सैन्य बल प्रयोग गरेर बन्धक मुक्त गर्नु खोज्नु कति जोखिमपूर्ण

गाजा

तस्बिर स्रोत, EPA

    • Author, फ्र्याङ्क गार्ड्नर
    • Role, बीबीसीका सुरक्षा संवाददाता, जेरुसलेम

सशस्त्र समूहले बन्धक बनाइका मानिसलाई उद्धार गर्ने काम कति खतरनाक हुन्छ भन्ने तथ्य इजरेली डिफेन्स फोर्सेस (आईडीएफ)ले तीन बन्धकहरूलाई हमासका लडाकु ठानेर हत्या गरिदिएको घटनाले उजागर पारेको छ। ती इजरेली बन्धकले सेतो कपडा फहराएर आत्मसमर्पणको सङ्केत गर्दागर्दै उक्त घटना भएको थियो।

ब्रिटेनको सेनाका अवकाशप्राप्त मेजर जेनरल चार्ली हर्बट भन्छन्, “यो जति दुःखदायक छ, तीन बन्धकहरू गोली लागेर मारिनुले आईडीएफको रणनीति, सैन्य उद्देश्यविपरीतका आक्रमण वा बल प्रयोगमाथिको रोक र विशिष्टतामाथि फेरि एक पटक प्रश्न उठेको छ। कुनै पनि व्यक्तिले यस्तै परिस्थितिमा अरू कति गैरसैनिक मारिए होलान् भनेर कल्पना मात्रै गर्न सक्छन्।” हेर्बर्ट इराक र अफगानिस्तानसहित १३ सैन्य कारबाहीमा संलग्न थिए।

गैरसैनिकहरू हाताहत नहोऊन् भनेर आफूले सावधानी अपनाउने गरेको आईडीएफको दाबी छ। यद्यपि गाजामा हताहत भएका मानिसको अत्यासलाग्दो सङ्ख्याले त्यहाँ अन्धाधुन्ध बम आक्रमण गरेको आरोप इजरेल लागेको छ। गाजामा अहिलेसम्म १८,००० जनाभन्दा बढीको ज्यान गइसकेको छ अनि मृतकको सङ्ख्या अझै बढ्ने क्रममा छ।

विगतको अनुभव

विगतमा बन्धक बनाइएका अरू घटना हेर्दा सशस्त्र हस्तक्षेपबाट भन्दा पनि मध्यस्थता र समझदारीबाट अपहरित व्यक्तिहरू सकुशल फर्किने सम्भावना बढी भएको देखिन्छ।

यमनमा सन् १९९८ मा अल-कायदासँग सम्बन्ध भएका जिहादीहरूले १६ पश्चिमा पर्यटकहरूलाई बन्धक बनाएको घटनाबारे मैले समाचार सम्प्रेषण गरेको थिएँ।

ब्रिटेनका राजदूत वार्ताको माध्यमबाट बन्धकहरूलाई छुटाउन त्यहाँका आन्तरिक मामिलामन्त्रीलाई भेट्न गएका थिए। "धेरै ढिला भइसक्यो," उनलाई भनियो।

यमनी सेना भित्र प्रवेश गरिसकेको थियो। त्यसपछि भएको गोली हानाहानमा बन्धकमध्ये एकचौथाइको ज्यान गएको थियो भने अरू घाइते भएका थिए।

इजलरेली बन्धकले सहयोग याचना गर्न लेखेको सन्देश

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES

तस्बिरको क्याप्शन, इजलरेली बन्धकहरूले खानेकुराले सेतो कपडामा सन्देश लेख्दै आत्मसमर्पण गर्न खोजेका थिए

पश्चिमा र इजरेली विशेष फौजहरूले दशकौँसम्म बन्धक रिहाइ कसरी गर्ने भनेर सैन्य अभ्यास गरेका छन्। तर सोचे जसरी काम हुँदैन।

यूगान्डाको एन्टेबीमा इजरेलले 'अपरेशन थन्डरबोल्ट' गरेर १०६ बन्धकमध्ये १०२ जनालाई सन् १९७६ मा उद्धार भएको थियो। तर त्यस बेला इजरेली कमान्डरकै ज्यान गएको थियो। अहिले उनका भाइ बेन्जमिन नेतन्याहू इजरेलका प्रधानमन्त्री छन्।

सन् १९८० मा लन्डनस्थित इरानी राजदूतावासमा भएको बन्धक छुटाउने काम सम्भवतः आधुनिक समयकै सबैभन्दा चर्चित त्यस किसिमको कारबाही हो। ब्रिटिश सेनाको विशेष फौज स्पेशल एअर सर्भिसले गरेको उक्त कारबाही टेलिभिजनका क्यामराहरूले खिचेका थिए।

