाडी ल्याएर स्थानीय खेलाडीलाई बेञ्चमा राख्ने नीति हामीलाई उपयुक्त नलागेर हो।,"विदेशी खेलाडी नभित्र्याउनुको कारणबारे चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले यसो भने।

महिला फुटबल लीग

तर विदेशी खेलाडीको कारण टिम संरचना निकै बलियो भएकोमा वालिङ नगरपालिका खुशी देखिएको छ।

वालिङले क्यामरुनबाट चार खेलाडी ल्यायो। उनीहरूको विशेषता के हो भने चारै जना १७ वर्ष मुनिको क्यामरुनी राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

वालिङका प्रशिक्षक दीपक थापा भन्छन्- हाम्रा नानीहरू प्राय १९ वर्ष मुनिका छन्। क्यामरुनका खेलाडीहरू मिसिएपछि गजबको टिम बनेको छ।

अफ्रिकी मुलुकबाट खेलाडी ल्याउँदा कति खर्च भयो, त्यो वालिङ नगरपालिकाले सार्वजनिक गरेको छैन। तर एकजनालाई झन्डै डेढ लाख रुपैँया लागेको र एकजनालाई ५० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक दिइएको बताइएको छ।

त्यसैगरी विराटनगरले छिमेकी भारतबाट चार खेलाडी अनुबन्ध गरेको हो।

उनीहरू भारतको उमेर समुहबाट अनि भारतीय महिला लीगबाट खेलिरहेका खेलाडी हुन्।

त्यसमा झारखण्डमा एकेडेमीकी रक्षक पूर्णिमा कुमारीले भारतको यु १५ खेलेकी छिन्। उनले गुरुकुलम क्लबमा नेपाली स्ट्राइकर सावित्रा भण्डारीसँगै खेलेकी हुन्।

केरलाकी अर्की खेलाडी शारदा कुमारी भने झारखण्डकी कप्तान पनि हुन्। रक्षापङ्क्तिबाट खेल्ने सिक्किमकी अनिता क्षेत्री रक्षापङ्क्तिकी खेलाडी हुन्।

उनीहरूलाई भित्र्याउन भूमिका खेलेका विराटनगरबासी एन्फाका सहायक महासचिव बसन्त अर्याल भन्छन् - "सबै खेलाडीहरूलाई नियमानुसार भारतीय फुटबल संघबाट रिलिज गरिएको हो। उनीहरूलाई प्रतियोगिता भरका लागि ३५ हजार रुपैँया दिने सहमति भएको छ। "

प्रदर्शन

विदेशी खेलाडीहरूको प्रदर्शनको बलमा विराटनगरले त नेपाल पुलिस क्लबलाई पराजित नै गर्‍यो।

जारी लीगमा कुनै पनि नगरपालिकाको टोलीले विभागीय टोलीलाई हराएको त्यो पहिलो खेल थियो।

जितसँगै विराटनगरले पुलिसलाई पछि पार्दै लीग तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ।

विराटनगरका प्रशिक्षक पारस चौधरी भन्छन्, " उनीहरू अनुभवी छन्, नियन्त्रित भएर खेल्छन्। यसले प्रतिस्पर्धा त हुने नै भयो, खेल पनि सुन्दर देखिएको छ। "

भिडिओ क्याप्शन सुरु हुँदैछ, ४० वर्षपछि रंगशालामा प्रवेश पाए इरानी महिलाले

वालिङले क्यामरुनबाट एकजना रक्षक, एकजना मिडफिल्डर र दुईजना स्ट्राइकर ल्याएको हो।

उनीहरूको खेलमा तेज गति छ भने प्रदर्शन पनि निकै फुर्तिलो देखिएको छ। जसले विपक्षीहरूलाई हम्मे हम्मे पारिरहेको देखिन्छ।

उनीहरूको उपस्थितिले प्रतिस्पर्धा रोचक देखिएकोमा प्रतिस्पर्धी खेलाडीहरू पनि खुशी छन्।

नेपाल प्रहरीकी मिडफिल्डर दीपा न्यौपाने भन्छिन्, " विदेशीसँग प्रतिस्पर्धामा बेग्लै स्वाद छ। हामीले पनि उनीहरूबाट केही सिक्न पाएका छौँ।"

हुन त नेपाल ओर्लिनासाथै त्रिभुवन आर्मी क्लबसँग खेल्नुपरेकोले वालिङ पहिलो खेलमा ६-० ले पराजित हुनपुगेको थियो। तर त्यसपछि टोलीले हरेक खेलमा टक्कर दिँदै आएको छ। विभागीय टोलीसँग पनि समान प्रतिस्पर्धा भएको देखिएको छ।

एन्फाको महिला समितिका अध्यक्ष पेमा लामा भन्छिन्, " हामीले चाहेको नै यही हो। हरेक टिमबीच बराबरको प्रतिस्पर्धा होस्। ठूलो गोल अन्तरको असमान प्रतिस्पर्धा नहोस्। त्यो रूप देखिएको छ।"

जारी लीगमा एउटै खेलमा ठुलो गोल अन्तरको नतिजा पनि आयो। एपीएफले चौगण्डीगढी नपालाई २२-० को फराकिलो अन्तरले हरायो, जुन टिममा विदेशी खेलाडी थिएनन्।

जोश

नेपाली महिला फुटबलको बनोट हेर्ने हो भने राम्रा खेलाडीहरू विभागीय टोलीमा छन्। त्यसैले बाहिरी क्लब वा नगरपालिकाका टोलीले विभागीय विरुद्ध तत्कालै ठूलो उथलपुथल ल्याउन सक्ने देखिँदैन।

तर विराटनगरले नेपाल पुलिसलाई पराजित गरेर महिला लीगको प्रतिस्पर्धाको स्तर कसरी वढ्दैछ भन्ने सङ्केत देखाइसकेको छ।

त्यसैले दोहोरो राउण्ड रोविन लीगमा पहिलो चरणभन्दा राम्रो प्रतिस्पर्धा र राम्रो नतिजा ल्याउने आँट कम्तीमा विदेशी खेलाडीहरू भित्र्याउने दुई टोलीमा देखिन्छ।

महिला फुटबल लीग

विराटनगरका प्रशिक्षक चौधरी भन्छन्, "दोस्रो चरणमा अझै केही गरिन्छ।"

लीगमा रमाइलो दृष्य के हो भने दर्शकहरूले विराटनगर र वालिङकै खेल हेर्न रुचाएका छन्।

त्यसैले वालिङ प्रशिक्षक थापा भन्छन्, " त्यसको कारण विदेशी खेलाडीको उपस्थिति नै हो। हामीलाई रमाइलो लागिरहेको छ। अर्को साल पनि छनोट भए अझ राम्रा खेलाडी पक्कै ल्याउनेछौं।"

हुन त जारी लीगमा थुप्रै कमी कमजोरीहरू छन्। सबैभन्दा ठूल समस्या त लामो लीग छिटोछिटो खेलाउदा अधिकाँश क्लबका खेलाडीहरू घाइते बनिरहेका छन्। तर पनि फुटबल विश्लेषकहरू भन्छन्, "यो वर्षको लीगले सङ्केत गरेको छ, अर्को वर्षको महिला लीगमा अझै उच्च प्रतिस्पर्धा देख्न पाइनेछ। "