भारतकी ‘पहिलो’ महिला कुस्तीबाज हमिदा बानुको अपत्यारिलो जीवन

तस्बिर स्रोत, FEROZ SHAIKH
भारतीय महिला कुस्तीबाज हमिदा बानुको चर्चा चुलिँदाको सन् १९४० र १९५० को दशकमा उक्त खेल त्यतिबेलासम्म पुरुषले मात्रै खेल्ने मानिन्थ्यो। उनको अद्भुत र अपार व्यक्तित्वले उनलाई विश्वव्यापी प्रसिद्धि दिलाएको थियो – तर पछि उनी दृश्यबाट हराइन्। बीबीसी उर्दुकी नेयज फारूकीले भारतकी पहिलो व्यावसायिक महिला कुस्तीबाजको जीवनमा के भयो भनेर खोजेकी छन्।
"खेलमा मलाई हराऊ अनि म तिमीसँग विवाह गर्छु।"
त्यति बेला आएका समाचारहरूका अनुसार सन् १९५४ को फेब्रुअरीमा बानुले आफू ३०/३२ वर्षकी हुँदा पुरुष कुस्तीबाजहरूलाई दिएको त्यो चुनौती अस्वाभाविक थियो।
त्यस्तो घोषणापछि बानुले दुईजना पुरुष पहलमान विजेतालाई हराइन्। त्यसरी उनले पराजित गरेका पहलमानहरूमा उत्तरी पन्जाब राज्यस्थित पटियालाका एक जना थिए भने पूर्वी पश्चिम बङ्गाल राज्यस्थित कोलकाताका अर्का पहलमान थिए।
त्यो वर्ष तेस्रो लडाइका लागि उनी मे महिनामा पश्चिमी राज्य गुजरातस्थित बडोदरा पुगिन्।
त्यति बेला बालक नै रहेका बडोदरा निवासी सुधीर परब बानुको उक्त भ्रमणलाई लिएर सहर नै उन्मादपूर्ण बनेको सम्झन्छन्।
उनको आगमनबारे ब्यानरहरू र पोस्टरहरू बनाएर विज्ञापन गरिएको परब सम्झिन्छन् जो पछि चर्चित खो-खो खेलाडी बने।
परबका अनुसार बानुले छोटे गामा पहलमानसँग कुस्ती खेल्न लागेकी थिइन् जसलाई बरोडाका महाराजा पनि भनिन्थ्यो।
तर छोटे गामाले महिलासँग नलड्ने भन्दै अन्तिम समयमा नखेल्ने निर्णय गरे। त्यसपछि बानु अर्का खेलाडी बाबा पहलमानसँग लडिन्।
सन् १९५४ मे महिनाको ३ तारिखमा एशोसियटेड प्रेसले लेखेको थियो, "कुस्ती १ मिनेट ३४ सेकेन्डसम्म भयो र महिलाले जितिन्।

