'गाजामा मानिसहरू विक्षिप्त र थकित अवस्थामा छन्'

अदनान एल-बुर्स
    • Author, अदनान एल-बुर्स
    • Role, बीबीसी अरेबीक, खान यूनिस

गाजाको खान यूनिस सहरको नासेर अस्पतालबाहिर जिन्स र चप्पलमा युवाहरूको ठूलो भीड जम्मा भएको छ। झट्ट हेर्दा ती कसैको अन्त्येष्टिमा सहभागी हुन आएजस्तो देखिन्छ।

इजरेलले दक्षिणी गाजामा आक्रमणलाई तीव्र बनाए यता यहाँ सयौँ मानिस मारिएका छन् र हजारौँ घाइते भएका छन्।

अस्पतालबाहिर उभिएका मानिसहरू मौन छन्। अस्पताल बाहिर र त्यसको आपत्कालीन विभागमा तनाव महसुस गर्न सकिन्छ।

स्वास्थ्यकर्मीहरू हताहत हुने अवस्थाका लागि पहिल्यै मनस्थिति बनाएर बसेका छन्। जब आवाज आउँछ मानिसहरू एकै ठाउँ जम्मा हुन्छन्।

तर अहिले यहाँको सार्वजनिक संयन्त्र काम नगर्ने अवस्थामा छ। मानिसहरू स्तब्ध र थकित अवस्थामा छन्।

अस्पतालबाहिर साइरन र बत्ती चम्किरहेको कार रोकिन्छ। घाइते युवकलाई बाहिर निकालेर स्ट्रेचरमा राखिन्छ र उनलाई तुरुन्तै अस्पतालभित्र लगिन्छ।

केही मिनेटपछि धुलोले ढाकिएको अर्को कार यहाँ आइपुग्छ। त्यसबाट एउटा बच्चा निकालिन्छ। चार–पाँच वर्षको यी बच्चा मात्र हिँड्न सक्ने अवस्थामा छन्।

अस्पतालको कोलाहल

गाजा

भोलिपल्ट सहरको सामा इल्वानमा छ जना सन्तानकी एक आमाले मद्दतको लागि बिन्ती भाउ गरिरहेको देखिन्छ।

उनी भन्छिन्, "म सारा संसार र अरब विश्वलाई भन्न चाहन्छु। म विश्वलाई बताउन चाहन्छु कि हामी निर्दोष हौँ। हामीले केही गलत गरेका छैनौँ।"

दुई वटा खाली पानीका बोतल हल्लाउँदै उनले आफ्ना पाँचजना छोरी र एक छोरा तिर्खाएको बताउँछिन्।

"हाम्रो जीवन कुकुर र बिरालाको जस्तै भएको छ। सायद बिरालो र कुकुरले पनि कतै बास पाउन सक्छन्। तर हामीसँग टाउको लुकाउने ठाउँ छैन। हामी सडकमा भौँतारिरहेका छौँ," उनी भन्छिन्।

गाजा

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरेली सीमामा प्रवेश गरी आक्रमण गरेका थिए। त्यसयता गाजामा बसोबास गर्ने मानिसहरूको जीवन बरबाद भएको छ।

हमासको उक्त आक्रमणमा करिब १,२०० इजरेली नागरिक मारिएका थिए।

अमेरिका, ब्रिटेन र युरोपेली सङ्घ ईयूले अतिवादी सङ्गठन मान्ने हमासका लडाकुहरूले करिब २४० जनालाई बन्धक बनाएका थिए। 

तीमध्ये धेरै मानिसहरू विगतमा दुवै पक्षबाट रिहा समेत भए।

इजरेलले गाजामा एक साताभर भारी बमबारी गरेपछि उसले उत्तरी गाजामा स्थल सैन्य अभियान सुरु गर्‍यो।

गाजा

गाजाको हमासनियन्त्रित स्वास्थ्य मन्त्रालयले डिसेम्बर ७ यता इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ हजार नाघेको जनाएको छ।

