रफाहः लाखौँ प्यालेस्टिनीले आश्रय लिएको ठाउँमा इजरेलले आक्रमण गर्ने त्रास

रफाह

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गाजा स्ट्रिपको उत्तरी भागमा अवस्थित रफाहमा अहिले १५ लाख प्यालेस्टिनीहरू बस्छन्

गाजाको दक्षिणी सहर रफाहमा यदि इजरेलले ठूलो सैन्य कारबाही गरेमा त्यहाँ भयावह अवस्था उत्पन्न हुने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासविरुद्ध सैन्य कारबाही बढाउनुअघि रफाहबाट सर्वसाधारण मानिसलाई अन्यत्र सार्न आदेश दिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले फेब्रुअरी ११ मा रफाह सहरमा रातभरि हवाई आक्रमण गर्दा कम्तीमा ६७ जनाको मृत्यु भएको छ।

हमासले बन्धक बनाएर राखेका दुई इजरेली नागरिकलाई रफाहबाट मुक्त गर्न छापा मार्दा "सैन्य विमान परिचालन र हवाई आक्रमण" गरिएको इजरेलले जनाएको छ।

इजरेलले रफाह हमासका लडाकुहरूको प्रभाव बाँकी रहेको अन्तिम क्षेत्र भएको दाबी गरेको छ।

तर संयुक्त राष्ट्रसङ्घले गाजाको आधाभन्दा बढी जनसङ्ख्या भागेर आश्रय लिन त्यहाँ पुगेको र उक्त सहर सहायताकार्यको मुख्य केन्द्र रहेको जनाएको छ।

रफाहमा आक्रमण नगर्न अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिइरहँदा हामीले उक्त सहर, त्यहाँ आश्रय लिइरहेका मानिस र त्यसको इतिहासलाई हेर्ने प्रयास गरेका छौँ। 

रफाह कहाँ छ?

रफाहको नक्सा

रफाह सहर गाजाको सबैभन्दा दक्षिणमा छ।

रफाह प्रशासनिक क्षेत्रको सीमा इजिप्ट र इजरेलसँग जोडिएको छ। रफाह सहर गाजा र इजिप्टको सीमामा पर्छ।

अहिले त्यहाँ झन्डै १५ लाख प्यालेस्टिनी बसिरहेको अनुमान गरिएको छ। त्यहो सङ्ख्या गाजा स्ट्रिपमा इजरेलले आक्रमण गर्नुभन्दा अघिको भन्दा झन्डै पाँच गुना बढी हो।

रफाह क्षेत्र झन्डै ६० वर्ग किलोमिटरमा फैलिएको छ। अर्थात् त्यो न्यूयोर्कको म्यान्हटन सहरजत्रै छ।

गाजा स्ट्रिप र इजिप्टबीच रहेको एउटा मात्र सीमानाका रफाहमै छ।

उक्त नाका दशकौँदेखि गाजामा सहायता पुर्‍याउन प्रयोग गरिँदै आएको छ। युद्धअघि दिनहुँजसो सयौँ ट्रक रफाह नाका हुँदै गाजातिर जान्थे।

विगतमा उक्त सीमामुनि तस्करी गर्न प्रयोग हुने दर्जनौँ सुरुङ थिए। इजरेल र इजिप्टको नाकाबन्दीका बेला ती सुरुङमार्फत् गाजातिर सामान तस्करी गरिन्थ्यो।

त्यसैले व्यापार र अर्थतन्त्रका हिसाबले रफाह महत्त्वपूर्ण ठाउँ बन्यो।

अझै त्यस्ता कति सुरुङ छन् भन्ने स्पष्ट नभए पनि इजिप्टको सेनाले केही वर्षयता आफूले तस्करीलाई निस्तेज र सुरुङहरू ध्वस्त पारिदिएको दाबी गरेको छ।

रफाहमा लाखौँ शरणार्थीहरू बसिरहेका छन्

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, रफाहमा लाखौँ शरणार्थीहरू बसिरहेका छन्

रफाहको इतिहास

सन् १९७५ मा रफाहस्थित पुरानो अरब बजारमा प्यालेस्टिनी शरणार्थीहरूले थापेको पसल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९७५ मा रफाहस्थित पुरानो अरब बजारमा प्यालेस्टिनी शरणार्थीहरूले थापेको पसल

रफाह गाजाका प्राचीन ऐतिहासिक सहरमध्ये पर्छ। विभिन्न कालखण्डमा इजिप्टका फेरो, मेसोपोटामियाका असिरिअन, ग्रीक र रोमनहरूले पनि उक्त सहरलाई पराजित गरेका थिए।

सन् १९१७ देखि इजरेल राज्य घोषणा भएको सन् १९४८ सम्ममा रफाहमा ब्रिटिश शासन थियो।

त्यसपछि अरब देशहरूसँग एउटा युद्ध भयो। युद्ध सकिएपछि रफाहलाई बाँकी गाजा स्ट्रिपसहित इजिप्टले आफ्नो नियन्त्रणमा राख्यो।

