गाजामा युद्ध 'उत्कर्षमा', फेरि लडाइँ रोकिने सम्भावना कस्तो

खान यूनिसमा आफन्तको अन्तिम संस्कारमा बिलौना गर्दै एक प्यालेस्टिनी बालक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली सेनाले अहिले गाजाको दक्षिणी भेगमा अवस्थित खान यूनिस सहरमा आक्रमण सघन पारेको छ

इजरेलले गाजामा बम आक्रमण गरिरहेकाले फेरि सङ्घर्षविराम गर्नका लागि समय घर्किँदै गएको कतारका प्रधानमन्त्रीले बताएका छन्।

दोहा फोरममा बोल्दै शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीले कतारले दुवै पक्षलाई लडाइँ रोक्न दबाव दिइराख्ने बताए।

कतारले दुवै पक्षबीच नोभेम्बर महिनाको अन्तिम साता सङ्घर्षविराम गराउन मध्यस्थता गरेको थियो। एक साताका लागि लडाइँ रोकिँदा दर्जनौँ बन्धकहरू मुक्त भएका थिए।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले "युद्ध उत्कर्षमा पुगेको" टिप्पणी आइतवार गरेका छन्।

हमासका लडाकुलाई "आतङ्ककारी" को सङ्ज्ञा दिँदै उनले केही दिनयता दर्जनौँ लडाकुहरूले आत्मसमर्पण गरेको र इजरेलका "वीर योद्धाहरूसमक्ष हतियार बिसाएको" दाबी गरे।

गाजाको खान यूनिसमा इजरेली हवाई आक्रमणका कारण भत्किएको घर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलले सर्वसाधारण प्यालेस्टिनीलाई मध्य खान यूनिसबाट अन्यत्र जान भनेको छ

"यो हमासको अन्त्यको थालनी हो," उनले भने।

उनको यस्तो टिप्पणी गाजामा मानवीय सङ्कट झन् गहिरिँदै जाँदा आएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य निकायले लडाइँ सुरु भएयता झन्डै १८,००० प्यालेस्टिनीको मृत्यु भएको जानकारी आइतवार अपराह्ण दिएको छ।

हमास के भन्छ

अल जजीरालाई एउटा श्रव्यसन्देश पठाउँदै हमासको सैन्य विभागले यसअघि भएको अस्थायी युद्धविरामले आफ्नो "औचित्य पुष्टि गरिसकेको" र इजरेल वार्तामा नआएसम्म अरू बन्धकलाई मुक्त नगरिने जनाउ दिएको छ।

उक्त सन्देशमा हमासका प्रवक्ता अबु उबैदाले इजरेलका १८० वटा सैन्य सवारीसाधन हमासका लडाकुहरूले ध्वस्त पारेको वा आंशिक रूपमा बिगारिदिएको र "ठूलो सङ्ख्यामा" इजरेली सैनिकहरूको ज्यान दिएको दाबी गरेका छन्।

हमासले अझै इजरेललाई ठूलो क्षति पुर्‍याइरहेको दाबी गर्दै उनले "अब हुने कुरा अझै ठूलो हुने" चेतावनी उनले दिए।

राष्ट्रसङ्घ के भन्छ

दोहामा आयोजित सम्मेलनमा बोल्दै प्यालेस्टिनी शरणार्थीसँग सम्बन्धित मामिला हेर्ने राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाज्जरिनीले गाजा क्षेत्र "पृथ्वीको नरक" बनेको र त्यहाँको अवस्था "आफूले देखेको सबैभन्दा खराब" रहेको बताए।

सोही कार्यक्रममा बोल्दै प्यालेस्टिनी प्रधानमन्त्री मुहम्मद उश्टाइयाले इजरेललाई "अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गरिरहन दिनु नहुने" भन्दै ‍इजरेलविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन आह्वान गरे।

उश्टाइया प्यालेस्टिनी प्रशासनका प्रतिनिधि हुन्। प्यालेस्टिनी प्रशासनले वेस्ट ब्याङ्कमा शासन गर्छ भने हमासको सरकार गाजामा केन्द्रित छ।

दोहामा सम्मेलन भइरहँदा गाजाको दक्षिणी भेगमा लडाइँ चर्किएको थियो।

खान यूनिसका बासिन्दालाई लडाइँबाट जोगिन सहरको मध्य भागबाट बाहिर जान भनिएको थियो। उक्त स्थानमा इजरेलले सघन हवाई आक्रमण गरिरहेको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आइतवार इजरेलको संसद्‌मा बोल्दै बेन्जमिन नेतन्याहूले अन्तर्राष्ट्रिय साझेदारहरू अस्थिर बनेको आरोप लगाए

बीबीसी न्यूजसँग कुरा गर्दै इजरेल सरकारका वरिष्ठ सल्लाहकार मार्क रेगेभले खान यूनिसको लडाइँ "कठिन" हुने भन्दै सर्वसाधारण मानिसलाई "सुरक्षित स्थान"तिर जान आग्रह गरे।

उक्त सहरको मध्य भागमा आइतवार इजरेली ट्याङ्कहरू पुगेका थिए।

उक्त सहरमा अहिले मानिसहरूलाई सङ्घर्षमा मारिएका आफन्तको शव खोज्दै र शोक मनाउँदै गरेको देखिन्छ।

गाजा स्ट्रिप

गाजामा कहाँ छ सुरक्षित स्थान?

इजरेलले कस्तो स्थानलाई सुरक्षित भनेको हो भन्ने प्रश्नमा रेगेभले आफ्नो देशले सर्वसाधारणको जीवन जोगाउन अधिकतम प्रयास गरेको दाबी गरे।

यसअघि गाजावासीलाई अल-मवासीस्थित "सुरक्षित स्थान" तिर जान भनिएको थियो। उक्त स्थानको क्षेत्रफल ८.५ वर्गकिलोमिटर छ।

सो क्षेत्रमा केही भवनहरू भए पनि अधिकांश भागमा बलौटे जमिन र खेतीपाती गर्ने ठाउँ छ।

इजरेलको आपत्ति

इजरेलले अन्तर्राष्ट्रिय कूटनीतिबारे प्रतिक्रिया व्यक्त गरेको छ। उसले आफ्ना साझेदारहरूको व्यवहार अस्थिर भएको आरोप लगाएको छ।

"तपाईँहरू एकातिर हमासको विनाशलाई समर्थन गर्ने तर अर्कोतिर हमासको विनाश रोक्ने गरी हामीलाई युद्ध टुङ्ग्याउन दबाव दिन पाउनुहुन्न," इजरेली मन्त्रिपरिषद्‌को बैठकमा बोल्दै प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले भने।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा १२ सदस्यराष्ट्रले तत्काल युद्धविराम गर्न आह्वान गर्दै ल्याइएको प्रस्तावलाई समर्थन गरेको दुई दिनपछि इजरेलले त्यसप्रति सङ्केत गर्दै प्रतिक्रिया व्यक्त गरेको हो। संयुक्त राज्य अमेरिकाले उक्त प्रस्तावविरुद्ध भीटो प्रयोग गरेको थियो भने यूके मतदानमा अनुपस्थित रहेको थियो।

यूएनआरडब्ल्यूएका प्रमुख लाज्जरिनीले इजरेलमाथि गाजावासीलाई बलपूर्वक बाहिर निकाल्न र इजिप्टतिर पठाउन खोजेको भन्ने आरोपको इजरेलले खण्डन गरेको छ। इजरेली सञ्चारमाध्यमहरूले उक्त आरोपबारे समाचार प्रकाशित गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।