हालै हमास र इजरेलबीच भएको सात दिनको अस्थायी युद्धविरामपछि हमासले प्यालेस्टिनी बन्दीहरूको सट्टामा केही बन्धकहरूलाई रिहा गरेको थियो।

तर त्यसपछि इजरेलले गाजामा युद्धविरामको सर्त उल्लङ्घन गरेको भन्दै आक्रमण गर्न थाल्यो। गत सातादेखि इजरेलले गाजाको दक्षिणी भागमा हवाई आक्रमण तीव्र पारेको छ।

इजरेली ट्याङ्क र सेना हाल खान यूनिस सहरमा प्रवेश गरेका छन्। हवाई हमलासँगै यहाँ जमिन आक्रमण पनि बढेको छ ।

फेरि युद्ध सुरु भएको छ। म खान यूनिसमा एक्लै छु जबकि मेरो परिवार मध्यगाजामा छ।

केही दिन अगाडिसम्म यो ओभी भ्यानका लागि निकै सुरक्षित ठाउँ थियो र यहाँ राम्रो सङ्केत पनि आइरहेको थियो ।

एक पत्रकारको रूपमा मैले आफ्नो कामप्रति सधैँ गर्व गरेको छु। तर मेरा विकल्पहरू निकै छिटोछिटो कम हुँदैछन्, र मृत्यु लगातार मेरो नजिक आउँदैछ।

म मेरो परिवारलाई भेट्न केही दिनमा मध्य गाजा जान्थेँ। 

तर अब इजरेली सैनिकहरूले त्यहाँ जाने बाटो बन्द गरिदिएका छन्। त्यहाँ पुग्न अर्को बाटो छ तर त्यो निकै जोखिमपूर्ण बनेको छ।

'कसैलाई यस्तो नहोस्'

गाजा

तस्बिर स्रोत, Reuters

म उत्तरी गाजाको बासिन्दा हुँ। इजरेली सेना उत्तरतर्फको गाजा सहरमा प्रवेश गर्नुअघि मानिसहरूलाई दक्षिणतिर जान आदेश दिँदै दक्षिणी गाजालाई 'सुरक्षित स्थान' भनिएको थियो।

त्यसबेला म आफ्नो परिवारलाई लिएर दक्षिण गाजातिर लागेँ।

अब इजरेलले खान यूनिसमा जमिनबाट भयानक कारबाही अभियान गर्ने चेतावनी दिएको छ। 

उनीहरूले अब हामीलाई थप दक्षिणतर्फ अर्थात् इजिप्टको सिमाना नजिकै रफाहतर्फ जानुपर्ने भनिरहेका छन्।

युद्ध सुरु भएदेखि म र मेरो परिवारमा भएका सबै कुराको बाबजुद पहिलो पटक म पूर्ण रूपमा निराश महसुस गर्दैछु। मेरो इच्छाशक्ति र संयम तोडिएको छ।

परिवारलाई योजनाबद्ध रूपमा सुरक्षित बनाएर राख्ने मेरो बानी छ। तर अहिले म आफैं दुबिधासँग लडिरहेको छु र टुटेको छु।

मेरो दिमागमा प्रश्नहरू उठिरहेका छन्: के मैले काम जारी राख्ने गरी रफाहतर्फ जाने र मेरो परिवार ठिक छ भनी आशा गर्न मिल्छ? के मैले आफ्नो रिपोर्टिङ बन्द गरेर परिवारलाई भेट्ने प्रयास गर्नुपर्छ? केही नराम्रो भयो भने कम्तीमा हामी सँगै मर्न सक्छौँ भन्ने आशा त गर्न सकिन्छ।

मेरो आशा छ कसैले पनि यस्तो भयानक अवस्थाको सामना गर्नु नपरोस् जहाँबाट बाहिर निस्कने बाटो छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।