नेपाली महिला खेलाडीहरूबाट पदकको आशा, यस्तो छ आत्मविश्वास

कराते टोली

एक हप्तापछि काठमान्डूमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आधिकारिक उद्घाटन हुने भए पनि बुधवारदेखि नै भलिबलको प्रतिस्पर्धा सुरु भएको छ।

कुल २६ वटा खेलका विभिन्न विधामा हुने प्रतिस्पर्धाबाट नेपालले ५० वटाभन्दा बढी स्वर्ण पदक जित्ने लक्ष्य राखेको अधिकारीहरूले बताउँदै आएका छन्। महिला खेलाडीहरूबाट बढी स्वर्ण पदकको आशा गरिएको छ।

प्रतियोगिताको तयारी पूरा भइसकेको अवस्थामा महिला खेलाडीहरूमा पनि आत्मविश्वास बढेको देखिएको छ।

नेपाली खेलाडीहरू मार्शल आर्ट‌्समा उत्कृष्ट भएकाले तिनबाटा नै बढी पदकको आशा गरिएको देखिन्छ।

तर यस पटक अन्य एकल र समूहगत खेलमा पनि महिला खेलाडीहरूले स्वर्ण पदकको दाबी गरिरहेको देखिन्छ।

बीबीसीले केही खेलका महिला खेलाडीहरूसँग उनीहरूले गरेको तयारी र आगामी खेल अगाडिको उनीहरूको आत्मविश्वासका बारेमा कुरा गरेका छौँ।

सरस्वती चौधरी (भलिबल)

सरस्वती चौधरी

हामीले धेरै मेहनत गरेका छौँ। र, त्यसलाई शतप्रतिशत मैदानमा उतार्ने लक्ष्य राखेका छौँ। त्यो भनेको स्वर्ण पदक हो।

भर्खरै बाङ्ग्लादेशमा भएको मध्यएशियाली क्षेत्रको महिला च्याम्पियन बनेर फर्केका हौँ। त्यसले पनि खेलाडीहरूमा हौसला बढेको छ। भारतलगायत श्रीलङ्का र बाङ्ग्लादेश हामीलाई चुनौती दिने प्रतिद्वन्द्वी हुन्। योजनानुरूफ खेलेर हामी आफ्नै घरमा इतिहास बनाउन चाहन्छौँ।

करुणा भण्डारी (क्रिकेट)

करुणा भण्डारी

प्रतिस्पर्धाका लागि हामी उत्साहित छौँ। भारत र पाकिस्तान सहभागिता नभएकाले श्रीलङ्का र बाङ्ग्लादेश हाम्रा मुख्य प्रतिद्वन्द्वी हुन्।

तर हामीले उनीहरूसँग पहिले पनि खेलिसकेका छौँ। यसपालि पहिलो पटक यति लामो बन्द प्रशिक्षणमा बसेका छौँ, आफ्ना कमीकमजोरी केलाएका छौँ। यसपालि स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने हाम्रो अपेक्षा छ।

सीना मादे (तेक्वान्दो)

सीना मादेम

बीस वर्षअघि सम्पन्न आठौँ सागमा तेक्वान्दोले १४ स्वर्ण पदक जितेको थियो। यसपालि तेक्वान्दो खेलाडीहरूबाट त्यस्तै आशा गरिएको छ।

त्यो हामी सबै खेलाडीहरूले राम्ररी बुझेका छौँ। त्यसका लागि हामीले कडा मेहनत गरिरहेका छौँ। हामीले भर्खरै मलेशियामा गएर त्यहाँको राष्ट्रिय टोलीसँग प्रशिक्षणको अनुभव लियौँ। त्यसमा मैले के अनुभव गरेँ भने उनीहरू र हाम्रो प्रशिक्षण र स्तरमा ठूलो फरक रहेनछ। हामी सक्छौँ, स्वर्णका लागि योग्य छौँ जस्तो लागेको छ।

नङसलदेवी तामाङ (ब्याडमिन्टन)

नङसल देवी तामाङ

लक्ष्य त ठूलै छ। एकलमा माथिसम्म पुग्न हाम्रो योजना हो। तर ब्याडमिन्टनमा टाईशीटको पनि ठूलो भूमिका हुन्छ।

पोखरामा हुने खेलका लागि त्यहीँ बसेर प्रशिक्षण लिइरहेकोले हामीलाई केही फाइदाहरू छन्। त्यसको सदुपयोग गर्ने हाम्रो प्रयास हुनेछ। मुख्य लक्ष्य टीम इभेन्ट्समा पदक बटुल्नु हो। ब्याडमिन्टनमा दक्षिण एशियामा बलिया प्रतिद्वन्द्वीहरू छन्। तर हाम्रो पछिल्लो अन्तर्राष्ट्रिय अनुभव राम्रै छ। हेरौँ के हुन्छ।

शिवाङ्गी दुबे (कुस्ती)

शिवांगी दुबे

यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। म ५३ केजी तौल समूहकी खेलाडी हुँ।

मलाई थाहा छ भारत र बाङ्ग्लादेश कुस्तीमा निकै राम्रा खेलाडीहरू भएका देश हुन्। मेरा गुरुहरूले पनि मलाई उनीहरुसँग कसरी प्रतिस्पर्धा गर्ने भनेर सिकाउनु भएको छ। म आफ्नो तर्फबाट सक्दो प्रयास गर्छु। त्यसपछि जे हुन्छ हुन्छ। रजत पदक जित्ने मेरो लक्ष्य हो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रतिभा माली: ‘भलिबल नखेलेको दिन नै अधुरो’