चुनावको बेला जाली नोट भिडाउने 'बढी खतरा', यसरी सकिन्छ बच्न

एक हजार र पाँच सयको नोटको नमुना

तस्बिर स्रोत, NRB

तस्बिरको क्याप्शन, हेरेर, छामेर तथा मेसीन प्रयोग गरेर नक्कली र सक्कली नोट ठम्याउन सकिने बताइएको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

निर्वाचनको समयमा अर्थतन्त्र चलायमान हुन्छ भन्ने गरिन्छ।

बेला खर्च बढ्ने मात्र नभई नगद कारोबार पनि ज्यादा हुने हुनाले 'जाली नोट' भिडाउने प्रवृत्तिबाट जोगिन आवश्यक भएको नेपाल राष्ट्रब्याङ्कले जनाएको छ। खास गरी १,००० र ५०० दरका नोटको कारोबार गर्दा सतर्क रहन केन्द्रीय ब्याङ्कले सचेत गराएको छ।

दल तथा उम्मेदवारहरू देशैभरि सक्रिय हुँदा कतिपय अवस्थामा 'पैसाको खोलो" बग्ने गरेको विगतको अनुभवका आधारमा पनि मानिसहरू चनाखो हुनु पर्ने ठानिन्छ।

चुनावको बेला कस्तो जोखिम

जाली नोटका कारोबारीहरूले चुनावको समयलाई मौकाका रूपमा दुरुपयोग गर्ने जोखिम रहेको केन्द्रीय ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बताएका छन्।

"चुनावका समयमा नगदको कारोबार बढ्ने गर्छ। नगदको ओसारपसार हुन्छन्। यही बेला जाली नोट चलाउनेहरूले अवसर देखिरहेका हुन्छन्। त्यसैले यो बेला अलि सजग हुन आवश्यक छ," पौडेलले बीबीसीलाई बताए।

जाली नोटका कारोबारीहरूले चुनावको समयमा ठूला दरका नोटहरू बजारमा धेरै आउने हुनाले मौका छोप्ने गरेको उनले बताए।

राष्ट्रब्याङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री निर्वाचन अघिपछिको समयमा जाली नोटको चल्ती ज्यादा हुनुको पछाडि केही कारण रहेको बताउँछन्। "यो समयमा राज्यको ध्यान अन्यत्रै केन्द्रीत हुन्छ। चुनावको चटारोमा सरकार लागिरहेको बेला अपराधीहरूले मौका छोप्छन्," उनले भने।

"एकैचोटि धेरै फाइदा गर्न सकिने हुनाले त्यस्ता कारोबारीको जोड ५०० र १,००० रुपैयाँका नोटमा हुने गर्छ। यदाकदा १०० को नक्कली नोट पनि फेला परेका छन्।"

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले अहिलेको समयमा प्रहरीलाई नक्कली नोटबारे पनि विशेष चनाखो रहन परिपत्र गरिएको बीबीसीलाई बताएका छन्।

जाली नोटको समस्या कति विकराल

पैसा र हतकडी लगाएको चित्र
तस्बिरको क्याप्शन, जाली नोट बजारमा आउन थाल्यो भने त्यसले अर्थतन्त्र डामाडोल हुन सक्ने चेतानवी केन्द्रीय ब्याङ्कले दिएको छ

राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेल जाली नोट एउटा मात्रै भेटिए पनि त्यसको नियन्त्रण गरिहाल्नुपर्ने बताउँछन्।

"सङ्ख्यागत रूपमा हेर्ने हो भने जाली नोट नगण्य नै हुन्छन्। तथापि एउटै नोट भेटियो भने पनि त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्छ। त्यसो गर्दा त्यस्तो नोट बनाउने गिरोहसम्म पुग्न सकिन्छ," उनले भने।

हाल बजारमा करिब ७८० अर्ब रुपैयाँ बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा एक प्रतिशतभन्दा पनि निकै कम परिमाणमा जाली नोट रहेको हुन सक्ने उनको अनुमान छ।

नेपाल प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ भरिमा सात करोड ५१ लाख ९९ हजार ९२२ रुपैयाँको जाली नोट बरामद गरेको उसको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

नेपालमा भेटिने जाली नोट धेरैजसो सीमापारि भारतबाटै कारोबारीहरूले भित्र्याउने गरेको पाइएको पूर्वगभर्नर क्षेत्री बताउँछन्।

"यो धेरै ठूलो समस्या भइसकेको त छैन तर सीमापारिबाटै यस्तो गतिविधि हुने गरेको देखिएको छ। किनभने यसका लागि चाहिने प्रविधि आदि उतै हुन्छ र यहाँका कारोबारी चाहिँ मतियार हुन्छन्। गड्डीका गड्डी सक्कली नोटको बीचमा मिसाइदिने पनि हुन सक्छ," उनले भने।