तस्बिर स्रोत, SCREENSHOT/SUNDAY DISPATCH
त्यति बेलासम्म बानुको प्रतिष्ठा एक दशकदेखि बनिरहेको थियो। सन् १९४४ मा बम्बे क्रोनिकल पत्रिकाले बानु र गुङ्गा पहलमानबीचको प्रतिस्पर्धा हेर्नका लागि करिब २० हजार मानिसहरू रङ्गशालामा आएको भनेर लेखेको थियो।
उक्त खेल पनि अन्तिम समयमा रद्द भयो। गुङ्गा पहलमानले थप पैसासहित खेलका लागि तयार हुन मागेको समयलगायतका "असम्भव" मागका कारण खेल रद्द भयो। खेल नहुने भएपछि आक्रोशित भीडले रङ्गशालामा तोडफोड गरेका थिए।
बरोडामा पुग्दासम्म बानुले आफूले ३०० भन्दा बढी खेल जितिसकेको दाबी गरेकी थिइन्।
पत्रपत्रिकाहरूले उनलाई “एमजन अफ अलिगढ” भन्न थालेका थिए। अलिगढ उत्तर प्रदेश राज्यको उनी बस्ने नगर हो। कसैलाई तर्साउनका लागि बानुको एक नजर नै काफी भएको एक स्तम्भकारले लेखेका छन्।
उनको वजन, उचाइ, खान्की सबै कुरा समाचारका विषय थिए। उनको वजन १०८ किलो रहेको र उचाइ ५ फिट ३ इन्च रहेको बताइन्छ। उनको दैनिक खान्कीमा ५.६ लिटर दूध, २.८ लिटर सुप, १.८ लिटर फलफूलको रस, एउटा कुखुरा, झन्डै एक किलो खसीको मासु र बदाम, आधा किलो घ्यू, ६ वटा अण्डा, दुई वटा पाउरोटी र दुई प्लेट बिरयानी पर्थ्यो।
"उनी दिनमा ९ घण्टा सुत्थिन् र अर्को छ घण्टा अभ्यास गर्थिन्," रोयटर्सले लेखेको छ।

तस्बिर स्रोत, SCREENSHOT/DAILY MIRROR
बानुका परिवारका सदस्यहरूका भनाइ अनुसार उनको बल र त्यो समयको परम्परागत पाराका कारण उनी मिर्जापुरस्थित आफ्नो गृह नगर छोडेर अलिगढ सरिन्। त्यसपछि उनले स्थानीय सलाम पहलमानसँग खेलको तालिम लिइन्।
सन् १९८७को एउटा पुस्तकमा लेखक महेश्वर दयालले बानुले उत्तर प्रदेश र पन्जाबका थुप्रै प्रतिस्पर्धामा खेलिसकेकाले उनको चर्चाले टाढाका मानिसहरूलाई पनि आकर्षित गरेको लेखेका छन्।
"उनी पुरुष पहलमानले जस्तै गरी खेल्ने गर्थिन्," उनले लेखेका छन्। "यद्यपि, केहीले भने हमिदा पहलमान र पुरुष पहलमानले गोप्य सहमति गरेर विपक्षी जानाजान हार्ने गर्थे भनेर लेखेका छन्।"
उनको सार्वजनिक प्रदर्शनीका कारण आक्रोशित मानिसहरूबाट बानुले चुनौतीको सामना पनि गर्नुपर्यो।
महाराष्ट्रको पुने सहरमा पुरुष कुस्तीबाज रामचन्द्र सलुन्केसँगको प्रतिस्पर्धा स्थानीय कुस्तीबाज सङ्घको आपत्तिका कारण रद्द गर्नुपरेको थियो भनेर द टाइम्स अफ इन्डियाले लेखेको छ।
अर्को पटक पुरुष प्रतिस्पर्धीलाई हराएपछि बानुलाई प्रशंसकहरूले होहल्ला गरेर ढुङ्गाले प्रहार गरेका थिए। पत्रिकाका अनुसार भीडलाई नियन्त्रण गर्न त्यति बेला प्रहरी नै खटिनुपरेको थियो।


