कस्तो देखिन्छ नेपालभर चुनावी रुझान?

रास्वपाका नेताहरू रवि लामिछाने र बालेन

तस्बिर स्रोत, EPA/Shutterstock

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

चुनाव सकिएको भोलिपल्ट शुक्रवार बिहानैदेखि धेरै निर्वाचन क्षेत्रका मत गणनाका प्रारम्भिक परिणाम प्राप्त हुने क्रमसँगै देखिएको सम्भावित नतिजाको प्रारम्भिक झल्को दिउसोसम्म कायम देखिन्छ।

दोस्रोपटक चुनावमा सहभागी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसअघिको संसद्का तीन ठूला दलले पाएको मतको अन्तर निकै फराकिलो देखिएको छ। सुरुवाती जित हासिल गर्ने नेता समेत रास्वपाकै देखिए।

बरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अग्रता लिइरहेका क्षेत्रमा समेत एकल अङ्कमा सीमित देखिएका छन्।

अपराहन्न ५ बजेसम्म निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक भएको १३५ सीटको विवरणमध्ये रास्वपाले ९६ सीटमा अग्रता (१ जितसहित) हासिल गरिरहँदा कांग्रेसको १ जितसहित ११ स्थानमा अग्रता देखिन्छ।

एमालेको १० र नेकपाको ९ स्थानमा अग्रता छ। श्रम संस्कृति पार्टीले ३, राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र एकजना स्वतन्त्र एक-एक स्थानमा अग्रता लिएका छन्।

प्रत्यक्षतर्फका १६५ स्थानमध्ये अझै कैयौँ पहाडी र हिमाली निर्वाचन क्षेत्रमा गणना सुरु हुन बाँकी छ।

एकजना राजनीतिशास्त्री कृष्ण खनाल रास्वपाको पक्षमा देखिएको पछिल्लो रुझान अनपेक्षित नभए तापनि त्यसको आकार ठूलो देखिएको बताउँछन्।

"एउटा प्रचण्ड प्रभाव यतिखेर रास्वपाको पक्षमा देखिएकाले त्यसले कति नाम चलेका नेताहरूलाई समेत बढारेर लैजान सक्छ। त्यो यहाँ मात्र होइन। सबैतिर हुन्छ," खनाल भन्छन्।

'अपेक्षित' - रास्वपा

गणनामा अघि देखिएको रास्वपाका एकजना महामन्त्री कविन्द्र बुर्लाकोटी यसलाई अपेक्षित नतिजा बताउँछन्।

"स्पस्ट नतिजा सङ्ख्यामा नआउँदासम्म हामी धेरै हौसिन आवश्यक छैन। सम्हालिएर अगाडि बढ्नुपर्ने छ," बुर्लाकोटी भन्छन्।

"जुन हिसाबले पछिल्ला राजनीतिक घटनाक्रम पनि देखिए र चरम अस्तव्यस्ताको अवस्था आयो त्यसले हामीलाई स्थायित्वका लागि यस्तो जनमत दिएको छ।"

नेपाली कांग्रेसका एकजना नेताले पछिल्लो रुझानलाई "वास्तविकता" बताउँछन्।

मतगणना

तस्बिर स्रोत, Reuters

राजनीतिशास्त्री खनालले नेपालले अपनाएको राजनीतिक प्रणालीमा एउटै दलले स्पस्ट बहुमत ल्याउन कठिन हुने बुझाइलाई पछिल्लो रुझानले तोड्ने देखिएको बताउँछन्।

"यसले त्यस बुझाइ भङ्ग गर्दै जनताले चाहेमा त्यो सम्भव हुन सक्ने देखाएको छ," खनालले भने।

यस रुझानले एउटा दलले आफ्ना कार्यक्रमहरू लागु गर्न सक्ने अवस्था देखाएको भन्दै खनालले त्यस्तो अवसर पाउने दलले अरुलाई दोष दिन नसक्ने औल्याउँछन्।

"चुनावमा देखाएका बाचालाई पूरा गर्ने दायित्व प्रस्टसँग बहुमत प्राप्त गर्ने दललाई हुने अवसर पनि छ र त्यसो गर्ने चुनौती पनि छ।"

'वास्तविकता' हो रास्वपा पक्षको रुझान

मतदाता

तस्बिर स्रोत, EPA/Shutterstock

अघिल्लो पटक देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका एकजना सहमहामन्त्री फर्मुल्लाह मन्सुरले चुनावी रुझान रास्वपाको पक्षमा देखिएको स्वीकारे।

उनले आफूहरू जिम्मेवार प्रतिपक्षका रूपमा रहने बताए तापनि त्यो अपेक्षित-अनपेक्षित भन्ने प्रश्नमा टिप्पणी गर्न चाहेनन्।

कांग्रेस सहमहामन्त्री मन्सुर भन्छन्: "हामीलाई के कसो लागिरहेको छ भन्दा पनि यतिखेर यथार्थ रूपमा वहाँहरू [रास्वपा]को पक्षमा रूझान देखिएको कुरा यथार्थ हो।"

राजनीतिशास्त्री खनालले यसपटकको प्रारम्भिक चुनावी रुझानले संसद्‍मा सत्तापक्ष र प्रतिपक्षबीचको स्थिरताको अपेक्षा गर्न सकिने देखाएको बताउँछन्।

"हिजोका दिनमा जस्तो तत्कालै प्रधानमन्त्री अदलबदल गर्ने परिस्थिति पनि यसले रोक्छ र अलिकति शासकीय स्थिरतालाई त्यसले मद्दत गर्छ," खनाल भन्छन्।

"संसद्‍मा सत्तापक्ष र प्रतिपक्षबीचको प्रस्ट विभाजनले संसद्‍को कामकारबाही पनि गुणस्तरीय हुने अपेक्षा गर्न सकिन्छ।"

पुराना दल 'अस्वीकृत' बनेका हुन्?

केपी शर्मा ओली

तस्बिर स्रोत, Reuters

राजनीतिशास्त्री कृष्ण खनालले रास्वपाको बहुमत उन्मुख देखिएको रुझानलाई त्यति धेरै अस्वाभाविक मान्दैनन्।

"२०४८ साल, २०५६ सालको चुनावमा एउटै दलले बहुमत ल्याएकै हो। तर हामीकहाँ अहिले रहेको समानुपातिक व्यवस्था र यसबीचमा तीन-चारवटा दलबीचमा मतविभाजन हुने अवस्थाले गर्दा हामीलाई निकै ठूलो केही भएजस्तो लागेको मात्र हो," खनाल भन्छन्।

"जसरी रास्वपाका पक्षमा रुझान बढिरहेको छ त्यसले अब यतिखेर पनि एउटा पार्टीले क्लिन स्वीप गर्ने अवस्था बन्यो।"

तर उनी त्यसलाई पुराना दलको "अस्वीकार्यता" भनेर टिप्पणी गरिहाल्न नमिल्ने बताउँछन्।

"राजनीतिमा स्वीकृत र अस्वीकृत भन्दा पनि को कतिखेर कहाँ रहन्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ," खनाल भन्छन्।

"पुरानालाई हेरिसकेकाले ती दललाई फेरि परीक्षण गरिराख्न आवश्यक ठानेनन्। रास्वपालाई बढि रुचाउनुमा उनीहरूले नयाँ विकल्पलाई रोजे भन्न सकिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।