जाली नोट चलनचल्तीमा आउन थाल्यो भने त्यसले अर्थतन्त्रलाई नै डामाडोल बनाइदिन सक्ने खतरा अधिकारीहरू औँल्याउँछन्।

"जाली नोटले सक्कली नोटहरूलाई चलनचल्तीबाट विस्थापित गर्न सक्छन्। तिनको बिगबिगी भयो भने अर्थतन्त्र नै डामाडोल हुन्छ। एक किसिमले भन्ने हो भने जाली नोट अर्थतन्त्रका लागि घातक नै हो," राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलले भने।

जाली नोटका कारण थाहा नपाउँदा नपाउँदै मुद्रास्फीति वा महँगीको दर ह्वात्तै बढ्ने पूर्वगभर्नर क्षेत्रीले बताए।

"अर्को खतरा भनेको यसले विश्वसनीयता नै घट्छ। त्यो विश्वसनीयता देशभित्र र देशबाहिर दुवैतिर घट्छ," क्षेत्रीले भने।

कसरी चिन्ने जाली नोट?

नेपाली नोटहरू विदेशमै मुद्रण गरिन्छन् र अधिकारीहरूका अनुसार तिनमा विशेष प्रकारका सुरक्षा उपायहरू अपनाइएका हुन्छन्।

कुनै नोट सक्कली हो कि नक्कली भनेर थाहा पाउन तीन प्रकारका विधि भएको प्रवक्ता पौडेलले बताए।

"हेरेर, छामेर, कोल्ट्याएर हेर्दा वा पराबैजनी प्रकाशमा राखेर त्यो छुट्ट्याउन सकिन्छ," उनले भने।

नोट छाम्दा साधारण कागज जस्तो चिप्लो लागेमा, नोटको रङ्ग फिक्का जस्तो लागेमा वा सुरक्षण धागो रङ्गले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा इम्बोस्ड अर्थात् उठ्नुपर्ने भाग चिप्लो र सम्म भएको जस्तो लागेमा "हेरेर, छामेर र ढल्काएर" थप परीक्षण गर्नुपर्ने राष्ट्र ब्याङ्कले सजग गराएको छ।

त्यस्ता शङ्कास्पद नोट भेटिएमा प्रहरी, राष्ट्रब्याङ्क वा ब्याङ्क तथा वित्तीय संस्थालाई जानकारी गराउन पौडेलले अनुरोध गरे।

एक हजार र पाँच सय दरका सक्कली नोटमा रहने विशेषताबारे राष्ट्र ब्याङ्कले बताएको छ।

रु १,००० को नोट

  • हेरेर थाहा हुने: नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँस र 1000 को पानी छाप देखिन्छ। साथै, नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रु १००० (सी थ्रू रजिस्टर) बनेको देखिन्छ।
  • छामेर थाहा हुने: कटन मिसिएको कागजमा छापिने हुँदा नोट केही खस्रो हुन्छ र प्रिन्ट गरिएका भाग छाम्दा केही उठेको महसुस हुन्छ। दृष्टिविहीनहरूका निम्ति नोट पहिचान सहजताका लागि अङ्ग्रेजी वर्ण M हुन्छ, त्यो छाम्दा उठेको महसुस हुन्छ।
  • ढल्काएर थाहा हुने: नोट ढल्काएर हेर्दा सुरक्षण धागो चलेको जस्तो देखिन्छ। त्यसरी हेर्दा नोटमा रहेको भगवतीको आकृति चाँदी रङ्गको देखिन्छ।
  • मशीनबाट थाहा हुने: पराबैजनी वा यूभी प्रकाशमा सगरमाथाको आकृति एवं गभर्नरको सही र नोटका नम्बरहरू टल्किन्छन्।

रु ५०० को नोट

  • हेरेर थाहा हुने: नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँस पानी छाप देखिन्छ। साथै, नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण NRB (सी थ्रू रजिस्टर) बनेको देखिन्छ। नोटमा बुनिएको सुरक्षण धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिन्छ र उक्त धागोमा NRB 500 र बाघको आकृति देखिन्छ।
  • छामेर थाहा हुने: नोट केही खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरूमा छाम्दा केही उठेको महसुस हुन्छ। दृष्टिविहीनहरूका निम्ति नोट पहिचान सहजताका लागि दुईवटा थोप्ला हुन्छन्, तिनमा छाम्दा उठेको महसुस हुन्छ।
  • ढल्काएर थाहा हुने: नोट ढल्काएर हेर्दा सुरक्षण धागोको रङ्ग परिवर्तन (रातोबाट हरियो) हुन्छ। नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको कुबेरको रङ्ग परिवर्तन (सुनौलोबाट हरियो) हुन्छ।
  • मशीनबाट थाहा हुने: पराबैजनी वा यूभी प्रकाशमा सगरमाथाको आकृति एवं गभर्नरको सही र नोटका नम्बरहरू टल्किन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।