बीबीसी वर्षको उत्कृष्ट भारतीय महिला खेलाडी को बन्ला

बीबीसीले भारतमा पहिलोपटक 'बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर' वा वर्षको उत्कृष्ट महिला खेलाडी छनोट गर्न पाँच खेलाडीको नाम मनोनयन गरेको छ।
धावक दुती चंद, प्यारा ब्याडमिन्टन खेलाडी मानसी जोशी, बक्सिङकी मेरी कोम, ब्याडमिन्टनकी पीभी सिन्धु र पहलमान विनेश फोगट रहेका छन्।
भारतीय भाषाका बीबीसीका साइटहरूमा पाठकहरूले फेब्रुअरी १७ सम्म मत हाल्न सक्ने व्यवस्था गरिएको छ।
भारतीय भाषा सेवाकी सम्पादक रुपा झा भन्छिन्, "भारतीय महिलाले इतिहास रचेका छन् तर उनीहरूप्रति अझ पनि हामी आकर्षण पैदा गर्न सकेका छैनौँ।"
"बीबीसीले महिलाको योगदानबारे सोच्छ र त्यसमा हाम्रो प्रतिबद्धता पनि छ।"
मार्च ८ मा नयाँ दिल्लीमा एक कार्यक्रम गरेर विजेताको नाम घोषणा गरिने बीबीसीले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
दुती चंद
चंद उडिशाको जाजपुर जिल्लाकी हुन्। उनको परिवारमा छ दिदीबहिनी र एक भाइ गरी नौ जना छन्।
उनका बाबु कपडा बुन्ने काम गर्थे।
उनले धावक बन्न धेरै समस्याको सामना गर्नुपरेको थियो।
उनकी दिदी सरस्वती चंद पनि राष्ट्रिय धावक थिइन्। दिदी दौडेको देखेर उनले पनि खेलाडी बन्ने निश्चय गरेकी थिइन्।
उनी भन्छिन् "मेरी दिदीले मलाई दौडन प्रेरित गरिन्। पढाइ शुल्क तिर्न पैसा थिएन। यदि खेल्यो र स्कूलमा च्याम्पियन बन्यो भने पढाइको खर्च स्कूलले नै दिन्छ र खेल क्षेत्रमा जागिरे नै हुन सकिन्छ भनेर दौडन सुरु गरेँ।"
तर न जुत्ता थियो, न दौड्ने ट्र्याक, न त सिकाउने गुरु नै। सुरुमा एक्लै दौडिइन्।
सन् २००५ मा सरकारी खेल होस्टलका लागि उनी चुनिइन्। पहिलो कोच चितरञ्जन महापात्राले उनलाई दौड सिकाउन थाले।
उनले २००७ मा पहिलो राष्ट्रिय पदक जितिन्। तर अन्तर्राष्ट्रिय पदक पाउन उनले २०१३ कुर्नुपर्यो।
हार्मोनको विवाद
सन् २०१४ को राष्ट्रमण्डल खेलमा उनको नाम अचानक हटाइयो। उनको शरीरमा पुरुषको हार्मोन्स धेरै पाइएको भनिएको थियो।
सन् २०१५ मा उनले कोर्ट अफ आर्बिट्रेशनमा अपील गरिन् र मुद्दा जितिन्।
त्यसले सन् २०१६ को रियो ओलम्पिकको तयारीमा पनि असर परिसकेको थियो।
"रियोको तयारीका लागि मसँग एक वर्ष थियो। मैले मेहनत गरेर छनोटमा परेँ।"
रियोमा उनले पदक जित्न सकिनन् तर त्यसपछि उनको प्रदर्शन राम्रो बन्दै गयो। सन् २०१७ को एशियन एथलेटिक्स च्याम्पियनशीपमा उनले दुई कास्य पदक जितिन्।
समलिङ्गी सम्बन्धबारे खुलासा
उनले सन् २०१९ मा आफू समलिङ्गी सम्बन्धमा रहेको खुलाइन्।
त्यसपछि उनले परिवार र गाउँको विरोध सामना गर्नुपर्यो तर उनले हार मानिनन्।
आज पनि उनी आफ्नी पार्टनरसँग बस्छिन्।
अब टोक्यो ओलम्पिकमाथि उनको नजर छ। उनले ओलिम्पिकमा पदक प्राप्त गर्ने अभिलाषा राखेकी छन्।
खेल जीवनबाट अवकाश लिएपछि बच्चाहरूका लागि एकेडेमी खोल्ने र राजनीति गरेर देशको सेवा गर्ने उनको योजना छ।
सन् २०१९ मा प्रतिष्ठित टाइम म्यागजीनको १०० नायकमा पनि उनी परेकी थिइन्।