त्यसपछि सन् १९६७ मा भएको 'छदिने युद्ध' मा इजरेलले उक्त सहरलाई आफ्नो नियन्त्रणमा लियो। इजरेलले त्यस बेला गाजा र इजिप्टको सिनाई प्रायःद्वीपमा पनि आफ्नो नियन्त्रण कायम गर्‍यो। उसले वेस्ट ब्याङ्क, गोलान हाइट्स र ईस्ट जेरुसलेम पनि कब्जामा लियो।

त्यसपछि सन् १९७९ मा इजिप्ट र इजरेल शान्ति सम्झौता गर्न तयार भए। उक्त सम्झौताअन्तर्गत सिनाई इजिप्टलाई फिर्ता दिइयो।

रफाहको विभाजन गरियो। केही भाग इजिप्ट र केही भाग इजरेल अधीनस्थ गाजामा गाभिए। रफाह सहरको बीचमा काँडे तार राखियो, परिवारहरू विभाजित भए।

गाजाका अन्य कैयौँ भूभागजस्तै रफाह पनि हजारौँ प्यालेस्टिनी शरणार्थी बस्ने ठाउँ हो। त्यहाँ सन् १९४८ को युद्धमा आफ्नो थातथलोबाट विस्थापित भएका मानिस र तिनका सन्तति बस्दै आएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रफाहमा विस्थापित प्यालेस्टिनीको प्रश्न : 'हामी कहाँ जाने?'

रफाहमा अहिलेको अवस्था कस्तो छ?

संयुक्त राष्ट्रसङ्घले गाजाको आधाभन्दा बढी जनसङ्ख्या रफाहमा जम्मा भएको जनाएको छ।

राष्ट्रसङ्घीय सहायता संयोजक मार्टिन ग्रिफिथ्सले त्यहाँको बसोबासको अवस्थालाई "दयनीय" को सङ्ज्ञा दिएका छन्।

"उनीहरूसँग बाँच्नका लागि आवश्यक आधारभूत कुराको अभाव छ। उनीहरू रोग, भोग र मृत्युबाट आक्रान्त छन्," उनले भने।

विस्थापित मानिसहरू सडक, विद्यालय र पालहरूमा बसिरहेका छन्। भूउपग्रहको सहयोगमा आकाशबाट खिचिएका तस्बिरमा युद्ध सुरु भएयता त्यहाँ टाँगिएका पालको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिन्छ।

रफाहस्थित शिविर देखिने पुरानो र अहिलेको नक्सा

अबु रुस्दी अबु दकिनजस्ता यहाँ बस्ने धेरै मानिस उत्तरी भेगमा लडाइँ सुरु भएपछि इजरेली सैनिकको निर्देशनमा दक्षिणमा आएका थिए।

"हामीले दुःख पायौँ," अबु दकिनले बीबीसीसँग भने।

"म गाजा सहर छाडेर हमादमा गएँ, त्यसपछि खान यूनिस पुगेँ, खान यूनिसबाट रफाह आएँ। तर कहिलेसम्म?" इजरेलले स्थल आक्रमण गर्न लागेको भन्ने कुरा सुनेपछि उनी सोध्छन्।

रफाहमा विस्थापित भएका धेरै मानिसहरूले बीबीसीलाई आफू सहरको पश्चिमी भागमा भूमध्यसागरनजिक बस्न चाहेको बताएका छन्। इजरेली सीमानजिकै अवस्थित पूर्वी क्षेत्रबाट "अतिक्रमण" हुन सक्ने डरले धेरैले त्यस्तो इच्छा राखेको देखिन्छ।

त्यहाँ केही अस्पतालहरू मात्र खुलेका छन्। तीमध्येका रफाह सेन्ट्रल हस्पिटल, कुवेत स्पेसलाइज्ड हस्पिटल र मार्टर अबु यूसेफ अल-नजिर हस्पिटलमा आधारभूत स्वास्थ्य सामग्रीको अभाव छ। ती अस्पतालले विद्युत् आपूर्तिमा समस्या पनि खेप्नुपरेको छ।

अन्तर्राष्ट्रिय निन्दाबीच इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले स्थल आक्रमणको चेतावनी दिइरहँदा रफाहमा अहिले आश्रय लिइरहेका अबु दकिनजस्ता धेरै मानिसले उही प्रश्न गरिरहेका छन्: "सबै गाजावासी यहीँ छन्। हामी कहाँ जान सक्छौँ?"

सैन्य कारबाहीमा सर्वसाधारण मानिसपट्टि यथासम्भव कम क्षति होस् भन्ने चाहेको इजरेलको भनाइ छ।

हमासले अक्टोबर ७ मा इजरेलमा भीषण आक्रमण गरी १,२०० जनाभन्दा बढी मानिसको ज्यान लिएपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको हो। इजरेलमा गरिएको आक्रमणका क्रममा हमासले झन्डै २५० जनालाई बन्धक बनाएर गाजातिर लगेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।