नेसन एट प्ले: अ हिस्ट्री अफ स्पोर्ट इन इन्डिया नामक पुस्तकमा प्राज्ञ रोनोजोए सेनले बानुको उपस्थितिले खेललाई कति जटिल बनाइदिएको थियो भनेर लेखेका छन्।
सेनले आफ्नो पुस्तकमा बानुले आफ्नो प्रतिस्पर्धामाथि लगाइएको अनौपचारिक “प्रतिबन्ध”बारे त्यति बेला महाराष्ट्र राज्यका मुख्यमन्त्री मोरार्जी देसाइसँग गुनासो गरेकी थिइन्। देसाइले जवाफमा उनी महिला भएकै आधारमा प्रतिबन्ध नलगाइएको बरु बानुलाई चुनौती दिन भनेर खेल प्रचारकहरूले राखेको ‘डमी’ लाई लिएर थुप्रै उजुरी परेपछि रोक्नुपरेको बताएका थिए।
पुरुषहरूले उनका उपलब्धिहरूलाई ठट्टामा उडाए पनि र उनका प्रमाणपत्रहरूमाथि प्रश्न गरे पनि उर्दु नारीवादी लेखक कुर्रतुलऐन हैदरले बानुको फरक व्यक्तित्व उल्लेख गरेकी छन्।
डालन वाला, शीर्षक दिइएको एउटा कथामा हैदरले आफूलाई घरमा सहयोग गर्ने फकिरा मुम्बईमा बानुको खेल हेर्न जाने गरेको र उनलाई कसैले पनि हराउन नसक्ने भन्दै फर्किएको भनेर लेखेकी छन्।
सन् १९५४ को एउटा विवरण अनुसार बानुले मुम्बईमा भएको एउटा खेलमा रुसकी चर्चित खेलाडी वेरा किस्टिलिनलाई एक मिनेटभन्दा कम समयमा हराइन्। त्यही वर्ष उनले आफू कुस्ती खेल्नका लागि युरोप जाने घोषणा गरिन्।

तस्बिर स्रोत, FEROZ SHAIKH
उनलाई चिनेका केही मानिसहरूका अनुसार यही विन्दुबाट उनको जीवन परिवर्तन भयो।
त्यति बेलासम्म बानु र सलम पहलमान निरन्तर रूपमा अलिगढ, मुम्बई र मुम्बईको बाहिरी भेगमा रहेको कल्याण भन्ने ठाउँमा यात्रा गर्थे। त्यहाँ उनीहरूको डेरीको व्यापार थियो।
बानुका नाति फेरोज शेइखका अनुसार बानुका प्रशिक्षक सलम पहलमानलाई बानु युरोप जाने कुरा मन परेको थिएन। शेइखका बुवालाई बानुले छोरा बनाएर पालेकी थिइन्।
सलम पहलमानकी छोरी सहाराले बानुसँग आफ्ना बुवाले विवाह गरेको र उनलाई आफूले सौतेनी आमा ठान्ने गरेको बताइन्।
तर सन् १९८६ मा बानुको मृत्यु हुने बेलासम्म उनीसँगै बसेका शेइखले भने त्यो कुरामा सहमति जनाएनन्।
"उहाँलाई युरोप जानबाट रोक्न सलमले उहाँलाई लट्ठीले पिट्नुभयो र हात भाँचिदिनुभयो," शेइखले भने।
शेइखको यो भनाइमा छिमेकी रहिल खानले पनि सहमति जनाए। उनका अनुसार बानुको दुवै खुट्टा पनि त्यति बेला भाँचिएको थियो।
"म राम्ररी सम्झिन्छु," उनले भने। "उनी उभिन सक्दैन थिइन्। धेरै पछि ठिक भयो तर उनी लट्ठीबिना कैयौँ वर्षसम्म राम्ररी हिँड्न सक्दिनथिन्।"
सहाराले सम्बन्ध भने सुमधुर नै रहेको बताइन्।
अन्ततः बानु कल्याण गाउँमै बसिन् भने सलम अलिगढ फर्किए। सहाराका अनुसार सलम मृत्युशय्यामा भएका बेला उनलाई भेट्न बानु एक पटक आएकी थिइन्।
बानुले घर भाडामा लगाएर र दूध बेचेर आफ्नो जिबिका चलाएकी थिइन्। पैसा सकिँदै गएपछि उनले घरमै खाजाहरू बनाएर सडकछेउमा बेच्ने गर्थिन्।
"उनका अन्तिम दिनहरू कठिन थिए," आफ्नो समयको नियमविरुद्ध उग्र रूपमा लडेकी र कम चर्चामा आएकी बानुबारे शेइखले भने।