तस्बिर स्रोत, Manasi Joshi/Twitter
मानसी जोशी
मानसी जोशी एक दिनमा ७ देखि ८ घण्टा तालिम गर्छिन्। हरेक दिन मध्यान्हमा आराम गर्छिन्।
शनिवार र आइतवार किताब पढेर या बगैँचामा काम गरेर बिताउँछिन्।
३० वर्षीया जोशी भारतीय प्यारा ब्याडमिन्टन खेलाडी हुन्। सन् २०१५ देखि प्यारा ब्याडमिन्टन खेलिरहेकी उनले सन् २०१९ मा विश्व च्याम्पियनशीप जितेकी थिइन्।
सन् २०११ मा एउटा दुर्घटनामा उनले एउटा खुट्टा गुमाइन्।
उनी भन्छिन् "ब्याडमिन्टन खेल र खेलस्थलमा गएकाले नै मलाई ठीक हुन मद्दत मिल्यो।"
छ वर्षको उमेरदेखि उनले ब्याडमिन्टन खेल्थिन्। खासमा उनी सफ्टवेयर इन्जिनियरिङ हुन्।
दुर्घटनापछि कार्यलयमा भएको प्रतिस्पर्धामा भाग लिएपछि उनलाई एक खुट्टाले पनि खेल्न सक्छु भन्ने लाग्यो।
"मानिसहरू मलाई खाली दुर्घटनाबारे सोध्छन् । मलाई वाक्क लागिसक्यो। मलाई त अब जुन कुरा मैले सिकेकी छु त्यसबारे सोध्नुपर्यो नि।"
उनले पहिलोपटक सन् २०१५ मा लण्डनमा भएको प्यारा ब्याडमिन्टन च्याम्पियनशीपमा मिक्स्ड डबलमा रजत पदक पाइन्।
सन् २०१६ र सन् २०१७ मा प्यारा ब्याडमिन्टन च्याम्पियनशीपमा कास्य पदक जितिन् र सन् २०१९ मा स्वर्ण जितिन्।

तस्बिर स्रोत, Getty Images
मेरी कोम
'बक्सिङमा मेरी कोम एकजना छिन् र एक नै रहने छिन्। दोस्रो मेरी कोम बनाउन मुश्किल छ।'
यो भनाइ निकै सुनिन्छ। उनी सात पटक विश्व च्याम्पियन बनिसकेकी छन्।
३७ वर्षीया उनीसँग विश्व ओलिम्पिकको कास्य पदक र एशियन एवम् राष्ट्रमण्डल खेलको स्वर्ण पदक छ।
उनले धेरैजसो पदक आमा बनेपछि जितेकी हुन्। सन् २००५ मा उनले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्।
उनले बीबीसीसँग भनिन् "प्रशिक्षक, समर्थक र परिवारले एक हदसम्म मात्र समर्थन गर्न सक्छन्। रिङमा त एक्लै परिन्छ। रिङमा नौ देखि १० महत्त्वपूर्ण मिनेटमा आफ्नो लडाइँ एक्लै लड्नुपर्छ।"
"म यो कुरा बारम्बार सोच्छु। नयाँ तरिका सिक्छु। म प्रतिद्वन्द्वीको खेल कस्तो छ, त्यो बुझ्छु र राम्ररी खेल्न प्रयत्न गर्छु।"
उनको बाल्यकाल चुनौतीपूर्ण थियो। परिवार असाध्यै गरिब थियो।
मुक्केबाजी कति सजिलो?
कोमले १५ वर्षको उमेरमा बक्सिङ सुरु गरिन्। उनी होची र कम तौलकी थिइन् त्यसैले उनलाई धेरैले हराइदिन्थे र उनको अनुहारमा अक्सर चोट लाग्थ्यो।
सन् २००० मा प्रान्तीय प्रतिस्पर्धामा जितेपछि उनले पछाडि फर्केर हेर्नु परेन।
उनले २००५ मा विवाह गरिन् र श्रीमानले घरमा बच्चा हेरिदिए पछि उनले मुक्केबाजीको तालिम गर्न थालिन्।
सन् २०१६ मा भारतीय राष्ट्रपतिले कोमलाई राज्य सभाको सदस्यमा मनोनित गरेका थिए।