मारिएका तीन बन्धक

तस्बिर स्रोत, HOSTAGE AND MISSING FAMILIES FORUM

तस्बिरको क्याप्शन, इजरेली सेनाको कारबाहीमा मारिएका तीन बन्धक

जोखिम कस्तो छ

सन् २००९ मा अफगानिस्तानमा ब्रिटेनका पत्रकार स्टीभन फ्यारललाई तालिबानले बन्धक बनाउँदा ब्रिटेनको विशेष फौजले उनको उद्धार गरेको थियो। तर त्यसका लागि गरिएको कारबाहीमा एक उद्धारकर्ता, दुई गैरसैनिक र एक अफगान अनुवादकको ज्यान गयो।

त्यसको एक वर्षपछि यूस नेभी सीलको एउटा टोलीले तालिबानबाट अपहरित एक ब्रिटिश सहयता कार्यकर्ता लिन्डा नोर्ग्रोभलाई उद्धार गर्ने प्रयास गरेको थियो। उक्त कारबाहीमा अपहरणकर्ताको ज्यान गयो। उद्धार गर्न गएका व्यक्तिले फ्यालेको ग्रिनेडका कारण नोर्ग्रोभलाई पनि मृत्यु भयो।

नाइजेरियामा सन् २०१२ मा ब्रिटेश स्पेशल फोर्सेसको एउटा टोलीले ब्रिटेन र र इटलीका एक-एक बन्धकलाई मुक्त गराउने प्रयास गरेको थियो।

तर एक नाइजिरियाली सैनिकले असमयमै गोली चलाएपछि अपहरणकर्ताहरूले बन्धकहरूको हत्या गरिदिए।

रिहा भएका एक बन्धकलाई अङ्गालो मार्दै परिवारका सदस्य

तस्बिर स्रोत, REUTERS

यमनमा कैयौँ अपहरणका घटनाहरू हल गर्न शान्तिपूर्ण रूपमा आदिवासीहरूलाई सहभागी गराएर लामो वर्ता गरिएका दृष्टान्तहरू छन्। तर धेरै कुरा बन्धक बनाउने व्यक्तिहरूको माग र उद्देश्यमा निहित हुन्छ।

इराकको अल-कायदा र इस्लामिक स्टेट समूहका जिहादीहरूले कहिल्यै पनि अमेरिकी र ब्रिटिश बन्धकहरूलाई रिहा गर्ने उद्देश्य राखेका हुँदैनथे।

उनीहरूले क्यामराअगाडि बन्धकको हत्या गरेर अधिकतम मनोवैज्ञानिक प्रभाव पार्ने उद्देश्य राखेको पाइन्छ। त्यस्तोमा उनीहरूलाई पत्ता लगाउन सकियो भने सशस्त्र हस्तक्षेप नै एक मात्र विकल्प हो।

हमास के चाहन्छ

तर हमासको सन्दर्भमा ‘मिश्रित’ परिस्थिति छ। अक्टोबर ७ मा उनीहरूले दक्षिणी इजरेलमा गरेको आक्रमण बर्बर र हिंसात्‍मक थियो। तर त्यसयता उनीहरू १०० भन्दा बढी बन्धकहरूको रिहाइका विषयमा लेनदेन गर्न इच्छुक देखिन्छन्।

अहिले इजरेली बन्धकका आफन्तहरूले हालसम्म रिहा भइसकेका तिनका आफन्तहरू शक्तिशाली सैन्य कारबाहीले नभई अमेरिकाको समर्थन पाएको कतार र इजिप्टले मध्यस्थता गरिदिएको वार्ताबाट यो सम्भव भएको बुझेका छन्।

अहिलेसम्म एक मात्रै इजरेली बन्धक बल प्रयोग गरेर रिहा भएका छन्। तर धेरै सरकारहरूले "आतङ्कवादी" को सङ्ज्ञा दिएका अपहरणकर्ताहरूसँग सम्झौतामा पुग्नु सहज भने होइन। बन्धक बनाउनेहरूले जबाफमा केही माग्ने गर्छन्।

हमासको हकमा त्यसको अर्थ इजरेली जेलबाट ठूलो सङ्ख्यामा बन्दीहरू रिहा गर्नु, लडाइँ रोक्नु र गाजामा आइरहेको सहायतालाई उल्लेख्य परिमाणमा बढाउनु हो।

तर कुनै पनि बन्धक रिहा गर्ने सफल प्रयास कूटनीतिक माध्यमबाट मात्रै सम्भव हुने जेनरल हर्बट बताउँछन्।

“गाजाको समस्याको कुनै प्रभावकारी सैनिक समाधान छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।