बन्धक मुक्त नभए मार्चमा रफाहमा आक्रमण गर्ने इजरेलको चेतावनी

इजरेलले आक्रमण गरेर क्षति पुगेको एउटा भवनबाहिर एक प्यालेस्टिनी महिला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता २८,४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ

युद्धसम्बन्धी मामिला हेर्ने इजरेली मन्त्री बेनी गान्ट्सले हमासलाई मार्च १० सम्म सबै बन्धकलाई मुक्त गर्न चेतावनी दिएका छन्। नत्र इजरेली सेनाले रफाह सहरमा आक्रमण गर्ने उनले बताएका छन्।

इजरेली सेना उक्त सहरमा प्रवेश गर्न सक्ने सम्भावित मिति खुलाइएको यो पहिलो पटक हो।

गाजाको सबैभन्दा दक्षिणमा पर्ने उक्त सहरमा झन्डै १५ लाख प्यालेस्टिनीहरू शरण लिएर बसेका छन्।

उक्त सहरमा हुन सक्ने सम्भावित हमलाको विश्वभरिबाट विरोध भइरहेको छ।

अस्पताल बन्द

रफाहस्थित अस्पतालमा लगिँदै गरेका घाइते

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रफाहस्थित अस्पतालमा लगिँदै गरेका घाइते

यसअघि संयुक्त राष्ट्रसङ्घको जनस्वास्थ्यसम्बन्धी निकायले इजरेली आक्रमणले गर्दा गाजाको एउटा प्रमुख अस्पताल बन्द भएको बताएको थियो।

विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यू एचओ)ले आफूलाई रफाहको उत्तरी क्षेत्र खान यूनिसमा रहेको नासेर अस्पतालमा अवस्था बुझ्न प्रवेश गर्न नदिइएको बताएको थियो।

त्यहाँ हमासले केही बन्दी राखेको जानकारी प्राप्त भएको भन्दै इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) बिहीवार अस्पताल परिसरमा प्रवेश गरेको थियो।

आईडीएफले भने नासेरमा "सटिक र सीमित' कारबाही गरिएको र हमासले जानाजानी "आतङ्क मच्चाउन" अस्पतालहरूको प्रयोग गरिरहेको बताएको छ।

रमजानसम्मको म्याद

रफाहमा लाखौँ शरणार्थीहरू बसिरहेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रफाहमा लाखौँ शरणार्थीहरू बसिरहेका छन्

"संसार र हमासका नेताहरूले थाहा पाउनुपर्छ - यदि रमजानसम्ममा बन्धकहरूलाई छाडिएन भने रफाहसहित सबै स्थानमा लडाइँ हुन्छ," पहिला रक्षा मन्त्रालयको नेतृत्व गरेका मन्त्री गान्ट्सले आइतवार भने।

इस्लामिक धर्मावलम्बीहरूको पवित्र रमजान महिना यो वर्ष मार्च १० बाट सुरु हुँदै छ।

यद्यपि ग्यान्ट्जले "जीवनको क्षति कम गर्न अमेरिकी तथा इजिप्टेली साझेदारहरूसँग समन्वय गरी सर्वसाधारणहरूलाई सुरक्षित रूपमा (रफाहबाट) बाहिर निकालिने" आश्वासन दिए।

इजरेलको युद्ध मन्त्रिपरिषद्‌मा देशका शीर्षस्थ सुरक्षा अधिकारीहरू छन्।

गत अक्टोबर ७ मा हमासले इजरेलमा आक्रमण गरि १,२०० व्यक्ति मारेको र २५३ जनालाई बन्धक बनाएको केही दिनपछि उक्त मन्त्रिपरिषद्‌ गठन भएको थियो।

इजरेलका अनुसार बन्धक बनाएका २०० जनाभन्दा बढीमध्ये १३० जना अझै हमासको कब्जामा छन्।

गान्ट्सले इजिप्टको नाम लिएको हुनाले आक्रमण सुरु भएको अवस्थामा इजरेलले प्यालेस्टिनीहरू गाजा स्ट्रिपबाट आश्रय लिन सीमापारि इजिप्टतिर जाने अपेक्षा गरिएको बीबीसीका कूटनीतिक संवाददाता पोल एडम्सले बताए। इजिप्टले गाजासँगको आफ्नो सीमानजिक त्यही प्रयोजनका लागि ठूलो पर्खाल बनाउँदै गरे जस्तो देखिन्छ।

"तर सर्वसाधारण मानिसलाई सुरक्षित रूपमा अन्यत्र सार्ने योजनाबारे इजरेली अधिकारीहरूले विस्तारमा बताएका छैनन्," एडम्सले जानकारी दिए।

रमजान सुरु हुन तीन साता बाँकी रहेको बेला रफाहका केही बासिन्दाहरू सहर छाडेर पश्चिममा समुद्री तटतिर जान थालेको जानकारी आएको छ। तर अन्योलमा परेका अधिकांश रफाहवासी अझै सहरमै छन्।

रफाहको नक्सा

अन्तर्राष्ट्रिय प्रतिक्रिया

रफाहमा सैन्य कारबाही नगर्न अन्तर्राष्ट्रिय दबाव परेको भए पनि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमासका लडाकु हटाउन रफाहमा स्थल आक्रमण गर्ने उद्घोष गरेका छन्।

इजिप्ट तथा अन्य केही अरब राष्ट्रहरूले इजरेललाई रफाहमा आक्रमण नगर्न चेतावनी दिँदै आएका छन्।इजरेली आक्रमणका कारण प्यालेस्टिनीहरू इजिप्टतिर विस्थापित हुने र त्यो आफूहरूलाई कदापि स्वीकार्य नहुने उनीहरूको भनाइ छ।

साउदी अरबले रफाहमा हमलाले "गम्भीर परिणाम" निम्त्याउने बताएको छ।

प्यालेस्टिनीहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले धेरै पटक रफाहमा हमला नगर्न इजरेललाई आग्रह गरेको छ।

अक्टोबर ७ पछि इजरेलले हमासविरुद्ध सुरु गरेको सैन्य कारबाहीका कारण गाजा स्ट्रिपको ठूलो भाग ध्वस्त भएको छ।

गाजा

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता २८,४०० जना भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गएको छ। मृतकमध्ये अधिकांश महिला र बालबालिकाहरू छन्।

घाइते हुनेको सङ्ख्या ६८,००० नाघेको बताइएको छ।

विगत २४ घण्टामा मात्र १२७ प्यालेस्टिनीले ज्यान गुमाएको र २०५ जना घाइते भएको उक्त मन्त्रालयले जनाएको छ।

गाजामा लडाइँ जारी रहे पनि इजिप्टको राजधानी कायरोमा केही दिनदेखि इजरेल र हमासबीच युद्धविराम गराउन प्रयासमा वार्ता भइरहेको छ।

यद्यपि कतारी मध्यस्थकर्ताहरूले प्रगति "आशाजनक नरहेको" बताएका छन्।

प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडनको आग्रहमा सुरुमा वार्ता टोली पठाएको तर हमासका मागहरू "कल्पनामा आधारित" भएकाले उक्त टोली थप छलफल गर्न नगएको बताए।

हमासले भने युद्धविराममा सहमति हुन नसकेकोमा इजरेललाई दोष दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।