तस्बिर स्रोत, Getty Images
पीभी सिन्धु
सन् १९९५ मा हैदराबादमा जन्मेकी सिन्धुले ओलम्पिकमा ब्याडमिन्टनको रजत पदक जितिसकेकी छन्।
बीबीसी उनीसँग कुरा गर्न पुग्दा करिब चार घण्टा कोर्टमा अभ्यास गर्दा एकपटक पनि सिन्धुको ध्यान भङ्ग भएन।
एकपटक पनि उनले आफ्नो फोन छोइनन्। लगातार अभ्यास गरिरहिन्। साथीभाइसँग ठट्टा भने चलिरह्यो।
विश्व च्याम्पियनशीप जितेकी उनलाई रातारात सफलता मिलेको भने होइन।
आठ वर्षको उमेरदेखि
"मैले आठ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेँ। मेरा आमाबाबु भलिबल खेलाडी हुन्।"
"मेरा बाबाले भलिबलमा अर्जुन पुरस्कार प्राप्त गरेका छन्। उनी रेलवे ग्राउन्डमा भलिबल खेल्न जाँदा नजिकै ब्याडमिन्टन कोर्ट थियो।"
"महबूब अली मेरा पहिलो कोच थिए र १० वर्षको उमेरमा म गोपीचन्द एकेडेमी आएँ। अहिलेसम्म यहीँ छु।"
सिन्धुले सन् २००९ मा जुनियर एशियन ब्याडमिन्टन च्याम्पियनशीपमा कास्य पदक जितिन्।
"रियो ओलम्पिक विशेष छ। म घाइते थिएँ, त्यसैले डर लागिरहेको थियो तर मेरा बाबुआमा र प्रशिक्षकले ढाडस दिए।"
"मैले रजत जितेँ। भारतमा गल्ली गल्लीमा मानिसहरू स्वागतका लागि बसेका थिए।"
सिन्धु भारतकी सबभन्दा सफल महिला खेलाडी मात्रै होइनन्, सबैभन्दा धेरै कमाउने खेलाडीका रूपमा पनि परिचित छिन्।
सन् २०१८ मा उनले खेलेर पाँच लाख डलर कमाइन् भने विज्ञापनबाट ८० लाख डलर कमाइन्।
सफलताको मन्त्रबारे उनी भन्छिन्, "चाहे जे होस सधैँ आफूमाथि विश्वास राख्नु। यो नै मेरो तागत हो । म अरूका लागि होइन, मेरै लागि खेलिरहेकी छु।"

तस्बिर स्रोत, Getty Images
विनेश फोगाट
सन् १९९४ को अगष्ट महिनामा हरियाणाको बलाली गाउँमा जन्मेकी फोगट कडा मेहनत, हिम्मत र हौसलाले सबभन्दा राम्रो पहलमानमा गनिएकी छन्।
"मेरा ठूलाबा एक पहलमान थिए। मेरा हजुरबा पनि पहलमान थिए। हामी बच्चै हुँदा ठूलाबाले घरका केटीहरूलाई पनि कुस्ती सिकाउने निश्चय गरे। म त्यसबेला छ वर्षकी मात्र थिएँ।"
गीता र बबिता महावीर फोगाटका छोरी थिए र विनेश भतिजी।
"२० साल पहिलाको हरियाणाको गाउँमा केटीहरूलाई कुश्ती सिकाउनेबारे सोच्न पनि गार्हो थियो।"
जब उनी १९ वर्षकी भइन् उनले राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक जितिन् ।
अरू खेलाडी जस्तै उनलाई पनि हार्न पटक्कै मन पर्दैन।

सन् २०१८ को एशियन गेम्समा स्वर्ण जित्ने पहिलो भारतीय महिला पहलमान बनिन्। विश्व च्याम्पियनशीपमा सन् २०१९ मा विनेशले कास्य पदक जितिन्।
सन् २०२० को सुरुमा उनले रोममा स्वर्ण पदक जितेकी छन्।
अब उनको दोस्रो पटक ओलिम्पिक खेल्ने र पदक जित्ने सपना छ।








